जर्मनीको फ्रयाङफर्टमा राधेश्यामको मूर्तिः रुडेशहिम र हिडलवर्गको आकर्षण

जानेको ठाँउ, बुझेको ठाँउ भन्दा नजानेको नबुझेको र पहिला कहिल्य नदेखेको ठाँउको घुमघाम बढि आनन्दमयी र रोचक हुने गर्दछ । । कुमार जीले आफ्नो भाषणमा हामीहरुलाई स्वागत गर्दै भन्नुभयो । नजिकै हिडलवर्गमा संस्कति विश्व विद्यालय छ । मैले सम्झे आह लौ राम्रो रहेछ । वहाले थप्नु भयो राहिन नदिको छेउमा ५० फिट अग्लो राधेश्यामको मूर्ति छ । मूर्ति पक्कै बाँसुरी बजाएको होला भनी मनमनै सोचे । उक्त ठाँउमा अंगुर अत्यधिक फल्छ र स्याउको वाईनको निम्ति विश्वभर प्रसिद्ध छ । फल्ने अंगुर अनि प्रसिद्ध चाहि स्याउको ? त्यहा तपाईहरुले चाख्न पनि पाउनु हुन्छ । जर्मनीको यस फ्रयाङफर्ट शहरमा यूरो बैकको हेडक्वाटर छ । ब्यापारीक हब हो यहा घुम्न जाने ठाँउ प्रसस्तै छन् र घुम्न नजाने ठाँउ पनि छ । कुमार जीको उक्त वाक्यले हल केही शान्त बन्यो सायद घुम्न नजाने ठाँउ कस्तोहोला सोच्न बाँध्य भए ।

हामी जुलाई २८, २९, ३० कोठा भित्र बहस, छलफलमा बस्दाबस्दा थाकेर अन्तत ३१ जुलाईको दिन एनआरएन एनसीसीले उपलब्ध गराएको झण्डै ६० जना अटाउने बसमा छौ । संजोगले लण्डनमा पुरेत्याई गर्नुहुने चिरन्जीवी ढकाल दाई म संग बस्न आउनु भयो । म अति उत्सुक थिए त्यो संस्कृत विश्व विद्यालयको र राधेश्याम मूर्तिको बारेमा र प्रसंग उठ्यो । ढकाल दाईले थप्नु भयो नेपाल र जर्मन बीच सांस्कृतिक निकटताको कारणले जर्मनीले सन् १९८९ सम्म नेपालीहरुलाई विना भिषा प्रवेश दिन्थे । मैले थपे होला दाई अब जर्मनी जहाजको नाम नै लुथहंश छ । हंश सस्कृत भाषामा हाँस हो । भाषा त यहि मिलिहाल्यो । वास्तवमा आर्यन सभ्यताले दुवै देशलाई जोड्ने स्पष्टै देखिन्छ ।

हामी छ्यासमिस थियो । रसिया, युके, स्वीजरल्याण्ड, अष्ट्रेलिया, अमेरिका, वेल्जियम, आयरल्याड, फ्रान्स, नेदरल्याण्ड, कतार, इजरायल लगायतका थियौ । यति नै थियौ भन्ने एकिन भएन । ब्लङ्गर्सस्टीट्रटको लिडनर कंग्रेस होटल र हसस्टर हफ होटललाई छोडेर हामी फ्रयाङफर्ट शहरको मुख्य भाग जिल (Zeil) मा पुग्यौ । झण्डै एकघण्टा लामो घुमघाम पछि हामी राधेश्याम मूर्ति भएका तिर बाटो लाग्यौ । केही पर पुगेपछि नदीको किनारैकिनार बाटो दौडियौ । कुमार जीले भन्नुभए जस्तै धेरै अंगुरका खेतीहरु भेटिए । साथिहरु ज्यादै उत्साहित थिए । बस भित्र जुहारी गाउन शुरु भयो । अष्ट्रेलियाबाट आउनु भएका महेन्द्र लम्साल जी र जर्मनी मै रहनु भएकी किरण सिग्देल जीको जुहारी ज्यादै रोचक बन्यो । धनकुटा सदामटारमा जन्मेका खडग नेउपाने जीको स्वरले हामीलाई मनोरञ्जन दिईरहेको थियो । वस उकालो चढ्यो र अन्ततः मूर्ति सामु ओह्राल्यो । केही साथिहरु विश्व प्रसिद्ध स्याउको वाइन चाख्न हतारिए । म चाहि राधेश्यामको मूर्ति तर्फ लम्किए । आह त्यो डाँडाबाट देखिने तलको सुन्दर नदी र नदि पारीको गाँउ देखेर चकित भए । लाग्यो स्वर्ग भनेको सायद त्यहि गाँउ हो । समान्यतया युरोपका ठाँउहरु एकै प्रकारका हुन्छन त्यसैले पनि आह भन्ने कमै हुन्छ तर यस पटक साच्चै लोभ्यायो । मौषम पनि मलिन थियो न गर्मि न त जाडो । सरसफाई र सजावटले साह्रै सुहाएको । यस पटकको यो यात्रा फोटो फेष्टिवल नै बनेको छ । सम्भवत हामी नेपालीले जति फोटो अरु कसैले पनि खिच्दैनन । मैले पनि केही फोटो खिच्दै मूर्ति चुम्न केही खुडकिता उक्लिए र हेरे । मेरो आँखाले राधेश्याम लेखेको अक्षर खोजे पाइन् । मुरली बजाई रहेको मूर्ति खोजे पाइन् । त्यहा लेखिएको थियो रुडेशहिम एम रहिम ( Rüdesheim am Rhein) थियो । म मनमनै हाँसे र केही बर्ष अघि मलेशियाको क्वालालम्पुरमा गेन्तिङ आइल्याण्ड सुने र समुन्द्रमा लगाउने चप्पल र पातलो भेष्ट लगाएर बाटो लागे अन्ततः गेन्तिङ हाईल्याड जहा पहाडको टुप्पोमा केवलकारबाट पुग्दा म जाडोले थरथर काँपेकोले अरुले मलाई रमिता गरेको घटना याद आयो ।

