भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यता – विश्वास दीप तिगेला

भानासापस्ले (भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन) सच्चाई आन्दोलन

भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यता
भाषा र साहित्य संग मानिसको अनन्य सम्बन्ध रहेको हुन्छ । भाषा साहित्य सभ्यताको सूचक मात्र नभई देशविदेशमा आफ्नो पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो । त्यसैले पनि भाषा साहित्य हाम्रो मुख्य चासोको विषय हुनु पर्दछ । प्रत्येक भाषा साहित्यको प्रभाव र पृष्ठभूमि आआफ्नै छन । यहा बढि चर्चा गर्न खोजिएको विषय चाहि नेपाली साहित्य, नेपाली भाषा साहित्यको पृष्ठभूमि र नेपाली साहित्य भित्र कुनकुन कुरालाई अटाउने ? अन्य मुलुकको अभ्यास कस्तो छ ? प्रचलनमा रहेको नेपाली भाषाको विरासत के हो र अब कसरी सच्चाएर, सुधार गरेर अघि बढन अपरिहार्य छ ? मुलुकको पहिचान संगै भाषिक पहिचान कसरी आउने गर्दछ भन्ने हो ।

भारतीय साहित्य भन्ने वित्तिकै भारतका २९ राज्य र ७ यूनियन भित्र बोलिने ७८० भाषाहरुको साहित्यलाई जनाउदछ । बिट्रीस साहित्य भन्ने वित्तिकै आयल्स अफ म्यान, च्यानल आइसल्याण्ड भित्र बोलिने एंग्लो नरमन, क्रोनिस, स्कटिस ग्येलिक, वेल्स, अंग्रेजी लगायत संयुक्त अधिराज्य भित्र बोलिने सबै भाषाको साहित्यलाई जनाउदछ । त्यस्तै पाकिस्तानी साहित्य भन्नाले उर्दु, पास्तु, वालुची, शिन्धु, सेराइकी, पंजावी र शिन्धु भाषाको साहित्यलाई जनाउदछ । त्यसैले नेपाली साहित्य भन्ने वित्तिकै नेपाल भित्र बोलिने १२५ भाषामा लेखिएका सबै भाषाको साहित्यलाई नेपाली साहित्य मान्नु पर्दछ ।

प्रचलनमा रहेको नेपाली भाषाको इतिहासबाट शुरु गरौ । कर्णाली प्रदेशको सिँजा उपत्यकाबाट खस भाषाको आरम्भ भएको हो भन्ने कुराको प्रमाण दुल्लु दामुपालको शिलालेखलाई लिइन्छ । उक्त शिलालेख वि.स. १०३८ मा स्थापना भएको मानिन्छ । (कुँवर, २०७३, मिर्मिरेअनलाइनडटकम) । खस भाषा भित्र मुख्य ३ प्रशाखा जुम्ली, डोटेली र कुमाउनी अथार्त कतिपयले चाहि ११ प्रशाखा (जुम्ली, डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुरेली, डोल्पाली, डडेल्धुरी र गढवाली) मा विभक्त गरेका छन । (विकिपिडिया, २०१८) । ति विभक्त गरिएका मध्ये हामीले नेपाली नामाकरण गरिएको भाषा, जो हामी बोलिरहेका छौ, पढिरहेका छौ, लेखि रहेका छौ, यो चाहि खस भित्रको जुम्ली भाषा नजिक भएकोले यसलाई खसजुम्ली भन्न सकिन्छ वा खससिँजाली पनि भन्न सकिन्छ । भाषाको सवाल भएकोले लवज र शब्दलाई बढि प्राथमिकता दिनुपर्ने हुन्छ । त्यसैले खस भित्रका प्रकारहरु मध्ये धेरै शब्द र लवज जुम्लीबाट भएकोले खसजुम्ली भन्न सान्दार्भिक हुन्छ । खस भाषा मात्र भन्न सकिने स्थिती छैन । मुख्य उत्पतिको बोली ‘खस भाषा“ स्वयं चाहि अहिले पनि संरक्षण गर्नुपर्ने अवस्थामा छ ।

‘खस जुम्ली“ भाषालाई ‘नेपाली“ भाषा भनी नामाकरण गरिए पछि केही असहजता र दुविधा थपिएको देखिन्छ तर यसलाई बहसबाट निकास पाउन सकिन्छ। सार्वभौम मुलुक नेपाल हुनुको नाताले नेपालका नागरिक वा नेपालीहरुले बोल्ने भाषालाई नेपाली भाषा भन्ने परम्परा छ । सामान्यतया पहिलो पहिचान (मुलुक) संगै जोडेर अन्यले चिन्ने गर्दछन् । यो स्वभाविक पनि हो । हाम्रा चाईनीज मित्रहरुले बोलेको सुन्दा उनीहरु चाइनीज भाषामा कुरा गरिरहेका छन भन्दछौ तर उनीहरु वास्तवमा म्याण्डरिन वा क्यान्टोनी भाषामा बोलिरहेका हुन्छन । मुख्य पहिचान (देश) संग अन्य सहायक पहिचान जोडिने प्रचलन विश्वभर छ । तर हाम्रो मुल पहिचान (देश) नेपाल छ र भाषाको नाम नै नेपाली राखिनुले, के प्रोत्साहित गर्दछ भने जो नेपाली (खसजुम्ली) बोल्दछ त्यो मात्र नेपाली हो अथवा जो नेपाली हो उसले खसजुम्ली भाषा बोल्नै पर्दछ भन्ने कसैले वितर्क पनि गर्न सक्दछन् । अर्थात, खसजुम्ली नबोल्ने नेपाली होइनन । तेस्रो ब्यक्ति अर्थात अन्य मुलुककाले हामीलाई नेपालका नागरिक वा नेपाली पहिचान भएकाले हामीलाई नेपाली जाति देख्छन, हामीले जुनसुकै भाषा बोलेपनि नेपाली बोले भन्छन, हाम्रो आआफ्नै जात, थर भएपनि उनीहरुले नेपाली जाति भन्दछन । त्यो अर्कै पाटो रहयो । यहा चर्चा गर्न चाहेको विषय चाहि नेपाली शब्दको, नेपाली साहित्यको र नेपाली भाषा साहित्यको हो ।

