बेल्जियम इपरका लाखौ युद्धआत्मा, अन्ततः रातो पपीफूल बनेर उठेपछि

आज दिनभर बेल्जियमको मकैबारीमा हिड्ने एउटा सुखद संजोग जुरयो । कतै मकैका बिरुवाहरु झारले छोप्न लागेकाले गोडनु पर्ने देखिन्थ्यो कतै कलिला आलु कोटयाएर तरकारी खान लायक देखिन्थे । खडेरी परेकोले सुख्खाबारी देख्दा पानी परिदिए पनि हुनेथियो लाग्ने । घाम टन्टलापुर छ । सुन्दर उब्जाउशिल माटोको कलकलाउदो खेतीमा दिनै भर मैले मेरो आजीबन किसान बुबाको अनुहार देखे । बेलाबखत बुबाको खुईयाको सुस्केरा पनि सुने । मेरो बुबा अझै जीवित हुनु हो त वहाले त्यो झारले छोप्न लागेको मकै गोडि सकेको हुनेथियो । घामले ओइलाउन शुरु गरेको मकैको टुसा र आलुहरुमा पानी लगाई रहेको हुनुहुन्थ्यो सायद । पसिनैपसिना काम गर्नुहुने बुबाको कमिज कतै फाँटेको हुनेथियो । कामको चटारोमा बजार जाने समय नहुनाले नानीहरुले चित्र कोरे झै कमिजमा टाँलिएको बुट्टा हुनेथियो । दुईहल गोरु, गाई, बाँच्छा, भैसी र ३ दर्जन बाख्राहरुको सधै प्यारो मेरोबुबा बिहानको कामबाट प्रायः घाम छिप्पिए पछि मात्र थाकेर घर आईपुग्नुहुने समयको घाम झै इपर बेल्जियमको घाम पनि अब छिप्पिन्दै गएको छ ।

इपर शहर छेउको गाँउमा फैलिएको खेतीहरुमा हुर्किन्दै गरेका मकै, आलु, लहलह लहरिरहेको गहूँको वालाहरुलाई मेरै गाँउको डाँडाखेत, गैरीखेत, ढुंगेनी र बिरौटा खेतहरुमा देख्छु र बेचैन रमाईरहेको हुन्छु । किन हो खेतीपाती र पशुपालनको आनन्द बेग्लै र वालसाखको कर्म साच्चै अमिट हुदो रहेछ भन्ने महशुस गर्छु । हुन पनि दिनभर टम्म अघाउन्जेल बस्तु चराउनु, लहलह लहरिएको पहेलो धान काट्नु, बर्षमा एक पटक मात्र अवसर आउने मकै पोलेर खानु, बर्षमा एकपटक मात्र फल्ने तरकारीहरु खानु, हप्ता वा महिनामा मात्र शिकार खानु र वर्षमा एकपटक मात्र फल्ने फलफूल खानुको मज्जा र दिनभर काम गरेर साँझ आनन्दले निदाउनु भन्दा सुख अरु होइन लाग्छ । खेतीपाती गर्न नपाएको केही दशक हुनुले पनि यो नोष्टाल्जिया भएको हुनसक्छ मलाई । तर, हामी गोठ बसे झै आनन्दको समय बिताउन काराभान गाडिमा बसेकाहरु देख्दा, प्रसस्त पैसा र प्रतिष्ठा कमाए पनि चैनले निदाउन नसकेको देख्दा लाग्छ, धनी पश्चिमाहरुको जीबन भन्दा नेपाली गाँउको जीवन गुणौ असल छ । चिन्तारहित नेपालीको जीवनशैलीलाई पश्चिमाहरु हरदम खोजीरहेका छन् की लाग्छ ।