परिवार सहित लिएर आनन्द संग घुम्न लायक सुन्दर रुडेशहिम डाँडालाई छोडने मनै छैन । साथिहरु वाइन चाखि रहेका छन् । फोटो खिच्नेक्रम रोकिने कुरै भएन । हुन पनि जति छौ सबै एकैछिनलाई भेट भएका छौ । सुन्दर ठाँउमा एकैछिनलाई पुगेका छौ । हातमा फोन र क्यामेराहरु छन् तब फोटो खिच्ने काम त कति हो कति । बस ओह्रालो लाग्यो । पहाडको फेदीमा अर्को सुन्दर गाँउ छ । केही साथिहरु चाडै एरपोर्टबाट फलाईट भएकाले छुटिटए । उनीहरु टयाक्सी लिएर बाटो लागे हामी चाहि संस्कृति पढाउने विश्वविद्यालय तर्फ लाग्यौ । बाटोमा ट्राफिक परयो । विद्यालयका प्रोफेसरबाट प्रिजेन्टेशन र खानपीनको ब्यवस्था भएको खबर लोकराज ढकाल जीले सुनाउनु हुदा खुसिको सिमा नै छैन । अब विश्व प्रसिद्ध वाइनको शक्ति देखिन शुरु भएको छ । साथिहरु गुडिरहेको बसको सिटबाट उठेर गीत गाउदै नाच्न थाल्नु भएको छ । थप्पडी जोडजोडले मैले पनि बजाउदै बजेको गानामा स्वर थपि रहेको छु । कुटुमा कुटु २ रुपैया र सुर्के थैलीमा भब्य नाचगान शुरुभयो । मनमूर्ति भूर्तेल, प्रवक्ता रन्जु वाग्ले, युके प्रवक्ता खुसि लिम्बु, रामशरण सिम्खडा लगायतका साथिहरु मस्ति नाच्न थाले तर मलाई चाहि यति कठिन भयो की त्यो काम पुरै सेफ्टिीको विरुद्धमा छ । तीब्र गतिमा कुदिरहेको बसमा त्यसरी नाच्न त के उभिनै पनि मिल्दैन । बसेर गीत मात्र गाईदिए हुनेथियो भन्ने लागेको थियो तर त्यहा कसैले कसैलाई भन्न वा नियन्त्रण गर्न मिल्ने अवस्था थिएन । नाचगान चलिरहेकै थियो । बाटोमा ट्राफिक परेकोले सगै बसेको चिरन्जीवि दाई संग कुरा हुन्छ । अब संस्कृत पढाउने पवित्र ठाँउमा हिडेको धेरैले वाइन पिएको कारण ट्राफिक परेको हो । मेरो दिमागमा पहेलो बस्त्र लगाएका पुरेत प्रोफेसर संग भेट हुनेछ र उनी संगको भेटमै ठ्वासै रक्सि गन्हाउने मित्र चाहि परयो भने बर्बाद हुन्छ, बदनाम हुन्छ त्यसैले चिरन्जीबि दाई अगाडिअगाडि गएर तपाई र मैले चाहि बोल्नु पर्छ है म दाईलाई सम्झाउछु । हामी दाजुभाईका चिन्ता बेग्लै छ । वहाले हो त्यसै गरौ भन्नुभयो ।