नेपाली शब्दको सन्दर्भमा नेपाल नामक एक मुलुक भएकोले राष्ट्रियता नेपाली, नेपाल भित्र बोलिने सबै भाषाहरुको साहित्य नेपाली साहित्य र खसजुम्ली (नेपाली) भाषालाई देवनागरी लिपी प्रयोग गरि लेखिएको साहित्य नेपाली भाषा साहित्य हो । यहा यी माथिका ३ वटै कुरा सहि र स्वीकार्नै पर्ने हुन्छ । यो अर्थमा की नेपाल भित्र बोलिने विभिन्न मातृभाषाहरु सहित खसजुम्ली भाषाको साहित्यलाई नेपाली साहित्य भन्नै पर्नेहुन्छ र अर्को महत्वपूर्ण कुरा चाहि खसजुम्ली भाषालाई मात्र ‘नेपाली भाषा“ नामाकरण भईसकेको एवं मान्यता पाईसकेको हुनाले खसजुम्ली भाषाको साहित्यलाई मात्र पनि नेपाली साहित्य मान्नै पर्ने स्थिती छ । हामी यी दुवै कुरालाई ख्याल गर्दै स्पष्ट हुन आवश्यक छ ।

देशको नाम नेपाल भएकोले भाषाको नाम नेपाली भनी नामाकरण गर्न आवश्यक थिएन । छिमेकी मुलुक भारतको भारती भाषा भनिन्दैन । त्यहा हिन्दी, तमिल, मराठी, अंग्रेजी लगायत अनेक भाषा बोलिन्छ । फिलिपिन्स देशको फिलिपिना भाषा नभनी तागलोक भाषा नै भन्दछन त्यो लगायतको १ सय ८७ भाषा फिलिपिन्समा छन् । त्यसैले खसजुम्ली भाषालाई नै यथावत नाममा सरकारी भाषा बनाएको भए भाषाको नाम र यसको बुझाईमा दुविधाहरु आउने थिएन्न ।

कसरी र कहिले खस जुम्ली भाषालाई नेपाली नामाकरण गरियो त ? कमल प्रसाद मल्लद्धारा सम्पादित एकपुरानो पुस्तक ‘प्रस्पेण्टिभ अन कन्टिन्यूटी एण्ड चेन्ज’ पुस्तकको पेज ४५७ मा ‘प्रधानमन्त्री चन्द्र सम्शेरले सन् १९०५ मा नेपाली भाषा बाहेक अन्य भाषामा लेखिएको डकुमेन्टहरु प्रसासन र अदालतहरुमा अमान्य हुने बनाए ।’ (मल्ल, १९८९, पृ ४५७) उल्लेख छ । त्यस्तैगरि अर्को दस्तावेजमा भनिएको छ “गोर्खा राज्यको विस्तारसँगै लादिएको खस कुरा वा गोर्खा भाषाको साम्राज्य हेर्दा हामी भाषाको मामिलामा लोकतान्त्रिक गणतन्त्रमा होइन, सुरेन्द्रवीर विक्रम शाह र जंगबहादुर राणाको शासनमा बाँचिरहेका छौँ, जसले गोर्खा भाषाको शासनलाई थप कठोर बनाएका थिए । उनीहरूले वि. स. १९१० सालमा एक इस्तिहार जारी गरी सरकारी कामकाज चलाउनु भने तत्पश्चात खस कुरा वा गोर्खा भाषाबाहेक अन्य भाषाको प्रयोगमाथि बन्देज लगाएका थिए, जुन बन्देज अद्यापि लागू रहेको छ ।” (मल्ल के. सुन्दर, नेपालमा भाषिक विभेद, डर्बान घोषणा र कार्ययोजना तथा नेपालमा जातीय विभेद, सन् २००२) ।

युग पाठकले माङ्गेना पुस्तकमा लेखेका छन्ः सन् १९२० को दशक देखि नै नेपाली भाषाको प्रचार गर्नेमा दार्जिलिङबाट सुधपा (सूर्य विक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) प्रमुख थिए । सुधपाकै दबाबमा सन् १९३२ मे महिनामा कलकत्ता विश्वविद्यालयले पढाई गराउने विषयको नाम ‘नेपाली पहाडिया खसकुरा’ लाई ‘नेपाली’ शब्दले विस्थापित गरयो । (पाठक, २०७४, पृ४४) त्यहि सेरोफेरोमा खसजुम्ली नजिकको भाषालाई नेपाली भाषा भन्न शुरु भएको भेटिन्छ । यस भाषालाई राज्यबाट संरक्षण प्राप्त भएकोले संमृद्ध बन्न सकेको प्रष्ट हुन्छ । यसको अर्थ के पनि हो भने भाषाको संमृद्धि, राष्ट्रकै संमृद्धि हो र भाषा संमृद्धिको निम्ति राज्यबाटै संरक्षण हुनुपर्दछ भन्ने दृष्टान्त पनि हो । माङ्गेना पुस्तककै पृष्ठ ५३ मा भनिएको छः ‘देशकै नाममा इकार जोडेर शासकीय भाषालाई जब नेपाली बनाईयो तब अरु भाषा र संस्कृतिहरु स्वतः बहिष्कृत भए ।’

यो तथ्य संगै हामी स्वस्थ बहस गर्न सक्छौ । खसजुम्ली भाषालाई नेपाली भाषा नामाकरण गर्नु सहि थियो या गलत? के नाफा र के घाटा भयो ? खसजुम्ली भाषालाई नेपाली नामाकरण गर्नुले अन्य भाषालाई उपेक्षा गरिएको अर्थात नसमेटिएको निक्यौल गर्दै प्राडा. टंक न्यौपानेले सबै भाषाहरुको साहित्यलाई समेटनको निम्ति ‘नेपालेली’ भन्ने शब्दको प्रयोग गरौ भनी प्रस्ताव पनि गर्नुभएको छ । यो सवाललाई अब महत्वको साथमा हेरिनु पर्दछ की ?

