कविताराम सरको अन्तिम इच्छापत्रले पोलेको पल ।

स्काईप कल अब मलाई आउने छैन । फेसबुक कल पनि अब हुनेछैन । साहित्यिक चिन्तन र मन्थन पनि अब हामी बीच हुनेछैन । साहित्यको कुराबाट शुरुगरि राजनैतिक सम्मको बहस पनि अब हुनेछैन । दाईको फेसबुक वालमा अब उस्तै रोचक, घोचक र ज्ञानबद्र्धक स्टाटस पनि आउने छैन । कति पीडाहरुलाई लुकाएर वहाको मुहारमा आउने मुस्कान पनि अब सधैलाई लुकेको छ । आज लण्डनको आकाशबाट अस्ताएको सूर्यास्त संगै कविताराम सरपनि अस्ताउनु भएको छ । कहिल्य र कहिल्यै नआउने गरि । प्रिय कविताराम सर यहालाई अलविदा ।

फ्रान्समा रहनुहुने राजेश कार्की जीलाई लिएर जब म तपाईको घरमा पुगे, तपाई रहने कोठा टेक्न पाँए र यर्थाथ जान्न पाँए तब म कम्तिमा ३ रात चैनले निदाउन सकिन । म तपाईको विगत, बर्तमान र आउदै गरेको भविश्य सम्झेर कतै गर्वले फूले, कतै पीडामा रुझे । हाम्रो चिन्तन मिल्ने भएकैले होला दाईको कल स्काईपमा र फेसबुकमा बारम्बार आउथ्यो । अलि समय मिल्यो, केही बुझ्नु परयो भने म पनि कविताराम सरलाई कल गरिहाल्थे तर घरमा अरु नभएको मौका मिलाउथ्यौ हामी । दाई प्रति म अति प्रभावित थिए र दाईपनि मेरो साहित्यिक र सामाजिक कार्यप्रति प्रभावित हुनुहुन्थ्यो सायद । वहाले भाई भन्नुभयो तर मैले प्रायः दाई भनिन सधै दाईभन्दा माथि सर भनेरै बोलाए ।

लगभग १२ बर्षअघि म साहित्यघरडटकम, हाल नेपालीलिटरेचरडटकम वेभसाइट चलाउथे । वहाको ब्यक्तिगत विवरण मैले आफै टाईप गरेर साहित्यकारहरुको प्रोफाइल अन्तर्गत अपलोड गरेको थिए । वहाको केही सिर्जनाहरु पनि अपलोड गरेको थिए । लगभग २०६३ ताका म नेपाल छुट्टिमा हुदा वहाले मलाई विशाल भवन भएको कृष्ट मेडिकल कलेज पुरै दिनभर समय दिएर घुमाईदिनु भयो । निहू घुम्ने तर दाउ चाहि साहित्य कर्ममा नारी छामाछाम थियो सायद । वहा धेरै सिनियर म चाहि कटमेरे थिए । त्यसपछि हामीले वहालाई प्रवासी नेपाली साहित्य समाजको तर्फबाट सन् २००७ मा युकेको फोक्स्टोनमा बोलाएर सम्मान गरयौ । हाम्रो सम्बन्ध रसिलो र कसिलो बन्दै गयो । लण्डन तीर कार्यक्रममा भेट हुदा हामी दाजुभाईको बेग्लै गफ हुन्थ्यो । बिरामीको बारेमा वहाले दुईचार पटक भन्नुभयो तर म मूर्खलाई खासै छोएन । स्वास्थ्य सम्बन्धि विल्कुलै अनुभव, आवश्यकता र ज्ञान नभएकोले हुनुपर्छ । भाई मैले अब यसरी हिडनु हुन्न बाहिरी धुलोले भित्रि फोक्सोमा इन्फेक्सन हुन्छ भन्नु भयो । हामी निक्कै लामो समय पलमस्टीडको ट्रेन स्टेसनमा उभियौ । पछि वहाकै निवासमा पुगेपछि म छाँगाबाट खसे झै भए । वहाको नाखमा अक्सिजनको नली जोडिएको थियो । फ्रान्समा विश्व नेपाली साहित्य महासङ्घ गठनको लागि दाजुभाई जाने सल्लाह भयो । अक्सिजनको सिलिण्डरै बोकेर जाने वहाको तागत देखेर म नतमस्तक भए । तर, वहालाई प्राईवेट कारमा लैजानु पर्ने अवस्था थियो । फ्रान्समा युकेको ठिक विपरित दाहिने पट्टि गाडि कुदाउने भएकोले आफ्नो कार लैजाने हिम्मत भएन । वहालाई अझ बढि ब्यथाले च्याप्दै लग्यो । म चाहि दाईलाई भनेर फ्रान्स गए र लक्ष्य पुरा गरेर फर्किए ।

युकेमा हामी धेरै साहित्यकारहरु छौ । त्यसमा पनि मलाई अभिभावक लाग्ने दुबसु क्षेत्री (युकेका लागि नेपाली राजदुत महामहिम दुर्गाबहादुर सुवेदी) दाईलाई वाताबरण साहित्य कार्यक्रमको दिन सुटुक्क बाहिर बोलाएर भनेः यहाको जिम्मेवारी आफ्नो ठाँउमा छ र हामीमा साहित्यिक सम्बन्ध पनि छ । कविताराम सरको स्वास्थ्य हालत अन्तिमअन्तिम अवस्थामा छ । वहाकै घरमा गएर साहित्यकारको हैसियतबाट भेट गरिदिनु भए वहालाई थप सहास मिल्थ्यो की भनी अनुरोध गरे । र, वहाले प्रत्येक्ष भेटेर स्वास्थ्य लाभको कामना गर्नुभयो । मान्छेको मन न हो । कविताराम सरको अवस्थाले मलाई चाहि पोली रहन्थ्यो तर पहिला जस्तो कुरा हामीमा केही कम हुदै आयो । कारण वहाले धेरै बोल्न नमिल्ने, मिलेपनि कष्ट हुने र मेरो ब्यस्तता । अर्का मेरा अभिभावक मुलीवीर राईदाई हुनुहुन्छ । जो नेपाली गद्यलेखनमा युकेमा रहेका नेपाली साहित्यकारहरु मध्ये सबैभन्दा अब्बल मान्ने गर्दछु । वहाले कविताराम सरद्धारा लिखित बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यास ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरु’ पढ्नु भएछ । त्यो उपन्यास पढि सिध्याउने वित्तिकै राई दाईले कविताराम सरलाई भेटने चाहाना राख्नु भयो । राई दाई सितिमिति कार्यक्रमहरुमा सरिक बन्नुहुन्न । जब वहाको मन छुन्छ तब जुनसुकै मूल्य चुकाएर पनि काम गर्नुहुन्छ । राई दाईको प्रश्नः विश्वास भाई कविताराम सरको निम्ति के गरौ ? तिमीले नेतृत्व गरेको साहित्यिक संस्था साहित्य महासङ्घबाट केही गरौ की के सल्लाह दिन्छौ ? म साहै सजिलो मान्छे । हुन्छ भन्दिए र थपे वहा त हाम्रो सल्लाहकार नै हो । राई दाईले भन्नु भयो ए हो त्यो भन्दा वेश वहा संलग्न नभएको र पुरै युकेको साहित्यकारहरुको तर्फबाट गर्दा कसोहोला ? हुन्छ दाई प्रवासी नेपाली साहित्य समाजको तर्फबाट गरौ, हामीमा सहमति भयो । हाम्रो लक्ष्य वहा जिवितै रहदा पूरै साहित्यकारहरुको तर्फबाट वहालाई नागरिक अभिनन्दन, सम्मान गरौ भन्ने भयो । र, गत १३ अगष्ट २०१७ का दिन हाइवेकम नजिक वहालाई महामहिम राजदुत दुबसु ज्यूकै बाहुलीबाट, साहित्यकारहरु र स्थानीय काउन्सिलर तथा समुदायको उपस्थितीमा डा. कविताराम सरलाई सम्मान साथै वहाको नयाँ पुस्तकको विमोचन गरयौ । सम्मान लगतै वहाले भन्नुभयोः मैले मत्यूलाई पनि जितिरहेको छु । म मर्नदेखि डराउदिन भन्नुभयो र सम्मान लिनुहुदै सम्पूर्ण युकेका साहित्यकारहरुलाई धन्यवाद एवं आर्शिवाद दिनुभयो ।