लामो ट्राफिक परेकोले बेलुकी ८ बजेभन्दा अगाडि फ्लाइट भएकाले फर्कन नभ्याउने भयो र अव विद्यालय घुम्न नजाने की के गर्ने कुरा भयो । बसको अगाडि गएर चीरन शर्माले अगाडी बाटोमा अझ धेरै ट्राफिक भएको र निर्माण कार्य पनि हुदै गरेको कारण अब फकर्नु पर्ने बताए । महासचिव डा. बद्री केसी पनि अगाडि आएर अब पुग्न सक्दैनौ फर्कौ भन्नुभयो । कसैले प्रतिक्रिया जनाएन्न । आधा भन्दा बढिको अर्को दिन मात्र फ्लाइट छ तर चीरन जी र केही साथिहरुको आफ्नो फ्लाइटको कारण सबैलाई फर्काउदैछन । मैले खेद ब्यक्त गरे, जान पाए हुनेथियो भन्ने गुनासो चीरन्जीवी दाई र म आआफै गरिरहेका छौ । पुनः लोकमणि ढकाललाई फोन आयो र उनले उपाय निकाले एयरपोर्ट जानेहरुलाई ट्याक्सी खोजेर पठाई दिए । अब विश्व विद्यालय जान पाउने खबरले हामीहरुमा खुसियाली छायो तर बीचमा कन्ट्रक्सन भएकोले भरे एयरपोर्टमा पुग्न नसकिने पो होकी भनी चिन्ता भने छदैथियो । बस भित्र जारी नाचगान अब सेलाउदै गएको छ । वाइनको शक्ति अब सिद्धिन्दै गएको थियो । हामी ऐतिहासिक र सम्भवतः युरोपको सुन्दर शहर मध्येको एक हैडनवर्ग शहर पस्यौ । कतै सडक निर्माण तथा मर्मत भईरहेको थिएन । हामी अन्ततः संस्कृति विश्वविद्यालयमा प्रवेश गयौ । नेपाली प्रोफेसर राजेन खतिवडा संग भेट भयो युवा हुनुहुदो रहेछ । वास्तवमा उक्त ठाँउ सस्कृतिको विश्वविद्यालय नभई हिडलवर्ग (heidelberg) युनिभर्सिटी अन्तर्गतको साउथ इष्ट अन्तरगत नेपाल र नेपाली भाषाको अध्ययन गराइन्दो रहेछ । यस्ता विभाग प्राय सबै युनिभर्सिटीहरुमा हुने गर्दछ । मेरो दिमागमा खिचिएको प्रोफेसर पंडितको इमेज त्यहा पनि पाउन सकिन यद्यपी संस्कृति पढाई हुने र संस्कृतका धेरै र ठूठूला पुस्तकहरु देख्न पाउदा भने औधि खुसि लाग्यो । उक्त साउथ इष्ट विभागको भवनमा बुद्धिष्टिहरुको तोरन टाँगेको देख्दा अर्को अनौठो लाग्यो । हतारहतार हामीलाई लाइब्रेरी घुमाए र प्रिजन्टेशन दिए तर हतार भएकोले चाडै सिध्याएर हामी फर्कियौ ।

सुन्दर नदिको तट, दुबैतिर डाँडा र जंगल रहेको ठाँउका घरहरु यति राम्रा की मैले भूर्तेल जीलाई लौन नराम्रो घर देखाईदिनोस भनी कुरा गरे तर हामीले पाएनौ । लाग्छ यति सुन्दर ठाँउ संसारमा कमै मात्र होलान ।

कुमार जीको स्वागत मन्तब्यमा मैले जेजे सुने र गुने वास्तवमा मलाई रोमाञ्चक मात्र बनाएन हुत्हुत्याएको थियो । वहाको रुडेशहिम उच्चारणलाई राधेश्याम सुन्ने मेरो कान, एक विश्व विद्यालयको पूर्वी एशिया अन्तर्गत संस्कृति अध्ययन गराउनेलाई दाङ, काठमाडौ र धरानको संस्कृति विश्वविद्यालय झै बुझ्ने मेरो बुझाई यो यात्रा अवधिभर रोमाञ्चकारी बन्यो । फ्रयाङफर्टमा समुद्रले नछोएकोले जान निक्कै अल्छि लागेको थियो तर त्यो पनि भ्रम नै सावित भयो । जीवनमा धेरैकुरा विर्षिए पनि, लाग्छ रुडेशहिम र हिडलवर्ग सधैसधै दिमागमा रहिरहने छ । यी दुई ठाँउ भगवानको साच्चै नै सुन्दर रचना हुन । सबैले उपभोग गरुन र सबै रमाउन । धन्यवाद लोकमणि ढकाल जी र किरण सिग्देल बहिनी ।

१ अगष्ट २०१७