अनिसले यी कुरा सुनुनः अनिस खालिङ बचाउ अभियानका कथाब्यथा (विश्वास दीप तिगेला)

अनिसले यी कुरा सुनुन अनिस खालिङ युएईको मृत्यूदण्डबाट बचेर ७ जुलाई २०१५ तदनुसार २३ अषाढ २०७२ मा काठमाडौं आईपुगेका छन् । तल्लो र माथिल्लो दुबै अदालतले मृत्यूदण्डको फैसला सुनाईएका खालिङलाई बचाउनको लागि स्वतस्फूर्त विश्वब्यापी अभियान चलेको थियो ।

अघिल्लो बर्ष १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियो काठमाडौं स्टेशनबाट अनिस खालिङको मृत्यूदण्डको समाचार साथै उनकी पत्नी, अभियन्ता देवेन्द्र खालिङ, उनकी आमा अनि काका नारदमणि राईले अनिसको जीवनरक्षाको लागि रेडियो मार्फत अनुरोध गर्नुभयो । म त्यो बेला नजिकै रहेको ब्रुनाईको सुपासेफबाट टुकरलाइन कारबाट घर फर्कन्दै थिए । सधै कारमा रेडियो सुन्ने भएकोले उक्त लाइभ कार्यक्रम पनि अकस्मात सुने । साँझ बेला दौडिन जाने हतारले म फर्केको थिए तर उक्त समाचार सुनेपछि सिधै घर छिरेर घरको रेडियोमा कार्यक्रम सुन्न थाले । म आफै अनिश भएर सोचे, म आफै उनकी श्रीमति भएर सोचे, म आफै उनकी आमा बनेर सोचे । मन भत्भती पोल्यो । आँसु झरयो र उनको नावालक बच्चालाई सम्झे, उनको गरिब दुखी परिवारलाई सम्झे मनै मानेन । तब मैले आफ्नो ठाँउबाट के गर्न सक्छु त भनेर सोचे तब तत्कालै सेभअनिसखालिङडटकम दर्ता गरे र होष्टिङ एकाउन्ट खोले र तुरुन्त वर्डप्रेस फाइल अपलोड गरे । फेसबुकमा काठमाडौका रेडियो स्टेसन म्यानेजर विनोदध्वज खड्का दाईलाई म्यासेज हाले वहाले त्यो म्यासेज तुरुन्त रेडियो मै पढेर सुनाई दिनुभयो । जे सम्म सक्छौ सहयोगको लागि हामी कोशिस गर्नेछौ । सहयोग संकलनको लागि वेवसाइट शितैमा निर्माण गरिदिनेछु । आमा नआतित्तनुहोस हामी छौ भनेर म्यासेज लेखेको थिए । वर्डप्रेसको ट्याम्पेल्ट कष्टमाइज गर्न शुरु गदागर्दै बल्ल त्यो काठमाडौंको कार्यक्रम सिद्धियो ।

वेवसाइट दर्ता गरि चलाउनु खर्चको कुरा हुन्छ तर मलाई त्यसको वास्त भएन । म आफै वेव डिजाइनरको काम गरेको १३ बर्ष भएकोले दर्ता र होष्टिङका म संगै कन्ट्रोल प्यानल भएकोले म कति चाडो बनाउन सक्दो रहेछु भनेर आफैलाई पनि परिक्षा गर्न शुरु गरे ।

काठमाडौबाट प्रत्येक्ष समाचार तथा जीबनरक्षाको आग्रह आउनुमा युकेमा रहनुहुने हिराधन राई दाईको भूमिका रहेछ । कार्यक्रमको अत्यमा कार्यक्रम संचालक खड्का दाईले उक्तकुरा भन्नुभयो । म निरन्तर वेवसाइट बनाईदिदै थिए । युकेबाट हिराधन दाईले फोन गरेर सहयोगको लागि थप आग्रह गर्नुभयो । मैले हुन्छ मैले सक्ने जति सहयोग गर्छु । अरुलाई भन्छु भने । वेवसाइट सामान्य खालको बनाई सिद्धाए । इमेल सेभअनिसखालिङ एड जिमेलडटकम खोले तर अब मलाई डर लाग्यो । भोलि कतै के के आरोप लाग्ला की भन्ने तब मैले अनिस बचाउ अभियानका अभियन्ता देवेन्द्र खालिङलाई नेपालमा सम्पर्क गरि फेसबुक र इमेलमा अनुमति लिएपछि सेभअनिस खालिङ पेज संचालन गर्न शुरु गरे । इमेलको ठेगाना र पासवर्ड देवेन्द्र जीलाई नै दिएपछि मैले त्यो इमेल खोलेको छैन । मेरो फेसबुकमा ५ हजार साथिहरु थिए त्यो वेला नै र मैले नेपालीसमाचारडटकम र नेपालीलिटरेचरडटकम पनि चलाउने भएकोले मैले सबैतिरबाट खालिङ बचाउन सहयोग गरौ भनी वेभलिङ्क सेयर गरे ।

