सुनाउनै लाज लाग्ने..

अहिले त भन्न पनि लाज लाग्ने तर यर्थाथ त्यहि हो जे थियो घटना । नयाँ बर्ष, चाडपर्वहरुले त्यसैत्यसै उत्साह, खुसियाली र उमङ्ग बोकेर आउछ । वि.स. २०५० सिद्धिएर २०५१ लागेको पहिलो दिन अर्थात नयाँ बर्षको दिन धनकुटा देव्रेवास भैरव श्रेष्ठ दाईको घरमा डेरागरि बस्ने हामी विद्यार्थीहरु नयाँ बर्ष मनाउन भनी उत्तरपानी बजार नजिकको डाँडा तर्फ लाग्यौ । पूर्वको सुन्दर ठाँउ मध्येको एक । जहाँ चैतको सुख्खा याममा पनि झुम्म झुमेको हरियो वैंशका रुखहरु लामबद्ध भई औधि आकर्षक बनेर बसि रहेका हुन्छन । र, दुईतीन वटा सुन्दर पानी पोखरीहरु अनि प्राविधिक शिक्षालय पढाई हुने सुन्दर भवनहरुले पर्यटकहरुलाई तानिरहेका हुन्छन ।

भैरव दाईको घरअगाडि उकालो बाटो भएकोले त्यहा वस रोकिन्दैन थियो । त्यसैले हिडेरै अलिपर्तिर आले लजमा बस कुरयौ । दुई बस आए अटाउन सकिएन । बस भित्र र हुटमा पनि टम्म थिए मान्छे । फेरी त्यहि पर्खि रहनु भन्दा अर्को ठाँउ पुगेर चढने निधो भयो र उकालो स्कुल डाँडामा पुग्यौ र पनि बस आएन हिडदै कागते पुग्यौ बस आयो तर उस्तै खचाखच, अटाउने कुरै भएन । फेरी अर्को बस अलि खाली आएमा चढने आस राख्दै उकालो लाग्यौ । अर्को घुम्तिमा पुग्यौ बस आयो चढन सकिएन । अब बाटो बस दौडने रोड भन्दा अलि टाढा र नजिक हुदै दौडिएको छ । घाम छिप्पिएको छ । टन्टलापुर घामको कारण सट भिजेको छ । बाटोमा पनि होहल्ला जारी छ । हुदाहुदै कुवापानी पुग्यौ अब वसको आस पनि छैन र आवश्यक पनि छैन । हिले पुच्छर आई पुग्यौ ।

उत्तरपानी प्राविधि शिक्षालय घुम्नेक्रममा एकछिन आराम गर्दै

नयाँ बर्ष कसरी मनाउने टुंगो छैन । उसै त घरबाट चामल, गुन्द्रुक, तेल, आलु, नुन, खुर्सानी हप्तै पिच्छे घरबाट ओसार्दै पढन बसेका हामी । कोठाभाडा महिनाको १५० रुपैया तिथ्यौ क्यार हामीले र गोजीमा पैसा हुने सम्भावना कमै हुन्थ्यो । सस्तोमा उन्नत नयाँ बर्ष मनाउनु पर्नेछ । दुनियाँले चौरमा खाना पकाएर गित बजाएर नाचेको देखिन्थ्यो तर त्यो सम्भावना रहेन । त्यसैले हिले पुच्छरको कस्तुरी पसलमा जुस २८ रुपैयामा २ बोतल किन्यौ । विस्कुट १० प्याकेट भएको गुलुकोज झोलै किन्यौ र फेरी उत्तरपानी तर्फ होहल्ला र रमाईलो गर्दै लाग्यौ । हिले बजार डाँडामा भएकोले अब बाटो तेस्रो र ओह्रालो लाग्यो । बाटो डाँडैडाँडा भएकोले घाम लागे पनि अघिजसरी गर्मि छैन । विशाल होहल्लाको साथमा झण्डै एकघण्टामा उत्तरपानी पुग्यौ । अब प्राविधिक शिक्षालय भित्रका सुन्दर पोखरीहरु हेरेर मनोरन्जन लिनु छ । वरिपरिका सुन्दर डाडाँहरुमा रमाईलो गर्दै घुम्नु छ । अब बेग बहादुर आले, गजेन्द्र निरौला, शिव वुढाथोकी लगायत (अरु ४ जनाको नाम विर्षिए) हामीले बोकेको निक्कै ठूलो साउण्ड सिस्टम जोडेर गीत बजाउदै हिडन शुरु गरयौ ।

