पितापूर्खाको रगत पसिनाले सिंचित मलेशिया भूमिमा हामी नेपालीलाई पक्कै पनि पूर्खाहरुको आर्शिबाद छ झै लाग्छ त्यसैले हुनुपर्छ नेपालीको कमाउने र रमाउने छुट्टै संसार बनेको छ मलेशिया ।
साहित्यको क्षेत्रमा काम गर्दै आएको पनि लगभग डेढदशक नाघेछ । प्रवासी वेदनाका आवाजहरु नामक साहित्यिक पत्रिका (सन् १९९८ देखि २०१०) र अनलाइन नेपाली साहित्य मंच अर्थात नेपालीलिटरेचरडटकम/साहित्यघरडटकम (सन् २००५ देखि हाल सम्म निरन्तर) चलाउनुको नाताले मलेशियामा मैले चिनेका धेरै मित्रहरु हुनुहुन्थ्यो । मलाई यूरोपका अग्लाअग्ला रापिला मान्छेहरुको हूलमा निहुरिएर हिड्नु भन्दा काला कपाल, हाम्रै उचाईका मान्छेहरु संग कुममाकुम मिलाएर हिड्न आनन्द लाग्छ । त्यसैले आफ्नै देशजस्तो लाग्ने र मेरा गाँउटोलका केही साथीभाई, आफन्तहरु पनि भएकाले मलेशिया केहीदिन घुम्ने निधो गरे ।
सन् २००९ अगस्ट १८ गतेको कुरा हो म क्वाललम्पुर एयरपोर्टमा उत्रिएर सेन्ट्रल सिटीको बस चढेर राजधानीको मध्ये भागमा उत्रिए । त्यहाबाट नजिकैको पुडरायको ग्लोरी भ्यू भेट्न ट्याक्सीलाई निक्कै गाह्रो भयो । सम्झे बरु बुकिङ भएको होटल नगई अर्को कुनैमा बसौ । अनलाइनबाटै पैसा तिरी सकेको हुनाले अलमलमा परे र पुनः ड्राइभरले पब्लिक फोनको बुथमा गएर फोन गरी बल्लतल्ल ठाँउ पत्ता लगायो ।
भोलि बिहान सबेरै साहित्यकार तथा पत्रकारद्धय देबेन्द्र सुर्केली र रुसाहाँङ चेम्जोङ कोठामै आईपुग्नु भयो र त्यसदिन मलेशियाको कोतराय, पेट्रोनास टुइन टावर (जुन मलेशियाको डिजेल, पेट्रोल बिक्रि गर्ने पेट्रोनास नामक कम्पनीले सरकार संगको सहकार्यमा त्यसबेला संसारकै सबैभन्दा अग्लो भवन ४५२ मिटरको बनाएको हो) लगायत वरिपरिको क्षेत्र घुम्यौ । विशाल टावर र वरिपरि भएको अकल्पनीय भौतिक प्रगति देख्दा साच्चै नै मेरो मन पोल्यो, मेरो देशमा यस्तो हामीले कहिले बनाउने होला? अन्य मुलुकको विकास, सभ्यता र सुसंस्कृतिले सधै नै चिमोटी रहन्छ, यस पटक पनि चिमोटी नै रहेको छ । साँझपख पत्रकार रामचन्द्र गिरी, साहित्यकारहरु जीवन देवान, मनि राई गोठाले दाई, शुभद्रा लिङदेन लगायतसंग भेटघाट भयो । सधै रमाइलो कुरा गरेर हसाँउनुहुने मनि दाईले उ बेला शहिद रत्नकुमार वान्तावाले धरानमा आफू सानो छदा काम लगाएको आदी प्रेरणादायी र लोभ लाग्दा कुरा सुनाउनु भयो । रत्नकुमारको नाम मात्र सुनेको थिए र वहासंगै सानोछदा उठबस गरेको ब्यक्ति भेट्न पाउदा मलाई औधी खुसिलाग्यो ।
