भगवान नभएको निक्यौल, यदि छन भने पनि निष्पक्ष र दयाकारी छैनन

May 29, 2012 at 2:47 PM

प्रकाशकीय

 झमक घिमिरे करोडौ मानिसहरु मध्ये की एक असाधारण प्रतिभा हुन । उनी माथिको सृष्टीको अग्नि परिक्षालाई उनले सहजै जितेकी छन् र उनको उत्कृष्ट कार्यले शारिरीक सबल हामी सबैलाई चुनौती दिदै गिज्याएको छ ।

यस ‘जीवन काँडा की फूल ?’ लाई वास्तविक रुपबाट राम्ररी बुझ्नको लागि तपाई पाठकले लेखिकाको शारिरीक जटिलता बारे स्पष्ट जान्न सकेमा सजिलो होला भन्ने आसयले छोटो संस्मरणात्मक चर्चा गर्न चाहान्छु ।

झण्डै डेढ दशक अघि लगभग २०५०/०५१ ताका धनकुटा क्याम्पसमा एउटा हल्ला चल्यो – कल्चिडेको एउटा जन्मदैकी सांपे बालिकाले पनि पढ्न र लेख्न सक्छ अरे ! त्यसबेला धेरैले आँखा तन्काएका थिए र जिब्रो टोकेर अचम्म प्रकट गरेका थिए । क्याम्पसबाट कल्चिडे झण्डै डेढ कि. मी. मात्र टाढा पर्दछ । त्यसपछि म गाँसको लागि परदेश लागे । पराई भूमिमा रहेपनि बेलाबखत झमकको बारेमा जानकारी प्राप्त भई रहन्थ्यो । पहिलो छुट्टि जन्मघर पुगेर फर्कन्दा धनकुटामा झमकको एउटा पुस्तक किने र अध्यायन गरे त्यस पुस्तकमा उनी शारिरीक रुपबाट आसक्त रहेको कतै छनक पाइन र म केही दुविधामा परे किन की सिर्जना रोचक र विचारहरु शसक्त थिए, भूमिका र प्रकाशकीयमा उनीको बारेमा स्पष्ट कतै लेखिएको थिएन ।

अर्को पटकको छुट्टिमा आउदा धनकुटा प्रतिभा पुरस्कार प्रदानको कार्यक्रम पनि थियो । स्रष्टा–स्रष्टा बीचको सम्बन्ध र विश्वास पनि अनौठो हुदो रहेछ । अक्षर र आवाजको चिनजान साहित्यकार तथा बरिष्ठ संचारकर्मी रमेश पौडेल दाईलाई पूर्व घुम्न जाँउ भनी आग्रह गरे र हामी दुई धनकुटा पुग्यौ । बर्षौ देखि मैले झमकलाई भेट्ने रहर साँचेको थिए र  उनको चर्चा चल्ने बित्तिकै हामीले जसरी भएपनि उनलाई भेट्ने योजना बनायौ । प्रतिभा पुरस्कार वितरण कार्यक्रममा झमकलाई कुर्सि माथि कुप्रो परेर बसिरहेको अवस्थामा देख्यौ । हामीले उनलाई नमस्ते गरयौ तर उनले फर्काइनन् । चस्मा माथिबाट हामीलाई राम्ररी हेरिन्, केही बोलिनन् । त्यस दिनको भेट त्यतिमै सिमित रयो ।

भोलिपल्ट झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल दाईलाई जानकारी गराई झमकको घरमा पुग्यौ । घरको तला माथि झमकको कोठामा छिरयौ । झमक खाटमा लडिरहेकी थिइ । हाम्रो प्रवेश संगै निक्कै कष्ट गरेर उठिन् र खाटमै बसेर देब्रे खुट्टाको औलाले च्यापेर नजिकैको कापी झिकी र दाहिने खुट्टाले अड्याएर खाली पन्ना पल्टाइन । निक्कै समय लगाएर देब्रे खुट्टाको जेठी र माइली औलाले च्यापेर सिसा कलम टिपी र ‘नमस्कार यहाहरुलाई स्वागत छ’ भन्ने लेखिन् त्यसपछि हामी तिर फर्काइन् ।  मैले टाउको हल्लाएर धन्यवाद भने । अब कसरी संवाद गर्नेहोला भनेर म निक्कै अकमक्किए । केही समय पछि बहिनी मिना आएर झमकलाई ओछ्यानबाटै नानीलाई झै पछाडी ढाडमा बोकेर लगि र राम्रो लुगा लगाइ दिएर फर्काइन् । झमकको बुबा, गोपाल दाई, राजेश भाई, म र रमेश दाई झमकको बारेमा गफ गथ्र्यौ र कुनैकुनै कुराले उनीलाई पनि चित्त बुझ्दो हो, त्यसबेला आवाज विहिन उनी मुस्कुराउथि, हामीले बोलेका सबै बुझ्छिन तर पिटिक्कै केही बोल्न सक्दिनन । झमकको फोटो खिच्न भन्यौ र बहिनी मिनाले खाटबाट बोकेर भूईको ओछ्यानमा राखिन् । फोटो खिचिसकेपछि झमक आफै ढाडतिरबाट घस्रिएर निक्कै समय लगाई झण्डै डेढफूट अग्लो खाटमा बल्लतल्ल उक्लिन् ।