उत्तर पानी यस्तो सुन्दर ठाँउ हो जहा रमाउनको लागि कुनै अवसर चाहिन्दैन । हामी अब प्राविधिक शिक्षालय मास्तिरको गोलान्दर डाँडामा पुग्यौ । स्टेज जस्तो बनाईएको पाटीघरमा सबैजना वरिपरि बस्यौ । विस्कुट खोलेर एकैठाँउ थुपार्यौ र नयाँ बर्षको शुभ कामना भन्दै भटाभट खान शुरु गरयो । लामो बाटो भएकोले भोकाएका पनि थियौ । ग्लुकोज विस्कुट र जुस बोतलमै बाँडेर खायौ । बेस्सरी रमाइलो गरयौ । ठूठूलो आवाजमा गाना सुन्यौ, गीत गायौ । हामी रहेको नजिकैको डाँडा त पिकनिक खाने ठाँउ नै भएकोले त्यो ब्यस्त थियो तर लाग्छ उनीहरुले भन्दा धेरै रमाइलो हामीले गरयौ । निक्कैबेर त्यहा रमायौ । त्यहि जग्गा जानुमा चाहि प्राविधिक शिक्षालयका केही शिक्षक दाईहरु पनि चिनेकाले हामीलाई बढि सहज भएको थियो । त्यो बेला सेन्ट अफ टेष्ट पास तर एसएलसी फेल साथिहरु उक्त शिक्षालयमा पढेर जेटीए, जेटी बन्ने गर्दथे । उनीहरु स्वभावैले अलि सिनियर हुन्थे, हामी उमेरमा जुनियर तर एसएलसी पास भई क्याम्पस शुरु गरेका थियौ ।

हामीहरु सबै असाध्य सामिप्य पनि होइन र पराई पनि होइन त्यसैले हाम्रो हरेक रमाइलो स्वस्थ हुन्थे । यद्यपी, एकले अर्कालाई उडाउनेक्रम निरन्तर थियो । उमेर हो त्यसवेला डर र आंशका धेरै हुन्थ्यो । कसले कसलाई मन पराउने, कहा, के चियो चासो सामान्य नै हुन्थे । साउण्ड बक्समा बजेको गानामा स्वरमा स्वर मिलाएर गाउदा गाउदै थुपारिएका विस्कुटहरु र दुईबोतल जुस सिद्धिएको हुन्छ । हामी अब विस्तारै वरपर डुलेर, ठूठूला माछाहरु छन भनेको सुनेको पोखरी नजिक गएर हेरयौ तर माछा देखिएनन र पोखरीकै नजिक रहेका बैंशका रुख अगाडि फोटोहरु खिच्यौ । भलिबल ग्राउण्ड र वरिपरिका रमणिय दृष्य र केही प्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकहरुलाई देख्दा भेटदा धेरै रमाइलो भयो । समय निक्कै विति सकेको कारण हामी अब फर्कन मेलोमेसोमा लाग्यौ । निक्कै थकित महशुस पनि भयो ।

उत्तरपानी बजार देखि अलि मास्तिरबाट सिधै कुवापानी जाने बाटो पनि छ । कोहि साथिहरु त्यो
कुवापानीको बाटो रोज्ने र कोही साथी हिलेबाटै जाने भन्ने भए । थकित महशुस भएकोले हिलेबाटै बसमा चढेर धनकुटा फर्कने निधो भयो । साँझ पर्नै लाग्यो तर वस चढने साइत जुरेन र पुनः हिडदै ओह्रालो बाटो लाग्यौ । फर्कन चाहि ओह्रालो भएकोले हिडेरै पनि सजिलो थियो र झण्डै एक घण्टामा देब्रेवास पुग्यौ । सबै आआफ्नो कोठामा छिरयौ । केहीबेर पछि बुझ्दा त हामी सबैलाई ज्वरो आईसकेको थियो । लाग्यो हिडाईको चापले होला । त्यो रात जसोतसो वित्यो भोलिपल्ट विहान पनि सबै साथिहरु ज्वरोले विरामी भएपछि चाहि आखिर के भयो भनी खोज्यौ । वास्तवमा हामीले नयाँ बर्षको दिन किनेको जुस, जुस नभएर स्कुवास रहेछ जुन कुरा पानी मिसाएर मात्र पिउनु पथ्र्याे तर हामीले शिधै स्कुवास पिएकोले हामीलाई उहि उत्तरपानी डाँडामै सामान्य ज्वरो शुरु भएको रहेछ । लाग्छ त्यो बेलाको अभावको जिन्दगी सबैभन्दा सुन्दर थियो । अहिले पनि लाग्छ, आह त्यो उमेर, त्यो समय फेरी पनि फर्केर आई दिए हुनेथियो ।

