बन्दुक, बारुद र चिहानको शहरः फ्रान्सको सोममे जहा ४० लाख मारिए

फ्रान्सको कलाई इमिग्रेसनको सपिङ सेन्टरले युके फर्कने सबैलाई एकएक बोतल वाईन निशुल्क उपहार हातहातमा दिएर पठायो । बढो गजब ! ससुराली गएर वा नातागोताको घरमा निस्कन्दा कोसेली बोकाई पठाए झै निशुल्क दिइएको वाईनको बोतल संगै धेरै कुराहरु पनि आए । पाहुना सम्झे र विदाईमा सम्मान स्वरुप कोसेली पठाईदिए । फ्रान्समा वाइन बढि र उत्कृष्ट उत्पादन हुन्छ लैजाउ र चाख अनि मन परे अर्को पटक बढि किनेर लैजाउ भन्ने उद्देश्यले विज्ञापन गरे । वा, डेट एक्साएर हुन लागेको वाइन विज्ञापन र कोसेलीको स्रोत बनाए वा यी मथ्थुहरुलाई रक्सी दिएर खुसि बनाऔ भनेर दिए आदि ।

मलाई पकाएको खानेकुरा र रक्सी, चुरोट बोकेर हिड्न किन हो आफैलाई ग्लानी हुन्छ त्यसमा पनि पकाएको मासु बोक्नु महापाप गरे लाग्छ र आलो शिकार बोक्नुमा त झनै किनकिन पाप महशुस हुने गर्दछ । मेरो विशेषता आफैलाई तुलनात्मक भिन्न लाग्छ । म शिरमा लगाउने टोपीले कहिल्य पसिना पुछ्दिन र लेखिएको कागजलाई कहिल्य टेक्दिन । तर फ्रान्सको नजिक रहनुको कारण त्यहा अल्कोहल र सिगरेट सस्तो पाइन्छ भन्ने सुनेको कारण ब्यापारी विषयको जानकारी बुझ्न पनि वाईन साथिहरु संगै बोकेर ल्याउन बाँध्य भए ।

युके र फ्रान्स आपसमा नजिकका मुलुकहरु हुन । यसलाई केवल १९ किमीको सामुन्द्रिक दुरीले मात्र छुटाएको छ तर यी दुई मुलुक बीच हरेक कुरामा भिन्नता भेटिन्छ । गाडीलाई रोडको कुन साइडबाट कुदाउने, शहर केकति फराकिलो बसाउने, बनाउने । रोडका साइनपोष्टहरु के कसरी सरल र प्रभावकारी बनाउने आदि सामान्य कुराहरु मात्र ख्याल गर्ने हो भने पनि अनौठो मान्न पर्ने प्रसस्तै ठाँउहरु पाइन्छन । यतिविध्न कसरी भिन्नताहरु भए होलान? यी दुई मुलुक बीच र पहिलो तथा दोस्रो विश्वयुद्धले पनि यो भिन्नता हुनुमा टेवा पुरयायो की भन्ने लाग्छ यद्यपी यो तथ्य प्रमाण चाहि होइन । प्रसंग उत्तर पश्चिम फ्रान्स अर्थात युके नजिक पर्ने फ्रान्सको सोममेमा भएको युद्धको अध्ययन यात्राको हो ।