खसजुम्ली भाषालाई विभिन्न कालखण्डमा विभिन्न नामले पुकारिन्थ्यो । ‘नेपाली भाषाको काल विभाजन ऐतिहासिक घटनाक्रम भाषिक पुरातनको आधारमाः सिंजाली भाषा वि.स. ११५०–१४५० सम्म, पर्वते भाषा वि.स. १४५०–१८५० सम्म, गोर्खाली भाषा वि.स. १८५०–१९९० सम्म र राष्ट्र भाषा नेपाली भनेर वि.स.१९९० पछि भएको उल्लेख छ ।’ (आचार्य, शोधपत्र पृ २३) भनिएको छ ।

एक महान ब्यक्ति नेल्सन मण्डेलाले भनेका थिए, ‘जसलाई भनिएको हो उसले बुझ्ने भाषामा बोल्दा उसको टाउकोमा गएर बस्दछ र उसैले बोल्ने भाषामा कुरा गर्यौ भने उसको मुटुमा गएर बस्दछ ।’ (नेल्सन मण्डेला), अर्का चिन्तक पेड्रो काल्डरोले भनेका छन ‘भाषा सबैभन्दा खतरनाक हतियार हो ।’ त्यसैले यो भाषाको हतियार कसरी र कताकता चल्यो अब हिसाब किताब गरेर सुस्पष्ट हुदै सच्याउन र सुधार गर्न आवश्यक छ । खसजुम्ली भाषालाई नेपाली नामाकरण गर्नुको फाइदा बेफाइदा दुवैछन् । यद्यपी खसजुम्लीहरुको विरासतलाई सम्मानपूर्वक ब्यवस्थापन गर्ने सवालमा पनि चिन्तन आवश्यक छ । गोर्खा राज्यको एकात्मककरण संगै गोर्खा राज्यको प्रभुत्व कायम गर्न पक्कै पनि एक भाषी नीतिले सहयोग पुरयाएको कुरा यसको नाफा पक्ष रहयो भने अन्य मातृभाषीहरु ओझेलमा परे र मेहेन्द्रीयवादमा रुमलिएका छन् । त्यो यसले पुरयाएको घाटा हो ।

के हो महेन्द्रीय राष्ट्रबाद ?
राजा महेन्द्रले “एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देश” को नारा लगाई खसजुम्ली भाषालाई नेपाल राज्य भाषाको मान्यता दिई पुरै देशभर सरकारी कामकाजको भाषाको रुपमा कडाईका साथ लागु गरि अरु भाषालाई एक हिसावले दमन नै गरे । त्यसै गरि नेपाललाई पहिलो चोटी धर्म सापेक्ष राज्य घोषणा गरेर अन्य धर्मको अस्तित्व अस्वीकार गरे । देशको ऐन कानुन धर्म प्रेरित बनाई एक समुदाय बिशेषलाई देशको ठेक्का दिए । अन्य भाषा बोल्ने वा अन्य धर्म मान्नेलाई गाई खाने भाषा वा धर्म भनियो र जेल हालियो । तराईका सिमाहरुमा पहाडी समुदायलाई लगेर राखी सिमाको रक्षा गराउने नाटक मञ्चन गरियो ।

नेपाली समाज अहिले पनि महेन्द्रीय राष्ट्रवादको थिलथिलोमा छ । नेपालीहरुको मस्तिष्कमा एक देश, एक नरेस, एक भाषा, एक भेष भन्ने मन्त्रले लामो समय गाँजी रहयो र अझै पनि उहि धङ्धङ्गीको अवशेष बाँकी छन् । सबै गणराज्यहरु मासेर एक देश, सबै शासकहरु मासेर एक राजा, अन्य पोषाकहरु मासेर एक भेष बनाउदै गर्दा भाग्यवस सबै जात, थरहरु मासेर एक थर मात्र राख्ने काम कसो भएन जुन सुखद कुरा रहयो । स्वभाविक प्रश्न उठ्न सक्दछ । बहूभाषा बोलिने मुलुकमा यस्तो नीति आउनु सुखद कुरा थियो की दुःखद ? यस विषयमा सबैको अध्ययन र चासो हुनु जरुरी छ ।

नेपाली साहित्यको सापेक्षित परिभाषा र स्वायत्तता
वर्मा, भारत, भुटानमा बस्ने नेपालीहरु खसजुम्ली (नेपाली) भाषा बोल्छन, लेख्छन तर उनीहरु संग नेपाली नागरिकता छैन । उनीहरुलाई त्यहा नेपाली जातिको रुपमा चिन्दछन । उनीहरु नेपाली साहित्यका डायस्पोरा हौं भन्ने स्वीकादैन्न । उनीहरु जन्मसिद्ध त्यहि ठाँउका नागरिक हुन तसर्थ भाषा, साहित्य मार्फतको पहिचान र प्रतिष्ठामा स्वायत्तता चाहान्छन । उहि नेपाली समुदाय बीच मात्र आआफ्नो थरले चिनिन्छन । त्यसैले ति विभिन्न भूगोलमा बसोवास गर्नेहरुलाई समेट्ने गरि अब भाषाको नाम र नेपाली साहित्यको पूर्नब्याख्या हुन अति आवश्यक छ । भाषा र साहित्यलाई भूगोलको सिमा भित्र बाँधेर राख्न सकिन्दैन । नागरिकताको आधारमा अलग्याउन पनि मिल्दैन ।