फोक्सोको क्यान्सरबाट पीडित कविताराम सरको स्वास्थ्य स्थिती बिग्रन्दै गएपछि गत शनिवार (११ नोभेम्बर) लण्डन नजिक वर्किङ स्थित सेन्ट पिटर हस्पिटलमा भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्य नाजुक भएको कारण युकेका एकदुईजना साहित्यकारलाई तुरुन्त जानकारी गराउनु भन्ने सरबाटै निर्देशन भएकोले वहाकी श्रीमतिले हामी साहित्यकारहरुलाई जानकारी गराउनु भएको थियो । तत्कालै साहित्यकार मुलिवीर राईदाई क्याट्रिकबाट वर्किङको हस्पिटलमा पुग्नुभयो र वहालाई आफ्नो अन्तिम अन्तर्वाता दिनुभयो । आफ्नी नातिनी २ महिना पछि युके आउने भएकीले आफू त्यतिन्जेल सम्म बाँच्न चाहेको बताउनु भयो । कृपया अहिले नै माया नमार्नुहोस भनी डाक्टरहरुलाई अनुरोध गर्दै गरेको कुरा वहाकी श्रीमतिले बताउनु भयो । सुन्दै पीडा लाग्ने वहाको आग्रह अन्ततः पुरा हुन सकेन । म चाहि आउने मंलगबार सपरिवार भेटन जाने सोचले छुट्टि मिलाएको थिए । आखिर अजम्बरी को नै भइन्छर । बिहानीको चिरबीरे चराको आवाज संगै ठिक भोलीपल्ट १९ नोभेम्बर २०१७ को विहान ६ बजे वहाको ७० बर्षिय आत्माको देहत्याग भयो । वहाको निधनले युकेका साहित्यकारहरु टुहुरा भएको महशुस भएको छ । समग्र नेपालिय साहित्यमा अपुरणिय क्षति भएको छ । राईदाईको दावीअनुसार सबैभन्दा सैद्धान्तिक र उत्कृष्ट लेखक एवं साहित्यकार कविताराम सरले हामीलाई सधैको लागि छोडेर जानुभयो ।

वहाको जन्म ओखलढुङ्गा राम बजारमा वि.स. २००४ मा भएको थियो । वहाका ३३ वटा पुस्तक, २ भिडियो डकुमेन्ट्री र एक गीति एल्बम कृति रहेका छन् । वहा सन् २००८ देखि युकेमा बसोवास गर्दै आउनु भएको हो । वहाको अस्वीकृत विचार साहित्य २०२६, बुटपालिस आन्दोलन २०३१ धेरै चर्चित रहयो । वहा नेपाल टेलिभिजनको अध्यक्ष २०५२, उपप्रधान तथा गृहमन्त्रीको सल्लाहकार २०५४, जनजाति विकास समितिको उपाध्यक्ष २०५८, साथै एबर्डिन युनिभर्सिटी युकेको भिजिटर प्रोफेसर हुनुहुन्थ्यो । त्यस्तैगरि वहा विश्व नेपाली साहित्य महासङ्घको संस्थापक सल्लाहकार र बहाल सल्लाहकार हुनुहुन्थ्यो । वहाले समाजशास्त्रमा पि.एच.डी. गर्नुभएको थियो । वहाको दुई श्रीमति मध्ये जेठी नेपालमा र जेठी पट्टिका २ छोरा अमेरिका छन् । कान्छी पट्टिका कर्मछोरा र कर्मछोरी सहित कान्छी श्रीमति संग युकेको वर्किङमा रहदै आउनु भएको थियो ।

वहाले आफ्नो अन्तिम इच्छापत्रमा भन्नुभएको छः अनातारिक मित्र, छोरा, नाती, दाजु, भाई, भतिजो, नातेदार, कुटुम्ब, चेलीबेटी, पारिवारिक सदस्य, र गुठीयारहरू ! मलाई मरेपछि स्वर्ग, नर्क वा अन्यत्र कहीं पुगिन्छ भन्ने कुरामा किंचित विश्वास छैन । जीऊँदो हुँदा नदेखेका नभोगेका कुनै पनि कुरामा मेरो विश्वास छैन । त्यसकारण अर्कै लोकमा मेरो सुख सयल र खान्कीको बन्दोबस्त मिलाउन मेरो मृत्युउपरान्त कुनै पनि पुरोहितलाई खाट, खान्की, समान, लुगाफाटो, गाई, पैसा आदिको दान दक्षिणा दिने काम नगर्नु होला । मेरो नाममा क्रियाकरम गर्ने, जुठो बार्ने, सराद्दे गर्ने जस्ता कुनै कर्मकाण्ड नगर्नु होला । तपाईहरूलाई ढुक्क पार्न चाहन्छु । यस्तो नगर्दा म मृत्युपछि प्रेत बन्ने छुइन । तथा पक्का हुनोस म कुनै छद्मरूपमा तपाईंहरूलाई दुःख दिन आउने छैन । मृत्यु मेरोलागि मोक्षको स्थिति हो, पूर्णतया दैहिक अन्त्यको स्थिति । वहाको यी वाणिले साच्चै नै वहा कत्तिका भौतिकवादी, क्रान्तिकारी हुनुहुदो रहेछ भन्ने छर्लङ्ग पार्छ । वहा जस्ता अद्भूत ब्यक्तिको अन्त्येष्ठिमा युकेमा रहनु भएका धेरै नेपालीहरुको उपस्थिती रहयो । वहाको भाईको उपस्थिती रहयो तर वहाका आफ्नै छोराहरुको उपस्थिती नहुदा भने मन अमिलो भयो । जेहोस जीबन जसोतसो जीउनु हो, कविताराम सरले बहादुरीपूर्वक, अपूर्व योगदान गरेर हामी माझबाट विदा लिनुभएको छ । वहाको समाज र साहित्यको कर्म अब कहा पुग्छ थाह छैन ।

जंगे पीलर ढल्यो, धरोहरा ढल्यो, तर कविताराम सरका यी विचारहरु कहिल्य ढल्ने छैनन् । प्रहर ढल्छ, समय वित्छ तर भुल्ने छैन वहाको सपनाहरु । हो मान्छेले खाम बिर्षन्छन, नाम बिर्षन्छन तर काम कहिल्य विर्षन्दैनन् । यहाको आजीवन युद्ध, अस्वीकृत विचार साहित्य रहयो र अन्तिम देह त्यागपूर्वको अन्तिम इच्छापत्र लेखि अस्वीकृत आन्दोलन झनै चर्काई जानु भयो । स्वर्गमा पनि यहाको आन्दोलन जारीरहोस । हार्दिक, हार्दिक श्रद्धासुमन एक महान अभियन्ता प्रति । अब हाम्रो भेट लण्डनको साहित्यिक भिडमा हुनेछैन, स्काईपी, फेसबुक कलमा हुनेछैन । केवल सम्झना र वेदनामा मात्र रहनेछ । यहाको चीर आत्माले शान्ति पावस श्रद्धाञ्जलीको शब्द समर्पण ।