अर्को दिन विहानै ट्याक्सी चढेर रावाङको नेपाली (काम्पुङ) भिलेज पुग्यौ । रावाङमा मेरो वालसाख भतिज निर्मल तिगेला, जो हामी संगसगै पढ्यौलाई वसस्टेसन नजिकै केही क्षण भेटे र साहित्यकार तेजकुमार राईले हामीलाई भक्तबहादुर राना बाजेको घरमा पुर्याउनु भयो । घरमा बाजे, बोजु र भर्खरै नेपालको बाग्लुङबाट विवाह गरेर ल्याइएकी बुहारी हुनुहुन्थ्यो । नेपाली संस्कार, संस्कृतिलाई जोगाई राख्नुहुने बाजे संग निक्कैबेर भलाकुसारी भयो र बाजेले यसपटकको दशैं मनाउन आउनु भनेर हार्दिकतापूर्वक निमन्त्रणा गर्नुभयो । राना बाजेले वर्मा हुदै सन् १९४७ मा मलेशिया छिरेर प्रहरीमा लामो जाँगिर गर्नुभएछ । संवादकैक्रममा सन् १९४७ देखि १९६० भित्र मलेशियामा रहेका नेपालीहरुले मलेसियन सिटिजन प्राप्त गरे र त्यसको संख्या लगभग २ हजार रहेको जानकारी दिनु भयो । उनीहरुको गोर्खा एसोसियसन नामक संस्था पनि रहेको र नेपाली मन्दिर बनाउन सरकारले ठाँउ समेत दिइसकेको बताउनु भयो । सन् २००१ देखि मात्र मलेशियामा नेपालीहरु कामदारको रुपमा जान पाउने अनुमति भएको कारण अहिले लाखौ नेपालीहरु मलेशियामा रहेका छन् । मलेशियामा सबै भन्दा धेरै विदेशी कामदार भारतीयहरु र त्यसपछि नेपालीहरु रहेछन् ।
त्यसदिन हतारहतारमै रावाङबाट कोतराय फर्कियौ । बाटोमा जीवन जी र सुर्केलीजी बीच पोलखोल्ने होड नै चल्यो । म वहाद्धयको रोचक कुराहरु सुन्दै रोमाञ्चित बनेको छु । शब्दको खेतीकै कारण यो सव अवसर जुरेको थियो र लाग्यो लेखनको पाटो पनि धेरै रमाइलो हुदोरहेछ । रावाङ र राजधानी बीचको सुन्दर जंगल, सुन्दर दृष्य, रमाइलो गफले गर्दा पत्तै नपाई ट्याक्सी कोतरायमा रोकियो ।

घाम क्षितिजमा पुगिसकेको थियो । कोतरायमा पत्रकार, साहित्यकारहरु देखिन थाले, भेटघाट कार्यक्रमको लागि निम्तो थियो । नेपाली ब्यापारीहरुको कार्यालयमा झण्डै ३ दर्जन साहित्यकार, पत्रकारहरुको भेलाको अध्यक्षता पदम दुःखी सम्बाहाम्फेले गर्नुभयो । लामो सुन्दर कपाल पाल्नु भएका साहित्यकार दिब्यचुरा भाईले कार्यक्रमलाई औपचारिक रुपबाट उठान गर्नुभयो । त्यो कार्यक्रम सिर्फ मेरो स्वागतको लागि रहेछ । पत्रिका, अनलाइन, साहित्य संगठन र साहित्यिक प्रतियोगिता आदीको कारण त्यहा उपस्थित हुनुभएका प्रायः सबैसंग मेरो परिचय थियो तर प्रत्येक्ष भेटघाट थिएन । सबैले आआफ्नो परिचयको साथमा बोल्नेक्रम सकिने बेला मनि दाईले कानमा आएर सोध्नुभयो भाई अल्कोहल चल्छ ? मैले टाउको हल्लाइदिए । त्यसको लगतै अध्यक्षले मलाई खादा लगाईदिनु भयो र मायाको चिनो भनी ब्लू लेबल रक्सी बट्टामा दिनुभयो र लिने बित्तिकै साथिलाई राख्न दिए । मनमनै सम्झे यहि रक्सी दिनलाई दाईले अल्कोहल चल्छ की चल्दैन भनेर सोध्नु भएको रहेछ । लाहुरे स्रष्टा भनेर रक्सि दिएका होलान् मनमनै सम्झे । मेरो बोल्ने पालो आयो आयोजक लगायत सबैलाई आभार ब्यक्त गरे । मायाको चिनोको लागि विशेष धन्यवाद दिए ।