काठमाडौंबाट प्रसारित कार्यक्रमको तेस्रो दिनहुनुपर्छ मेरो अनन्य मित्र सुरेन्द्र इङनाम जीले युकेबाट मलाई फोन गर्नुृभयो । मैले यस्तो यस्तो रहेछ भनेर घट्नाको बारेमा सुनाए र प्रवासी नेपाली साहित्य समाज, युकेको तर्फबाट सहयोग उठाउन शुरु गर्ने सल्लाह भयो । वेवसाइट नै बनाई सकेकोले धेरैले मलाई सम्पर्क गर्न थाले । भनौ एकप्रकार म सम्पर्क केन्द्र बन्न पुगे । जतिसक्दो आफूले जानेको र पत्ता लागेको कुरा दिदै गए । वेवपेजमा राख्दै गए । कहा कसरी पैसा दिने भन्ने प्रश्नहरु आए त्यसपछि नेपालबाट बैक एकाउन्ट मगाएर वेभसाइटमा राखि दिए । अनलाइन मै दिन्छु भन्नेलाई चाहि साहित्य समाजले खोलेको गोफण्डमी को थैलीको लिंक दिए ।

संजोक कस्तो भने सबैतिरबाट ह्वात्त सहयोग उठ्न शुरु भयो । युकेमा सुरेन्द्र इङनाम जीले मुख्य नेतृत्व गर्नुभएको गोफण्डमीडटकममा अप्रत्याशित २ दिनमै १७ सय पाउण्ड उठ्यो । त्यो क्रम थपिन्दै गयो । गैर आवासिय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय समितिमा म आफै पनि ब्रुनाईलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य रहेको नाताले सम्पर्क पहुच थियो र शिधै आदर्णिय अध्यक्ष शेष घले ज्यू लगायतलाई सम्बोधन गर्दै एकजना एनआरएन सदस्यलाई मृत्यूदण्ड कार्यन्वयन हुन लाग्दा हामी चुप बस्न हुन्न भन्ने अलि खरो प्रकृतिको इमेल हालेपछि । महासचिव कुमार पन्त ज्यूले जर्मनीबाट इमेलको उत्तर लेख्नुभयो । तिगेला जी अबको चारपाँच दिनमा केही ठोस निर्णय एनआरएनबाट हुन्छ । त्यसपछि युएई शाखाकै एनआरएन अध्यक्षलाई संयोजक तोकि कार्यदल बन्यो ।

रोचक कुरा के रहयो भने मृत्यूदण्ड सुनाइएको युएईको अदालतमा हो । संखुवासभा मत्सपोखरी ३ का अनिश खालिङ त्यहि युएईको जेलमा छन् । जीवन रक्षाको अनुरोध गर्ने नेपालमा र वेभसाइट मार्फत वहाहरुको आग्रहलाई अनलाइन मार्फत आग्रह फैलाउने, समग्र ब्यवस्थापन गर्ने म चाहि ब्रुनाई थिए । रमाइलो के लाग्छ भने अनलाइनमा धेरै सोध्नेहरु युएई कै थिए । मैले उनीहरुलाई सोध्नुपर्ने उल्टै मैले सुनेको बुझेको कुराहरु उनीहरुलाई बताउनु परयो । म अभियान शुरु भएको १५ दिन पछि ब्रुनाईबाट युके स्थायी रुपबाट आए । पैसा विश्वभर उठिरहेका थिए । रु ५६ लाख ब्लड मनि चाहिने कुरा थियो । त्यति धेरै उठ्ला भन्ने मलाई खासै