पहिलो विश्व युद्धको क्रममा एकै ठाँउमा दुवैपक्षको ४० लाख सेना मारिएका फ्रान्सको एमिएन्स शहर नजिकको सोममे इलाकामा २ सय ७० वटा मेमोरियल पार्क अर्थात चिहानघारीहरु रहेका छन । उक्त इलाकामा बृट्रिसहरु ११ लाख, अष्ट्रेलियन ६० हजार, क्यानेडियन, फान्स, साउथ अफ्रिकन, भारतीय लगायतलाई मार्ने जर्मन सेनाहरु पनि ६ लाख मारिएको अभिलेख सुरक्षित छ । सुन्दा पत्याउनै गाह्रो लाग्ने उक्त युद्ध र सख्या आखिर स्थलगत अध्ययन पछि पत्याउन करै लाग्छ । विशाल मेमोरियल मनुमेन्टहरु अनगिन्ति निर्माण भएका छन् । घुम्न आकर्षण गर्ने संरचनाहरु बनेका छन् । रेखदेख गर्ने मालीहरु पर्याप्त छन् । प्राप्त जानकारी अनुसार प्रत्येक मुलुकले आआफ्नो सेनाको प्रति चिहानको हिसाबले खर्च ब्यहोर्दै आएका छन । डेथ भ्याली नजिक रहेको सोममे भिलेजमा त्यो बेला जम्मा ७२ घरमा जम्मा ३०० जना मानिस मात्र बस्दथे । आज भन्दा १ सय बर्ष अघि सन् १९१६ जुलाई १ देखि फेब्रुवरी अन्तिम १६१७ सम्म चलेको युद्धमा ४ मिलियन अर्थात ४० लाख) सेना तथा गैरसेनाको मृत्यू भएको र उक्त युद्धमा बृट्रिस सेनाका ४ जनाले सबैभन्दा उच्च बहादुरी भिक्टोरियाक्रस प्राप्त गरे । उक्त युद्धमा जर्मनहरुले धेरै बृट्रिस गठबन्धनका सेनाहरुलाई मारे त्यसको मुख्य कारण जर्मनहरु उक्त गाँउमा २ बर्ष अधि नै रक्षात्मक तरिकाले बसेका थिए र उनका सेनाले अफ्रिका इलाकामा युद्ध गरेको अनुभव समेत बटुलेका थिए ।

युद्ध पूर्व विश्वकै सर्वशक्तिमान र अद्योगिक क्रान्ति पछि धनी मुलुक बेलायत थियो र उसको बोलावटमा अष्ट्रेलिया र अफ्रिका लगायतबाट पानी जहाजमा महिनौ लगाएर युद्धका निम्ति आएका थिए र बेलायतबाट रिजर्भ सेना, भर्खरै भर्ति भएकाहरु, फूटबल खेलाडीहरुलाई समेत जम्मा गरि युद्धमा लगेका थिए । त्यति मात्र होइन जर्मन तर्फ २५ वटा आर्टिलरीगन थिए भने अंग्रेज तर्फ ४ वटा गन मात्र भएको कारण भारी क्षति ब्यहोर्नु परयो । उक्त युद्धमा भारी जनधनको क्षति संगै बृट्रिस सेनाले धेरै कुरामा परिवर्तन गरेको इतिहास पाइन्छ । सोममे एक नदिको नाम हो र अंग्रेज गठबन्धन उक्त नदि तरेर जर्मनलाई आक्रमण गर्न जानु परेको थियो । भिर नभएको तर होचाअग्ला भ्याली भूभागमा घोडचडी आक्रमण पनि गरे तर सोचेजस्तो उपलब्धि भएन । आक्रमण हुदै गर्दा लडाकुहरुको मनोबल बढाउन फूटबल पनि खेलाउने योजना पुरा भएन । जर्मन सेनाहरु रक्षात्मक तरिकाले बसेको ठाँउबाट १५ किमी टाढा भेला भई आक्रमण शुरु गरेको पहिलो दिन १ जुलाई १९१६ मा दश हजार जर्मन मारिएका भएपनि अन्ततः उनीहरुको हतियार, युद्धकौशल र मजबुत डिफेन्सको कारण बृट्रिस गठबन्धनले सहजै जित्न सकेन्न । फ्रान्सको सोममेमा भारी मार बृट्रिस गठबन्धनले ब्यहोरी रहेको भएपनि युद्ध जारी थियो र अन्ततः विश्वभर चलिरहेको युद्धको कारण जर्मनले हार्नुपरयो र फेब्रुवरी अन्तिम १९१७ मा युद्ध समाप्त भयो ।