खाटमा सुत्दा खुट्टापट्टि पर्ने भित्तामा मिलाएर थुप्रै पुस्तकहरु राखिएका थिए । बहिनी मिनाले दिदीको सबै कृतिहरु हामीलाई देखाइन् । झमकले खुट्टा उचालेर मिनालाई त्यो पुस्तक देउ, देखाउ भनेर अराउथी र बहिनीले सजिलै बुझ्थिन् । बेलाबेला झमकको मुखबाट -याल चुहिन्थ्यो र मिनाले पुछि दिन्थी ।

झमकको नियतीलाई केहीबेर राम्ररी नियाले र आफैले कल्पना गरे मानौ मेरो दुबै हात भाँचिएको छ र कामै नलाग्ने गरि सुकेको छ, खुट्टा दुबै कामै नलाग्ने गरि भाँचिएर सुकेको छ, बोल्नै नमिल्ने गरि मुखमा टेप लगाइएको छ र भोक र दिसापिसाब दुबै लागेको छ, अनि निष्पट अन्धकारमा बोजुको लास संग चिसो भूईमा लडिरहेको छु उर्फ ! कस्तो नियती हुन सक्छ ? हामी सबै भगवानको नजरमा समान र हाम्रो लागि भगवान सर्वोच्च र निष्पक्ष सम्झन्छौ तर यी यावत अवस्थालाई हेर्दा भगवान यो संसारमा छैनन भनी दावा गर्छु । यदि छन् भने पनि हामीले सोचेजस्तो निष्पक्ष र दयाकारी छैनन । जेसुकैको पनि सिमा हुन्छ तर झमकको हकमा त्यस्तो सिमा अब कुनै बाँकी छैन । सृष्टीसंग घोर आपत्ति जनाए । म केहीबेर बोल्न सकिन र मौन रहे ।

झमकले नयाँ कृति झिक्न लागेको चर्चा भयो । कविता संग्रह र आत्माकथाको पाण्डुलिपी भएको कापी झिक्न बहिनी मिनालाई संकेत गरिन् र उनले मलाई दुवै दिइन् । मैले सरसर्ति पल्टाए र केहि अंश पढे । झमकको कोठामा पसेदेखि नै मलाई तीर्थस्थलहरुमा पुगेर पुजाआज गर्दा हुने एकप्रकारको अनुभूती झै आत्मा गौरव भईरहेको थियो । मलाई अक्कासमात उनको एउटा कृति प्रकाशन गरिदिने सोच आयो र संगै रहनु भएका रमेश दाईलाई सोधे कुन ठिक होला ? वहाले आत्माकथा नै ठिक छ भन्नु भयो र मैले प्रतिष्ठानका अध्यक्ष गोपाल दाईलाई यो पुस्तक म प्रकाशन गरि दिन्छु भने, वहा छक्क पर्नु भो र तुरुन्तै झमकलाई पनि भने उनले – ‘दाई अरुअरु पनि प्रकाशन गर्न बाँकी छ धन्यवाद’ भनेर कापीमा लेखेर दिइन् ।

पुस्तक प्रकाशन गरिदिन्छु भन्ने वित्तिकै गोपाल दाई र झमक बहिनी स्पष्ट हुन चहानुभयो र मैले स्पष्ट संग भने पुस्तकको सर्वाधिकार लेखिकामै रहने छ । पुस्तक बिक्रिबाट आएको सम्पूर्ण रकम पनि लेखिकाकै निम्ति हुनेछ । टाइप, कभर, प्रेसखर्च सबै म बाटै हुनेछ । मैले कुनै लगानी फिर्ता लिने छैन, यो प्रस्ताव संगैको स्पष्टोक्ति वहाहरुलाई अनौठो लाग्यो सायद । त्यसपछि वहाहरु हार्दिकता पूर्वक सहमत हुनुभयो । सामाग्रीहरु हेर्दा लगभग ३ हल  गोरुको खर्चहोला भनेर आफ्नै गाँस काटेर भएपनि झमक बहिनीको साहित्यिक यात्रामा, सघर्षको यात्रामा थोरै भएपनि सद्भाव राखौ, सहयोग गरौ भन्ने सोचले हिम्मत गरे तर प्रकाशनको चरण निक्कै रोचक र थप उपलब्धिमुलक र-यो भन्नुपर्छ ।