थिएन तर जति उठ्छ उठाऔ । पुग्दो उठाउन नसके अनिसको आमा, श्रीमतिलाई हुन्छ । उनीहरुले छोरा, श्रीमान नै गुमाउदैछन्, गरिब भएकै कारण युएई मजदुर गर्न गएका हुन पक्कै गरिब छन् भन्ने बुझाई रहेकोले उठाउनेक्रम निरन्तर बढ्दै गयो । प्रत्येक कर्नरकर्नरमा उठेको पैसाको हिसाव वेवसाइटमा अपटुडेट गर्दै गए । पैसा संकलनको समाचार कहिले अनलाइन मिडिया, कहिले प्रिन्ट मिडिया, कहिले देवेन्द्र जी लगायतका फेसबुक वालबाट कपीगरेर वेवपेजमा राख्दथे । हुदाहुदै पछिबाट त संकलन गर्नेहरु आफैले वेवसाइटको प्रतिक्रिया लेख्ने ठाँउमा पोष्ट गर्न थाल्नु भयो तब मैले एप्रुभ मात्र गर्दा हुने भयो । इमेल पठाउनु भयो । चारैतिर सम्पर्क भयो र समाचार हेरीरहदा लगभग ५६ लाख पुग्ला की जस्तो छाँट बुझ्दा खुबै खुसि लाग्यो । धेरै आस पलायो ।

साहित्य समाजले ९ लाख ४ हजार संकलन गरयो । पैसाको अनुहार कालो हुन्छ भन्ने बुझाईको कारण नेपालमा त्यो बैक एकाउन्टमा आमाको पनि नाम हुनुपर्छ भन्ने अनुरोध गरयौ । अनिसको काका नारद राईज्यूले त्यो कुरालाई जायज मान्नुभयो । हामीलाई पीर अर्को के थियो भने संकलित रकम हस्तान्तरण गर्न नपाउदै उता अनिसलाई मृत्यूदण्ड दिई हालेमा उठेको रकम के गर्ने भन्ने ठूलो पीर थियो । त्यसैले जतिसक्दो ५ मार्च २०१४ का दिन काठमाडौमा हस्तान्तर गर्ने काम भयो ।

केही समय पछाडि फेरी ८६ लाख चाहिने कुरा आएपछि हामीलाई कुनै दलालले भूमिका पो खेल्दै छ की भन्ने पीर बढ्यो । हामीले बारम्बार काका नारदमणि, देबेन्द्र खालिङ र उनकी श्रीमति रबिता खालिङ र आमा डिकमायालाई सम्पर्क गरयौ । उसो त संकलनको सानो हिंसा मात्र हामीले गरेका हौ । चारैतिर सम्पर्क तथा संचारको काममा सहयोग गरेका हौ । संसारभरका नेपालीहरु, नेपालकै विद्यार्थीहरुले समेत स्वतस्फूर्त सहयोग दिएका छन् । लाग्छ सहयोग उठिरहेको वेला अभियानकर्ता देवेन्द्र, नारद अनि रविता साथै जन्मदिने आमालाई विश्वासै लागेको थिएन होला । इच्छुक सबै दाताहरु संग सम्पर्क गर्न समेत भ्याएन्न सायद तर मुख्य अभियन्ता, सूचना तथा समाचार बनाएर संजाल र पत्रपत्रिकामा वितरण गर्ने सबैभन्दा सक्रिय ब्यक्ति म भएकोले धेरैलाई धन्यवाद र आभार पनि दिए ।

जब चाहिने जति रकम संकलन भयो तब म ढुक्क भए । संकलित रकम सदुपयोग भएन भने चाहि बर्बाद हुने भयो भन्ने मात्र पीर बाँकी थियो । अनिशको जीबन बचाउनको लागि रु करोड भन्दा माथि उठिसकेपछि । उनका काका नारद राईले अनिस बचाउनको लागि जति चाहिने पैसा हो त्यो भन्दा बढि भएर उब्रिएको पैसा चाहि भविश्यमा यस्तै भवितब्यमा पर्नेलाई दिउ भन्ने कुरा काठमाडौमा राख्नु भएपछि उक्त कुराले साह्रै मन छोयो र लाग्यो उक्त संकलित रकम सहि सदुपयोग हुनेछ भन्ने ।

गत ३० साउन २०७१ को दिन अनिस बचाउ अभियानका नारदमणि राई, देवेन्द्र खालिङ, श्रीमति रबिता र आमा डिकमायाले नेपाल सरकार अन्तर्गतका वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका निर्देशक रघुराज काफ्लेलाई ३ लाख ५ हजार दिराम युएई अदालतलाई ब्लडमनि बुझाउनको लागि नेपाली रु ८० लाख ५९ हजार ९ सय ५० हस्तान्तरण गरेको खबरले हामीलाई उत्साहित बनायो ।