सामान्यतया ‘नेपाल भित्र बोलिने सबै (मातृभाषा सहित) भाषाहरुको साहित्य तथा विभिन्न भूगोलमा रहेका, नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले खसजुम्ली वा आफ्नो मातृभाषामा लेखेको साहित्य नेपाली साहित्य हो ।’ यो ब्याख्या र परिभाषाले मात्र अब पूर्णता र सापेक्षता तर्फ लैजान सक्दछ । नेपाली (खसजुम्ली) भाषाको रचना देव नागरी लिपीमा लेखिएकोलाई मात्र नेपाली साहित्य मान्ने साँघुरो दायरालाई बढाउदै अघि बढनु अहिलेको आवश्यकता हो । संमग्रमा नेपाली साहित्यको श्रीबृद्धिको निम्ति हरप्रकारको कार्य गर्नु मुख्य हाम्रो दायित्व हो ।

मानिसले मातृभाषा, सम्पर्क भाषा, अन्तर्राष्ट्रिय भाषा तथा छरछिमेकका भाषा बोल्ने गर्दछन् । उनीहरुको मातृभाषाको साहित्यलाई कसरी ब्यवस्थित गर्ने ? उनीहरुद्धारा सिर्जित साहित्यलाई कसरी नामाकरण गर्ने ? उदाहरणको निम्तिः नेपाली भारतीय साहित्य, नेपाली वर्मेली साहित्य, नेपाली ब्रिट्रिस साहित्य यो सगै मातृभाषाको सवालमा चाहि लिम्बु भारतीय साहित्य, लिम्बु नेपाली साहित्य र लिम्बु वर्मेली साहित्य स्वभाविक रुपमा आउनु पर्दछ । त्यस्तैगरि पहिलो तथा मुख्य पहिचान/चिनारी (देश) को नामबाट छाँयामा पर्ने अवस्थालाई हामीले कसरी ब्यवस्थापन गर्ने ? चिन्तनको खाँचो छ । भाषाको सवालमा लेखक राजेन्द्र महर्जनले लेख्नु भएको छ “भाषाको मामिला हेर्दा यस्तो देखिन्छ, हामी महेन्द्रकालीन राष्ट्रवादको दुर्गन्धी दहमै भैँसी जस्तै रमाइरहेका छौ ।” (महर्जन, २०१६, न्यूयोर्कसमाचारडटकम) वास्तवमा हामी त्यो महेन्द्रकालिन विरासत भन्दा ध्वनी विज्ञान सम्मत अगाडि किन नजाने ?

खस भाषा/खसजुम्ली भाषाः
‘खसजुम्ली भाषाको उन्नत रुप नेपाली भाषा हो भन्ने तथ्य त स्थापित भइसकेको छ । इतिहासकालीन बृहत खसान राज्य अन्तर्गत सिंजा उपत्यकामा बोलिने भाषा खस हो । त्यसको सिंजा केन्द्र थियो र यस भाषाको प्रभाव क्षेत्र २२ खोला र १४ दरा समेटिएको भूभाग– तिब्रिकोट, जुम्ला, चौधबिस, रास्कोट, हुम्ला, गुम मुगु, खत्याड, सोरु, डोल्पा, बाजुरासम्म । भाषाका अध्येताहरुले पनि यो भाषालाई जुम्ली, जुम्लेली, खसकुरा र सिंजाली भनेर पनि चिनिने उल्लेख गरेका छन् । समाज भाषा वैज्ञानिक सर्वेक्षण अन्तर्गत सन् २०१६ मा ‘जुम्ली नेपाली भाषा’को अध्ययन भएको थियो । अध्ययनले जुम्ली नेपाली भाषा बाजुरा, बझांग र अछाममा पनि बोलिने गरेको उल्लेख गरेको छ । यद्यपी यसमा डोल्पा, जाजरकोट, दैलेख, सल्यान, रुकुम तिर पनि बोलिने जानकारी छ । भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदन अनुसार जुम्ली नेपाली भाषी मध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः ‘नेपाली भाषा’ को माध्यम प्रयोग गर्ने गर्दछन ।’ (चौलागाईं, २०७५, दुरवीननेपालडटकम) । भाषा विस्तार हुदै आउदा पर्वत–गोर्खा क्षेत्रमा आईपुग्दा लवजमा केही परिवर्तन भएको मानिन्छ । त्यसपछि गोर्खा राज्य विस्तार संगै यसको विकास र विस्तार भएको पाईन्छ ।

नेपाल भाषाः
नेपाल देश, नेपालको राष्ट्रियता नेपाली, नेपाली साहित्य, नेपाली भाषा साहित्यको बारे चर्चा गर्दैगर्दा ‘नेपाल भाषा“ शब्द पनि नजिक छ । काठमाडौंलाई मात्र नेपाल भनिने पुरानो प्रचलन अनुसार काठमाडौं (तत्कालिन नेपाल) भित्र धेरैले बोल्ने भाषा नेवार भएकोले नेवार भाषाको नाम नै ‘नेपाल भाषा“ रहेको हो । नेपालभाषा संमृद्ध बन्दैगएको बखत सन् १९८९ मा जुद्ध शमशेर समक्ष बालकृष्ण शम्शेरले गरेको बिन्तिपत्रमा लेखेका छन्ः ‘राष्ट्रिय एकताको निम्ति एउटा राष्ट्रभाषा हुनु अत्यावश्यक रहेको छ… ।’ (पाठक, २०७४, पृ५६) त्यस कारण नेवार भाषालाई राज्यले उपेक्षा गरेको भएपनि संयुक्त राष्ट्रसंघमा नेवार अक्षर रञ्जना लिपी नै नेपालको लिपी भनी दर्ता भएको छ । नेवार समुदाय भित्र मात्र १२ वटा लिपी प्रचलनमा रहेको अर्को रोचक पक्ष छदैछ भने ११ भन्दा बढि नेवारका उपजातहरु रहेका छन् ।

