सिक्किम, आसाम र नागाल्याण्ड भित्रको संसार, गोर्खाल्याण्ड प्राप्त किन हुदैन?

नेपालको सुदुर पूर्वको काँकडभिट्टा नाकामा तेर्सिएको गेट नजिकै रहेको होटलमा एक रातको बास पछि विहानपंख इतिहासविद् गोपीलाल लिम्बुको घरमा भेटघाट तथा सोधपुछको लागि पुग्यौ । भारतीय सेनामा ३८ बर्ष सेवागरि फर्कनु भएका लिम्बुबाट धेरै इतिहासका कुराहरु ग्रहण गरयौ र केहीकेही इतिहासका कुरालाई वहासंग बुझेपछि सदर गर्यौ, हामीमा भएका अस्पष्टता निदान भयो । निक्कै लामो गफगाफ पछि विदाहुनु अघि वहाजस्ता अग्रज संग फोटो खिच्नुपर्छ लाग्यो र फोटो खिचिदिने मान्छे खोज्दैथिए कोठा बाहिर एक चेली वेलाबखत आवतजावत गर्नुभएको देख्दैथिए र म चुलबुले झट्ट ती चेलीलाई अनुरोध गरे । फोटो खिचिसकेपछि कोठाबाट बाहिर निस्कनेक्रममा जुत्तामा खुट्टा घुसाउदै भ्याट्ट सोधिहाले वहाचाहि हजुरको छोरी की बुहारी ? कारण सहित वहाबाट उ मेरी कान्छी श्रीमति भन्ने उत्तर आयो । म ज्यादै अप्ठयारोमा परे तर चेली अर्कैतिर छलिनुभयो तब अभिवादनको प्रकृया पुरा गर्नै परेन । ए लौत सेवारो, अहिलेलाई विदा पाँउ भनेर हतारमा बाटो लाग्यौ । घरको आँगन कटेपछि चाहि म बेस्सरी हाँसे । नसोधेको भएपनि हुन्थ्यो बेकार किन सोधेको होला मैले, आफैलाई हिनता बोध भयो । सामान्यतया सोधीखोजी आदत र प्रकृया पनि हो । आफैलाई सम्झाउछु, आखिर खराब नियत पनि होइन । कसैसंग नजिक हुनको निम्ति परिवार, नानीहरु र प्रेमिकाको बारेमा सोध्नुपर्दछ भन्ने शुत्र पनि छ । वहा संगको छोटो सामिप्यताले अनयासै सोधिएको प्रश्नले अप्रत्यासित घटनाको रुप लियो झनै अप्ठयारो बनायो ।

हामी भारतको सिक्किम पुग्नुपर्ने भएकोले काँकडभिट्टाको नेपाल भूमिबाट भारतीय नम्बरको कार लिएर बाटो लाग्यौ । बाटैभरि त्यहि छोरी की बुहारी भन्ने सोधिएको प्रश्नको घट्नाले हाँसो चलिरहयो । सिक्किममा चिनजानका केही हुनुहुन्छ । वहाहरुलाई जानकारी नदिई नै अन्धाधुन्द हामी जोरथाङ हुदै दरम्दिन पुग्यौ । राजधानी गान्तोकमा समेत हाम्रो आगमन थाह भएछ । गान्तोक र गेजिङ तिरबाट पनि फोन आयो । गान्तोक पुग्नुपर्ने निमन्त्रणा पनि आए तर घुम्ने समय थोरै भएकोले असमर्थता जनायौ । त्यो दिन दरम्दिनमा एक प्रधान दाईकोमा वास भयो । बिहान बयोबृद्धा लक्ष्मीदास कुरुम्बाङको घरमा पुग्यौ र पहिलेका कुरा सोध्यो वहाले पुराना कागजहरु देखाउनुभयो र दिनुभयो । एकजना खेवा बाजेको बारेमा त्यहि दरम्दिनमा केही जानकारी प्राप्त भयो । खेवा बाजे सधै स्मार्ट टाईसुट लगाएर इतिहासको कागजपत्र बोकेर हिड्नु हुन्थ्यो । बेलाबेलामा आउनुहुन्थ्यो तर धेरै समय भयो यता देखिनुभएको छैन । वहा दार्जिलिङ् तिरको हो आजकाल जिवीतै हुनुहुन्छ वा हुनुहुन्न थाह छैन । यदि हुनुहुन्छ भने पनि अब त थला पर्नुभयो होला भन्ने दरम्दिनवासीको भनाईले झनै कौतुहलता जाग्यो । इतिहास र साहित्यमा त्यत्रो योगदान गर्नुभएका बाजे पाको भई ओछ्यानमै भएपनि, बोल्नै नसक्ने भए पनि एकपटक हेर्न र छुन मात्र पाएपनि हुन्थ्यो झै लाग्यो र अझ धेरैलाई सोध्यौ अन्ततः दार्जिलिङ्ग, बिजनबारी नजिक सम्बुक बस्तिको भन्ने पत्ता लाग्यो । तब कुनैबेर पर्खनै सकेनौ र दरम्दिनबाट शिधै सम्बुक बाटो लाग्यौ, बाटो अप्ठ्यारो, कच्चि थियो । ठाँउठाँउमा कारलाई ठेल्दै बिजनबारी बजार काट्यौ र मानेडाँडामा एकछिन थकाई मारयौ । पुनः बाटो लाग्यौ ।