अभाव र अज्ञानता कति सम्म थियो यहा लेख्नै लाज हुने, तै पनि त्यो एउटा शिक्षा थियो । एकहोरो शिक्षा काफी हुदैन, एकहोरो बुझाई र दावी सहि हुदैन । म भैरव दाईको घरबाट धनकुटा रेडियो नेपाल अगाडीको लोदाहाँङ तिगेला काकाको घरमा सरिसकेको थिए । अर्को घटना चाहि । म सधैजसो कपालमा खाने तेल अर्थात तोरीतेल लगाउथे र कोर्थे । त्यो हप्ता तोरी तेल सिद्धिएको थियो । तर, वाईवाई चाउचाउको तेल भएको प्लाष्टिक स्टोप नजिक थियो । त्यो पग्लन्दै जाँदा तोरी तेल जस्तो हुन्थ्यो र आखिर यो पनि तेल नै हो । तोरी तेल लगाउदा हुन्छ भने, यो चाउचाउको पोका भित्रको तेल पनि तेलै हो । कपाल चिल्लो हुन्छ भनी कपालमा दलेर कोरेर क्याम्पस गए । अहिले सम्झन्छु त्यो दिन दिनैभरि मेरो कक्षाका साथिहरुले चाउचाउको सुगन्ध लिए । तर, तोरी तेल र चाउचाउको तेलको महत्व सोच्नै भ्याइन । हुन त उसबेला हामीलाई चाउचाउ ठूलो कुरा हुन्थ्यो । चाउचाउलाई १२ रुपैया पथ्र्यो । त्यो पैसा जुटाउन घरमा आमालाई ढाँटेर माग्नु पथ्र्याे । बल्ल चाउचाउ खान पाइन्थ्यो । अब चाउचाउ खादैछु अर्थात खान पाइन्छ भन्ने थाह भएमा एकदुई दिन अगाडि देखि नै खुसि लाग्थ्यो र चाउचाउ खाईसकेपछि पनि झण्डै एकहप्ता मैले चाउचाउ खाए भनेर खुसि लाग्थ्यो । कस्तो गजब । अभाबमा सानो कुराले पनि ठूलो खुसि दिने । अहिले फाइभ स्टार होटलमा रहदा पनि त्यो चाउचाउले जति आनन्द र खुसि दिन सक्दैन । त्यसैले यदाकदा लाग्छ । अभावको परिवार, अभावको जिन्दगी सम्पन्नताको भन्दा कयौ गुणा सुखमय, आनन्दमय र असल हुन्छ । सम्पन्नताले रवाफ दिन्छ तर अभावले सुन्दर जिन्दगी दिन्छ । सम्झन्छु, दिनभर भारी बोकेर कमाएको पैसाले आफ्नो नानीको निम्ति एक पुरिया विस्कुट र परिवारको लागि आधाकिलो मासु लैजाने भरिया दाईको जिन्दगी । आह, उसको जिन्दगी कति रमाईलो छ । सम्पन्नतामा भौतिक सुख पक्कै हुन्छ तर भरिया दाईको परिवारको जस्तो आत्मिक रमाइलो हुन सक्दैन सायद ।

उत्तरपानी प्राविधि शिक्षालय परिसर भित्र

अर्को पनि लाजै लाग्ने मेरो घटना छ । सानो छदा, हरिराज खेवा दाजुको वुवा हिर्दयमान सुब्बा बडाको शुध्याईको बेला इटहरीबाट विष्णु दिदी आउनु भएको थियो । मलाई कपालमा लगाउने तेल चाहिएको थियो । हरिदाजुको घरभन्दा पल्लो घर हामी रातोघर भन्छौ । त्यहा दिदीको झोला थियो, र त्यो झोला भित्र तेल भेट्टाए र छिटोछिटो कपालमा दले तर भने जसो चिप्लो भएन । निक्कै समय पर्खिए, केही असहज नै भयो । धेरैले त्यस्तै बट्टाबाट तेल झिकेर लगाएको देखेकै हूँ । त्यो तेल हो भन्नेमा विश्वस्त छु । आखिर त्यस्तो झोलामा बोक्ने तेल नभए अरु के नै हुनसक्छ र ? मनमनै सदर गर्छु । तै पनि चित्त बुझेन र मेहेलको बोट नजिकको धारामा चुपचाप गएर मुख धुदै हात कपालमा लगेको त फिँजैफिज आयो अब झनै म तर्सिए । गएर सोधौ चोरेर सुटुक्क लगाएको कता सोध्ने, नसोधौ अचम्मै बनाएको छ । पुरै कपाल पखांले फिँज मज्जाले गयो । मैले दिदीलाई सोधिन पनि र, पछि थाह भयो त्यो कपालमा लगाउने तेल नभई कपाल धुने स्याम्पू थिएछ ।

नयाँ बर्ष २०७७ को शुभ कामना सहित ।