लिम्बुवान पूर्नस्थापनामा चुम्लुङको भूमिका र जातिय संस्था राजनैतिक पार्टीमा रुपान्तरणको अभ्यास – विश्वास दीप तिगेला

लिम्बु जातिको संमग्र उत्थान गर्ने उद्देश्यले स्थापना भएको संस्था हो किरात याक्थुङ चुम्लुङ (कियाचु) । यो संस्था एक सामाजिक संस्था र यसको मुख्य उद्देश्यहरु भाषा, लिपी, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्ने साथै लिम्बु जातिको हक, अधिकार र अवसरहरुको बारेमा वकालत गर्नु हो । लिम्बु स्वयंले आफूलाई याक्थुङ भन्दछन र चुम्लुङको अर्थ भेला हो, त्यसैले यस जातिय उत्थान संस्थाको नाम किरात याक्थुङ चुम्लुङ रहेको हो ।

कियाचुका यी उद्देश्यहरु हासिल गर्न लिम्बुहरुको स्वतस्फूर्त जाँगरण, सक्रियतासंगै राज्य नीतिबाट अर्थात राजनीतिक सम्बोधनबाट मात्र सम्भव हुन्छ । चुम्लुङ एक सामाजिक संस्था भएपनि यसको उद्देश्यहरु राजनीति परिधीभित्रका रहेका छन । संमग्रमा भन्नु पर्दा कियाचुको उद्देश्य सामाजिक हुन्छन तर उपलब्धि हुदा राजनीतिक उपलब्धि बन्छन । यसको अर्थ हो कियाचु राजनैतिक पार्टी होईन, राज्यको निर्वाचनमा कियाचुको तर्फबाट चुनाउको दिन मतदान बक्स थापिन्दैन बाँकी सबै राजनैतिक प्रकृतिका हुन्छन् । यसर्थ कियाचु अन्यन्तै महत्वपूर्ण संगठन हो, यसले खेल्नुपर्ने भूमिकाहरु समकालिन अन्य जातिय उत्थान संगठनको भन्दा पनि बृहत मान्न सकिन्छ । त्यसको कारणः अरुणपूर्वी भूभागको ऐतिहासिक पृष्ठभूमि – अर्थात गोर्खा र लिम्बुवान बीचको सम्झौताबाट मात्र अरुणपूर्वको लिम्बुवान भूमि नेपालमा गाँभिएको हो । तत्कालिन गोर्खा सेनाले युद्धमा जितेर गाँभिएको भूमि होइन ।

नुनपानी सम्झौता अर्थात नोङवा–वंशी सम्झौता वि.स. १८३१ (सन् १७७४) मा लिम्बुवानका लिम्बु शासक (सुभा) र गोर्खाली (नेपाल) पक्षका शासकहरुबीच एक राजनैतिक सम्झौता भयो । सम्झौतामा लिम्बुवानका लिम्बुहरुले आन्तरिक प्रशासन चलाउने, कर उठाउने, न्याय दिने, स्थानीय प्रसासन चलाउने, भूमि माथिको अधिकार सुरक्षित गर्दै लिम्बुहरुको पुस्तैनी भूमि किपट प्रणालीलाई मान्यता दिने, गोर्खालीहरुले जर्बरजस्ती लिम्बुवानका जमिन कब्जा नगर्ने, लिम्बुहरुको भाषा, संस्कृति, धर्म र परम्परालाई सम्मान गर्ने, कर प्रणाली अन्तर्गतः लिम्बुवानले गोर्खालीलाई निश्चित दरमा कर तिर्नुपर्ने यद्यपी आन्तरिक मामिला लिम्बुवानकै हातमा राख्ने सहमति सहित लिम्बुवान नेपालको एक हिस्सा हुने सम्झौता भयो । यहि सम्झौता अनुसार करिब १९३ बर्ष स्यायत्त लिम्बुवान चल्यो र वि.स. २०२४ मा लिम्वुवान क्षेत्रको किपटलाई रैयती भूमिमा बदल्ने निर्णय गरयो तब किपट प्रथा कानुनी रुपमा अन्त्य भयो । यो किपट प्रथाको अन्त्य गोर्खालीहरुको एकपक्षिय जर्बजस्त थियो । किपट प्रथाको अन्त, सम्झौताको उलंघन लिम्बुवानवासीलाई स्वीकार्य थिएन । लिम्बुवानले गोर्खाली अर्थात शाह वंशसँग सम्झौता गरेको र शाह वंशको शासन अन्त्यसँगै नुनपानीको सम्झौता पनि अन्त हुनगई लिम्बुवान भूमि पुनः वि.स. १८३१ अगाडिको अवस्थामा पुगेको दाबी गरि लिम्बुवान स्वतन्त्र राज्य भएको एकथरीको दाबी रहेको छ ।