साँझ मनिदाई लगायत साथीसंग गफगर्दै बसियो, त्यो अघि पाएको उपहार ब्लू लेवल हिवस्की पनि यहि ल्याउन पाँए हुन्थ्यो मनमनै लाग्यो तर कोठामा राखिदिई सक्नु भएको थियो वहाहरुले नै । खुब रमाइलो भयो । म केही दिनको लागि पुगेको ब्यक्तिलाई अब वहाहरु संगै सधै कोतरायमै बसौबसौ लाग्यो । मेरो गाँउ टोलका एक दर्जन साथिहरुसंग पनि भेट भयो । आह, झनै रमाइलो ।
तेस्रो दिन रामचन्द्र जीले सेरेम्बान गोर्खाली सिमेन्ट्रीज घुम्न जाने चाँजो मिलाई सक्नुभएको थियो । सेरेम्बान जानको लागि तयारी हुन कोठा पुगे र त्यो ब्लू हुस्कि राखेको झोला खाली गरे हुस्की हेरे त्यो त ब्लू लेबलको खोल जस्तै बट्टा भित्र पेट्रोनास टावर पो रहेछ । मलाई बेस्सरी हाँसो उठ्यो ।
पुडराय स्टेसनबाट बस चढेर हामी सेरेम्बान लाग्यौ । युरोपको भन्दा कमि थिएन्न रोडहरु, रामचन्द्र जीको मिठो गफले वातावरण झनै रमाइलो भएको थियो । सेरेम्बान उत्रियौ, सेरेम्बान शहरमै टाईसुट लगाएका ५० बर्षका जस्ता देखिने एकब्यक्ति आएर हामीलाई स्वागत गर्नुभयो । ब्रुनाईबाट गोर्खा सिमेन्ट्री घुम्न आएकाछन् भनेको थिए, दाईले टाईसुट लगाएर आउनु भएछ रामचन्द्र जी भन्दै हुनुहुन्थ्यो । हामी ट्याक्सीमा सेरेम्बान टाउन नजिकै रहेको गोर्खा सिमेन्ट्रीज तर्फ लाग्यौ ।
जनयुद्धको बेला पोखराबाट मलेशियाको सेरेम्बान आउनु भएको रहेछ कृष्णबहादुर नेपाली दाई । वहाले त्यहि की एक तमिल महिला संग विवाह गरेर बसेको र वहाको जेठ्ठी पट्टिको दुइटै छोरालाई रोजगारको लागि मलेशिया ल्याइसक्नु भएको रहेछ । कृष्ण दाईले प्रत्येक दशैं, तिहार, चाडपर्वमा म यस गोर्खालीहरुको चिहानमा आएर फलफूल चढाउछु, पुजा गर्छु, जहासुकै भएपनि हामी नेपाली हौं भन्नुहुदै । लहरै राखिएको चिहानहरुमा प्रवेश गर्ने गेट खोल्नु भयो । हामी आआफ्नै ढंङ्गले मृत आत्माहरुको चिर शान्तिको लागि माटो छोएर ढोग्यौ । गोर्खाली सिमेन्ट्रीजको प्रत्येक्ष लगत राख्नेकाम बेलायती दुतावासले गर्ने भएपनि पछिल्लो समयमा राम्रो हेरचार नभएको कृष्ण दाईले बताउनु भयो । वहा चिहानहरुको बारे बोल्दै जाँदा बेलाबखत भक्कानिएर रुनु भयो । म आत्तिए । होइन के पो भयो भनेर बिस्तारै बुझ्दा जनयुद्धको बेला वहामा परेको मानसिक असर (सेभियर स्किजोएक्टिभ?) देखियो । वहालाई नेपालको राजनीति प्रति असाध्य घृष्णा छ भने नेपाली रगतको नाता प्रति अनन्य माया छ । फिल्मको अभिनय झै लाग्ने कृष्णदाईको रुवाईसंगै लामबद्ध चिहानहरु घुम्यौ, नाम ठेगाना पढ्यौ । वहाको त्यो अस्वभाविक रुवाईमा वास्तवमै जनयुद्धको असर स्पष्ट देखिन्थ्यो । उक्त ठाँउमा लगभग ५ सय चिहानहरु छन । त्यसमा पनि सबैभन्दा बढि लिम्बु र त्यसपछि राई, शेर्पा, तामाङ, गुरुङ, मगर, क्षेत्री र दलितहरुको रहेको पाइयो ।