हाम्रो कार निरन्तर गुडिरहेको थियो । केहीछिन पछि सेतै कपाल फूलेको, सर्टप्यान्ट लगाएको र सानो कालो झोला बोकेका बुढा मान्छे रोडैरोड एक्लै हिड्दै आईरहेको झुलुक्क देखे । कारको गतिको कारण ती मान्छे तत्कालै छलिए । ती ब्यक्ति दरम्दिनमा बर्णन गरेअनुसार नै देखियो मनमनै बा यीनै पो थिए की क्या हो खेवा बाजे लाग्यो । मनमा किनकिन त्यस्तो लाग्यो र म संगै हुनुभएका कमल र लोकेन्द्र दाजुलाई भने । बुढाको घर यतै हो भने त हुन पनि सक्छ लोकेन्द्र दाजुले भन्नुभयो । कार रोकेर बुझौं त ? लौ बुझ्न त, भन्दानभन्दै ड्राइभर भाईले कार रोकी सकेका थिए र म हतपत्त कारबाट निस्किएर दौडिन्दै ती बाजे जानुभएतिर लागे । नजिकै पुगेर ए बाजे, ए बाजे, तपाई खेवा बाजे चिन्नुहुन्छ ? ठूलो स्वरले टाढैबाट कराए । बाजे ठिङ्ग उभिनु भयो र मैले सोधे तपाई खेवा बाजे हो ? हो नानी तिमी चाहि को हो ? मलाई सपना जस्तो लाग्यो । कसरी मेरो भित्री मनले देख्यो, यो कस्तो संजोग हो, खुसिले उद्धेलित भए । मलाई प्रतिप्रश्न गर्नुभयो । संक्षेपमा मेरो परिचय दिए र कारमा बस्नुभएका दुई दाजुलाई बोलाए । हामी नेपालबाट आएका हौ । इतिहास खोज्न हिडेको भनेका मात्र के थियौ । बाजेले क्वाप्लकै खानु भो तिमीहरु आफ्नो इतिहास जोगाउन नसक्ने, लिम्बुवान ल्याउन नसक्ने आदीआदी भनेर । म लिम्बुवानको सबैठाँउ घुमेको छु । कहाकहा बस्ने हौ तिमीहरु ? हामीले आआफ्नो परिचय दियौं । बाजे सन्की खालको लाग्यो, कडा स्वरमा बोल्नुभयो । हामीले हाम्रो ठेगाना धनकुटा, छथर हात्तिखर्क भन्यौ । त्यसो भए सुब्बा हिर्दयमान तिगेला चिन्छौ भन्नुभयो । मैले चिन्छु,भने र सामुन्ने उभिनु भएको लोकेन्द्र दाजुलाई औल्याउदै वहा चाहि सुब्बा हिर्दयमानको भतिज हो भने तब हातको छाता भूईमा राखेर नमस्ते गर्नुभयो । खेवा बाजेले वि.स. २०१८ मा हात्तिखर्क आउनु भएको कुरा बताउनु भयो ।

बाजेलाई विभिन्न कुराहरुमा प्रश्न गरयौ तर ठ्याक्क उत्तर चाहि नदिई गुनासो पोख्नुहुने। सायद समाज र समुदायको लागि जीबनभर गरेको योगदानको मूल्याङ्कन नहुनुले पनि बुढाको मानसिकता त्यसरी विकास भएको होला भन्ने शंका गरे । निक्कैबेर गफ भयो । हामी बाजेकै घर हिडेको वहालाई घरभन्दा ५ किमी अगाडि नै बाटोमा भेटेका छौ। दिउसो लगभग ३ बजेको थियो । मज्जाले गाडि चल्ने बाटोमा गाडि नचढि बाटैबाटो एक्लै छाताको लौरी टेक्दै हिडिरहनु भएको थियो । बाजे तपाई आज कता हिड्नु भएको ? प्रश्न गरे वहाले भन्नु भो, भोलिभित्र गान्तोक पुग्नेगरि बाटो लागेको । तब सोचे धेरै र खाँटी गफ त संगैको यात्रामा हुन्छ । हामी कहा जादैछौ त्यो पनि टुंगो छैन । वातचित कै क्रममा केही खेवाहरु कालिम्पोङको खादोले गाँउमा छ भन्नु भयो र अब त्यतै जानुपर्ला सोच बन्दै गएपछि । बाजेलाई हाम्रो कारमा बाटो मिल्ने ठाँउ सम्म संगै जाँऊ भनी अनुरोध गरे । बाजेले स्वीकार्नु भयो र कारमा कुरा गर्दै बाटो लाग्यौ । बाजेको घर हिडेको कारलाई फर्कायौ र घुम तर्फ लाग्यौ । हामीले खोजेका इतिहास कालिम्पोङ खादोले तिर छ भन्नुभएकोले त्यो ठाँउ कसरी पत्ता लगाउने चुनौती छदैथियो । त्यसपछि बाजेलाई नै लिएर त्यहा जानु सजिलो हुने सम्झियौ र संगै कालिम्पोङ जाऊ भन्ने अनुरोध गरे । बाजेसंग कालिम्पोङमा एक रात संगै बस्यौ र बिहान खादोले पुगेर सोधिखोजि गरयौ । त्यहा मूर्तिढुङ्गा, धनकुटाका मादेन खेवा जो ईन्जिनियर हुनुहुदो रहेछ वहाको घरमा केहीबेर भलाकुसारी पछि छुट्टियौ । त्यसदिन जसरी पनि म काठमाडौं पुग्नुपर्ने भएकोले हतारहतार बाटो लाग्यौ । कारमा कुरा गर्दै जाँदा त बाजेलाई लिम्बु भाषाको कविता त कति हो कति कन्ठैरहेछ । कार भित्रै १० वटा भन्दा बढि कविताहरु भन्नुभयो यसरी छुट्ने बेलामा मात्र बाजेको अद्भूत क्षमता बारे जानकारी भयो । गान्तोक जानेबाटोमा बाजेलाई छोड्नुपर्नेछ तर बाजेको त्यो गजबको शक्ति देखेर म लोभिए, अझै केही दिन संगै बसौ लाग्यो तर समय घट्की सकेको थियो । हतारहतार वहालाई लिम्बु भाषाको कविता बाचन गर्न लगाई एकदुई किल्फ भिडियो खिचे र ८४ बर्षिय खेवा बाजे (देवहाँङ आङ्ला) लाई फेरी भेट्न सक्छु वा सक्दिन भन्ने गह्रौं मनले विदा मागे । यसरी सन् २०१२ को सिक्किम, दार्जिलिङ र कालिम्पोङ सम्मको पहिलो खोज यात्राले विश्राम लियो ।

