भारत स्वतन्त्रत भएपछि भारत भित्र पर्न गएको दार्जिलिंङ, कालिम्पोङका नेपाली भाषीहरुले आफूलाई नेपाली जातिको रुपमा बढि महशुस गर्न थाले र आफ्नो एकताको प्रतिक बनाउने, खोज्नेक्रममा संंस्कृतको रामायणलाई खस नेपाली भाषामा अनुवाद गर्ने पहिलो ब्यक्तिलाई चयन गरि भानुभक्तलाई आफ्नो भाषिक एकताको प्रतिकको रुपमा काल्पानिक फोटो र प्रतिमा बनाई भानु जयन्ति अर्थात भारत इतरमा रहेका नेपाली भाषीहरुले आफ्नो एकता दिवस मनाउन शुरु गरे । पहिलो पटक दार्जिलिंङको चौरास्तमा सन् १९४८ मा भानुको आधा कदको प्रतिमा निर्माण गरे ।
सो प्रतिमा गोर्खाल्याण्डको आन्दोलन चलेको बखत गोर्खा राष्ट्रिय जनमुक्ति मोर्चाको कार्यकर्ताबाट नेपालको पहिचान बोक्ने होइन, दार्जिलिङकै पहिचान बोक्ने चाहिन्छ भनी भत्काई दिए र सन् १९९५ ताका पुन पूर्णकदको भानुको शालिक चौरास्तमा निर्माण भएको छ । त्यो मूर्ति नै भानुको पहिलो मूर्ति मानिन्छ । दार्जिलिङकै पहिचान बोक्ने दार्जिलिंङमै सन् २७ जुलाई १९२७ मा जन्मभई ३१ जनवरी १९७१ मा निधन भएका अगम सिं गिरीको मूर्ति सोहि समयमा चौरास्त नजिक लुईस जुब्ली कम्प्लेक्समा स्थापना गरियो ।
दार्जिलिंङमा चलेको नेपाली साहित्यको आन्दोलन सुधपा (सूर्यत्रिक्रम ज्ञवाली, धरणधर कोईराला र पारसमणि प्रधान) आन्दोलनकै उपजको रुपमा रामायण र रामायणको अनुवादक भानुभक्तलाई सबैभन्दा पुरानो आदिम कविको रुपमा स्थापित गर्नेकार्य भएको अनुमान गर्न सकिन्छ । अनुवाद गरिएको रामायण भन्दा पुरानो पुस्तक नेपालमा थियो की थिएन? नेपालमा आदिमकाल देखि बसोवास गर्ने आदिवासीहरुको पुस्तकहरु थिए की थिएनन्? अहिले बोलिने नेपाली भाषालाई मापदण्ड बनाउने हो भनेपनि रामायण भन्दा पुरानो पुस्तक थियो वा थिएन? भानुले रामायण अनुवाद गरेको हो लेखेको होइन तब कसरी आदिकवि? कवि हुनलाई आफैले कविता लेखेको हुनुपर्ने होइन र? भानुका प्रश्नोत्तरमाला, भक्तमाला, वधुशिक्षा, रामगीता पनि छन तर रामायणलाई नै आधार मानिएको पाइन्छ । हुन त भानु विते पछि मोतिराम भट्टले भानुको बारेमा लेखेर चिनाएका हुन । भानुलाई आदर्श पुरुष स्थापित गराउने भानु र घाँसीको कविता सर्वप्रिय छ । घाँसीले घाँस काटेर, घाँस बेचेर आर्जन गरेको पैसाले कुवा खनाएको कथा छ तर के त्यो समयमा रम्घा तनहूमा घाँस बिक्रि हुन्थ्यो? के अहिले पनि घाँस बिक्रि हुन्छ त पक्कै हुदैनथ्यो । बरु घाँसी आफैले कुवा खन्न सक्थे । तसर्थ भानुभक्त र घाँसीको कविता, काल्पनिक कथा नै हो ईतिहास होइन । रामायणको सुन्दर खण्ड रघुनाथ भट्टले लेखेको कारण उनलाई आदिकवि मान्नुपर्ने पनि तर्क पाईन्छ ।

अहिले धेरै भन्दा धेरै बोलीचालीमा रहेको नेपाली भाषालाई आधार मान्न स्वभाविक होला तर किन रामायणलाई चाहि आधार मानियो ? नेपाल भित्रका नेपालीहरु एकताको प्रतिकको रुपमा पृथ्वी जयन्तिलाई मान्ने गर्दछन, भारतीय नागरिकता बोकेका नेपालीहरुले नेपाल विस्तार गर्नेको एकता दिवस मनाउन मिल्दैन, भारतीय एकता दिवसले पनि पूर्ण हुदैन त्यसैले आफ्नो बेग्लै प्रतिक बनाए । भाषिक एकताको प्रतिकको रुपमा भानुलाई लिदै गर्दापनि धेरै बहसहरु आएका छन् । यता नेपाल भित्र एकताको प्रतिक मानिने पृथ्वी नारायण शाहलाई केहीले एकता गरे भन्छन भने कसैले विस्तार गरे भनेर एकताको प्रतिक मान्न तयार छैनन् उसो भए किन भानुलाई नै एकताको प्रतिक नमान्ने?
