महाभूकम्पग्रस्त संरचना पूर्ननिर्माण अन्तर्राष्ट्रिय फोरमबाट अगाडि बढ्ने की ? (विश्वास दीप तिगेला)

May 10, 2015 at 6:25 PM

– अब एकै ठाँउमा बस्ति निर्माण गर्ने- घर बनाउन डाँडाभाटा तथा च्यादर फ्याक्ट्री तत्कालै बनाउने

– गल्फ तथा मलेशियाका युवा फर्किएर निर्माण ब्यवसाय शुरु गर्ने

अहिले मुलुकले सबैभन्दा ठूलो विपत्तिलाई सामना गरिरहेको छ । गत २५ अप्रिल २०१५ का दिन दिउसो ठिक १२ बजे आएको महाभूकम्पले मृत्यूहुनेको संख्या १० हजार र घाइतेको संख्या १५ हजारको हाराहारीमा पुग्न लागेको छ । सर्वसाधारण र सरकारी घर २ लाख २ हजार पूर्ण रुपमा क्षति र १ लाख नब्बे हजार घरहरु नराम्ररी चर्किएका छन् ।

संसारकै १० औं उच्च भूकम्पिय जोखिममा रहेको काठमाडौं र त्यसको आसपासको जिल्लामा भएको मानविय तथा भौतिक क्षतिको एकिन विवरण आउन अझै केही दिन कुर्नुपर्ने भएको छ । अहिले असिमित क्षति भएको छ मात्र भन्न सकिन्छ । उद्धारको कार्य अझै चलिरहेको छ र चलिरहनु पर्दछ । अन्य मुलुकमा भूकम्प गएको २१ दिन सम्म पनि जिवितै उद्धार गरिएका इतिहासहरु छन् त्यसैले हामीले उद्धारको कार्यलाई हदैसम्म जारी राख्न जरुरी देखिन्छ । 

गर्मि याम, लामो दिन, दिउसो, विद्यालयन नलागेको दिन, गाईबस्तु चरनमा रहेको अवस्था पर्नुले अझ ठूलो जन तथा चौपायको क्षति हुन पाएन यसमा थोरैभएपनि चित्त बुझाउनु पर्ने ठाँउ छदैछ । गाँउका रुख विरुवाहरुले पालुवा फेर्दै गरेको वेला, जंगलमा टाँकी, कोइराला, काभ्रा, गुराँस, सिस्नु, तितौरा, बेसिका खेतमा आलु, गहू आदि उपलब्ध भएको वेला भएकोले भोककै कारणले प्राण त्याग गर्न परेन सायद । उद्धारको लागि आउनेहरुले प्रयोग गर्ने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग नबिग्रनु अर्को राम्रो पाटो रहयो । तर, सिंगै परिवार, परिवारका सदस्य र घरगोठ, चौपाया र खाद्यन्न तथा सम्पति गुमाउनेहरुको यस्तो वेहाल यो भन्दा अघि देख्न पाइएको थिएन र फेरी नै देख्न पाइन्छ । पुरिएका, चेपिएकालाई तत्कालै उद्धार गरेर घाइतेहरुलाई राम्रो स्वास्थ्य उपचार गर्न पाएको भए हजारौको ज्यान जोगाउन सकिने थियो अफसोच हामीले ती सबै समायोजन गर्न सकेनौ । किन की यो महाभूकम्पले निम्त्यिाएको महाविपति थियो । सम्पन्न र शक्तिशाली मुलुकहरुमा पनि विपतिमा भने जस्तो काम हुन सक्दैन ।