उक्त चिहानहरु नजिकै पहिला ६ जिआर गोर्खा पल्टन बसेको ठाँउ पनि देखिन्थ्यो । फर्कनेवेला हामी सेरेम्बान शहरको लिङदेन इन्टरप्राईजमा पुग्यौ । एकजना भर्खरकी चेलीले भाईहरु बस्नु भन्नुभयो म अलमलमा परे कृष्णदाई, म अनि साथिहरु उनीभन्दा जेठो नै थियौ । सम्झे वहा महादिदी हुनुहुदोरहेछ । महादिदीले नजिकैको कोठामा जाँड बनाउन मान्द्रोमा सेलाउन राखिएको भात टिप्न शुरु गर्नुभयो । अर्काको देशमा दोकानको नाम सम्झे, त्यो जाँड बनाएको देखे तब मलाई गजब लाग्यो । छुट्ने बेलामा पनि बुढाले यस्तो ड्रेसमा हामीलाई स्वागत गरयो भनेर रामचन्द्र जीलाई भित्रि मनमा पोलेछ क्यार कृष्णदाई तपाई यति जेन्टल ड्रेसमा हामी चाहि यस्तो सामान्य पोषाकमा आयौ माफ पाँउ है, कृष्णदाईले भन्नु भो होइन सर मेरो मिटिङ थियो त्यतैबाट आएको हूं ।
सेरेम्बान घुमेको भोलिपल्ट क्वालालम्पुर भित्र पनि गोर्खालीको चिहानहरु छन् भन्ने सुनेको कारण रुसाहाँङ जी संग ट्याक्सीमा दुइचार ठाँउ गइयो कतै पत्ता लागेन । बिहानको लगभग ११ बज्न लागेको थियो । ट्याक्सी ड्राइभरलाई मेरो समय एकदिन बाँकी छ, घुम्ने रहर छ, कता जानु ठिक होला भनेर सुझाव मागे – उसले गिन्तिङ आइल्याण्ड जानु भन्यो तब म कोठा गएर पाइन्ट खोलेर हाफ पाइन्ट लगाए, सर्ट खोलेर पातलो भेष्ट लगाए, जुत्ता खोलेर चप्पल लगाए, घाम छल्ने टोपी लगाए, सनग्लास लगाए र आनन्दले समुन्द्र किनार घुम्ने रहर बोकेर पुडराय बस स्टेसन पुगे । नजिकै राखिएको म्याप पनि लिए र बस पर्खेर बसुन्जेल म्याप हेरे । नजिकै छ भनेकोले म्यापमा गिन्तिङ टापु कहा रहेछ भनेर हेरे भेटिन, समुन्द्र किनारमा होला भनेर हेरे त्यहाँ पनि देखिन् । बल्ल पर्खिएको बस आयो त्यसमा चढेर बाटो लागियो । म समुन्द्रको वीच अब त आउला भन्दै हेर्दै जान्छु कतै आएन गाडि झन् उकालो उकालो लाग्यो । अन्ततः बस सानो डाँडाको टुप्पोमा रोकियो तब साह्रै भएन भनेर साथिलाई सोधे उ बेस्सरी हाँस्यो । तब केबुलकारमा चढेर ५ किमी शिधै उकालो चढ्यौ । रमाइलो जंगल, बाँदर, बनकुखुरा आदी देखेर मनै फूरुङ्ग भयो । चुचुरोमा पुग्नै लाग्दा देखिने दृष्य सपना जस्तो लाग्यो, त्यति सुन्दर मैले कतै देखेकै थिइन र कल्पना पनि गरेको थिइन । बुकुर्शी मादै कुहिरोहरु आउदै थिए । हामी गिन्तिङ आइल्याण्ड होइन गिन्तिङ हाइल्याण्डमा पुगेछौ ।
समुन्द्र सतह देखि जति फिट उचाईमा रहेको हो त्यतिनै अर्थात विश्वको सबैभन्दा धेरै ६ हजार १ सय १८ कोठा रहेको होटल भनी सन् २००६ को गिनिज वल्ड रेकर्डमा दर्ता भएको चर्चित ठाँउ र यसको शुरुवात चाइनाबाट आएका एक साधारण ब्यक्ति स्व. तानसी लिमगो तङ ले सन् १९६४ मा गरेको साथै उनी एकताका विश्वका धनी मध्येमा गनिएको भन्ने जानकारी मलाई अत्यन्तै रोचक र प्रेरणादायी लाग्यो । हनिमुन मनाउन र क्यासिनोको लागि लोकप्रिय गिन्तिङ हाइल्याण्डलाई एशियाको सबैभन्दा लामो र छिटो केबुलकारले पनि थप आकर्षण थपेको रहेछ ।