समाप्त

(१९ नोभेम्बर २०१७, निधन भएकै दिन र क. प्रचण्ड पुत्र प्रकाश दाहालको पनि आजै ३७ बर्षको उमेरमा निधन भएको दिन यो संस्मरण लेखिएको हो ।)


 

मलाई ईमेलमा प्राप्त जस्ताको तेस्तै अन्तिम इच्छापत्र >>

मृत्युको मुखमा भएको थाहा भएपछि
जुलाई २७, ०१६ ।
अर्थात मृत्युको सम्मूख छु भन्ने थाहा भए पछि । मरिन्छ भन्ने सबैलाई थाहा हुन्छ । एक दिन मरिन्छ भन्ने मलाई थाहा थियो यसमा कदाचित चिन्तित थिइन । चार वर्ष अघि २०१२ अगस्ट महिनामा क्यान्सर लागेको थहा भए पछि अब मर्ने मेसोतिर लागियो भन्ने थहा भाको हो । कुनै अचम्म वा दुख लागेन । उमेर ढल्केकै हो र त्यता जानुनै छ । अब लागियो भने जस्तो भाको हो । ठूलो आन्द्रमा रहेछ त्यो क्यानसर । त्यसको सफल अप्रेशन भयो र ६ महिनाको लागि भनेर कीमो सुरु भो । क्यानसर लिम्फनोडमा फेरि उम्रेको देखियो । पछि फोक्सोतिर पनि आउन लाग्यो । कीमोले काम त गथ्र्यो तर शरीरलाई आराम दिन रोक्दा क्यान्सर बढ्दै जान्थ्यो । वर्ष गयो २ वर्ष गयो अब नीको हुनेतिर गइएन भन्ने पक्का भयो । आफै अड्कल्थें आयु ६ वर्षसम्म होला । २०१६ को मार्च महिनामा अमेरिकामा गइयो त्यसपछि मे महिनामा नेपाल अनि जुनमा फेरि बेलायत आइपुगियो । यताउति हुँदै गर्दा चार महिना बित्यो कीमो नलगाएको । थाहा थियो क्यान्सर बढीरहेछ तर कीमो रोकिएको शरीरमा तुलनात्मक हिसाबमा धेरै सजिलो भइरहेको थियो । कुनै पीडा थिएन । कीमो सुरु हुँदा हुने साइड इफेक्ट सम्झँदा मलाई त्यो पनि जिन्दगी हो र ? भन्ने नै लाग्थ्यो र कीमो सुरु हुन नसकरहेको स्थितिलाई सजिलो गरी बाँच्दै जाने मौकाको रुपमा उपयोग गरिरहेको थिएँ । त्यसैले कीमो सुरुवातको लागि मैले हतार नगरिरहेको स्थिति थियो । यसरी म झन कालको मुखमा छिटो जाँदैछु भन्ने मलाई थाहा थियो तथापि लामो बाँच्नु भन्दा छोटो भएपनि सजिलो बाँच्नु नै उत्तम भन्ने मेरो सोच बलियो थियो । मरिन्छ भनेर कत्ति बिचलित थिइँन । यो अवस्था थियो मर्ने मेसोमा त भएकै हो तर कहिले भन्ने नजानिएको स्थितिको ।

हीजो बिहान (जुलाई, २६, ०१६) एक्कासी सुख्खा खोकीमा मकैको गेडाको आकारमा रगतको अलि कडा डल्लो बाहिर आयो । अस्पताल गइयो । फोक्सोमा भएको टयुमर बढ्दै गएर फेक्सोमा प्रयाप्त हावा लिन नसक्ने अवस्था भई खोकी आउँदो रहेछ र त्यस खोकीले भीत्र कतै घाउ भएर रगत आएको रहेछ । स्क्यानबाट थाहा भो ४ महीना कीमो राकिँदा क्यान्सर निक्कै फैलिएछ । डाक्टरले समय नै तोकि दियो साढे तीन महीनादेखि बढीमा छ महीना मेरो आयु बाँकी छ । यो सुन्दा आकाश खसेजस्तो भएन । थाहा भएकै कुरो हो अब म्याद थाहा नभएको स्थितिमा त्यो थाहा भाको जस्तो मात्र लाग्यो । डर भएन । डर थिएन । पहिले स्कूलको परीक्षा नजीक आउँदा बरु आंग जिरिंग हुन्थ्यो त्यो सम्म पनि भएन । हिंस्रक जन्तु अघि पर्दा आंग जिरिंग हुन्थ्यो त्यो सम्म पनि भएन । कसैलाई केही उत्तरदायी उत्तर दिन पर्ने अवस्थामा आंग फुल्थ्यो त्यस्तो पनि भएन । बरु तत्काल सम्झें मैले केके गर्नुछ, त्यो गर्नु पो भ्याइन्न कि ? भन्नेसम्म सोचें । तर पनि आत्तिइन । जे गर्नु गरियो । जीवनभर समयको पूरा सदुपयोग भयो । गर्न बाँकी धेरै थियो नै तर आफ्नोतर्फबाट कुनै हेलचेक्रेयाईं भएन । जति सकियो सकियो । नसकेकोमा दुःख छैन । आफ्नो क्षमताले भ्याएसम्म गरेकै हो नसकेकोमा केको चिन्ता ?
वास्तबमा मैले दुइतीन वर्षदेखि नयाँ सपना बुन्न नै छोडेको थिएँ । पुराना कत्तिलाई खारेज गर्ने र बाँकीहरुलाई सक्दो छोट्याउने गर्दै आएको हुँ । राजनीति गर्न छोडें । आर्थिक कारोबार गर्न छोडें । सामाजिक कार्यहरुमा जिम्मा लिन छाडें । मेरा कैयूं लिन छन् । तर दिन बाँकी छैन । दुइ वर्षदेखि म सकेसम्म आफूलाई सम्यक चरित्रमा अनुकूल गर्दै आएको हुँ । मैले झुठ बोल्न नपरोस्, मेरो कारणबाट अरुलाई आघात नहोस्, आदि । त्यसरी पनि पश्चाताप गर्ने ठाउँ पनि रहेको छैन । अन्जानमा वा बुद्धी नपुगेर गरिएका धेरै कुराहरु छन् र अरु कत्ति होलान् पनि तर त्यसमा पनि त म केही गर्न सक्दिन ? जो हुनु भइ नै सकेको छ । मलाई चिन्ता भएन ।