महाभूकम्प गएको १६ दिन भित्र १६० वटा भूकम्पको झट्काले अर्को झट्का पनि थपेको हो की भन्ने डर फैलनु स्वभाविक हो । यो बेला उद्धार र राहतको काम संगै दुइचारवटा कुरामा पनि ध्यान दिन आवश्यक देखिन्छ । पहिलो, उद्धारको लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावको लागि धन्यवाद ज्ञापन गर्ने । दोस्रोः अन्तर्राष्ट्रबाट असिमित आर्थिक सहयोग आईरहेको बेला । नयाँ संरचना निर्माणमा ध्यान पुरयाउनुपर्ने र ठूलो हिम्मतका साथ निर्णय गर्नुपर्ने अवसर छ । पहाडमा छरपस्ट रहेका घरहरु यो बेला लडेका छन् । ति घरवासीहरुलाई एकै बस्तिमा राख्न पाए विद्यालय, यातायात, विजुली, अस्पताल लगायतको सुविधा मात्र होइन घर बनेको कारण ढाकिएको भूमिलाई पुरै खेतिपाती योग्यभूमि बनाउन सकिन्छ । अस्तब्यस्त राजधानीलाई चितवन वा दाङ कतै सार्न सकिन्छ । 

नेपालका ब्यापारीहरुले भूकम्पबाट जोगिने प्रकारको घर बनाउन प्रयोग हुने फलामको डाँडाभाटा  बनाउने फ्याक्ट्रीहरुको तत्कालै स्थापना गरिदिए दुबैलाई फाइदा हुने थियो । गल्फ र मलेशियामा गएका युवाहरु फर्किएर भवन निर्माण कम्पनी खोलिदिए हुनेथियो । उसो त संसारलाई चकित बनाउने छिमेकी मुलुक चीन संगपनि प्राविधिक सहयोग माग्न सकिन्छ जसले भूकम्प गएको १५ दिन भित्रै ३० तले गगनचुम्बि भवन बनाउन सक्दछ । यो विपदमा जुनसुकै देशको सहयोगमा पनि भारत या अमेरिका कसैले केही भन्न सक्दैन । हामी संग हिम्मत, सोच र इमान्दारिताको मात्र खाँचो छ ।

विगतका कामहरुलाई हेरेर जनताले अहिलेका नेपालका शासकहरु प्रति विश्वास गर्न सकेका छैनन । यो एउटा सबैभन्दा ठूलो विडम्बना र समस्या हो । त्यसैले, यसको विकल्पमा नेपालको भौतिक पुर्ननिर्माण सम्बन्धमा नेपाल सरकारकै मातहतमा रहने तर पूर्ण स्वायत्त प्रकारको ‘महाभूकम्पग्रस्त संरचना पूर्ननिर्माण अन्तराष्ट्रिय फोरम’ निर्माण गरि त्यसले अन्तर्राष्ट्रिय मापदण्डको घर, बस्तिहरु बनाउन प्रयत्न गर्ने हो भने यो महाभूकम्पको शोकलाई अवसरको रुपमा विकास गर्नपनि सकिन्छ ।

उद्धारकार्य चलिरहेको शिलशिलामा भारतले चीनको सिमानामा जासुसि गरयो । चीनले भारतको जासुसि गरयो भन्नु मुर्खता हो । सिमानाहरुमा पुग्न यहि अवसर छोप्न पर्दैन । अरु बेला पनि टुरिष्ट भएर पुग्न सक्छन । ड्रन पठाएर २४ सै घष्टा निगरानी गर्न सक्छन् । त्यसैले नयाँ प्रविधिको दुनियाँमा यहिबेला मौका छोप्यो भन्नु सायद पुरै सहि नहोला । गुगल अर्थ, सेटलाइट चित्र आदि प्रयोग गर्न सक्छन् । त्यसैले आपतकालिन उद्धारलाई अपवित्र हिसाबले नहेरौ । जसले सहि समयमा सक्दो सहयोग गरयो त्यसमा हामी आभारी बनौ । 