विचारको आँधीबेहरी चल्छ तर यी सबै विचार साटासाट गर्नपनि उस्तै संगत चाहिन्छ । धेरै भेटेको छु । हिजो दुःख गरेर हुर्केकाहरु आफ्नो दुःख बताउदैन्न, लाज मान्छन । धरान, काठमाडौमा हुर्के भन्दैमा आफ्नो पहाडको पूख्यौली गाँउ थाह नभएको स्वाङ पार्छन । तर, मलाई किन हो किसानको सन्तान हुनुमा सबैभन्दा ठूलो गौरव लाग्छ । मैले जति दुःख सायदै अरुले गरे त्यसमा झन मलाई औधी गौरव लाग्छ । धेरै सिक्ने दुःखमै हो सुखमा होइन । उसो त अहिले बजार इलाकामा रहनु परेकोले पनि होला सुन्दर खेतीपातीमा पुग्दा यसरी मन बतासिएको, बहकिएको । सुन्दर लाग्ने बालीहरुको फोटो खिच्दै, पसिना पुछ्दै फटाफट इपरको बारिमा हिडिरहेको छु । युद्धभूमि बनेका यी बारि र डाँडाहरुमा ठ्याक्कै १ सयवटा चिहानघारी छन । कुनै चिहानघारीमा थोरै र कुनैमा धेरैको कपुरथान रहेका छन् । तिनै युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्मान र सम्झनामा ३ दिने शान्ति पैदल यात्रामा म सरिक बनेको छु ।

एक पाइला देक्दा ४० जनाको लास टेकिन्छ । अर्थात प्रत्येक एक वर्ग इन्चमा एक जनाको लास टेकिन्छ यो बेल्जियमको ईपरमा । क्षेत्रफल सानो तर मारिनेको संख्या धेरै भएकोले पनि इपरको चर्चा विश्वभर छ । धेरै मानिस मारिएको विश्वका युद्धहरु मध्ये ७ औ नम्बरमा चर्चाहुने यस इपरको युद्ध इतिहास कथा झै लाग्छ । पहिलो विश्व युद्धमा जर्मनको आक्रमण बृट्रिस माटोमा आई नपुगोस भन्ने इरादाले तत्कालिन ब्रिट्रिस साम्राज्यले आफ्नो भूमि भन्दा टाढै, आफ्नो टापु भन्दा टाढै पुगेर जर्मन संग लडनेक्रममा हालको इपरमा तेस्रो पटक आक्रमण गरे र सो युद्धमा लगभग साढे ४ लाख बृट्रिस एलायन्स र जर्मन तर्फ ४ लाख ३० हजार मारिएका थिए । उक्त तेस्रो लडाई ३१ जूलाईमा शुरुभई १० नोभेम्बर १९१७ मा सिद्धिएको थियो । तिनै युद्धमा मारिएका ज्ञातअज्ञात प्रति सम्मान गर्न म ठिक १०२ बर्ष पछि चिहानहरु गन्दै, मर्नेहरुको नाम पढ्दै हिडिरहेको छु । कमनवेल्थ चिहानहरु मध्ये एकैठाँउमा मारिएको तथा राखिएको टेनी कट सिमेट्री, जहाँ ११ हजार ९ सयको लास एकै ठाँउ राखिएको छ । झण्डै २०? किमी बर्गमिटरको क्षेत्रफल भित्र ग्रुपग्रुपमा एकसय वटा चिहानघारीहरु बेग्लाबेग्लै आकर्षणमा सजाईएका छन्, सुरक्षित गरिएका छन् । डाँडाको फेदी जहाबाट आक्रमण गर्न जादै गरेको र डिफेन्सिप पोजिसनमा रहेकाहरुको ठाँउमा धेरै मरेकाले त्यही ठाँउमा गाँडिएका छन् । सन् ११ अक्टोबर १९१४ देखि २ अक्टोबर १८१८ चलेको चारबर्षे इपर युद्धमा प्रयोग गरिएका बंकरहरु अझै पनि सुरक्षित छन् । उसो त जर्मनले यहि युद्धमा पहिलो पटक १९ डिसेम्बर २०१५ मा अठ्ठासी टनको ग्याँस छोडेर ६९ जनाको मृत्यू र एकहजार ६९ नै घाईते बनाएका थिए । युद्धमा दुश्मन पक्षको गोलीले मरे नै त्यसैबेला दर्केपानी र हुरीबतासको खराब मौषमको कारण पनि अत्यधिक मरेका थिए । लामो समय चलेको पहिलो विश्व युद्धमा ३१ प्रतिशत बेल्जियमका जनताहरु पनि मारिएका थिए । इपर अहिले युद्ध अध्येताहरुको निम्ति मुख्य आकर्षक गन्तब्य बनेको छ ।