दोस्रो पटकको खोज यात्रा ३० मार्च देखि ७ अप्रिल २०१३ रहयो । अघिल्लो पटकको टिम नै थियौ । सिलगुढीबाट लगभग एक दिन एक रात रेलको यात्रा पछि बिहान हामी डिम्मापुर शहरमा उत्रियौ । कुन ठाँउ जाने निक्र्यौल थिएन । फोनमा टिपिएको ठाँउको नाम पनि स्पष्ट उच्चारण गर्न नआउने । रेल स्टेसनबाट बाहिर निस्किएर टेम्पो (अटो) ड्राइभरलाई पदम पत्थार थाह छ भनेर सोधेको थाह छ लौ चढ १० रुपैया मात्र लाग्छ भन्यो । हामीलाई पदमपोखरी लेखिएको बस्तिको गेटमा झारिदियो । सहि ठाँउमा पुगियो पुगिएन थाह भएन तब मर्निङ वाकमा आउनुभएकालाई सोध्यौ । एकजना थापा दाईले मर्निङवाकमै भएका अलि जान्नेबुझ्ने नजिकैका बुढामान्छेलाई बोलाई दिनुभयो । वहाको नाम जीबराज नाल्बो रहेछ । ८२ बर्षिय नाल्बो बाजे डिम्मापुर गोर्खा यूनियनका उपाध्यक्ष हुनुहुदो रहेछ । वहाले घरमै हामीलाई लिएर जानुभयो । त्यसपछि लगतै यूनियनका अध्यक्ष कुमार सुब्बा सम्बाहाम्फे जो धेरै पहिला सिक्किमको मुख्यमन्त्रीको लागि चुनाउ लड्नु भएको थियो । वहाको घरमा जानुपर्ने निमन्त्रणा आयो । हाम्रो स्वागतमा गाँउका नेपाली समुदायलाई बोलाउनु भई वहाकै घरआंगनमा सबैलाई सामुहिक परिचय र भोजन गराउनु भयो । नगाल्याण्डको राजधानी जाने कुरा चल्ने बित्तिकै गेटपास पनि त्यहि बस्दाबस्दै घरैमा सुब्बा ज्यूको मान्छेले ल्याईदिए ।