प्रकाशनको चरण झण्डै दुई बर्षको र-यो र शुरुको अनुमानित पेज भन्दा दोब्बर बढि बन्न गयो, अरु हलगोरुहरु पनि थपिएका छन् यद्यपी यसअघि पनि नाटककार तथा सभासद हरीराज तिगेलाको एकाकी संग्रह ‘अपदस्त जिन्दगी’, अग्रज पत्रकार राजकुमार दिक्पालको कथा संग्रह  ‘आतङ्कको छाँयामुनि’, महाकाब्यकार अमर तुम्याहाँङको ‘सोधुगेन इमानसिं चोत्लुङ’ लिम्बूभाषाको महाकाब्य, सेसेमी से नाल्बोको लिम्बूभाषाको खण्डकाब्य ‘सोबुहाङ्सा’ प्रकाशनको अनुभव संगाल्दै जेजस्तो भएपनि आफ्नै स्वेच्छाले यसपटक झमक बहिनीको चाहना अनुसार यथासक्दो सहयोग गर्ने कोसिस गरिरहेको छु ।

लगभग टाइप गरेर सिद्धिएको वर्डफाइल इमेलबाट डाउनलोड गरेर लण्डनमा खोले र सबै प्रिन्ट गरि पढे । म त्यसबेला वेलायतमै रहेको थिए । पढ्दै जाँदा म धेरै पटक, धेरै ठाँउमा रोए । अब यसलाई कसरी अझ प्रभावकारी बनाउन सकिएला भनी सोच्न थाले र अन्ततः बरिष्ठ साहित्यकार तथा समालोचक डा. गोविन्दराज भट्टराई सरलाई भूमिकाको लागि आग्रह गर्ने सोच बनाए । मैले झमकलाई यो कुरा सोध्न धनकुटामा फोन गरे बहिनी मिनाले उठाइन् । झमकसंग फोनमा दोहोरो कुरा हुन नसक्ने भएकोले बहिनीलाई दिदी संग सोधिदिनु भने । अर्कोपटक फोन गर्दा सहमति भएको र दिदी अति खुसि हुनु भएको जानकारी पाँए त्यसपछि मैले भने तुरुन्त आजै डा. भट्टराई सरलाई फोन गर्नुस भनेर फोन नम्बर टिपाए । तब भट्टराई सरलाई भूमिकाको जिम्मा मात्र आएन, साथमा अरु कर्तब्यहरु स्वतः आयो । मेरो, आफ्नो भन्ने धेरैकुरा त्यागेर, नेपाली साहित्यको श्रीबृद्धिको लागि समय, कमाई  र दिमाग खर्चदै आउनु भएको डा. भट्टराईलाई विलक्षण प्रतिभाकी झमक बहिनीबाट आग्रह आउनुले वहालाई राम्ररी निन्द्रा नै आउन छाड्यो । भूमिकाको लागि आएका दर्जनौ पाण्डुलिपीलाई थाँती राख्दै, अन्ततः काठमाण्डोबाट धनकुटा स्वयं झमकको घरमा पुग्नुभई बहिनीलाई सल्लाह दिनुभएछ । त्यसपछि मलाई इमेल आयो भाई हतार नगरौ ढिलैहोस राम्रोहोस । वहाको जाँगर र सक्रियता झमक बहिनीको लागि सौभाग्य हो भन्ने सम्झेको छु । यस्ता सहयोगि मन र कर्मप्रति हामीले सम्मान ब्यक्त गर्नु पर्दछ ।

यस कृतिले शिखर चुम्नेमा पनि म त्यतिनै आसवादी छु । वहाले जस्तै हामी स्रष्टा सबैले झमक बहिनीलाई सहयोग गर्ने, साथ दिने हो भने भविश्यमा अरुधेरै र उत्कृष्ट सिर्जनाहरु पढ्न पाउने छौ ।