मृत्यु के हो ? त्यो त सजिलो छ । एउटा जीवनको अन्त्य हो । जीवन चाहिँ के हो, त्यो बुझ्न गाह्रो छ । कहाँबाट त्यो शरीरमा आउँछ ? अनि शरीबाट त्यो कहाँ जान्छ ? देउताले यो दियो र उसैले लान्छ भन्ने कुरा म मान्दिन । अलौकिकतामा मेरो विश्वास छैन । शरीरबाट त्यो निर्मित हुन्छ र त्यसैबाट छुटिन्छ भन्दा त्यसले पनि मलाई उत्तर मिल्दैन । आफैमा प्रश्न छ म कहाँबाट आएको हो ? त्यो मलाई किन ज्ञान भएन ? एउटा चेतसंग म बाँचेको छु । त्यो चेत के हो ? मलाई कहाँबाट प्राप्त भयो ? म अहिले सोच्दै छु र लेख्दै छु । मेरो चेतले यो गराउँदै छ । त्यस मानेमा यो सत्य हो तर मेरो मृत्युपछि त्यो चेत कहाँ जान्छ ? केमा बिलाउँछ ? मेरो लागि त्यो अनुत्तरित रह्यो । हज्जारोँ लाखौँले यसको जीज्ञाशा रोखे ती केही पढ्न पाएको पनि हुँ । कसैका पनि आद्यात्मिक होस् वा जडबादी त्यस्ता उत्तर वा अड्कलहरुबाट म सन्तुष्ठ रहिँन । छैन । बुद्धले महाशान्तिमा विलिन हुने कुरा गरे । त्यो मैले मानेँ । तर म आफै छु भन्ने चेत नै नरहेको, निर्जीव, निर्चेत, महाशून्यमा हुनेछु भनेर मात्र मैले विश्वास गरेँ भने फेरि म पनि अन्ध मान्यतामै फसेको हुने छु । महाशान्तिमा विलिन हुने कुरा मानेर सुत्दा सजिलो त हुने भो । तर आफै हारेर मानिरहेको भान हुँदैछ ममा, किनभने विलिन हुने प्रमाण के हो ? त्यसको उत्तर मसंग भएन । पृथ्वीबाट हराउनु मात्र त्यो बिलिनता हो ? मेरो चेतले स्पष्ट चित्र पाइरहेको छैन । हारेर जे हात त्यो साथ म गर्दिनँ । म कहिल्यै हारेको छैन । हार्ने मान्छे म होइन । यसै यत्तिकै आफ्ना चेतले नमानेको कुरा मान्नु हार होइन भने अन्ध मान्यता राख्नु हो । म अनि अन्धमान्यताको यात्रु त झनै होइन । — मलाई त्यत्तिसम्म बुझ्ने सम्बोधी भएन । यसैबाट बुझ्दछु जीवनबारेको मेरो बौद्धिक प्रश्न अनुत्तरित रह्यो । होइन भने सबै प्राणी जन्मन्छन्, आाफूलाई पाल्छन्, नश्ल वृद्धी गर्छन् र मर्छन् । त्यो सामान्य उत्तर हो । म कीरा फटेन्ग्रा वा कुनै चेतनशील जन्तुु थिइन भने म भित्र यो प्रश्नै पनि त उब्जने थिएन । अब ज्ञान वा चेत भएको एउटा प्राणी हुँदा हुँदै जसरी आइयो त्यसरी गइन्छ भनेर म सन्तुष्ठ छँदैछैन । मृत्यु पछि यो जीवन कहाँ जान्छ ? यो ‘म’ कहाँ हुन्छ ? म कहाँ हुन्छु ?
…..

दिसम्बर १०, २०१६
मैले आफैले नभनेको तर बेस्मारी हल्ला भएको कुरा के भने म सिकिस्त बिरामी छु । बाहिरफेर सार्वजनिक कार्यक्रमहरूमा भाग लिएको देखिन्छु, मोटोघाटो तन्दुरुस्त र सकृय देखिन्छु, मेरै सामू साथीहरू वा कार्यक्रम सन्चालकले समेत मेरो अस्वस्थता बारेमा भनिरहेका हुन्छन तर म आफूले उच्चारण गर्ने गरेको थिइन । तर केही महीनादेखि दुइ तला भरेङ चडन मुस्किल हुन थाल्यो तथा बोल्दा खोकी हुन थाल्यो । विशेषगरी सार्वजनीक कार्यक्रमहरूमा वक्ताको रूपमा उभिन पर्दा आफ्नो सामान्य अस्वस्थताबारे केही बोल्नै पर्ने हुन्थ्यो तर कहिल्यै सिकिस्तताबारे खुलेर भनिन । तर नजीकका साथीहरूलाई त भन्नै पर्थ्यो र भन्ने गरेको पनि छु, मेरो बिमार के ? यसरी खुलेर केही नभन्नुका कारण के भेने साथीभाइहरूबाट सहानुभूतिका वर्षा सुरु हुन्छ र म त्यो झेल्न सक्दिन । बिमारले एकातिर पेलिरहेको छ; अर्को थपमा साथीहरूका सहानुभूती, म सक्दासम्म आफूलाई कम्जोर देखाउनै चाहन्न । यसरी यो बिमार भएको त चार वर्ष भयो । यस बीच नेपाल दुइपल्ट, अमेरिका दुइपल्ट, बेल्जियम दुइपल्ट र स्विजर्ल्यान्ड एक पल्ट सार्वजनीक कार्यक्रममा भाग लिन गइयो । यो एक वर्षमै नेपाल दुइपल्ट र अरु तीनटा देश गइयो । गत हप्ता मात्र बेल्जियमको एक अन्तरराष्ट्रीय सेमिनरमा पेपर प्रस्तोताको रूपम भाग लिन पुगियो । भिडियोमा म तन्दुरुस्त छु . त्यो सच्चाइ हो, तर त्यो सच्चाइ होईन पनि । म सिकिस्त नै छु । यस बीमारले मलाई पीडा त दिएको छैन तर यस्का औषधिले गाह्रो पारेको छ । म अझै मेरो बिमारको बारेमा खुलेर भन्न चाहन्न । यत्ती भन्छु यो संक्रामक होईन, कसैलाई यस्ले खति गर्दैन । जेजती झेल्ने पर्ने हो मलाई मात्र हुने हो । अब सार्बजनिक कार्यक्रममा भाग लिन बाहिर नहिँड्ने नै भईयो । कोठाबाट गर्ने काम त छोड्ने छैन

उमेरै मेरो ७० को हाराहारीमा छ । उमेरले नै पनि मेरो हिसाबमा डाँडा काटेकै हो । हिसाब भन्नाले मेरा बा ५४ मा जानु भो आमा ७० मा । मेरो सरदरको आयु हुनु पर्ने नै यस्तै हो । अँ आज यो लेखमा मेरो बिमारबारे भन्न चाहन्छु । यो क्यान्सर हो । क्यान्सर भने पछि मान्छेहरु जीब्रो काडी हाल्छन् । सोझै चितामाथि पुगेका देख्छन् । त्यसो हुँदा अरुले मलाई गर्ने व्यवहार सामान्य नभई सहानुभूतिले ओतप्रोत औपचारिक हुन लाग्दछ । त्यसले मलाई थप पीडा हुन्छ । बिमारबारे नभन्नु मात्र आफू थप आहत हुनबाट जोगिन र सन्सारमा उस्तै सामान्य ढंगमा बाँच्न चाहने मेरो अहमको कारण थियो । अब लगभग घरमै सिमित रहन पर्ने वा सार्वजनिक आमने सामने प्रस्तुत हुने आफ्नो नीधो हुँदा अब खुलेर भन्न मलाई कुनै धक रहेन ।