भोलीपल्ट नाल्बो बाजेले राजधानी कोहिमा घुम्न साथ दिनुभयो । कोहिमा जाने बाटोमा पर्ने घाँसपानी नाम गरेको ठाँउ नजिक रोडको वरिपरी प्रत्येक दिन ३० लिटर दुध बेच्ने पूर्णबहादुर सुनुवार दाईलाई भेट्यौ । रामेछाप, नमली पंचायत ८ का वहा १६ बर्षको उमेरमै घरछोडर हिड्नु भएको रहेछ । वहा संगको भलाकुसारी पछि हामी सरासर राजधानी तर्फ लाग्यौ । कोहिमाको युद्ध स्मारक आदी नाल्बो बाजेले घुमाईदिनु भयो । स्मारकमा दुई युवा नेपाली झै देखिने भेटिए र बोलाए तर उत्तर आएन कारण उनीहरु नेपाली नभएर नागा जाति रहेछन । कोहिमा देखि डिम्मापुर फर्कन्दै गर्दा नागाल्याड राज्य स्थापनार्थ महत्वपूर्ण योगदान दिनुभएका इसाक किसी सुइको समाधिस्थल घुम्न पाउदा साह्रै आनन्द महशुस भयो । त्यस्तै त्यहाको मुख्य आकर्षण बोक्सी खुर्सानी भएको जानकारी भयो । एउटा राँगाको लागि एउटा खुर्सानीले पुग्छ भन्ने भनाई रहेछ । संसारको सबैभन्दा पीरो खुर्सानी भनेर पनि चिनिन्दो रहेछ । त्यहाको कोसेली स्वरुप केही खुर्सानी किन्ने काम भयो । फर्कन्दा बाटोमा पर्ने राई गाँउमा दुइचार घर लिम्बुहरुको बस्ति रहेछ । सपरिवार संग सामान्य गफगाफ भयो तब समुहमा फोटो खिच्ने आग्रह गरयौ तर एक बहिनी लजाएर घरभित्र लुकिन । उनको फूपुले हकार्दाहकार्दा बल्ल फोटो खिच्न निस्किइन् । त्यसरी लजाएको देख्दा कताकता पहिलाको हाम्रो गाँउघरकै याद आयो । त्यस्तै त्यहि ठाँउ नजिकै रोडको भित्तापट्टि सानो चिमको घर देखाउदै उक्त घरमा २ महिना अघि एक राई चेलीलाई दिउसै बलात्कार गरि एक बंगला मुस्लिमले हत्या गरेको घटना ड्राइभरले बताएपछि नेपालीहरुको सुरक्षाको सवालमा पनि चिन्ता लाग्यो । उक्त निक्कै लामो यात्रा पछि हामी डिम्मापुर आईपुग्यौ ।

उक्त दिन साँझ गोलालघाटको न ३ चालुकपत्थार धुपगुरी स्थित प्रेम बहादुर तिगेला र छोरा सुनकुमार तिगेलाको घरमा बस्यौ । भोलीपल्ट विहान प्रेम दाईको घर नजिकै चिमको छाप्रिमा माटोको लियुन लगाईएको घरकी भाउजुले हामीलाई बोलाएर हामीलाई पाहुना लैजानु भयो र केही पर छाप्रि दोकानमा एकजना सानो बाबुलाई पठाएर पेप्सि किनेर ल्याई हामीलाई हुक्वा दिनु भयो । वहा भाउजु तेह्रथुम बसन्तपुर मुन्तिरकी माङमु हुनुहुदो रहेछ । वहाको श्रीमानले अर्की कान्छी श्रीमति लिएर अन्तै गएको र वहालाई पनि नेपाल फर्कने रहर भएको कुरा बताउनु भयो । नेपाल फर्कने योजना भएको धेरै भो तर कहिल्य साईत जुर्दैन गुनासो पोख्नु भयो । भाउजुले पाहुना मानेर सानो पेप्सिलाई बाँडेर हामी ३ जनालाई दिनुभयो । लाग्छ त्यो भन्दा ठूलो सत्कार अरु केही हुन सक्दैन । सत्कार मिठो र महंगो चीजबस्तुले होइन सद्भाव र चोखो मनले गरेको सबैभन्दा ठूलो हुदो रहेछ भन्ने अनुभूत गरे । अहिले पनि ती भाउजूको घर, वहाको हालत र सत्कार सम्झिरहन्छु ।

भाउजुको घरै नजिक चारपाँच जना युवतीहरु थुन्सेमा मानेपिडालु खोज्दै थिए । उनीहरुले चलाउने हतियार हँसिया भन्दा बेग्लै थियो र उक्त हतियार र थुन्से संग फोटो खिच्न खोजेको उनीहरु पनि लजाएर भागे । वास्तवमै लाग्यो नागा युवतीहरु पनि अति नै लज्जालु हुदा रहेछन, समथर खुल्ला मधेशमा पनि पहाडकै जस्तो लजाउने, शर्माउने देख्दा रोचक पनि लाग्यो ।