लामो समय सम्म ती युद्धमा मारिएकाहरुको कुनै वास्त गरिएन तर युद्धमा सहभागी एक क्यानेडियन लेफ्टिनेन्ट कर्णेल जोन म्याक्रेले इन द फ्लाण्डर्स फिल्ड नामक कविता लेखे । उक्त कविताले युद्धमा मरेकाहरु सुतेर बस्ने होइन पपी फूल बनेर फूल्नुपर्छ भन्ने भावनाको कविता लेखेका छन् । धेरै समय पछाडी उक्त कविता लोकप्रिय हुनपुग्यो र कालन्तरमा पपीफूललाई युद्धमा मारिएकाहरुको संकेतको रुपमा युके, क्यानडा लगायतका मुलुकले मान्न थालेका हुन् ।

पछिल्लो समय उक्त युद्धको सम्झनामा बेल्जियमको वेष्ट फेल्न्डर्स प्रोभिन्सको इपर शहरमा प्रत्येक बर्षको मे महिनाको अन्तिममा एकसय किलो मिटर हिडेर पार गर्नुपर्ने कार्यक्रमको आयोजना गरिन्छ । युद्ध भएको ठाँउ र चिहान भएका ठाँउहरुको बाटो हुदै तीन दिन भित्रमा सय किलोमिटर पार गर्नुपर्ने कार्यक्रम धेरै लोकप्रिय बन्दै गएको बताईन्छ । सन् १९७२ देखि इपर काउन्सिलको संयोजनमा प्रत्येक वर्ष आयोजना हुने यस कार्यक्रममा यो बर्ष (सन २०१९) देशविदेशबाट एक हजार ८ सयले सहभागिता जनाएको आयोजकले बताए । हिडदै जाँदा भेटिने चिहानका बंगैचाहरु मध्ये एकैठाँउ ४० भन्दा बढिको चिहान भएको ठाँउमा क्रिश्चियनहरुको क्रस चिन्हको मूर्ति रहने र निग्रो जातिहरुलाई समुह भन्दा बाहिर बेग्लै अपमानित ढंगले राखिएको कुरा देख्दा जाबो चिहानमा समेत अपमान असहिय लाग्छ ।

युद्धका कुराहरु सुन्दा अप्रत्यारिलो लाग्छ तर त्यो बेलाका भिडियो र फोटोहरु हेर्दा नपत्याई सुखै छैन । प्रथम विश्वयुद्धमा लगभग १९ मिलियन र दोस्रोमा ८५ मिलियन मानिसको मृत्यूभएको तथ्याङ्क पाइन्छ जसमध्ये कम मर्नेमा अमेरिकन पनि पर्दछ भने दुवै युद्धमा सबैभन्दा धेरै सेना र सर्वसाधारण गुमाउने रसिया हो । जसको प्रथम विश्वयुद्धमा मात्र ९ मिलियन र दोस्रो विश्व युद्धमा २० मिलियनको मृत्यू भएको अनुमान छ । दुवै युद्धमा मारिएका संख्याको अनुपातमा अब तेस्रो विश्व युद्धमा कति मार्लान? र, तपाई बाँच्नुहोला? युद्धमा सेनाहरु सहयोगी समुहमा हुन्छन, गैरसेनाहरु संग हतियार हुदैन र सहयोगी पनि हुदैन्न त्यसैले धेरै मर्ने गर्दछन् । के अर्को युद्धमा हामी बाँकी रहौला? पृथ्वी नै ध्वस्त गर्ने प्रविधिले गर्दा के हाम्रो बाँच्न पाउने अधिकार सुरक्षित होला? युद्धस्थल अध्ययन भ्रमण (ब्याटलफिल्ड टुर) मा हाम्रो दिमागलाई यीनै कुराहरुले सताउने गर्दछ ।