यो वेलायतमा ६० नाघेकालाई बोसेअन्द्रामा हुने क्यान्सर १८ जनामा एकजानामा हुने तथ्यांक रहेछ । अतः यहाँ ६० नाघेका हरेक व्यक्तिको दीसा जाँचेर स्क्रिनिंग गर्ने नीति रहेछ । २०१२ सालमा मेरो स्क्रिनिंग भो ३ दिनमै मलाई बाउल क्यान्सर भएको नीधो भो एक महीनामै अगस्टमा अपरेसन गरी यसलाई फालियो । अरुतिर संक्रमित छ कि भनी पूरै शरीरको स्क्यानिंग भो । थहा भो संक्रमित थिएन । तथापि संक्रमित हुन सक्ने सम्भावना रोक्न २ महीना पछि अर्थात अक्टोबरदेखि कीमो हाल्न सुरु भो । कीमो लिंदालिंदै लिम्फ नोडमा यो संक्रमित हुनपुग्यो र पछि फोक्सोमै यो आइपुग्यो । फोक्सोमा आइपुगे पछि अब मेरो दिनगन्ति सुरुभाको मलाई लागिसकेथ्यो । तथापि मैले कहिल्यै हरेस खाइंन । सबैलाई एकदिन त जानु नै छ । म जान तयार रहेँ ।

भन्छन् कसैको क्यान्सर निको भो । तर क्यान्सर भन्ने रोग आजको दिनसम्म निको हुने रोग होइन । एकपल्ट देखिए पछि केही समय कीमो काराणले यो नदेखिने मात्र हो । त्यो फेरि आइहाल्छ । कुरा के भने क्यान्सर भन्ने रोग बाहिरबाट आउने नभई आफ्नै शरीर भित्र भएका म्यूट्यान्ट सेलबाट हुने हो । यो अफ्नै यस्तो सेल हो जो एक ठाउँमा स्थापित हुन्छ र त्यस्ले शरीरका पोषण तत्वको उपयोगसाथ आफूजस्तै अरु सेल उत्पादन गर्दै टयूमरको रुपमा शरीरका अरु अंग सरह बढ्न लाग्दछ । त्यही बढदो टयुमर हो क्यान्सर । त्यो आफूले कुनै पीडा दिँदैन तर त्यो बढेर शरीरका नजीकका वा सम्बन्धित अंगलाई धक्का दिएर काम गर्न नदिई व्यक्तिको मृत्यु हुन पुग्दछ ।

यो ट्यूमर बनाउने म्यूट्यान्ट सेल हरेक व्यक्तिमा दुइतीनटा हुन्छ नै । बढी भयो भने यो रोग लाग्नुको सम्भावना बढी हुन्छ । स्वस्थ शरीरमा अलि ढीला हुने त हो तर उमेरले चापेर कमजोर हुन लागेपछि यसले गाँजीहाल्छ । तथ्यांक के छ भने ३ जानामा १ जनालाई क्यान्सर हुन्छ । त्यसैले आफैमा हुनु पनि ३३% सम्भावना हुन्छ । हाम्रो ९ जनाको परिवारमा ३ जना (बुबा, आमा र म गरी) लाई भयो । यो वंशानुगत हुने रोग भने मानिन्न । किनभने बंशानुगत अध्ययन गर्दा यो रोग १० जनामा एकजनामा मात्र भएको पाइएको छ ।

क्यान्सर रोगको उपचार विज्ञान 20 वर्ष अघिको तुलनामा धेरै विकसित भएको छ भन्छन् डाक्टर । अहिले रोग निको त गर्न सकिन्न तर मृत्युलाई अरु पछाडि धकेल्न सकिने भाको छ रे । नेपालतिर भइरहेको उपचारबारे मलाई थाहा छैन तर जहाँसम्म लाग्छ यता उपलव्ध भएको औषधी त्यता हुनु पर्ने नै हो । बरु के सुनिन्छ भने त्यता नक्कली औषधीको बीगबीगी छ । डाक्टर नर्सले नै सक्कली महंगो औषधी खरिद गर्न लाउने तर उचार गर्ने बेलामा सस्तो नक्कली राखिदिने सम्म गर्छन रे ।

मलाई दिएअनुरुप सामान्यतः औषधी पाँच छ थरीको हुनु पर्दछ । अली नयाँ खाले औषधी महंगो हुने होला । नेपालमा एक कीमो रु ५०, हज्जारसम्म पर्छ भन्ने सुन्छु तर मलाई दिएको कीमो अभास्टिन (avastin ) को दाम एउटैको २ लाख माथि अर्थात गुगल अनुसार अमेरिकी डलर २०२३/०० पर्ने रहेछ । महिनामा २ गरी वर्षमा १२ वटा हुँदा २७ लाखको हराहारीमा त्यो औषधीको लागि पर्ने रहेछ संगै ५ थरिका साइड इफेक्ट घटाउने औषधी पनि हाल्दा मलाई लाग्छ एक वर्षमा त्यसको मूल्य रु ३५ लाखको हारीहारीमा पुग्ला । त्यो त सीर्फ औषधी खर्चको कुरो हो । रगत, पीसाब, कीडनी, लिभर, मुटु आदिका अनेक ल्याब टेस्ट र वर्षमा ४ पल्ट स्क्यानिंग हुँदा र ट्याक्सी खर्चहरु जोड्दा वर्षमा कति पुग्या होला ? र यो चार वर्षको खर्च जोडदा हामीजस्ताको घरखेत सबै गर्दा पनि पुग्दैन । जति बाँचियो अझ खर्चै हुने हो । अरु कति लाग्ने हो ? यति खेर मलाई अरु नयाँ कीमो दिइँदै छ । नयाँ भएकोले अरु महंगो पक्कै होला । यसको दाम अहिलेसम्म गुगलमा दिइएको पनि छैन । त्यो देब्बर होला । तेब्बर पनि होला । यसै भन्न सकिन्न । तपाईलाई पक्कै लाग्या होला, मैले यो खर्च कसरी धानेको होला ? के भन्ने ? यो देशमा ६० वर्ष नाघेका सबै बासिन्दालाई निशुल्क औषधि गर्ने व्यवस्था छ । यस्ता बिमारीहरुलाई अरु आर्थिक सामाजिक सहुलियत पनि छन् । मैले यही सुविधा पाएको छु र सजिलो भयो । मेरो एक पैसा खर्च हुन्न ।

हामीले नेपालतिर साम्यबादी व्यवस्थामा नागरिकहरुको लागि जुन सहुलियत व्यवस्थापन हुने कुरा गर्छौं त्यो पश्चिमा पुँजीबादी मुलुकमा भइनै सकेको रहेछ । वेलायतमा यो नेश्नल इन्सुरेन्स (एनआइ) ले व्यवस्थित गरेको छ र अमेरिकातिर प्राइभेट इन्सुरेन्सले गर्दछ । वेलायतमा एनआइ कम्पलसरी छ । आफ्ना कामको तलब लिँदा मुखैमा टयाक्ससंगै यसको प्रिमियम असुलिन्छ । कमाइ कम हुने वा कमाइ नै गर्न नसक्नेको लागि पनि यो सुविधा कम्पलसरी पाउँदछ । अमेरिकामा भने इन्सुरेन्स ऐच्छिक छ । इन्सुरेन्स छ भने यो सुविधा पायो छैन भने भरमार खर्चमा परिन्छ । जनदीश घिमिरे यस्तै प्राइभेट इन्सुरेन्स गरेका थिए र उनलाई उनको सबै खर्च अमेरिकी इन्सुरेन्सले गरेका थिए ।