अहिले पनि भानुजयन्तिलाई सिक्किम, दार्जिलिङ, आसम तिर नेपाली भाषीहरुको एकताको रुपमा धुमधाम चाडको रुपमा मनाउने चलन रहेको छ । नेपालमा खासै मनाईन्न, कारण एकता दिवस नेपालमा अर्कै छ । भानु र घाँसीको कथा कथा नै हो ईतिहास होइन भन्नेको भिड छ । आदि कवि नै मान्ने हो भने खरोष्टि लिपी, रन्जना लिपी, किरात लिपी, ताम्यिक लिपीका सयौ बर्ष पुरानो लिपीमा लेख्ने कविहरु अवश्य छन भन्ने मान्यता राख्नेहरु हुनु हो । उसो त खस, पर्वते, पहाडिया, गोर्खा भाषालाई नेपाली भाषा भनिनु पर्छ भनेर शुरुवात पनि दार्जिलिडको सुधपाको दबाबमा कोलकताबाट शुरु भएको हो त्यसैले भानुलाई आदिकवि मान्न त्यहिबाट शुरुहुनुलाई स्वभाविक लिनुपर्दछ ।
चुँदी रम्घा तनहूँमा सन् १३ जुलाई १८१४ जन्मिएका र २३ अप्रिल १८६८ मा निधन भएका भानुभक्तको सन् १८१२ र १८१४ दुईवटा जन्ममिति पाईन्छ । त्यो समय भनेको ईष्टइण्डिया कम्पनीमा नेपालका खस, आदिवासीहरु गोर्खाभर्ति पठाउन शुरु गरिएको समय पनि हो । सन् १८१४ मै भर्ति शुरुभयो र औपचारिक रुपमा सन् १८१५ मा सम्झौता मार्फत भर्ति भएको पाईन्छ । तसर्थ २१४ बर्ष अघि अनुवाद गर्ने ब्यक्तिलाई आदिम कवि भन्न सकिन्छ की सकिन्न? नेपाल स्वतन्त्र र छुट्टै अस्थित्वमा रहेको २५ सय बर्ष भन्दा बढि भएको मानिन्छ ।
नेपाली पहाडिया खसकुरा को सट्टामा नेपाली मात्र भन्न शुरु गरिएको अर्थात भाषाको नाम नेपाली शब्दको ब्यूपति दार्जिलिङमै सुधपाबाट, नेपाली भाषाको धरोहर एकताको प्रतिक भानुको मूर्ति निर्माणको शुरुवातस्थल पनि दार्जिलिङ र गोर्खा भाषाको माग पनि दार्जिलिङ नै भएकोले नेपाली भाषा साहित्यको उद्गम राजधानी दार्जिलिङलाई लिन सकिन्छ । भारतको सिमाना भित्र परेका नेपाली भाषीहरुले हामी नेपाली जाति हौ भनि भाषा, साहित्य र संस्कृतिमा गौरव गरिरहदा नेपालबाट, नेपाली नागरिकता बोकेकाहरुबाट उपेक्षा र भारत भित्र भारतियहरुबाटै नेपाली भाषा बोल्नेहरु सबै नेपालबाट आएका भन्ने गलत मान्यताको शिकार बनेको कारण पछिल्लो समय आसम, दार्जिलिङ, सिक्किम तिर नेपाली भाषा नभनी गोर्खा भाषा भन्न थालेको अनुभूति हुन्छ ।