यी भए लिम्बुवानका आदिवासी लिम्बु र त्यसक्षेत्रमा बसोवास गर्ने लिम्वुवानी जनताहरुको राजनैतिक विरासत । यो लिम्वुवान क्षेत्रलाई गोर्खालीले १७ पटकको आक्रमणमा पनि जित्न नसके पछि नुनपानी सम्झौताबाट अर्धस्वायत्त हैसियतमा रहने गरि नेपालमा गाँभिएको देखिन्छ । सम्झौता अर्थात कसम पत्रमा मैले यी सम्झौता पालना नगरेमा मेरो वंश नासहोस भनेका छन् जब यी सम्झौता पालना गरेनन र अन्ततः राजा वीरेन्द्रको वंश नास पनि हुन गएको तितो संयोग छदैछ ।

अरुण पूर्व, मेची वारि नेपाल भित्र पर्ने पूर्व लिम्बुवानको सिमाना हो भने करिब २५ प्रतिशत भूमि हालको भारत भित्र पनि पर्दछ । लिम्बुवानको एतिहासिक विरासतमा गौरव गर्नेहरु नेपालमा मात्र नभई भारतमा पनि थोरै संख्यामा रहेका छन् । यी त भए लिम्बुवानको राजनैतिक ईतिहास, त्यस्तै सहज र सजिलो केही तथ्यहरु पनि छन । लिम्बुवानका उत्तराधिकारीहरु नेपालको सुदुर पूर्व अरुण नदि देखि पूर्व निश्चित भूमिमा लिम्बुहरु बसोबास गर्दछन । लिम्बुहरुको भाषा, लिपी, संस्कार संस्कृति एकैप्रकारका छन् । धर्ममा किरात, युमा, मुन्धुम, हिन्दु, किश्चियन आदि सहितको विविधता रहेको छ ।

लिम्बु नेपालका आदिवासीहरु मध्येको एक जाति हो । अन्य आदिवासी जस्तै लिम्बुलाई पछाडी परिएका थिए र अझै पनि केही क्षेत्रमा पछाडी पारिएका छन । त्यसैले बहूदलिय ब्यवस्थाको पूर्नस्थापना वि.स. २०४५ मा भए लगतै पहिलो पटक त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा अध्ययन गर्ने लिम्बु विद्यार्थीहरुले किरात याक्थुङ चुम्लुङको स्थापना गरेका थिए तर यो संस्था संमग्र लिम्बुहरुको मातृसंस्थाको रुपमा स्थापित हुदै गयो । यो संस्था प्रत्यक लिम्बुको घरभित्रको अभिन्न संस्था हो । दुःख विमार र साह्रो गाह्रोमा राजनैतिक पार्टीले पनि साथसहयोग गर्न सक्दछ तर मराउपराउमा लिम्बुको संस्कार अनुसार अन्य जातिले लासलाई छुन मिल्दैन, लिम्बुले मात्र अर्थात चल्ने समुदायले मात्र छुन र सद्गद् गर्न मिल्दछ त्यसैले मराउपराउमा अनिवार्य चाहिने र साथमा रहने संस्था किरात याक्थुङ चुम्लुङ हो ।