दुइ वर्ष अघि म नेपाल गाको थिएँ । त्यसबेला जगदिश घिमिरेलाई भेट्न गएँ । जति उनका उपन्यास पढेर उनी आत्तिएका सोचेथेँ त्यत्ति उनी नआत्तिएका पाएँ । किन उनले सिंगो किताबमै आफ्नो बिमारबारे सार्वजनिक गरे? अनि म त्यसो किन गर्न सक्दिंन हामी बीच छलफल भो । उनलाई डाक्टरले ६ वर्षको आयु बताएको रहेछ र त्यो अनुशार उनको त्यो अन्तिम बर्ष थियो । मेरो त त्यो बेला डाक्टरले भन्न सकेको थिएन । रोगको सिम्टन देखिनु अघि नै स्क्यानिंगबाट मेरो क्यान्सर थाहा भएको र समयमै अपरेशन अनि कीमो शुरु भएको हुँदा मेरो आयु अलि बढी हुनुको हेक्का मलाई थियो ।

यता दुइ वर्ष वित्यो । मेरो क्यान्सर अन्तिम स्टेजमा पुगेको छ । एक डाक्टरले जुलाई २६, २०१६ को दिन मेरो म्याद साँढे ३ महीना देखि ६ महीना छ भने । तर मुख्य डाक्टर चाहिं अली अर्कै हिसाबले मेरो औषधी गर्ने देखिए । उनले भर्खरै आएको नयाँ औषधीले उपचार शुरु गरेका छन् । गत ३ महिना भयो । आयुको म्याद साँढे ३ महीना देखि ६ महीना भनेकोमा अहिले ४ महीना कटेको छ । अझै यसै अबधीमा मैले एउटा अन्तरराष्ट्रीय सेमिनार नै भ्याईदिएँ ।

आउने दीसम्बर २१, २०१६ मा स्क्यानिंग गर्न पर्ने छ, त्यो हेरेर मात्र मुख्य डाक्टरले भन्नेछन् मेरो आयु कतिसम्म पर जान्छ । नयाँ औषधी हुनुको मतलव हो अरु उन्नत औषधी, त्यसै भए पनि यसले मलाई अमरत्व दिने हेइन । अलि पर आयु सार्ने हो । कति अपूर्ण कुराहरु छन् उनलाई पूर्णता दिन लागि परेको छु । त्यसैलाई समय मारामार चाहिन्छ । नयाँ गर्न छोडेको छु । फेसबुकमा भने समय निकालेर यसमा आउँछु । यो माध्यम अफूलाई आवधिक राख्न र साथिभाइसम्म पुग्न बडो सशक्त छ ।

जीउँदै हुँदा गर्न पर्नेमा सबभन्दा बढी मैले महत्व दिएको प्रोजेक्ट हो महाभिनिष्क्रमणका अस्वीकृत पाइलाका अंग्रेजी संस्करण । यसको अनुबाद सिद्धियो अंग्रेजी पाठकलाई यो म्यानस्कृप्ट हेर्न दिएको छु । गल्ती पाइए सच्याइ मागेको छु । उनले यसमा बम्बाष्टिक शव्द प्रयोग भएका र ती आजका पाठकलाई बोध्य नहुने बताएका छन् । मैले उनलाई वैकल्पिक शव्दहरु प्रदान गर्न अनुरोध गरेको छु । जनवरीको पहिलो हप्तामा मलाई त्यो हात पर्ने छ र प्रकाशककोमा पठाउँनेछु । प्रकाशनको लागि चाहिँने सम्पूर्ण रकम मैले चुक्ता गरिसकेको छु जसको लागि मलाई न्यूएराको गुण लागेको छ । यो पुस्तक “लाइट अफ द हिमालयज” नामसाथ अष्ट्रेलियाबाट अन्दाजी ३ महिना अर्थात मार्चसम्ममा छापिएर आउने छ । यो समय भनेको पहिलो डाक्टरले अडकलेको मेरो आयु भन्दा ५ मेखि ८ महिना परको समय हो । नयाँ औषधीले त्यति समयसम्म बचाउने छ भन्ने आशा छ । म बाँचिन भने यो पुस्तक प्रकाशमा आउने छैन किनभने यस्लाई हेर्ने वा सम्हाल्ने उत्तराधिकारी नै छैन । किताव निस्किसके पछि पनि यसका मार्केटिंगमा लाग्ने प्रवर्द्धन गर्ने व्यक्ति मसंग अहिलेसम्म छैन । यसबाट आउने लेखकश्वको पनि मैले चाहेअनुशारको राम्रो व्यवस्था हुन सक्ने छैन ।

मैले २०५४ (१९९३) सालमै मैले लेखेर कमाएका सम्र्पूण लेखकश्वका साथै पुरस्कारका रकमहरु अक्षयकोषमा राखेर सीमान्तिकृत साहित्यकारहरुलाई पुरस्कृत गर्ने गरी श्री कृष्णचन्द्र सिंहको अध्यक्षतामा “अस्वीकृत विचार साहित्य पुरस्कार गुठी” र वाल साहित्य प्रवद्र्धनको लागि बालमन्च नेपालको व्यवस्थापनमा वाल साहित्यको प्रवद्र्धनमा संलग्न साहित्यकार र सँस्थाका साथै बालप्रतिभालाई पुरस्कृत गर्ने गरी “कविताराम बालसाहित्य प्रवद्र्धन अनुष्ठान” स्थापना गरेको थिएँ । कोष हुँदा हुँदै पनि मेरो मृत्युपछि यसलाई कसरी जीवित रहला ? विशेष नेपालका साझा प्रकाशन र अमेरिकाको लाइब्रेरिज अनलिमिटेडबाट वर्षेनी लेखकश्व प्राप्त भइरहेको छ । म विदेशतिर रहेको हुँदा गुठीको दर्ता रिन्यू फेल भएकोले यीनलाई व्यांकमा व्यवस्थित गर्न सकिरहेको थिइनँ । साथै म ४२ वर्षदेखि साझेदार रहेको मुनाफा नकमाउने संस्था न्यूएरा प्रालिबाट हामी प्रत्येक साझेदारलाई हामीले चाहेको मुनाफा नकमाउने शैक्षिक तथा सामाजिक कार्यक्रम संचालन गर्न उपादान दिने व्यवस्था भएको थियो र त्यसलाई पनि व्यवस्थित गर्न नसकेको अवस्था थियो । नौ महिना अघि म छोटो समयको लागि उपचार छोडी नेपाल आको थिएँ । संस्था दर्ता वा रिन्यू गर्न साह्रै झन्झट थियो त्यसैले सहयोगी मीत्र कार्तिकेय घिमिरेको सहयोगमा उहाँको संस्था केटाकेटी प्रतिष्ठान (Children’s Academy) मार्फत कार्यक्रम संचालन गर्ने गरी उहाँकै अध्यक्षतामा ५५ लाखको बजेटसमेतको कविताराम वांगमय प्रतिष्ठान स्थापना गरियो । पहिलो किस्तामा मैले न्यूएराबाट चिल्ड्रेन्स एकेडेमीको खातामा १४ लाख उपलव्ध गराएँ । यसैमध्ये बजेट शीर्षक अनुरुप ७ लाख रुपयाँ कवितारामका महाभिष्क्रिमणका अस्वीकृत पाइलाका अनुबाद र सोही अंग्रेजी संस्करण प्रकाशनको लागि चिल्ड्रेन्स एकेडेमीबाट कविताराम वांगमय प्रतिश्ठानका कोषाध्यक्ष्लाइा प्राप्त भयो र त्यो खर्च भइसकेको अवस्था छ । सो किताब अष्ट्रेलियाका प्रकाशन Xlibries ले छाप्दैछ र मार्च महिनासम्म बजारमा आउँदैछ । त्यसबाट प्राप्त हुने लेखकश्वका साथै नेपालका साझा प्रकाशन र अमेरिकाको लाइब्रेरिज अनलिमिटेडबाट प्राप्त हुने लेखकश्व पनि चिल्ड्रेन्स एकेडेमीअन्तर्गत कविताराम वांगमय प्रतिष्ठानले व्यवस्थित गरी “अस्वीकृत विचार साहित्य पुरस्कार” तथा “कविताराम बालसाहित्य प्रवद्र्धन सम्मान” वितरण गर्नु पर्ने हाम्रो डिजाइन हो तर अब त्यसमा पनि बडै काम गर्न पर्ने अवस्था वा समय रहेन । दुवै पुरस्कार नै बन्द स्थितिले चिन्तित छु । केटाकेटी प्रतिष्ठानसंग भएको ७ लाख उद्देष्य र शीर्षक अनुरुप नै कार्तिकेय घिमिरेले खर्च गर्लान् भन्ने आशा राखेको छु । केटाकेटी प्रतिष्ठानमा कोको हुनुहुन्छ थाहा नभएको स्थिति छ अशा गर्नै पर्यो उहाँलाई सबैको साथ हुनेछ । कविताराम वांगमय प्रतिष्ठानमा भने सर्वश्री रामदेव पाण्डेय, अमरकुमार श्रेष्ठ, श्रीकुमार श्रेष्ठ, कविन श्रेष्ठ, बालकुमारी श्रेष्ठ छन् । समय रहेको खण्डमा कविताराम वांगमय प्रतिष्ठान र केटाकेटी प्रतिष्ठानले यो बजेट अनुरुपको कार्य समन्वयात्मक ढंगमा काम गर्ने मेसो मिलाउने छु । समय रहेन भने पनि यही बजेट शीर्षक अनुरुप नै काम गर्न पर्ने र न्युएरालाई यसको हीसाब बुझाउन पर्ने अनुबन्ध त छ नै । कविताराम वांगमय प्रतिष्ठानले यस कार्यमा सगाउने आशा राखेको छु । न्यूएरासंगको अनुबन्धन पत्रको फोटोकपि कविताराम वांगमय प्रतिष्ठानका सबै पादाधिकारी समक्ष पठाइसकेको अवस्था छ ।