चुचुरोमा उत्रने वित्तिकै विशाल २२ तले आधा दर्जन घरहरु हेर्दा बाफरेबाफ यतिको विकास बेलायत, अमेरिकाले कहिले गर्नेहोला ? नेपालले कहिले गर्नेहोला ? अकस्मात मेरो बोली निस्क्यो । केहीबेरमै कुहिरो र छिपछिप पानीले गिन्तिङको सौन्दर्यलाई छोप्यो । हाफ पाइन्ट र चप्पल मात्र लगाएकोले म जाडोले काम्न थाले तर घुम्न गएको ब्यक्ति फेरी समयमै फर्कनुछ त्यसैले वरिपरि, तलमाथि घुम्नै पर्यो । म त्यहाको भब्य संरचना र सुन्दरता हेर्थे तर अन्य पर्यटकले चाहि मलाई हेर्थे । सायद यो कस्तो पागल मान्छे, । यस्तो जाडो ठाँउमा पनि हाफपाईण्ट लगाएर आएको, कतिले यो अर्धपागल भने होला, कतिले चाहि यो संग लुगा भएकै यतिहोला भने होलान् । म अत्यन्तै लज्जित भए, मान्छेहरुले वारीपरीका दृष्य हेर्दापनि मलाई नै हेरेजस्तो लाग्यो तर म विवश थिए । त्यो मेरो अन्तर्राष्ट्रिय वेइज्वत थियो ।
साँझ पाहुना खान पुग्नुपर्ने भएता पनि ढिलोगरि क्वाललम्पुर फर्कियौ । केबुलकारबाट फर्किन्दै गर्दा आधा बाटोमै ठूलो हुरिबतास चल्यो । केबलकारको डब्बा त्यहि चुडिएर भूईमा झर्ला जस्तो भयो । डब्बा झुन्डिएको लठ्ठा सर्दैसरेन । मेरै डब्बामा रहेकी कम्बोडियन सुतुङ असाध्य डराइन् । केहीबेर भगवान जप्दै बस्यौ बल्लतल्ल हुरि चल्न कम भयो । केबल चल्यो र धन्न सकुसल राजधानी फर्कियौ ।

अर्को पटक साहित्यकार मित्र इन्द्र नारथुङ्गे जीको पुस्तक विमोचनको लागि मलेशिया पुगे र विमोचनको कार्यक्रम पश्चात रातको ११ बजे क्वाललम्पुरबाट रेलमा चढेर पेनाङ बाटोलाग्यौ र विहानको ठिक ६ बजे पेनाङ पुग्यौ । पेनाङमा गजलकार दीप दर्शन जीको पुस्तकको विमोचन गर्ने सौभाग्य मिल्यो र उदाउदो तारा साहित्य समाजका नेतृत्व जितमान राई सविन, गणेश महतरा, असोक प्यासी लगायतका साथीहरु संग भेटघाट भयो । उक्त कार्यक्रम पश्चात गोर्खा इतिहास र समाधिस्थलहरुको स्थलगत अध्ययनको लागि पहिला गार्खा पल्टन बसेको ठाँउ सुंगाइ पटानी भनिने सानो शहरमा बेलुकी पुगेर बाँस बस्यौ ।
बिहान उठेर खाजानास्ता पछि पहिला गोर्खा पल्टन बसेको ठाँउ कता हो ? स्थानियहरुलाई सोध्यौ दुईतिन जनाले चाहि नजिकै छ भन्दै जानेबाटो देखाइदिए, एकजना टाठोलाई सोधेको यहि नजिकै हो ट्याक्सीमा गयौ भने ५ रिङ्गीत लाग्छ । यहाबाट ३ सय मिटर छ भन्यो । बिहानको १० बजेको थियो, मलेशियामा घाम टन्टलापुर लागेको थियो । हामी के गरौ ट्याक्सीमा जाँउ की हिडेर जाँउ ? मनि दाइलाई सोध्यौ र वहाले भन्नु भो नजिकै