हामीले कियाचु के हो, कियाचु स्थापना गर्ने लिम्बु एवं लिम्बुवानको पृष्ठभूमिको बारेमा चर्चा गर्यौं । उद्देश्य एवं एजेण्डा सामाजिक हुने तर उपलब्धि हुदा राजनीतिक प्राप्ति हुने कुरामा हामी प्रष्ट छौ । कियाचु प्रत्येक लिम्बुहरुको अभिभावकको रुपमा स्थापित भएको छ । एक हिसाबले लिम्बु जातिको आन्तरिक सरकार, चुलाभित्रको सरकारको रुपमा चुम्लुङ स्थापित भईसकेको परिबेशमा अव कियाचुको दायित्व पनि फराकिलो र जिम्मेवारपूर्ण रहेको देखिन्छ । लिम्बु भाषा, संस्कार, संस्कृति आदिको बारेमा कियाचुले बोलेको मात्र आधिकारिक अर्थात कियाचुले के बोल्छ है भनेर पर्खेर बस्नु भनेको संस्थाप्रति जनताको विश्वास, आड भरोसा हो । यस बखत कियाचुले ज्यादै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्दछ ।

लामो समय देखि लिम्बुवान पूर्नस्थापनाको निमित्त राजनैतिक अभियानहरु चलिरहेका छन् । यो परिवेशमा कियाचुले के कस्तो भूमिका खेल्न सक्दछ, यो स्वभाविक चासोको विषय हो । आगो बाँल्नको निमित्त पहिला दाउरा बटुल्नु पर्दछ । चुम्लुङ सामाजिक संस्था भएकोले दाउरा बटुल्ने र राजनैतिक संगठनले आगो सल्काउने काम गर्नुपर्दछ भने त्यो बलेको आगोको न्यानो ताप्न चुम्लुङ पनि जानुपर्दछ । भन्नुको तात्पर्य लिम्बुवान पूर्नस्थापनाको चुरो आधार चुम्लुङले दिनुपर्दछ, लिम्बुवान प्राप्तिको आन्दोलनमा चुम्लुङले पुलको काम गर्नुपर्दछ ।

कियाचुले लिम्वुवान पूर्नस्थापनाको आन्दोलनलाई कुनै न कुनै तवरबाट मलजल गरिरहनु पर्दछ । चुम्लुङ तठष्थ रहि लिम्वुवानजन्य राजनैतिक संगठनहरुलाई चलायमान बनाउनु पर्दछ । लिम्वुवान पूर्नस्थापनाको आन्दोलनमा जेलनेल परेको खण्डमा त्यो बेला प्रहरी र प्रसासनसँग लबिङ गर्ने देखि सडक आन्दोलन गर्ने सम्मको वातावरण तयार गर्नुपर्दछ । त्यो भनेको चेतना हो । लिम्वुवान पूर्नस्थापना गर्ने चेतनाको पाटाहरु धेरैछन । चुम्लुङ मरिच जस्तो चाउरिएर बस्ने होईन बृहत र मुख्य लक्ष्यमा केन्द्रीत भएर अघि बढनु पर्दछ । चुम्लुङ सामाजिक संगठन हो राजनैतिक संगठन होइन भन्ने गरिन्छ, समाज विना राजनैतिक संगठन बन्दैन र राजनीति चल्दैन । हरेक चुम्लुङको काम राजनीतिसँग जोडिएको हुन्छ । त्यसैले हरचुम्लुङको सदस्यलाई राजनैतिक संचेतना .र अपरिहार्यता बुझाउनु पर्दछ ।

कियाचुको अहिले नेपाल भित्र १३ जिल्लामा शाखाहरु छन भने विदेशमा डेढदर्जन भन्दा बढि सक्रिय शाखाहरु रहेका छन् । केही कियाचु सम्बन्धित मुलुकमा दर्ता भई संचालनमा छन् तथापी नेपालको किरात याक्थुङ चुम्लुङको प्रभावको कारण विदेशमा पनि लिम्बुहरु स्वतः सदस्य बन्न आएका हुन । नेपालमा कोकाकोला पिउनेले युकेमा आईपुगे पनि त्यहि कोकाकोला नामको ड्रिंग पिउदछ कारण उसले नेपालको कोकाकोलाको स्वाद नै युकेको कोकाकोलामा पनि चाहन्छ । त्यसैले नाम किरात याक्थुङ चुम्लुङ राख्ने अनि काम चाहि फूटबल क्लव, गल्फ क्लब जस्तो मात्र बनाउनु सहि होइन । युके, अमेरिका, क्यानडा, जापान, पोर्चुगल, हङकङ, मलेशिया, कोरिया लगायतका चुम्लुङले लिम्बुवान पूर्नस्थापनाको निमित्त दाउरा, मुडा भेला गर्ने भूमिका निर्वाह गर्नुपर्दछ तब मात्र आगो बाल्न सकिन्छ न्यानो ताप्न पाईन्छ ।