Important for me:

मैले अति नजीक मानेको मेरा प्रिय मित्र गण!
मलाई सन २०१२ मा बोसेआंद्रामा क्यांसर भाको थाहा भो र त्यस्लाई तत्काल अपरेशन गरी फलियो तर फेरि त्यो फोक्सोमा संक्रमित हुन पुग्यो र आजसम्म किमो लिंदै गरेको स्थिति छ। गत वर्ष जुलाईमा मलाई साढ़े ३ देखि ६ महीना भित्र मेरो मृत्यु हुने आंकलन डाक्टरले सुनाको थियो। तर त्यसै बेलामा नया खाले किमो आएको र त्यसको ऊपचारले मेरो आयु लम्बियो। अझै केही भईहाल्ने म देख्दिन। शरीरमा कुनै कतै पीड़ा छैन। कड़ा साइड इफ़ेक्ट पनि छैन। ओछ्यान कहिल्यै परेको छैन र अहिले त्यस्तो सम्भावना पनि छैन। यो निको हुने भन्ने त होइन तर आयु त लम्बियो नै। डाक्टरले मिति तोकिदिएको घटना पछि मैले बाँकि रहेका पुराना काम र दायित्व सलट्याउने र नयाँ काम बन्द गर्ने काम गरें। त्यसैले हिजो आज मलाई तपाइँहरूले नयाँ केही गरेको देख्नुहुन्न । पब्लिकमा पनि अति छोटो समयमात्र देख्दै हुनुहुंछ।

कुनै काम अधुरो नरहोस भन्ने एकमात्र मेरो चाहना छ। यसैमा तपाई साथीहरूको समेत सहयोगको अपेक्षा छ। सम्झाइ दिनुहोला कहीं कतै मैले गर्न केही बाँकी देखिंछ की?
मलाई मर्नुसंग किंचित डर छैन। मर्न त जीवधारी सबैले पर्छ नै। ७० वर्षमा छु। मांछेको आयु त्यस्तै त्यस्तै नै हो। यद्यपि बढी बाँच्ने छन् नै। बाँचुंजेल आफूले जानेसम्म सही ढंगमा बाँच्ने प्रयाश थ्यो र सफल छु भन्ने लाग्छ। केही कतै त्रुटि कमी कम्जोरी छ भने ती नियतवश भएका गरेका होइनन् मेरो क्षमताकै कमी कम्ज़ोरी हो। त्यता पनि पश्चात्ताप छैन।

मैले अहिलेसम्म मेरो यो रोगको अवस्थाको सार्बजानिक गरिन। यस्तो थाहा हुने बित्तिकै स्वजन रुने कराउने, हत्तासिने, अनि सहानुभूति दिने गर्न लागि हाल्छन्। म त्यस्तो हंगामा चाहन्न। ५ वर्ष वित्यो र बडो सरल र उस्तै ढंगमा बित्यो। डाक्टरले मिति तोकिदिंदा भने मैले सम्बन्धित नाता गोतामा थाहा दिन आवश्यक सम्झें र तत्काल थाहा दिंए। अहिले भरखर अब चाहिं तपाई नजीकका अन्तरंगी साथिलाई पनि भन्न आवश्यक ठानें। केही त्यस्तो कुनै समस्या वा गाह्रो साह्रो भएर होइन तर मेरो आफ्नै गतिविधिमा कमी भइरहेको अवस्थामा यसको कारक तत्व यो थियो भन्ने थाहा दिने अवस्था आइसकेको मैले सोचें। मैले यो पत्र सार्वजनिक कतै गरेको छैन। तपाई जस्तै मेरा अन्य सीमित अंतरंगी मित्रको बाक्समा मात्र छोड़ेको छु। यति थाहा दिए पछि मैले आफूलाई हल्का भएको महसूश गरेको छु। म यसरी सामान्य ढंगमा जीवितै रहेको अवस्थामा कुनै पनि समाजिक संजालमा यो मेरो स्वास्थ्यको अवस्थाको हल्ली ख़ल्ली नहोस त्यती भने मैले तपाइँबाट अपेक्षा राखेको छु। धन्यबाद।
कविताराम श्रेष्ठ