गोर्खाल्याण्डको आन्दोलन उत्कर्षमा पुग्नै लागेको बखत भाषा नेपाली भन्नुको सट्टा गोर्खा भाषा भन्नु जायज पनि हो र कालन्तरमा भाषिक एकताको प्रतिकको रुपमा सुधपाको त्रयमूर्तिलाई लिएर जानसक्ने पनि विकल्प देखिन्छ । सुधपाले नै नेपाली भाषा भनि नामाकरण गरेका थिए, अहिले त्यहि भाषाको कारण विशाल भारतमा नेपाली जातिको एकता छ । त्यो बखत दार्जिलिङकै माटोमा शुरुभएको सुधपा र दार्जिलिङको विरासतले न्याय पाउन सक्दछ । सुधपालाई एकताको प्रतिकको रुपमा मान्न काल्पनिक कवि र घाँसीको कथा चाहिन्दैन, ज्वलन्त ईतिहास छ । सन् १९३२ मे महिनामा सुधपाकै दबाबमा कलकत्ता विश्वविद्यालयले पढाई गराउने विषयको नाम नेपाली पहाडिया खसकुरा को सट्टामा नेपाली मात्र भनियो । (पाठक, २०७४, पृष्ठ ४४), यसर्थ एकताको प्रतिक भारतमा बस्ने नेपाली जातिलाई चाहिएको कारण यसलाई लिन सक्ने विकल्प रहेको भेटिन्छ भने अर्को चाहि अगमसिं गिरीलाई मानेर जान पनि सक्ने सम्भावना देखिन्छ ।
भानु जन्मिनु भन्दा ५९ बर्ष अघि जन्मिएका बैरवा, सप्तरीका उदयान्न्द अर्ज्याल (जन्म सन् १७५५) ले ऐतिहासिक बर्णात्मक कविता कृति सिंहप्रताप वर्णन, पृथ्वी नारायण शाह माथि लेखिएको महाकाब्य कृति पृथ्वीन्द्र विजयी, सोमेश्वर विजय बर्णन, नवरत्न स्त्रोत, दुःस्वप्नहरण र उनले रुपान्तरण गरेको कृति बेताल पच्चिसी रहेका छन् । अर्ज्याल लगायत सुपानन्द दास, शक्तिबल्लभ अर्ज्याल आदि भानुभक्त अघिका नेपाली साहित्यका प्रमुख कविहरु मानिन्छन । अझ पुरानो इतिहास खोतल्ने हो भने इन्दिरसको नाम आउछ उनी १६औं शताब्दिको खस नेपाली भाषाको साहित्य लेखकको रुपमा चर्चा हुने गर्दछ तर उनको जन्म, मृत्यू, जन्मस्थल र कृतिहरुको जानकारी उपलब्ध छैन ।
पहिलो पटक भानुभक्तको मूर्ति दार्जिलिङमै बन्यो, पहिलो पटक त्यहि भत्काईयो, दार्जिलिङलाई नेपालमा गाँभ्नपर्छ भन्ने माग पनि दार्जिलिङवासीबाटै उठ्यो र दार्जिलिङवासीले नै नेपालको पहिचान भएको कारण भानुको मूर्ति भत्काई दिए । दार्जिलिङबाटै शुरु भएको सुधपा आन्दोलनले पहिलो पटक नेपाली पहाडिया खसकुराको सट्टामा भाषाको नाम नै नेपाली बनायो । दार्जिलिंङ कै पहिचान बोक्ने अगमसिंं गिरी एकताको प्रतिकको रुपमा लैजान सम्भवतः लिवन फिस्टीगरको सामाजिक तुलना सिद्धान्त एवं सापेक्ष वन्चितता सिद्धान्त अन्तर्गत अवरोध भएको हुनसक्छ । भानुका ६ वटा कृति र फूटकर सिर्जना भएपनि उनलाई आदिकवि मान्न सबै तयार देखिन्न तर एकताको प्रतिकको रुपमा कसै न कसैलाई मान्नुपर्ने आवश्यकता भने भानुले पुरा गरिदिएका छन् ।
– १४ जुलाई २०२६, आसफोर्ड युके