माङमु भाउनुको घरबाट फर्किएपछि मेरो वंशको एक परिवार नागा जातिमा परिणत भएको अपुष्ट जानकारी आएको कारण हेताई जाने कोशिस भयो तर दुई राज्यको सिमाना भएकोले अत्यन्तै सम्वेदनशील क्षेत्र भएको साथै गाडी ठ्याकै त्यो ठाँउमा पुग्दैन भन्ने जानकारी प्राप्त भयो र नौखुट्टिबाट अर्को तर्फ लाग्यौ । नौखुट्टिमा पुगेको केही मिनेट मात्र भएको थियो । हेर्दाहेर्दै एक प्रहरीले पोषाकमै मातेको स्वाङ पार्दै एक ब्यापारीको दोकानबाट एउटा कुखुरा टिपेर हिड्यो तर ब्यापारीले केही भन्न सकेन । गोलालघाटबाट झिकाएको ट्याम्पो पनि यो ठाँउ सुरक्षित छैन भनी फर्कि हाल्छु भन्न थाल्यो र उसलाई छोडि दियौ तब हामी क्षेत्र न ३ को चुङजनमा सन्तकुमार चवेगुको घरमा पुग्यौ । चवेगु ज्यूबाट धेरै कुराहरुको जानकारी भयो । निक्कै लामो गफगाफ पछि हामी तिनसुकिया जाने चाँजो मिलाई बाटो लाग्यौ । फर्किएर पुनः डिम्मापुर पुग्यौ र त्यहिदिन रातको साढे ९ बजे डिम्मापुरबाट रेल चढेर तीनसुकिया तर्फ बाटो लाग्यौ । भोलीपल्ट बिहान सबेरै तीनसुकियामा रेल रोकियो । रेल स्टेसन भित्रै धाराहरु थिए र हातमुख धोयौ । त्यो स्टेशन सिलगुढी, डिम्मापुर स्टेसन भन्दा निक्कै ब्यवस्थित थियो । हामी सोधिखोजि गर्दै वापुजी पंचायतमा बसोवास गर्नुहुने अखिल आसाम लिम्बु महासभाका अध्यक्ष चन्द्रकुमार तेम्बे ज्यूको घरमा पुग्यौ । हाम्रो टिममा एकजना अनुभवी राजनीतिज्ञ, एकजना इतिहासमा विद्यावारिधि गर्दै गरेका विद्यार्थी र एकजना साहित्यकार तथा सैनिक यसर्थ जुनसुकै ठाँउमा पनि चिनजान गर्न सजिलो भएको थियो । राजनीति कुरा गर्न चाहाने संग राजनीति गर्दै आउनु भएका लोकेन्द्र दाजु अगाडि सर्नुहुन्थ्यो । प्राज्ञिक कुरा गर्न चाहाने संग कमल दाजु अघि बढ्नु हुन्थ्यो र साहित्य तथा सैनिक कुरा गर्न चाहने संग म बोल्नु पथ्र्यो । इतिहास सोधिखोजीको सवालमा चाहि हामी तिनै जना सहभागि हुन्थ्यौ ।

अध्यक्ष तेम्बे ज्यूले हामीलाई स्वागत गर्नुभएको केही क्षणमा ठूलो ज्यान गरेको ब्यक्ति साधारण पोषाकमा भित्र छिर्नुभयो । विस्तारै वहा हामी नजिक आउनुभयो र बस्नुभयो । मुखमा पानसुपारी निरन्तर चपाई रहनुभएको थियो । ओठको डिलडिलमा पानको रङ् पोतिएको थियो । ५ वटा औलामै औठीहरु थिए । वहाको ती औंठीहरु रोचक लाग्यो । वहाले नै छलफलको मेसो उप्काउनु भयो, सायद कस्ता मान्छे हुन भनेर हामीलाई कसीमा जाँचेको हुनुपर्छ । इतिहासको बारे कमल दाजुले उत्तर दिदै जानुभयो तब ए तेम्बे जी वहाले भनेको इतिहासको कुरा लेखेर राख्नुहोस आदेशपूर्वक आग्रह गर्नुभयो । इतिहास, संस्कृति, धर्म देखि, राजनीतिका विषयहरु उठान भए । बल्ल वहाको परिचय खुल्यो वहाको नाम अजय कुमार सुब्बा आसाम गोर्खा डेभलपमेन्ट काउन्सिलका उपाध्यक्ष हुनुहुदो रहेछ । अझ वहालाई सांसद मणिकुमार लिम्बुको भतिजको रुपबाट सजिलै चिन्न सकिने रहेछ । सुब्बाले नेपालको राजनीतिलाई पनि ज्यादै नजिकबाट हेरिरहनु भएको रहेछ । लिम्बुवानको नेता कुमार लिङदेनको बारेमा निक्कै कुरा गर्नुभयो र सम्पर्क गर्न चाहेको बताउनु भयो । सुब्बाको कुराले हामी प्रभावित बनेका थियौ । यात्रामा यसरी बौद्धिक ब्यक्तिहरु संग भेटहोला भन्ने सोचैकै थिएनौ । चुङजनमा चवेगुको बौद्धिक कुराले पनि म छक्क परेको थिए ।