प्रकाशनको कार्य अघि बढिरहेको थियो र बेलाबेला मनमा धेरैकुराहरु खेले । संसारमा झमक बहिनी जस्ता केकति प्रतिभाहरु होलान भनेर खोजि गरे, गुग्लिङ गरे, पुस्तकहरु हेरे र धेरैलाई सोधे । शारिरीक दुर्बलताका प्रतिभाहरु केही भेटिए तर ठ्याक्कै झमकको अवस्था संग मिल्ने पत्ता लागेन यसर्थ मलाई के लाग्यो भने सगरमाथाको देश, गौतमबुद्ध जन्मेको देश, वीर गोर्खालीको देश, संमृद्ध देश संगै अब झमक जन्मेको देश भनेर पनि चिनाउने हरतरह प्रयत्न गर्नु पर्दछ ।

झमक बहिनीको नियती र प्रगति संग लगभग मिल्ने अर्का स्रष्टा स्व. क्रिष्टोफर नोलान थिए । आइरिस लेखक नोलानले लौरीको सहायता लिई टाउकोले टाइपराइटर चलाउथे । उनका प्रकाशित आधादर्जन कृतिहरु मध्ये उनका आत्माकथा ‘अण्डर द आई अफ द क्ल्क’ पुस्तक पुरस्कृत र चर्चित रह्रो । त्यस्तै गरि मेरीकक्स वेल्ज र प्रसिद्ध वैज्ञानिक स्टेफिन हवकिन्स, अमेरिकन लेखिका हेलेन आडम्स किलर लगायतलाई पनि हामीले सम्झनुपर्ने हुन्छ । सबल जन्मेर घट्ना, दुर्घटनाबाट आशक्त, अपाङ्ग भई प्रसिद्धि कमाएका पनि धेरै पाइन्छन् । दुर्घटनाबाट दुबै हात गुमाएका टिका बम्जन पनि नेपालको चर्चाउन्मुख एक स्रष्टा हुन । संसारका संचेत र सक्षम देशहरु – दक्षिण अफ्रिका, अष्ट्रेलिया, र नेदरल्याण्ड लगायतले शारिरीक आशक्तका प्रतिभाहरुलाई संस्थागत र सांगठानिक अवसर प्रदान गर्दै आएका छन । स्व. नोलानले ४३ बर्षको उमेरमा खाना खादै गर्दा अड्किएर मृत्यूवरण गरेका थिए र त्यो दुखद घट्ना सबैभन्दा पहिला आयरल्याण्डको राष्ट्रपतिले सबैलाई जानकारी गराएका थिए किन भने प्रतिभाशाली स्व. नोलान प्रत्येक्ष सरकारको संरक्षणमा थिए । यसरी देशविदेशको घट्नाबाट हामीले र हाम्रो सरकारले पनि पाठ सिकेर धेरै झमकहरुलाई सम्झन सक्नुपर्दछ ।

यो ‘जीवन काँडा की फूल ? ’ पुस्तक अध्यायन गर्नेले देश, समाज र जनताको लागि केही गर्ने अटोठ गर्नेछ । उन्नति र प्रगतिको बद्ला डाह, ईश्या, हत्याहिंसा, तोडफोडको संस्कार हूर्काएर रमाउने हामी सबल मानिसको जमात, मानव हुनुमा लज्जित पनि हुनेछौ । समाजमा शारिरीक दुर्बलता भएकालाई हेर्ने दृष्टीमा परिवर्तन आउने छ । यस्ता मर्मस्पर्सि र संन्देशमुलक पुस्तकका लेखिका जिल्ला, देशको मात्र होईन विश्व कै महत्वपूर्ण सम्पति हुन् । यस्ता कृतिकारबाट जीवन र जगतले धेरै कुरा प्राप्त गर्न सक्दछ । यस अनुपम कृति प्रकाशन गरेर लेखिकालाई सम्झना गर्ने ठाँम प्राप्त भएकोमा झमक र झमक प्रतिष्ठानलाई धन्यवाद ब्यक्त गदै बहिनी झमकको सिर्जना शक्ति संगै प्रसिद्धि बढ्दै जावस । भावी दिनको लागि अंग्रिम शुभकामना ब्यक्त गर्दै अनलाइन नेपाली साहित्य मंच www.nepaliliterature.com को प्रतिनिधित्व गरी यसपटक झमक बहिनीको कोसेलीलाई यहाहरु समक्ष पस्कन्दै, अन्य अवसरहरुमा पनि यहाहरु संमक्ष उपस्थित हुने बाचा गर्दै आजलाई यतिनै ।

 विश्वास दीप तिगेला

सेरिया, ब्रुनाई  
biswasdip@ymail.com
संस्थापक अनलाइन नेपाली साहित्य मंच  
२७ जनवरी २०१०

शब्दार्थः गुगल सर्च इन्जिनमा खोजि गर्नुलाई पछिल्लो समयमा गुग्लिङ भनिन्छ ।