यसपटक ब्यक्तिब्यक्ति र संस्थाहरुले राहतको लागि आर्थिक तथा भौतिक सहयोग उठाएका छन् । यो राहत प्रदान कार्य एकजना मृगौला रोगीको लागि भनेर रकम उठाएर प्रदान गरे जस्तो सजिलो छैन । असिमित क्षति भएको छ । असिमित गाँउटोल र परिवारमा क्षति पुगेको छ । उद्धारको चरणमा जतिसक्दो चाँडो जिवितै उद्धार गर्नुथियो जुन सबै गैरसरकारी निकाय र सरकारी षयन्त्रबाट काम भयो, भईरहेको छ । तर, अब राहत तथा क्षतिपूर्ति दिनेकुरा पेचिलो बन्दै गएको छ । त्यसैले यो बेला सहयोग संकलकहरुले आआफ्नो क्षेत्र जस्तैः उपचारको लागि मात्र, विद्यालय बनाईदिन मात्र, परिवारमा बचेका एकल ब्यक्तिलाई मात्र आदि छान्नु वान्छानिय देखिन्छ । नत्र एकै टोलका भिन्न भिन्न विदेश बस्ने दुइचार जना नेतृत्व छन्भने सबैको राहत नेतृत्वहरुकै एकै टोलमा जान सक्छन् । यो बेला उक्त रकम हामीलाई देउ हामी बाँड्छौ सरकारले भन्न मिल्दैन । बाड्न पाउदैनौ भन्न त झन मिल्दैमिल्दैन । त्यसैले यो बेला सरकारले कुन संस्थाले, कुन ब्यक्तिले कति सहयोग उठाएको हो, कुन ठाँउमा के का लागि दिन लागिएको हो त्यसको हिसाब लिने र जम्मा खर्च रकम, खर्च गरिएको क्षेत्र र सहयोगको लागि योगदान दिने संस्था वा ब्यक्तिको नाम सार्वजनिक गरेर सहयोग गर्ने । विवरण खुलाएर साइनबोर्ड राखिदिने जसले गर्दा सर्वसाधारण सबैलाई थाहहोस । रेकर्ड फाइलमा राखियोस र उक्त रेकर्ड सरकार आफैले इतिहास रहनेगरि प्रकाशन गरियोस । त्यसको मुख्य उददेश्य भनेको सहि ठाँउमा खर्चहोस, भ्रष्टाचार नहोस र योगदान गर्नेको इतिहास पनि रहोस भन्ने हो । सरकारले आफै जति जुटाउन सक्छ त्यो आफ्नो ठाँउमा छ तर जनता संस्था स्वतः आफैले उठाएको र आफै वितरण गर्छौ भन्छभने त्यो स्वतन्त्रता दिनु पर्दछ र उनीहरुको कल्याणको कामको विवरण राखेर सहयोग गर्न सक्दछ अन्यथा रणभुलमा बस्नुहुदैन ।  

वि.स. २०४५ साल भाद्र ५ गते गएको भूकम्प र त्यसपछिको घट्नाहरुबाट पनि हामीले पाठ सिकेका छौ । यस्ता प्राकृतिक विपतमा अन्तर्राष्ट्रिय निकायले सहयोग गर्ने परम्परा रहेको छ । यस पटक छिमेकीको पुरैपविार, परिवारको सदस्यको मृत्यू भईरहेको बखत घर भत्कनु, घर चर्कनु सामान्य कुरा लाग्दछ । ४५ सालको भूकम्प लगतै जसजसले क्षति भएको भनी नाम दर्ता गराए उनीहरुले नै पछि ५ हजार वा १० हजार रिण प्राप्त गरयो र पछि मिनाह पनि भयो । जसले क्षति भएर पनि क्षति भएको कुरा दर्ता गराएन्न तिनीहरुले केही पनि पाएन्न । यसपटक त्यस्तो घटना नदोहरियोस । क्षति भएको कुरा सबैले दर्ता गराउनुहोला । 

यो विपदको मौका धेरैले छोप्ने गर्दछ । भर्खरै मात्र आरोपित जर्मन नागरिकलाई जर्बरजस्त भगाएर लैजान खोजियो । एनसेलले करोडौको सामान राहतको सामानको रुपमा भित्राउन खोज्यो । यी ताजा उद्धाहरण हुन त्यसैले यसतर्फ सरकारको ध्यान निरन्तर रहोस । यसपटक सानाठूला, सोशियल मिडियाको भूमिका एकदमै प्रसंसायोग्य रहेको छ । यो कठिन घडिमा संयमित होऔ । सुरक्षित रहौ र सुरक्षित भविश्य बनाऔ । विपदमा परेका र जनधनका क्षति ब्यहोरेकाहरुलाई सबैले आआफ्नो ठाँउबाट सहयोग गरौ ।

६ मे २०१५