सुब्बाका अनुसार लिम्बुवान भूमि ३ भाग मध्ये १ भाग नेपालमा र २ भाग भारतमा पर्दछ । नेपालमा लिम्बुहरुको जनसंख्या साढे ३ लाख छ भने अल इण्डियामा १५ लाख लिम्बुहरु रहेका छन् । त्यस मध्ये आसाममा मात्र लगभग ५ लाख रहेका छन् । वहाको तर्कको मर्म लिम्बुहरुको सवालमा हामी केन्द्र हौ, हामी आसामका लिम्बुहरुले गर्दै ल्याएका संस्कारसंस्कृति नेपालका लिम्बुहरुले सिक्नुपर्छ भन्ने आसयको हो कि लाग्ने । लिम्बुहरु सहि अर्थमा याक्थुङ हुन लिम्बु शब्द त नेपाल सरकारले मात्र दिएको हो । याक्थुङहरुको जनसंख्या हाल भारत, नेपाल, भुटानमा रहेको बताउनुभयो । प्रसंगवस हाल गोर्खाल्याड राज्यको माग भईरहेको बारेमा पंश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले भनेको कुरा सुनाउनु भयो । ‘दिस ल्याण्ड इज मेन एण्ड चोङ बट हु इज गोर्खा एण्ड डिमाण्ड गोर्खाल्याण्ड’ ? उसको अर्थ यो भूमि मेन र चोङ्को हो । को हो गोर्खा र गोर्खाल्याण्ड मागि रहेका छन ? ‘मेन’ को अर्थ लेप्चा र ‘चोङ’ को अर्थ याक्थुङ/लिम्बु भन्ने लाग्दो रहेछ । झट्ट बुझ्दा हाल सम्म गोर्खाल्याण्ड राज्य प्राप्त नहुनुको कारण यो पनि एउटा रहेछ । सिक्किमलाई चाहि ‘लोमेनचोङ’ राज्य भनिन्दो रहेछ अर्थात ‘लो’ को अर्थ भोटे, ‘मेन’को अर्थ लेप्चा र ‘चोङ’को अर्थ लिम्बु रहेछ । राज्य पूर्नस्थापना तथा सिर्जनाको निम्ति इतिहास सबैभन्दा महत्वपूर्ण हुने भएकोले लाग्छ दार्जिलिंङको जनताले गोर्खाल्याण्ड राज्यको माग भन्दा मेन एण्ड चोङ राज्यको माग गर्दा प्राप्तगर्ने सम्भावना धेरै हुन्छ । त्यस्तै अर्को रमाइलो पक्ष के भने किरात भित्र सर्बजाति पर्दछ । भारत भित्र डेढ करोड किरातहरु छन् । त्यसमा नागा, मणिपुरे लगायत सबै किरात हुन त्यसैले यहि किरातको परिभाषाको कारण नेपाल र भारतवासी लिम्बु बीच अन्तर्राष्ट्रिय लिम्बु संघ बनाउन समस्या भएको कुरा औल्याउनु भयो ।

तामाङ, गुरुङ, मगर, राई, लिम्बु र मारपाचे मिलेर आसाम किरात सम्मेलन नामक ठूलो साझा संस्था रहेको पत्ता लाग्यो । यस किरात संस्थाका अध्यक्ष बिक्रमवीर राना मगर रहेको (Digboi) र सचिव कमल नाल्बो भएको जानकारी प्राप्त भयो । यो कुरा निक्कै महत्वपूर्ण लाग्यो । किन की नेपालमा गुरुङ, मगर किरात हौं भनेर खुलिसकेका छैन्न तर आसाममा त लामो समयअघि देखि यसरी आबद्ध बन्दै आएका रहेछन् । र, किरात शब्दलाई मंगोलियन शब्दको पर्यायीवाचीको रुपमा लिईएको पाईयो ।

रहनसहन र संस्कृतिकै प्रसंगमा मेघालयका खसिया जातिमा विवाह गरेर केटा मान्छे केटीको घरमा जान्छन र थरपनि केटी पट्टिकै लेखिन्छ यसर्थ केही नेपालीहरु खसिया बनेको पनि अनुमान भयो । त्यस्तै धेरै नेपालीहरु नागा जातिमा विलय भएको पनि जान्न पाइयो । करिब दुईतीन दशक अघि नेपालीहरु, कोइलाखात, शिलाङ, अघोरी खोज्न आसाम तिर भासिन्थे र उनीहरु घर फर्कन्दैनथे हो त्यस्तै ब्यक्तिहरु के कसरी बसेका रहेछन सोधिखोजिको विषय नै हाम्रो उद्देश्य थियो । गाँउगाँउ पुगेर धेरैलाई भेट्यौ । केहीकेहीको अवस्था मजबुत र केहीको अवस्था कष्ठकर पनि पायौ । मजबुत अवस्थाकाहरु बेलाबखत नेपाल आउने गरेको र नानीहरुलाई नेपालको कागजपत्र बनाई दिएको बुझियो तर जसको अवस्था कमजोर छ उनीहरु बर्षौबर्ष देखि नेपाल फर्कने योजना बनाउदै बसेको भेट्यौ । हामीलाई देख्दा कतिपय आश्चर्यमा परे र गफगाफ कै क्रममा आँसु समेत झारे । हामीले उनीहरुलाई गाँउ फर्कन निम्ता गर्यौ । नागाल्याण्ड र आसाममा धेरै फराकिलो जग्गाहरु रहेछन् यद्यपी विकासको हिसाबले नेपाल अलि अगाडि हो कि लाग्यो सायद आफ्नै ठाँउ भएर त्यस्तो लागेको हुनुपर्छ । बिशेष गरि रेलमा भएको ट्वाइलेट शिधै लिगमा झर्ने प्रकारको भएकोले स्टेशन पुरै दिशा गन्हाउथ्यो । यस्तो लाग्यो अंग्रेजले भारत छोडेपछि रेल सेवाको चाहि साच्चै नै बिजोग भएको छ । स्टेसनको शोधपुछमा बसेकाले मुखभरी पानसुपारी हालेर उत्तर दिन्थे तर पटक्कै केही बुझिन्न थियो । विशेष गरी घरमा आएका पाहुनालाई पानसुपारी दिनु सबैभन्दा ठूलो सत्कार मानिन्दो रहेछ । त्यसैले उनीहरुले पानसुपारी अत्यधिक लिएको हुनुपर्छ । यता नागाल्याडको सम्झन योग्यकुरा भनेको त्यहाको जंगलमा कुनैपनि चराचुरुङ्गी, जंगली जन्तु देखिन्दैनथ्यो त्यसको कारण रहेछ त्यहाका मुलवासी नागा जातिलाई बन्दुक बोक्न र शिकार खेल्न छुट रहेछ । पछिल्लो समयमा नेपाली युवाहरु आसाम जादैन्न रहेछन त्यसको सट्टा आजकल मलेशिया र अरब तिरै भाँसिएका हुन लाग्यो ।