विश्वमै लेखन लिपीको विविधता झनै रमाईलो पाइन्छ । एक नेवार समुदायको १२ वटा लिपीको ठिक विपरित एक ल्याटिन अल्फावेट लिपीलाई अंग्रेजी भाषाले सहित विश्वका १३० भाषाले प्रयोग गर्नेगर्दछ । त्यस्तै मायान लिपीलाई विश्वका ३२ भाषाले प्रयोग गर्नेगर्दछन् । अर्थात ३२ भाषाको लेखन लिपी मायान हो ।

हाइपोथेटिकल
खसजुम्ली भाषाको सट्टामा थारु भाषालाई ‘नेपाली भाषा“ नामाकरण गरी सरकारले राज्यबाट पक्षपोषण गरेको भए अहिलेको अवस्था कस्तो हुनेथियो होला ? अत्यन्तै चर्चित डा. बाबुराम भट्टराई एसएलसीमा के बोर्डफष्ट हुने थिएहोलान ? भानुभक्त आचार्यले बाल्मिकीको रामायण खसजुम्ली (नेपाली) भाषामा अनुवाद गरेर घरघर पुर्याएको भनिएपनि के यस्तो संमृद्ध हुन सक्थ्यो होला ? खसजुम्ली भाषालाई कसले शुरुवात गरयो त नेपाली भाषा भनी बोलाउन ? सम्भवतः नेपालबाट दार्लिलिङ, कुमाउ र वनारस तिर गएकाले बोल्ने भाषालाई त्यहाका समुदायले पहिलेपहिले नेपाली भाषी भन्न शुरु नगरेको भए नेपाली भाषा नाम रहन सक्थ्यो होला ? विश्लेशक सिके. लालका अनुसार नेपाली’ भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका थिए भनेका छन् । के भाषा यति सजिलै विकास गर्न सम्भव हुन्छ ?

लेखन विवाद
खसजुम्ली (नेपाली) भाषालाई देवनागरी अक्षरमा लेखिने प्रचलनको सवालमा नेपाल सरकारले २०६९ सालमा स्वीकृत गरेको ‘नेपाली वर्ण विन्यास’ (पुस्तक) ले धेरै ध्वनी विज्ञान नजिक लगेको थियो । अन्य भाषीलाई देवनागरी लेखन सरल हुनेभएकोले नेपाली साहित्य विस्तारको ढोका खुलेको थियो । लेखन जति सजिलो हुन्छ त्यति नै अन्य भाषीले सिक्न सक्दछ र त्यति नै विस्तार र विकास हुन्छ । तर, त्यसको ठिक विपरित वि.स. २०७४ मा मानक नेपाली भाषा अभियानले ध्वनी विज्ञानलाई नभई ऐतिहासिक विरासतको आधारमा लेखनको मानक वनाएका छन् । जसले सयौ ग्रन्थहरुलाई त बचाएका छन तर भाषा लिपीलाई बाहिर विश्वमा लैजाने बाटो चाहि साँघुरो बनाएको छ । यसलाई सामान्य रुपले मात्र हेर्न मिल्दैन ।

नागरी लिपी भारतको देवनगर (काशी) बाट शुरु भएकोले यसको नाम ‘नागरी’ भनिएको हो । पछिबाट देव थपेर देवनागरी भनिएको हो । यस नागरी लिपीमा जम्मा ५२ अक्षर, १४ स्वरबर्ण र ३८ ब्यंजनबर्ण हुन्छन् । यस नागरी लिपीमा संस्कृत, हिन्दी, मराठी, कोंकणी, शिन्धी, काश्मीरी, डोगरी, नेपाली, बोडो, मैथिली लगायत ९ भन्दा बढि भाषाहरु लेखिन्छन् । यसको विकास ब्राम्ही लिपीबाट भएको हो । (वामनकार, २०१८, भिमिसाहित्यडटकम))

अन्य मुलुकको अभ्यास हेरौ । परम्परागत लेखनमा रहेको चाईनिज म्याडरिनको ३ हजार ब्यञ्जन तथा स्वरवर्ण अक्षरहरुलाई सरलीकरण गरेर २६ अक्षर, २३ ब्यञ्जनवर्ण र २४ स्वरवर्ण बनाउदा पनि उनीहरुको इतिहासको विरासत बाँचेकै छ । तर, नेपाली लेखन चाहि ध्वनी विज्ञानबाट पछि फर्किएर इतिहासको विरासत जोगाउनमा लागेको छ । जुन कुरा भाषा साहित्यको विस्तारको बाँधक हो । जति सजिलो लेखन त्यतिनै विस्तार हुदै जाने भएकोले त्यहि नै भाषा साहित्य संमृद्धिको आधार हुने गर्दछ भन्ने चेतना किन लागु गर्दैनौं ?

भाषा समानता र समाबेशी सवाल
उसो त वि.स. १९०५ मा सुब्बा सिरधोज तिगेला लिम्बु (हाल छथर जोरपाटी १) लाई प्रदान भएको सनदमा अंग्रेजी, उर्दु र नागरी लिपी भएको छाप लगाईएको छ । त्यसले स्पष्ट पार्छ की १ सय ७० बर्षअघि नेपालको प्रसासन सबैको अस्थित्व स्वीकार्ने समावेशी थियो । त्यस्तै ‘वि.स. २०१५ सालमा विश्वेश्वर प्रसाद कोइराला सरकारले प्राथमिक देखि विश्वविद्यालय सम्म नेपाली बाहेक हिन्दी, मैथिली र नेवारी भाषामा पठ्नपाठ्नको अनुमति प्रदान गरेको थियो । अफसोच दरबारको आदेशमा रेडियो नेपालबाट हिन्दी र नेवारी भाषाको कार्यक्रम र समाचार वि.सं. २०२२ सालमा बन्द गराइयो । वि.सं. २०५४ साल चैत्र ११ गते काठमाडौं महानगरपालिकाले नेवारी भाषा, धनुषा जिविस र राजविराज नगरपालिकाले मैथिली भाषालाई स्थानीय कामकाजी भाषाको रूपमा लागू गर्न प्रयत्न गरेका थिए । तर न्यायाधीशद्वय कृष्णजंग रायमाझी र टोपबहादुर सिंहको संयुक्त इजलासबाट वि.सं.२०५६ साल जेठ १८ गते नेपाली बाहेकको मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नु संविधान विपरीत हुने आदेश जारी गरे ।’ (चौधरी, २०७५, लोकतन्त्रडटकम) ।