इपर शहरको मुख्य भागमा विशाल एक मेनन गेट निर्माण गरिएको छ । उक्त गेटको सबैभन्दा सिनियर वालमा भारतीय गोर्खा सेना जो इपरको युद्धमा मारिएका थिए झण्डै डेढ दर्जन गुरुङ र आधा दर्जन मगरहरुको नामावली भारतीय समकक्षीहरु संग लेखिएका छन् । तत्कालिन इष्टइण्डिया कम्पनी लगायत अष्ट्रेलिया, क्यानडा आदिका सेनाहरु बृट्रिसको पक्षबाट लडन इपर आएको ईतिहास पाइन्छ । उक्त गेटमा विभिन्न मुलुकबाट युद्धमा मृत्यू भएकाहरुको सम्मानमा तीन दिन पालैपालो सैनिक परेड गरिन्छ । र, अर्को रोचक पक्ष चाहि मेनन गेट नजिकै भारतीय गोर्खा सेनाहरुको सम्झनामा गोर्खा मूर्ति पनि बनाईएको छ । यसरी भावानात्मक रुपबाट पनि बेल्जियम संग हाम्रो पुरानो नातासम्बन्ध छदैछ । र, इपर इलाकामा नेपालीहरुको उपस्थिती पातलो भएपनि अर्को इलाका ब्रसेल्स, लुभने लगायतमा निक्कै नेपालीहरु रहेको जानकारी भयो ।

सबैभन्दा गजब चाहि उक्त एकसय किमी पैदलयात्रा कार्यक्रममा सहभागी देशविदेशका पाहुना, सहभागिहरु बसेको टेबलमा मेयर आफै आएर सफा गर्ने । मुख्य आयोजक क्रिस आफै थालबटुका धुने । बुढापाकाहरु खाजा र खाना पस्केर दिने स्वयंसेवी । उनीहरुकै परिवार र ससाना नानीहरु ड्रिक दिने बेच्ने देख्दा लाग्यो हामीले उनीहरुबाट सिक्नु पर्ने अझै धेरै रहेछ । लाग्छ बेल्जियमको माटो संसारमै सबैभन्दा उब्जाउशिल भनी १८ बर्षअघिको मेरो नियात्रामा पनि लेखेको थिए र यस पटक पनि सदर भएको छ । मैले जोड्न खोजेको चाहि माटो मात्र उब्जाउशिल होईन मान्छेहरु पनि मेहनती पाँए, तब मात्र बनिन्दो रहेछ देश । उसो त राजनैतिक रुपबाट पनि बेल्जियनहरु स्वतन्त्र र सार्वभौम छन् । डच भाषा बोल्ने ५९ प्रतिशत फेल्मिस, जर्मन बोल्ने १ प्रतिशत र बाँकी फ्रेन्च भाषीहरुको आफ्नै विशेष अधिकारका भाषीक राज्यहरु छन् । मुख्यतयाः फेल्न्डर्स राज्यमा ५ प्रोभिन्सेस र वालवन राज्यमा ५ प्रोभिन्सेस रहेका छन् र जम्मा १८७ क्यान्टोन छन् । संवैधानिक राजतन्त्रात्मक संघीय राज्य बेल्जियमको विश्वमै छुट्टै विरासत र पहिचान छ ।