नागा जातिको बनावट लिम्बु, राई जस्तै हुनेभएकोले सगै बसेको खण्डमा कसैगरि छुटाउन सकिन्दैन । उनीहरुको जीवन यापन, जीवन पद्धति खासै फरक देखिन्दैन । घरको बनावट, पानी बोक्ने भाँडा, भाषामा पनि केही मिल्दोजुल्दो पाइन्छ । पानीलाई चुवा, दाउरालाई सिंग, दुधलाई मि, बाटोलाई लाम र ढुङ्गालाई लुङ् इत्यादी । डिम्मापुरका कुमार सुब्बाले लिम्बुवानको १३ थुम मध्ये १ थुम हराएको र त्यहि हराएको थुम चाहि नागा हुन भन्ने आशंका गर्नुभयो । वहाको आशंका संग लिम्बुवानको छथर हात्तिखर्क, चौबिस तीर खेत र जंगलमा पाइने मट्टिमालाको किम्बदन्ति मिल्दोजुल्दो छ । परापूर्वकालमा नागा जातिले मट्टिमालाको माला लगाउथे र पछि उनीहरुको चिहानहरु भएको ठाँउमा फडाँनी र आवाद गर्दा उक्त मट्टिमालाहरु भेटिएको विश्वास गरिन्छ । अहिले पनि नागाल्याण्डका नागा महिलाहरुले मट्टिमाला प्रयोग गरेको पाइन्छ । यसर्थ लिम्बु र नागा कहिकतै इतिहास नजिक र अन्तरसम्बन्धित देखिन्छ ।

आसाम गोर्खा डेभलपमेन्ट काउन्सिलका उपाध्यक्ष सुब्बा लगायतका साथीहरु संगको गफगाफ पछि । अध्यक्ष तेम्बे ज्यूले तिनसुकिया, डिब्रुगढ, जुटुलीबारी इलाका वहाकै कारमा दिनभर घुमाइदिनु भयो र साँझपंख अघिल्ला दिनकै निरन्तरता शुरुभयो । बिहान देखि, साँझ सम्म मान्छेहरु संग भेटघाट र सोधपुछ गर्ने अनि बेलुकीपखको खाना लिए पछि रेलमा वा रात्रीबसमा रातभरी यात्रा गरयो । त्यसो गर्दा होटलको पैसा पनि तिर्न नपर्ने र टाढाको ठाँउपनि पुगिने । वास्तवमा त्यो हाम्रो अग्रिम योजना थिएन तर यात्राको क्रममा रुटिन नै त्यस्तो बन्यो । उक्त दिन पनि साँझको खाना पछि वसमा तिनसुकियाबाट हामी तेजपुर तर्फ लाग्यौ ।

बिहान अध्यारोमै तेजपुर उत्रियौ र विश्व चारआली हुदै तिनीसुति तर्फ लाग्यौ । नजिकैको ठाँउ हो भनी बस चढे्को तर दुईअढाई घण्टामा पनि नपुगेपछि । फेरी अर्को पटक पनि हामी हरायौ भन्ने लाग्यो । जे पर्लापर्ला भनेर बसमा निरन्तर गयौ । अन्ततः विश्व चारआलीमा उत्रियौ । जान खोजेको ठाँउ हो या होइन ठम्याउन गाह्रो भयो । तिनीसुति गाँउ कहा पर्छ भनेर सोध्यौ र आटो (ट्याम्पो) लिएर त्यसतर्फ लाग्यौ । सानो घुम्ति आयो त्यहा एक नेपाली भेट्यौ र बाटो देखाईदिन आग्रह गर्यौ तर उनले मानेन र अर्कोलाई अनुरोध गरयौ तब उसले धनकुटाकै रामबहादुर चेम्जङ संग भेट गराईदियो । चेम्जङले भेट्न चाहेको मध्येको एकको घर पुरयाइदिने बचन दिनुभयो । त्यो ठाँउ अरुणाचल र आसामको बोर्डर रहेछ । घना जंगलको पहाड अरुणाचल र त्यहि पहाडकोफेद चाहि आसाम रहेछ । त्यहि फेदीमा पुग्यौ । सबैकुरा बर्णन गरेपछि वहालाई गाँउबुढा भन्ने गरेको बुझ्यौ । गाविस अध्यक्ष भने जस्तै गाँउबुढा भन्ने चलन भएकोले निक्कै राम्रो संग बस्नुभएको रहेछ भन्ने लाग्यो । झण्डै १ घण्टा हिडेपछि वहाको घर पुग्यौ । विगत २६ बर्षदेखि त्यहि बसोवास गर्दै आउनुभएका मित्रप्रसाद तिगेला दाईलाई भेट्यौ । वहाको आफ्नै भाई संग नेपालमा प्रत्येक्ष फोन सम्पर्क गराई दियौ । मित्रप्रसाद दाईले हाम्रै सामुन्ने फोनमै आफू नेपाल आउने आश्वासन तेह्रथुम छथरमा रहने भाई थनाहाँङलाई दिनुभयो । लाग्यो आसामका धेरै नेपालीहरु नेपाल फर्कन चाहानु हुन्छ तर खोइ केले हो बाटो नै दिदैन ।