एक भाषा नीति लागु गर्नुको मुख्य कारण प्रसासनिक सजिलोको निम्ति थियो । त्यो एक भाषी नीतिले खसजुम्ली नबोल्ने जातिलाई भने पढाईमा निरन्तर पछाडि पारी रहेको थियो । खसजुम्ली भाषी बाहेककालाई पढाईमा भकालोको काम गरिरहेको थियो । प्रम चन्द्र सम्शेर देखि शुरूभएको भाषिक नीतिलाई पूर्व राजा महेन्द्रको पालामा अझ कडा पारियो । रोचक पक्ष चाहि बहूदल पश्चात वि.स. २०४६ मा कानुन बनि माध्यमिक तहमा वि.स. २०५६ देखि संस्कृत भाषालाई एसएलसी (हालको एसईई) सम्म अनिवार्य र पछि ऐच्छिक गरियो तर वि.स. २०६३ मा हटाउन बाध्य हुनुपरयो । अनिवार्य गर्नुको कारण संस्कृत भाषा प्राचीन भाषा भएकोले संस्कृत जान्दा मात्र चुरोकुरा जान्न सकिन्Þछ भन्ने तर्क थियो । धेरै विद्वानहरूले संस्कृत अनिवार्य गर्नुको उद्देश्य खसजुम्ली नबोल्ने समुदायलाई शिक्षामा रोक्नु हो भन्ने आरोप पनि लगाए, प्रष्ट खसजुम्ली बोल्न नसक्ने लगभग ६० प्रतिशत मातृभाषीले संस्कृत उच्चारण गर्नै सक्दैनथे र सबै विषय उत्तिर्ण नगरे एसएलसी पास नहुने भएकोले षडयन्त्र छ भन्ने आरोप पनि लगाए । दोस्रो कारण, दाङ, काठमाडौं र धरानमा रहेका तत्कालिन महेन्द्र विश्वविद्यालय र हालको नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन गरेकालाई रोजगारीको ब्यवस्था हुने बुझे । रोजगारी प्राप्त हुनेभएपछि संस्कृत अध्ययनमा आकर्षण तथा संस्कृत भाषाको संमृद्धि थियो तर संस्कृत चाहि सबै जनताको विरासत थिएन । त्यसैले पनि हटाउन पर्ने आवाज उठ्यो र हटयो । नेपालको विगत २ सय बर्षको ईतिहासमा प्रभाव, प्रतिष्ठा र अवसरको निम्ति भाषाले नै भूमिका खेलेको पाईन्छ । त्यसैले भाषा र सरकारको नीति सबैभन्दा महत्वपूर्ण कुरा हुन् ।

सबैभन्दा मारमा परेको बर्ग
नेपाली भाषा नामाकरणको सट्टा खसजुम्ली भाषा भनिएको भए नेपालका मातृभाषीहरुलाई नेपाली हुनको निम्ति नेपाली भाषा जान्नै पर्दछ भन्ने भ्रमको दबाब हुनेथिएन । भाषिक शोषण र दमनको महशुस हुने थिएन । नेपाली पहिचान भएका लाखौलाख भारतीय नागरिकहरुलाई भारतमा नेपाली भनी विभेदको शिकार बन्नु पर्दैन्थ्यो । सामान्यतया भारतमा नेपाली भाषा भन्ने÷बोल्ने वित्तिकै नेपालको नागरिक भन्ने भ्रम पर्ने थिएन । त्यसैले खसजुम्ली (पर्वते, गोर्खा) भाषालाई नेपाली भाषा नामाकरण गर्नुले नेपालका मातृभाषीहरु र भारत, भुटान, म्यानमार लगायतमा जन्मिहुर्किएका नेपाली पहिचान बोकेकाहरु सबैभन्दा ठूलो मारमा परेका छन् ।

थाँती रहेको काम
नेपाली शब्दको आयाम अनेक र महत्वपूर्ण छ । नेपाली साहित्य र नेपाली भाषा साहित्यको परिभाषामा सुधार तथा परिमार्जन गर्दै विस्तार गर्न आवश्यक छ । परिभाषामा नेपाल बाहिर जन्मिएका, पहिचान नेपाली भएका र नेपाली परिचयमा गौरव गर्नेले बोल्ने भाषाको साहित्यलाई कसरी नेपाली साहित्यमा जोड्ने ? जुनसुकै भाषामा लेखिएको भएपनि साहित्यको मर्म, भावना, सुगन्धले कुन साहित्य हो भन्नेकुरा जनाउदछ । यो मान्यता संगै विदेशमा रहेकाले विदेशकै सुगन्ध बोकेको साहित्य खसजुम्ली (नेपाली) भाषा र नागरी लिपीमा लेखेको साहित्यलाई कसरी नेपाली साहित्य भन्न सकिन्छ ? कसरी समन्वय गर्न सकिन्छ ? अब हाम्रो परम्परागत बुझाईको नेपाली साहित्यको परिभाषा किन अपूर्ण छ ? नेपाल र भारतको सिमा छुटिन्दा भारत तर्फ परेका तथा पुस्तौपुस्ता देखि भारतमा रहेका भारतीय नेपालीहरुले लेखेको खसजुम्ली भाषाको साहित्य नेपाली डायस्योरा होइनौ भन्ने उनीहरुको दावी छ । अब यो दावी र साहित्यलाई के मान्ने ? सिँजा उपत्यकामा खस भाषाको विकास हुनअघि भगवान बुद्ध कालिन पालि भाषा थियो र त्यो पाली र अहिलेको नेपाली भाषाका धेरै शब्दहरु मिल्दछन । उक्त पाली भाषामा संस्कृति मिसिएको वा संस्कृतमा पाली मिसिएको हो? पाली र नेपाली बीच कस्तो सम्बन्ध छ ? पाली र संस्कृत भाषा कुन पहिलो, पाली भाषा लेखिने ब्राम्ही र खरोष्टी लिपी मात्र सम्राट असोकको केही स्तम्भहरुमा पाइनु र संस्कृत भाषा र नागरी लिपीमा नभेटिनु  (शर्मा, २०१९, युट्युव) थप खोजको विषय हुन सक्दछ ।