मृत्युसंस्कारसम्बन्धी इच्छा पत्र
सहृदयी गण,
मान्छे जन्मेपछि एक पल्ट मर्नै पर्छ. ढिलो चांडो हो. मेरो मिति पनि पुग्दै आएको छनक छ. कहिले हो भन्न त सकिन्न. ७० तिर पुगेकै हो. नेपालीको औसत आयु कट्यो नै. बुवा ५७ मा जानु भो. आमा ७० मा. मलाई क्यान्सर भाको रहेछ. सन् २०१२ को अक्टोबरदेखि बेलायतमा सरकारी खर्चमै अत्याधुनिक असल औषधी गर्दै छु. यसले रोग निको हुने होइन तर रोगलाई बढ्न अवरोध गरी आयु लम्ब्याउने मात्र हो. त्यसको पनि सीमा त छ नै. लम्बिएर वर्षौं पनि जाला. तर त्यो दिन ता आउँछ नै. त्यसकारण म ढुक्कै आफ्नो जाने तयारीमा छु. यही तयारीमा मैले आफ्ना मित्रगण तथा नाता कुटुम्बमा जीवितै रहंदा भन्ने कुरा छ. त्यो प्रस्तुत गर्दै छु. मैले यो केही अघि लघुकथाको रूपमा प्रस्तुत गरेको थिएँ. तर त्यो कथा मात्र नभई मेरो अन्तरइच्छा पत्र हो, जो मेरो मेरो मृत्यु प्रयन्त मेरा प्रियजनले कुनै हिच्किचाहट बेगर मेरो लागि गरुन भन्ने आशयमा लेखेको हुँ. यो सबै कमलो मन भाको व्यक्तिमा पठाएको छुइन. तपाईंजस्ता सम्म मात्र हो. यसको कार्यावान्यनको अवस्था कहिले आउने हो भन्न सकिन्न. मेरो मृत्यु नहुँदासम्म यो तपाईंमा गोप्य रहोस. बाहिर हल्लीखल्ली नहोस. धन्यबाद. त्यो इच्छापत्र यस प्रकार छ : मेरो अन्तरइच्छा पत्र: सुन्नोस, अनातारिक मित्र, छोरा, नाती, दाज़ु, भाई, भतिजो, नातेदार, कुटुम्ब, चेलीबेटी, पारिवारिक सदस्य, र गुठीयारहरू ! मलाई मरेपछि स्वर्ग, नर्क वा अन्यत्र कहीं पुगिन्छ भन्ने कुरामा किंचित विश्वास छैन। जीऊँदो हुँदा नदेखेका नभोगेका कुनै पनि कुरामा मेरो विश्वास छैन। त्यस्कारण अर्कै लोकमा मेरो सुख सयल र खान्कीको बन्दोबस्त मिलाउन मेरो मृत्युउपरान्त कुनै पनि पुरोहितलाई खाट, खान्की, समान, लुगाफाटो, गाइ, पैसा आदिको दान दक्षिणा दिने काम नगर्नु होला। मेरो नाममा क्रियाकरम गर्ने , जुठो बार्ने, सराद्दे गर्ने जस्ता कुनै कर्मकाण्ड नगर्नु होला । तपाइहरूलाई ढुक्क पार्न चाहन्छु- यस्तो नगर्दा म मृत्युपछि प्रेत बन्ने छुइन । तथा पक्का हुनोस म कुनै छद्मरूपमा तपाईंहरूलाई दुख दिन आउने छैन । मृत्यु मेरोलागि मोक्षको स्थिति हो, पूर्णत: दैहिक अन्त्यको स्थिति । सांसारिक प्रपंचमा झेलिएर जे दुःख भोग्न पर्यो त्यो सबैको अन्त्यको स्थिति । त्यो यस्तो स्थिति हो जहाँ राम्रो नराम्रो, स्वर्ग, नर्क, देउता, राक्षस, ऊच, नीच केहीक़ो भेद हुन्न। न रिस, न ईर्ष्या, न माया, न मोह, न पीड़ा, न मस्ती, न निंद्रा, न भोक- शरीरको अन्त्य संग़ै सवैको अन्त्य । आफ़ैमा समेत आफू नहुनुको अनूभूत नहुने महाशून्यता को स्थिति । सम्पूर्ण जीवनकालमा भोगेका, सृजना गरेका कृति वा धन, सम्पति, मित्र, शत्रु वा ख्यातिसमेतको त्यहाँ कुनै अर्थ छैन। त्यस्कारण मेरो अनुरोध छ- मायाले रुने, कराउने वा अलाप्ने काम नगर्नु होला। तथा मेरो मोक्षको लागि वा हुँदै नभएको आत्माको शान्ति-कामनाको लागि कुनै कार्य नगर्नु होला। मृत्युलाई अवान्छित वा जुठो मानेर, चोख्याउने क्रियाकरम वा सराद्दे गर्न लाग्नुभो भने मेरो मोक्षको स्थितिलाई बिटुल्याइ रहेको हुनुहुने छ । त्यो त्यसो गर्नुहोला भन्ने आशंकाले म अहिले जीवित अवस्थामै आहत छु । जीवित अवस्थामा दुःखसुखमा जो रूंदै वा हाँस्दै साथ दिनुभो मलाई त्यत्तिले पुग्छ । केही बाँकी थियो भने पनि दुख नमान्नु होला । मलाई जहाँसम्म लाग्छ मैले पनि जानेर वा नियतवश कसैलाई आहत हुने काम गरेको छैन । दिन पर्ने साथ, वा, चुकाउन पर्ने मूल्य, वा, जिम्मेवारीमा कुनै कमी घटी गरेको छैन वा, बाकि राखेको छैन । त्यस्तो रहेछ भने ज्ञानहीनताको कारणले भूलचूक भएको मानी माफि दिनु होला । मृत्यु पछि रुनु, कराउनु, रिसाउनु वा दुःख मान्नुको क़ुनै अर्थ छैन। सबैको भलो होस् !

“०५४ तदअनुसार सन् १९९३मा अस्वीकृत बिचार पुरस्कार मैले मेरो सम्पूर्ण लेखन र पुरस्कारका रकमबाट सिमान्तिकृत अस्वीकृत साहित्यकारहरूलाई सहयोग गर्ने हेतुसाथ स्थापना गरेको थिएँ . यस्को व्यबस्थान म स्वयंले गर्दै आयको र साथ संगत नसकेको अवस्था हुँदा अस्वीकृत बिचार पुरस्कारको व्यवस्थानमा धेरै कमी कमज़ोरी हुन गयो. अबको स्थितिमा अर्थात मेरो मृत्यु पछि निरंतता दिन नसकिने स्थिति छ। त्यसैले यो पुरस्कारलाई स्थगित भएको घोषणा गर्द्छु ।अब उपरान्त यस गुठीका रककम अस्वीकृत बिचार साहित्यको प्रवर्द्धनको लागि मात्र उपयोग होस भन्ने चाहेको छु । यसलाई कविताराम बांग्मय प्रतिष्ठानले संचालन गर्नेछ. यसमा मबाटै स्थापित कविताराम बाल साहित्य अनुष्ठानको पुरकार यथा समायोजन गरिएनेछ. कविताराम बांग्मय प्रतिष्ठानमा श्री श्रीकुमार श्रेष्ठ, स्वर्ण शिक्षा इंग्लिश स्कूल, गोकर्ण, कार्तिकेय घिमेरे, केटाकेटी प्रतिष्ठान, रामदेव पाण्डे, ऐरावती प्रकाशन, अमरकुमार श्रेष्ठ, बालकुमारी श्रेष्ठ, कबिन श्रेष्ठ,रश्मि श्रेष्ठ, निशा श्रेष्ठ, इन्दु थापा, दिनेश अर्याल, शान्ता राइ, पार्वती कंडेल, नमस केशी, नम्रता केसी, सबिता कार्की, निशा न्यौपाने, नगेन्द्रराज शर्मा , नवराज अधिकारी, बालमंच नेपाल, शिबजी श्रेष्ठ, मूलीबिर राइ, कृष्ण दर्लामी, डा रुपक श्रेष्ठ, दुबसु, रहनु भएको छ.
kavitaram shrestha.
18, Novembar, 2017