चुम्लुङ नेतृत्व परम्परागतवादी मात्र भएर हुदैन । देश विदेशको घटना इतिहासलाई पनि बुभ्नु आवश्यक हुन्छ । कियाचु जस्तै जातिय उत्थान संस्था कालान्तरमा राजनैतिक पार्टीको रुपमा रुपान्तरण भई ठूठूला परिवर्तन गरेको इतिहासलाई आत्मासाथ गर्नुपर्दछ । कियाचु जस्तै सामाजिक उत्थानको निमित्त काँशीरामले गठन गरेको संगठन अन्ततः बहुजन समाज पार्टी बन्न पुग्यो र भारतको उत्तर प्रदेशमा सरकार समेत बनायो । कालो अफ्रिकन समुदायको अधिकार र जातिय विभेद विरुद्धको संस्था अफ्रिकन नेशनल काँग्रेस (एएनसी) राजनैतिक पार्टीको रुपमा विकसित भयो र सिंगो देशको सरकार संचालन गरयो जसलाई नेल्सन मण्डेलाले नेतृत्व गरेका थिए ।

तमिल जातिय अधिकार र पहिचानको आन्दोलनमा सक्रिय तमिल नेशनल अलायन्स (टिएनए) औपचारिक संसदीय राजनैतिक गठबन्धन गर्ने राजनैतिक पार्टी बन्न पुग्यो । मलेशियाको मले जातिको अधिकार र प्रभुत्व संरक्षण गर्न सक्रिय युनाईटेड मले राष्ट्रिय अर्गनाईजेशन (युएमएनओ) सत्तारुढ राजनैतिक पार्टी नै बन्न पुग्यो । युकेको स्कटिस पहिचान र अधिकार आन्दोलनबाट विकसित स्कटिस नेशनल पार्टी (एसएनपी) ले लामो समय सरकार चलायो त्यस्तै स्पेनको वास्क जातिय साँस्कृतिक आन्दोलनबाट राजनैतिक पार्टी नै निर्माण भयो । देश भित्रकै कुरा गरौः जातिय, पहिचान आन्दोलनबाटै मधेशी जनअधिकार फोरम राजनैतिक संगठन बन्यो । तसर्थ जातिय उत्थान संस्था कालान्तरमा, समयको माग संगै राजनैतिक पार्टीको रुपमा पनि रुपान्तरण भएको देशविदेशमा धेरै उद्धाहरणहरु पाईन्छन । यसले के देखाउछ भने जातिय उत्थान संस्थाहरु सिर्फ आफ्नो पोषाक लगाउने, आफ्नो संस्कृतिमा नाच्ने मात्र होइन, राजनैतिक सरोकारको विषयमा आवाज उठाउने र अभियान छेड्ने सम्मको भूमिका निर्वाह गर्दछ भन्ने बुझ्नु पर्दछ ।

अन्तमा, कियाचुको विधानमा लेखिएको उद्देश्यमा मात्र सिमित हुनुहुदैन । आवश्यकता अनुसार उद्देश्यलाई बृहत बनाउन पर्ने हुनसक्दछ । कियाचुलाई सामाजिक संगठन मात्र होइन राजनैतिक संगठनको रुपमा पनि मान्न सकिन्छ । कियाचुले लिम्बुवान प्राप्तिको निमित्त दाउरा, मुढा जोडिदिने र राजनैतिक पार्टीले आगो सल्काउने वातावरण बनाउनु पर्दछ । जलेको आगोको तापले सबैलाई चिसोबाट मुक्त गर्नुपर्दछ । नेतृत्वले देश विदेशको ईतिहास र अभ्यासलाई पनि आत्मासाथ गरेर लिम्बुवान पूर्नस्थापनाको निमित्त नीतिगत र कार्यगत सक्रियतामा हिम्मतका साथ भूमिका खेल्नु पर्दछ ।

 

 

लेखकः कियाचु युकेका पूर्व महासचिव हुन ।

१७ जुलाई २०२५