रहेछ हिड्दै जाँउ । हामी फट्टाफट हिड्न थाल्यौ । त्यो टाठा मान्छेले भनेको ३ सय मिटरमा त शहरै छ । शहर नजिकै रहेछ भन्दै अघि बढ्दै रह्रौ । अलि घुम्ति पनि देखियो त्यहि नजिकैहोला भन्दै हिड्दै अघि बढ्यौ । अत्यन्तै गर्मि भएकोले बाहिरी हिड्ने कोहिपनि थिएन्न । कारहरु सडकमा बाक्लै चलिरहेको थियो । हाम्रो लुगाहरु पसिनाले निथ्रुक्कै भइसकेका थिए । कारबाट सयौले हेरे सायद हामीलाई र उनीहरुले के भनेहोलान् हामीलाई त्यति गर्मिमा पनि बाटोमा फटाफट हिडेको देखेर ? बल्लतल्ल लगभग ६ किलो मिटर हिडेपछि एउटा सैनिक क्याम्प आयो । त्यसको गेटबाट भित्र छिर्नुपर्ने रहेछ हामीलाई जानै दिएन । फर्कनुको विकल्प थिएन तब फर्कदा त्यो ३ सय मिटर भनिएको दुरी हिडेर जाने की, ट्याक्सीमा जाने मनि दाई हामीले सोध्यौ ?

ब्रुनाई रहदा दक्षिण एशियाका मुलुकहरु घुम्न निक्कै सहज थियो र मलेशिया त झनै सबैभन्दा नजिकको स्थान हो त्यसैले धेरै पटक क्वाललम्पुर आवतजावत हुन्थ्यो र कोतरायलाई खतराय नामाकरण गरेका थियौ । बल बहादुर राई, युवराज राई, दिलकिरण केरुङ जी लगायतका धेरै साथीहरु संग सधै सम्पर्क रहन्थ्यो । पुनः अर्को निमन्त्रणा आयो लिम्बु भाषाका कवि तथा गजलकार राजकुमार तेयुङ जीको कृति मेरिङगेन मिक्ला नामक गजल संग्रह २०१२ को विमोचन गर्ने । कोतरायको एक घरको बाहिरी छतमा विमोचन गर्दै मलेशियामा पनि मातृभाषाको प्रबद्धर्नको श्रीगणेश गरेको कुरा सम्झन लायक रहे । उक्त विमोचनमा सक्रिय एक चेली विमोचन समारोहबाट छुटेपछि कसैको पनि सम्पर्कमा नरहेको चर्चाले भने सबैलाई पीडा थपेको छ ।
त्यस्तै अर्को अवसरमा क्वाललम्पुरबाट बसमा राज आङदेम्बे जी संगै जोहरबारु पुग्दा (सन् २०१३) त्यहा स्वागतको ब्यानरै बनाएर स्वागत गर्नुभयो मेरो निम्ति त्यो भन्दा ठूलो अरुकेही हुनै सक्दैन । सम्झन्छु शब्दको खेती साच्चै नै रमाईलो छ । हुन त त्यो बेला भर्खरै मात्र विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित बनेको अवसरले पनि उक्त वातावरण बनेको बुझे । जोहरबारुमै रहनुहुने केही साथीहरुले धेरै साथसहयोग गर्नुभयो वहाहरुको सम्मान र सत्कार सधै शिरोपर छ । मलेशियामा नेपालीहरुको दुःख र खतराको बारे भन्नुहुदा ज्यादै दुःख लाग्थ्यो । मलेशियामा नेपालीहरुलाई खसिबाख्रा जति पनि मान्यता नभए झै लाग्ने । हुन त हामी नेपालीहरुकै पनि कमजोरी छ र मलेशियनहरु पनि हामी भन्दा सभ्य होइनन्, उनीहरुले पनि सिक्न बाँकी छ । म पहिलो पटक सन् १९९७ मा मलेशिया पुगेको हंू त्यो बेला नेपाल र नेपाली जतिकै थिए । सिर्फ डा. महाथिरको २२ बर्षे शासनमा भब्य संरचनाहरु बनेका हुन । संरचना भब्य छन तर सभ्यता भब्य बन्न बाँकी हुनुपनि नेपालीहरुले