सोममे युद्धका प्रसस्तै डकुमेन्ट्रीहरु बनेका छन् । अहिले युद्ध अध्ययन, इतिहास अध्ययन गर्नेहरुको लागि युद्धस्थल, चिहान, बमविष्फोटबाट बनेका अनेक विशाल खाल्डोहरु सोमम संरक्षित छन् । युद्धमा प्रयोग भएका आर्टिलरी गनका ठूठूला गोलीहरु यत्रतत्र पाइन्छन् । त्यो बेला भूईमा लुक्न खनेका खाडल (ट्रेन्च) र टनलहरु सुरक्षित छन् । असाध्यय फराकिलो र सुन्दर उच्च भूभाग रहेको रणभूमिको सुन्दरता र त्यतिविघ्न मानिसको ज्यान गएको कथाले जोकसैको आँखा रसाउछ । आज भन्दा ठिक सय बर्ष अघिको युद्ध ताका भएका अनेक ठाँउहरु मध्ये बेग्लाबेग्लै ठाँउमा रहेका दुई रुख मात्र अहिले सुरक्षित रहेको पाइन्छ । क्यानेडियन युद्धक्षेत्र होर्थन रिड्ज सिमेट्रीज इलाकामा सुकेको एक रुख र साउथ अफ्रिकन मेमोरियल संग्राहलय बाहिर बुढो एकरुख सुरक्षित छ । उक्त भयावह युद्धमा कसरी मान्छेहरु मारिए प्रत्येक्ष साक्षी ती रुखहरुलाई सोध्न मन लाग्यो । विडम्बना ती रुखहरु बोल्दैन्न वा म रुखको भाषा बुझ्न सक्दिन् । त्यसैले त्यहा डिएनए गर्न आउने र विगत दुःखद इतिहास बुझ्न आउनेको भिड्लाई सम्झन्दैः

यो बन्दुक र बारुदहरुको शहरमा
चिहानको खेती फष्टाएको छ
मानव अंग र डिएनए पत्ता लगाउने
अनि इतिहास लेख्ने
बाँकी युद्धहरु
झनै खतरापूर्ण चलिरहेको छ ।

खोजि भईरहेको छ
ती ४ मिलियन आत्माहरुलाई
कसले न्याय दिने ?
लाग्छ ती आत्माहरु आजपनि
त्यहिकतै रोईरहेका छन् ।
ती मिलियन मिलियन
रहर र सपनाहरु
दुई शक्ति बीचको रणभूमि सोममेमा
आजपनि बाँचिरहेको छ।

ठिक सय बर्षगाँठको अवसरमा युद्ध ईतिहास अध्ययन यात्रा १४ देखि १६ अक्टोबर २०१६ मा सम्पन्न भएको छ । सोममेको इतिहास सुन्दा लाग्छ यो साँचो इतिहास होइन कथा हो तर त्यहाको प्रमाण र संरचना हेर्दा आखिर पत्याउन करै लाग्छ । त्यो भूमिमा हामी जस्तै अनेक सपना बोकेका ति सिपाहीहरुको सपना टुंगिएको ठाँउ, लाखौ विधुवाले सिउदो पुछेको ठाँउ र लाखौ आमाको कोख रित्तिएको गाँउ, सम्झन्दै नरमाइलो लाग्छ र मान्छे भित्रको मूर्खपन कहिल्य र कसैले ब्यहोर्न नपरोस लाग्छ ।

यसरी अनेक तर्क वितर्कः सम्भव थियो होला, थिएन होला? साच्चै लडाई हाम्रो गाईडले भने जस्तै भयो होला, भएन होला? पुरिन्दै गएका बङ्करहरु साच्चै त्यहिबेला बनिएका हुन? एउटै युद्धमा यतिधेरै मर्दो रहेछ र मारिन्दो रहेछ भने युद्ध कति भयानक हुदो रहेछ ? अहिले त झनै महाशक्तिशाली न्यूक्लियर हतियार विकास भएका छन भने साच्चै नै तेस्रो विश्वयुद्ध भएमा चाहि हामी मानिस यो पृथ्वीमा कति बाँकी रहिएला? त्यस्तै यात्राको अन्तमा कलाईको सुपरमार्केटले शित्तैमा वाइन किन हामीलाई दिए ? वाइनको बोतल रित्तिसकेको छ तर दिनुको कारणले बोतल भरिन अझै बाँकी छ ।

अन्तमा, विशाल मुलुक फ्रान्सका खुल्ला भूभाग घुमेपछि किन हो किन सानो, साँघुरो युकेको वासस्थान फर्कन कसोकसो अप्ठ्यारो महशुस हुन्छ । युरो टनल भित्र छिर्नु झनै निसासिनु हो । लाग्छ टनल भन्दा त जाबो १९ माइल लम्बाईको पुल बनाएको भए धेरै असल हुने थियो । गाडी बोक्ने २ वटा प्वाल, रेल गुड्ने २ वटा प्वाल र विपद उद्धारको लागि १ वटा प्वाल गरि ५ वटा टनल बनाउनु भन्दा पुल बनाउनु सहज र छरितो हुन्थ्यो सायद ।

१६ अक्टोवर २०१६, आसफोर्ड