तल्लो र माथिल्लो दुबै अदालतले मृत्यूदण्ड सुनाई सकेको अवस्थामा युएईको कानुन अनुसार ३ विकल्पहरु देखिन्छन । पहिलोः हत्या गरिएको ब्यक्तिको श्रीमति वा आफन्तले ब्लण्ड मनि स्वीकार गरेमा अनिस सकुसल फर्कनेछन् । दोस्रोः हत्या गरिएको ब्यक्तिको श्रीमति वा आफन्तले त्यतिकै छोडिदिन मंजुर गरेको खण्डमा र तेस्रोः रगतको सट्टामा रगत नै चाहिन्छ भनेको खण्डमा चाहि अनिसलाई बचाउन सकिने छैन तर आस गरौ प्रार्थना गरौ अनिसको जीबनको लागि ब्लड मनि स्वीकारहोस र अनिसको सकुसल स्वदेश फिर्तिहोस । हाम्रो प्रार्थना थियो, कामना थियो ।

अनिसका आमा, श्रीमति, छोरी र आफन्त उनको पर्खाइमा अर्धजीबन बाँची रहेका छन् भने दुनिया उनको कुसल जीवन देख्न चाहि रहेका छन् । चाडै अनिसको फिर्तिहोस र आफूलाई लागेको हत्याराको आरोप सबै सामु गलत भएको पुष्टि गरुन भन्ने चाहाना अन्ततः पुरा भएको छ । इतिहासमै गर्व गर्न लायक काम यसपटक विश्वभरका हामी नेपालीहरुले गरेका छौ । यो नेपालीत्व र मानवताको भावना सधै अजम्बरी रहोस । नेपाल फर्किएका खालिङले अब आफ्नै हातले सबैप्रति कृतज्ञ भएको पत्र लेखुन साथै उनले बोलेका आभारका शब्द भिडियो मार्फत युट्युव र फेसबुकमा हेर्न पाइयोस जुन सेभअनिसखालिङडटकममा (www.saveanishkhaling.com) पनि राख्न मिलोस । विएफविएस गोर्खा रेडियोबाट उनको आवाज सुन्न पाइयोस । उनले भवितब्यमै उक्त घट्ना घटाएका हुन भनेपनि सबैका अगाडि प्रायश्चित गरुन र षड्यन्त्र थियो भनेपनि पर्दाफास गरुन ।

कुल ३ करोड २१ लाख संकलन भएको मध्ये ब्लडमनी तिर्न पठाएर फिर्ता भएको ८० लाख रुपैया नेपाल सरकारको खातामै रहेको । २ करोड १६ लाख चाहि अनिस बचाउ अभियान समितिका अध्यक्ष नारद, अनिशकी श्रीमती रबिता र अनिशकी आमा डिकमायाको नामको बैंक खातामा रहेको जनाईएको छ । त्यस्तै २४ लाख चाहि नारद र रबिताको नामको बैंक एकाउन्टमा रहेको जनाईएको छ । नेपाल सरकारले अभियान शुरुवातको लागि ५० हजार रुपैया बीउ रकम (सिडमनि) दिएको र उक्त सबै रकमको स्वतन्त्र ट्रष्ट बनाउने बताईनु सर्वाधिक खुसिको कुरा हो । युएई अदालतमा बुझाउनु पर्ने ब्लडमनी कुनै ब्यक्तिले तिरिदिएको कुरा चाहि रोचक र रहस्यमय बनेको छ ।

अन्तमा, हामी जति नै झगडा गरेपछि नेपाली मन सफा छ सुन्दर छ भन्ने कुरा यो अभियानले पुष्टि गरयो र अन्ततः अनिस मात्र बाचेन्न सिंगो नेपाली मन बाँचेको छ । बधाई अनिसलाई र धन्यवाद हामी सबैलाई । 


(नोटः यो वेवसाइट अब केही महिना पछि बन्दहुन सक्ने भएकोले सामान्य जानकारी दिउ भनेर स्टाटस लेख्दै जाँदा लेख नै बन्न पुगेको हो ।)

१७ अगष्ट २०१४, आसफोर्ड, युके
थपथाप आज ८ जुलाई २०१५