हिड्नै मात्र पर्ने भएकोले कार्यक्रम अगावै खासै पीर गरिन । सानो छंदा प्रत्येक दिन विद्यालय पुग्नै दुईतीन घण्टा हिडेको र लामोबाटो पनि धेरै हिडेको कारण कुनै चिन्ता थिएन तर नपत्याउने खोलाले बगाए पछि बल्ल ए त्यसो होइन, दौडनु भन्दा निरन्तर हिडनु धेरै गाह्रो रहेछ भन्ने बुझाईमा पुगे । शुरुवातको पहिलो दिन २० किमी हिडेर छिचोल्नु थियो । पहिलो चेकप्वाइन्ट नाघे पछि समुहबाट छुट्न पुगेको कारण तीनतिर बाटोमध्ये म अर्को तिर लागेछु तब हराए र फेरी भेट भएन । बल्ल बल्ल अर्को ग्रुपलाई भेटे पछ्याउनुको विकल्प रहेन । दौड्ने युवा टिम रहेछ, उनीहरु संग दौडनै परयो । दुरी पार गरियो तर दुबै पाइतालामा बिलिष्टर्स भए, खुट्टा पिल्सिए । त्यहि साँझ मेनन गेट पनि जानुथियो जसले गर्दा जम्मा दुई पाइतालामा सातसात वटा बिलिष्टर्स उठे यद्यपी फेरी दोस्रो विहान ५० किमी हिड्नु छ । तेस्रो दिन तीस किमी हिडनु छ र जसरी हुन्छ पुरा गर्नुछ । मेरो जीबनमा सबैभन्दा कष्ट खप्नु परेको यो पहिलो बाँध्यता थियो । बाटोमा हिडदै गयो उठेका फोकाहरु चिमोटेर फूटाउदै पानी निचोरीफ्याक्दै पुनः टेप लगाउदै निरन्तर दिनैभरि अघि बढ्दा कस्तो होला अनुमान लगाउन सक्नुहुन्छ । तर, कसैबाट दबाब थिएन, जति हिडदै गयो त्यति नै खेतीपातीहरु सुन्दर आकर्षक र मनमोहक दृष्यले सान्तवना दिईरहन्थ्यो । निरन्तर अघि बढिरहदा मलाई मेडिकल टिमले रोके र सानी बैनिले सम्झाईन लिसन टु योर्स वडि । म छक्क पर्दै सरि भन्दै खुट्टा देखाए । अब अझ बढि नहिड् त्यहि तिम्रो लागि सहि निर्णय हुनेछ । त्यसमा पनि ओके भने । ती बहिनीहरु मेडिकल नर्सकै ड्रेसमा छन् । फ्रान्स र बेल्जियमको सिमाना भएको अग्लो डाँडाको सुन्दर शहरको एक कुइनेटोमा छौ । तुलनात्मक अलि सितल छ । मैले बिस्तारै कुरा कोट्याए । मलाई लाग्यो यी अधबैंसे चाहि नर्सहोली यी बैनी चाहि नर्स सिक्दै गरेकी होली । तर, भरे बुझ्दा गजब लाग्यो दुबैजना स्वयंसेवक मात्र रहेछन । सानी बैंनी इतिहासमा डिग्री पढदै गरेकी र अधबैंसे चाहि आर्किटेक्चर रहेछिन तर उनीहरु साच्चै प्रोफेसनल नर्स झै थिए ।