भाषा, लिपीको इतिहास र प्रभावलाई ख्याल गर्दै आजको यो परिवर्तित परिस्थितीमा अझ खुल्ला भई नेपाली साहित्य, खसजुम्ली भाषा साहित्य र नेपाली पहिचान एवं प्रतिष्ठाको निम्ति अझ जुझारु भई कसरी अघि बढ्न सकिन्छ ? आदि बारे निष्पक्ष चिन्तन र बहस हुन जरुरी छ ।

उपसंहार,
खसजुम्ली भाषाको विकसित रुप नै अहिलेको नेपाली भाषा हो भन्ने कुरामा दुईमत छैन यद्यपी जुम्ली भाषा र अहिलेको नेपाली भाषामा धेरै अन्तर पाइन्छ । त्यसैले यसलाई खसजुम्ली भनिएको हो । भाषा आफै परिवर्तन र विकसित हुदैजाने चीज भएकोले भिन्नता आउनु सामान्य कुरा हो । देशको नाम नेपाल रहेपनि सरकारी कामकाजी भाषा खसजुम्ली भनिएको भए अन्य मुलुकमा झै सहजता रहन्थ्यो । खसजुम्ली (नेपाली) बोल्ने मात्र नेपाली हुन की भन्ने भ्रम रहने थिएन । नेपाली साहित्य र खसजुम्ली साहित्यको परिभाषामा दुविधा आउने थिएन । लिपीको लेखनमा सजिलो र ध्वनीविज्ञान सम्मत बनायो त्यतिनै विश्वब्यापी जान सकिन्थ्यो । त्यसैले लेखनको इतिहास भन्दा वैज्ञानिकतामा ध्यान दिन सक्नु पर्दछ । लेखनको विरासत भन्दा भविश्यमा फैलाउन सकिने लेखन तथा भाषाको प्रभावको बारे बढि चिन्तन गर्नु बुद्धिमता हो । खसजुम्ली नबोल्नेहरुलाई सच्चा नेपाली भईन्नकी भन्ने भ्रम रहने थिएन । देशको राष्ट्रियता र ब्यक्तिमा हुने राष्ट्रियतामा दुविधा रहने थिएन । तर, समय आएको छ । सबैले सामुहिक रुपमा स्वस्थ चिन्तन, बहस गरौ र समयअनुकुल अगाडि बढौ । नेपाली, खसजुम्ली, खससिँजाली, नेपालयीय, नेपालेली, नेपालिय आदि शब्दको अनुकुलता र अध्ययन सहित नेपाली साहित्यको परिभाषालाई अब सच्याऔं, शंसोधन गरौं र सुधार गर्न ढिला नगरौ ।

biswasdip@ymail.com
(लेखक विश्व नेपाली साहित्य महासङ्घ, पूर्व केन्द्रीय समितिको अध्यक्ष एवं हाल क्यान्टवरी युनिभर्सिटी युकेमा राजनीति विषयमा उच्चशिक्षा अध्ययनरत)
——————————————————————————————————————————————–

संक्षेपमा यर्थाथता र प्रस्तावित कार्यनीतिः

१. खस भाषा भित्रका अनेक उपभाषाहरु मध्ये जुम्ली भाषाको लवज र शब्दहरु नेपाली भाषा संग धेरै मिल्दोजुल्दो छ । अर्थात नेपाली भाषाको लवज र धेरै शब्दहरु जुम्ली भाषाबाट आएको हो ।
२. खसजुम्ली भाषालाई नेपाली भाषा भनी नामाकरण गर्नु गलत भयो ।
३. खसजुम्ली भाषा भन्नु आफैमा गर्वगर्न लायक पहिचान र इतिहासको विरासत हो ।
४. नेपालको सरकारी कार्यालयमा प्रचलनको नेपाली भाषालाई खसजुम्ली भाषा भनी स्थापित गर्न सकेमा नेपाली हुन नेपाली भाषा बोल्नुपर्दछ भन्ने दुविधा हट्नेछ र अन्य भाषा संकटमा पर्नेछैन । भारत, भुटान, म्यानमार लगायतमा बसोबास गर्ने गैर नेपालीले नेपाली (खसजुम्ली) भाषा बोल्ने वित्तिकै नेपालका नेपाली भनी अपमान ब्यहोर्नु पर्नेछैन ।
५. खसजुम्ली भाषालाई नेपाली भाषा भनेपछि खसजुम्ली भाषाको साहित्य नेपाली साहित्य भन्नपर्ने बाँध्यता छ ।
६. खसजुम्ली भाषा र देवनागरी लिपीमा लेखिएको साहित्य मात्र नेपाली साहित्य भन्ने भ्रम हटनेछ र नेपालीले बोल्ने सबै आआफ्नो भाषाको साहित्यलाई नेपाली साहित्य मानिनेछ । भाषिक शोषण, विभेद र उपेक्षा हटनेछ ।
७. देशको नाम नेपाल हुदैमा भाषाको नाम नेपाली राख्नु आवश्यक थिएन/हुदैन ।
८. नेपाल भित्र बोलिने सम्पूर्ण भाषाको साहित्य नेपाली साहित्य भन्नु सहि हो र आवश्यक छ ।
९. हाल प्रचलनमा रहेको नेपाली साहित्यलाई खसजुम्ली भाषा साहित्य भनी सुधार नभईसकुन्जेल नेपाल भित्र बोलिने सबै भाषाहरु (मातृभाषा) को साहित्यलाई नेपालिय साहित्य भनौ ।
१०. लेखन ध्वनी विज्ञान सम्मत हुदा देशविदेशका अन्य भाषीलाई सजिलो हुनगई, लेखन र भाषाको विस्तार तथा विकास हुनेछ । ग्रन्थ बचाउने निहूमा लेखन सरलीकरण नगर्नु दुर्भाग्य ।
११. खसजुम्ली भाषा तथा नेपालिय साहित्य अध्ययन केन्द्र स्थापना गरि निरन्तर अध्ययनको आवश्यक ।