दुःख पाएका हुन लाग्छ । मलेशिया भ्रमणको अर्को अविश्मरणीय चाहि तिगेला क्याललम्पुर आउदै भन्ने शिर्षकका समाचार समेत साप्ताहिक पत्रिकाहरुमा प्रकाशित भएछन, मलाई तेतिठूला समाचार नसुहाउने हो, असहज लाग्थ्यो तर त्यसमा पनि बेग्लै सुन्दर रङ थियो । साँचोसाँचो भन्नुपर्दा मलेशियाको मौंलिक रमाईलो अन्यत्र कतै छैन । मलेशियामा रहेका स्रष्टाहरुले नेपालिय साहित्यका नायकत्व पढने, मान्ने मात्र होइन, नायकत्व बनाउने चरणमा सम्म पुगि सकेको अवस्था मननयोग्य हो ।
पछिल्लो समय आर्थिक क्रान्ति र भौतिक प्रगतिमा अगाडि रहेको मलेशिया साच्चै नै सिंगापुर, हङकङ, युरोप जस्तै सुन्दर लाग्यो । देशै सम्पन्न भएपछि त के धनी के गरिब सबैलाई पुगिसरी देखियो । नियतीले ठगिएकी लाटी, अपाङ्ग, विधुवा सबैसबैले विदेशी लोग्ने पाएको पनि देखियो । कतिपय नेपालीहरु नै घरज्वाई बसेको पनि देखियो । रोजगारको लागि आएका कोहि विदेशी घरबार गरेर बसेको देखियो । त्यसैले देश धनी हुनु, धनी गरिब सबैसबैको लागि कल्याणकारी हुदोरहेछ भन्ने अनुभूति भयो भने अर्कोतिर अत्यन्तै राम्रो लेखपढ गरेका, भविश्यमा केहीगर्नेछु भनी आत्मा विश्वास र सपना बोकेका नेपाली युवाहरु ठगिएरको, झर्झराउदो युवा शक्ति ओइलाउदै धिपधिप बन्दै गएको, लाग्ने हतियार भुत्ते बनेको झै शोषणमा परेर आत्माविश्वास गुमाउदै, जीवनदेखि हारेर फर्किएकाहरु देख्दा चाहि साह्रै दुःख लाग्यो ।
त्यहि बर्ष दशैको होर्षोउल्लास भित्रि सकेको थियो । टिकाको अघिल्लो दिन अनपेक्षित इमेल आयो । इमेलमा रावाङको राना बाजे परलोक हुनु भएको खबर थियो तब वहासंगको भेटमा खिचेको तस्बिर हेरिरहे । वहाको अभिभावकत्व स्वरुप दशैंको निम्तोलाई सम्झिरहे र वहाको आत्माले शान्ति पाओस कामना गरे ।
अन्तमा, गिन्तिङ हाईल्याण्डलाई आईल्याण्ड सुन्नु र हावा संगै छिपछिप पानी परिरहेको डाँडाको चुचुरोको काँप्ने जाडोमा पातलो लुगा र चप्पल संगमा घुमेको बेईज्वत यात्रा, ३ सय मिटर दुरी छ भनेको कारण मध्येदिनको असाध्य चर्को घाममा पनि हिड्दै जाँदाजादा अन्ततः झण्डै ६ किमी छिचोलेको घटना बिर्षि नसक्नुको रोचक छ । उसो त मलेशियामा नेपालीहरु धनी, गरिब अर्थात सुखि, दुःखी दुबै थरि छन र समाज सुहाएको छ । गरिबलाई धनीको साथसहयोग चाहिन्छ र धनीलाई गरिबको तर युके, अमेरिका तिर चाहि कोहि भन्दा कोहि कम हुदैनन । धनीलाई पनि गरिब चाहिन्दैन र गरिबलाई पनि धनी चाहिन्दैन त्यसैले त्यताको समाज अत्यन्तै कठोर छ त्यो भन्दा मलेशियाको आफ्नैपन भएको समाज ज्यादै सामाजिक छ, सुन्दर छ । त्यति मात्र होईन मलेशिया मेरो निम्ति सधै प्रिय छ । जय मलेशिया ।
१२ फेब्रुवरी २०१२, सेरिया, ब्रुनाई
Will be final correction.