कुन भाषा सजिलो किन सजिलो आदि विषयमा कुुरा भयो । डच, फ्रेन्च र जर्मन अप्ठयारो । ति भाषाहरुमा एक्सेप्सनल धेरै भएको तर अंग्रेजी सजिलो भएको बताइन् । बैंनी चाहि निक्कै गफगर्ने खालकी बेल्जियमको बारेमा युटयुवमा हेर्न मलाई सुझाइन । ३ भाषाको राज्य भएको र चुनावमा भोट दिन नगए दश यूरो देखि एकसय पच्चिस यूरो सम्म जरिवाना तिर्नुपर्ने ब्यवस्थाको वारेमा भनिन त्यो चाहि मलाई नयाँ र सहि पनि लाग्यो तर कुन पार्टीलाई भोट दिनुभयो भन्ने सवालमा दुवैले उत्तर बाङ्गो दिए अर्थात कुटनैतिक उत्तर दिए । लाग्छ राजनीति घृष्णा, गोप्यता र अनिवार्यताको संगम हो । उसो त बेल्जियमको राजनैतिक स्थिती तुलनात्मक अलि जटिल र संवेदनशिल पनि छ ।

अन्तमा, विभत्सव युद्धको पीडाबाट शिक्षा लिदै, मलिलो र उब्जाउशिल माटो मात्र होइन सालिन, सभ्य नागरिक तथा सफा, खुल्ला शहरको उचाई भन्दा अग्लो सय किलोमिटर हिडाईको कार्यक्रमले वास्तवमै सयौ बर्षअघि र सयौ बर्षपछिको बाटो पनि देखाएको छ । आपसमा भाईचाराको सम्बन्ध अभिवृद्धि गरेको छ । पुनः त्यस्ता अमानवविय युद्ध नगर्ने वाचा गर्दै युद्धमा शहिद हुनुभएकाहरुलाई सम्झन्दै कार्यक्रमको समापनमा पुगेका छौ । हामीले पहिलो, दोस्रो विश्वयुद्ध र अन्य युद्धहरु विर्षियौ भने हामीमा तेस्रो विश्व युद्धको रहर जाग्न सक्छ त्यसैले हिजोको विभत्सवबाट शिक्षा लिएर सधै अग्रजहरुको सम्मान गरौ । विश्व शान्ति र भातृत्वको निम्ति कर्म गरौ भन्दै हाम्रो वस अब विस्तारै इपरबाट फ्रान्सको कलाई हुदै डोभर तर्फ मोडिएको छ । बस यतिनै ।

(पैदल यात्राको कार्यक्रम २९ मे देखि २ जून २०१९)

Bibliography
100 km van Ieper. Available at: http://100km.be/100KM/Default.aspx (Accessed 05 Jun 2019)
Research Starters: Worldwide Deaths in World War II, https://www.nationalww2museum.org/students-teachers/student-resources/research-starters/research-starters-worldwide-deaths-world-war (Accessed 05 Jun 2019)
IWM (2018) 10 SIGNIFICANT BATTLES OF THE FIRST WORLD WAR, https://www.iwm.org.uk/history/10-significant-battles-of-the-first-world-war (Accessed 05 Jun 2019)
Browne, A. (2018) 15 Bloodiest Battles of World War One by Casualty Figures. Available at: https://www.historyhit.com/biggest-battles-world-war-one/ (Accessed 05 Jun 2019)
The Remembrance Day Poppy & In Flanders Fields Poem. Available at: https://www.warmuseum.ca/cwm/exhibitions/remember/flandersfields_e.html (Accessed 05 Jun 2019)
TYNE COT CEMETERY. Available at: https://www.cwgc.org/find/find-cemeteries-and-memorials/53300/tyne-cot-cemetery (Accessed 05 Jun 2019)
Cemeteries in the Ypres Salient, Belgium. Available at: http://www.greatwar.co.uk/places/ypres-salient-cemeteries.htm (Accessed 05 Jun 2019)
Casualties of World War I. Available at: https://www.facinghistory.org/weimar-republic-fragility-democracy/politics/casualties-world-war-i-country-politics-world-war-I (Accessed 05 Jun 2019)
Majerus, B. (2016) War Losses (Belgium). Available at: https://encyclopedia.1914-1918-online.net/article/war_losses_belgium (Accessed 05 Jun 2019)
Germans introduce poison gas. Available at: https://www.history.com/this-day-in-history/germans-introduce-poison-gas (Accessed 05 Jun 2019)