Bibliography:
Acharya, O. (2018) Sinjali vasika ra manak Nepali vasako bayeteriki aadhayan, p23, Theses, TU
Bohlen, D. (2014) Language in Education’ Policy in Nepal. Available at: http://notesfromtheemeraldvalley.blogspot.com/2014/03/lang
uage-in-education-policy-in-nepal.html (Accessed: 15 Jan 2019)
Chaudhari, R. (2017) Madeshma rajkaj: kathmandule nabujheko vasha vhavana predeshle bujhla? Availabale at: http://www.lokaantar.com/samachar/48557 (Accessed 15 Jan 2019)

Khas language in problem in Karnali, Available at: https://www.kantipurdaily.com/news/2018/05/09/152582978626061044.html?author=1 (Accessed: 24 August 2018)
Kuwar, N. (2015) Samalochana Nepali Vasha tatha Byakeranko utpati Bikash ra Manikekeran: Samasya ra Sambhawana. Available at: http://www.mirmireonline.com/2016/09/archives/40057 (Accessed: 15 Jan 2019)
K khas vasha lopunmukh cha? http://www.durbinnepal.com/arch
ives/14712 (Accessed: 13 Jan 2019)
Khas Vasha (2018) Available at: https://ne.wikipedia.org/wiki/%E0%A4%96%E0%A4%B8_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE (Accessed: 14 Jan 2019)
Malla, K., Ed (1989) Prespective on Continuity and Change, Center for Nepal and Asian Studies, Tribhuwan University
Maharjan, R (2015) Kanuni dandale bolne vasha. Available at: https://newyorksamachar.com/n/1184?fbclid=IwAR3yW0SnMB9nhjaP9MIRX2xWNyKTVvaT_lR7r7k-71WSAL7qrshbUlmnvao (Accessed: 13 Jan 2019)

National Dastak. (2019). Prof. Rajendra Prasad Singh speech in ob literature fest [online] Available at: https://www.youtube.com/watch?v=cJp110OSmko (Accessed: 27 Sep 2019)

National Dastak (2019). Sanskrit is not an ancient language [online] Available at: https://www.youtube.com/watch?v=sKMf8W7P6zQ (Accessed: 27 Sep. 2019)

Pathak, Y. (2017) Mangena, Fine Print Books, Kathmandu
Wamankar, M. (2018) Debnagari lipiko sanchiptya parichaya. Available at: https://vimisahitya.wordpress.com/2008/09/02/dewan
aagaree_parichay/(Accessed: 24 August 2018)

————————————————————————————————————-

 

 

नेपाली भाषाको नाम ‘खसजुम्ली’ राख्नुपर्ने तिगेलाको जिकिर

२०७७ जेठ १२ गते,
लण्डन । नेपाली साहित्यका अध्येयता विश्वासदीप तिगेलाले नेपाली साहित्यको पुनर्परिभाषा गरिनुपर्ने र भाषाकै नाम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखेका छन् ।ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखलामा बोल्दै तिगेलाले उक्त कुरा बताएका हुन् ।

तिगेलाले भाषाको नाम नेपाली राखिनुले नेपालका अन्य भाषीहरुको मनोविज्ञानमा असर पारेको र नेपाली पहिचान भएका भारत, भुटान र बर्माका नागरिकहरुमा भाषिक हिंसा भएको भन्दै यसको समाधानको लागि भाषाको नाम नेपालीको सट्टा ‘खसजुम्ली’ भन्नु उपयुक्त हुने आधार प्रस्तुत गरे । साथै नेपालभित्र बोलिने सबै मातृभाषाहरुको साहित्य समग्रमा नेपाली साहित्य भनी परिभाषा गर्नुपर्ने पनि जिकिर गरे । त्यस्तैगरि विकल्पको रुपमा नेपाल भित्रका सबै भाषाहरुको साहित्यलाई नेपालीय साहित्य भन्न सकिने पनि तर्क प्रस्तुत गरे ।तिगेलाको प्रस्तुतिपछि भाषाविद् अमृत योन्जनले यो बेग्लै पाटोको विषय बहसमा आउनु नयाँ र महत्वपूर्ण भएको बताए । प्राध्यापक बालकृष्ण माबोहाङले अघोषित भाषिक समस्याको उठान हुनु आवश्यक रहेको बताए । तिगेलाको प्रस्तुतिमाथि खुसी लिम्बु, प्रमोद श्रेष्ठ (युएई), अमित थेबे (युके), साङसेन पन्धाक, मुनाराज शेर्मा, मनोज घर्तीमगर, टेकबहादुर थापा, लीला सेलिङ माबो, डा. निमेश लम्साल, धनराज लिम्बु (साउदी अरेबिया), पदम चेन्जीलगायत डेढ दर्जनले जिज्ञासासहित प्रश्न र सुझाव दिएका थिए ।

कन्फरेन्समा विभिन्न मुलुकबाट चार दर्जन सहभागी थिए ।उठेका प्रश्नहरुको उत्तर दिँदै आफ्नो दुई कार्यपत्रको सांरास प्रस्तुत गरेको र आफ्नो प्रकाशन्मुख पुस्तकमा समेटिने तिगेलाले बताए । अमेरिकाको म्यासच्युट युनिभर्सिटी मातहतका डा. मारुहाँङ लिम्बुको संयोजनमा आयोजित कन्फरेन्स करिब दुई घण्टा चलेको थियो ।


Presentation Video >>