मित्रप्रसाद दाईले पहिला अघोरी खोजेको कथा सुनाउनु भयो । साच्चैको धनुषकाँड चलाउन सिकाउनु भयो । वहाको छोरा मिजरोम तिर जाँगिर गर्न गएको रहेछ । बुहारी र नानी, भाउजु संग भेट भयो । यो २६ विघा जमिनको धनीपूर्जा आउन लागेको बताउनु भयो । त्यहाको २ विघा नेपालको एकविघा हुदोरहेछ । खुलमखुल्ला जग्गाहरु साह्रै आनन्द र लोभलाग्दो रहेछन ।

मित्रप्रसाद दाईको घरबाट विदा भएर बाटो लाग्यौ । टन्टलापुर घाममा झुण्डाउन र गुडाउन नमिल्ने सुटकेश बोक्नुले निक्कै सास्ती भईरहेको थियो । बल्ल दुइतीन वटा झुप्रि चिया दोकानमा पुग्यौ र आराम गर्यौ । त्यहा एकजना ब्यक्ति हराएको गोरु खोज्दै अरुणाचलबाट आई पुगेका थिए । केही दिन अघि त्यहि गाँउबाट एकहल गोरु भारु ४० हजारमा किनेर लगेको कारण त्यतै आएको शंकामा ती ब्यक्ति त्यहा आएका रहेछन् । उनको हतियार बोकेर फोटो खिच्यौ र चिया खान अनुरोध गरयौ । जानेबेला त अंग्रेजीमा मज्जा गरि हामीलाई विदाई गरयो । म त छक्क परे । उक्त ब्यक्ति गाँउबुढा भएको र अरुणाचलमा किश्चियन धर्मको प्रभाव भएकोले सबैले अंग्रेजी बोल्ने गरेको चिया बज्यैले बताउनु भयो । उसो त कतार एयरवेज लगायतमा सयौ अरुणाचलकी युवतीहरु काम गर्छन त्यसको मुख्य कारण हो, उनीहरु राम्ररी अंग्रेजी बोल्नु । भाषा ज्यादै ठूलो हतियार भन्ने पुष्टि हुन्छ । अरुणाचलकाले अंग्रेजी नबोली हिन्दी मात्र बोलेका हुनु हो एयरवेज तिर पक्कै जागिर पाउने थिएन्न ।

आसाममा ससाना दोकान गर्नेहरु पनि प्रायः नेपाली नै भेटिए । अरुणाचलका गाँउबुढा संग विदा भएपछि हामी तिनीसुती स्थित चेम्जङ दाईको घरमा खानपीन गरेर विश्व चारआली तर्फ बाटो लाग्यौ । बाटोमा एकजना पोख्रेल दाई संग भेट भयो । वहा दिउसै माति सक्नुभएको थियो । हामीलाई देखेर धेरै खुसि हुनुभयो र वहाको विगतको कथा सुनाउन थाल्नुभयो । वहाले ४ बर्ष नेपाली सेनामा सेवा गर्दागदै विर्तामोडका एक तामाङ थरकी संग विवाह गरेको र दुई नानी समेत भएको तर परिबन्धले आसाम आएपछि फर्किएर जान नसकेको दुखेसो पोखे । भेट्नु भयो भने मेरो सम्झना सुनाई दिन हामीलाई आग्रह गरे । यत्रोबर्ष छोड्नु भयो, यतै घरजम गर्नुभयो तपाईलाई पाप लाग्छ है मैले भन्दिए तर उनले उक्त विगत मातेको धुनमा पटकपटक भनी रहनु भयो । लाग्यो, आसाममा रहेका धेरै नेपालीमा केही न केही पीडावेदनाहरु छन । उसो त आसाम, नागाल्याण्डमा पुग्दा नेपालीहरु किन आए भनेर तर्सने र सतर्क हुनेहरु पनि भेटिए । लाग्छ, नेपालमा केही घटना घटाएको कारण भागेर आसाम नागाल्याण्ड पुगेकाहरु पक्डन वा सुराकी गर्न पो आएका हुन की भनेर सजग रहने गरेका सायद ।

हामीलाई त्यहि दिन जसरी भएपनि बाटो लाग्नुपर्ने थियो । गुहाटी पुगेर रातको रेल पक्रनुपर्ने कुरा चेम्जङ ज्यूलाई भनेपछि वहाले नआतिन सुझाव दिनुभयो । विश्व चारआलीबाट शिधै रात्रीबस सिलगुढी आउने पाइन्छ त्यसैमा जानु भन्नुभयो र हामीलाई बस चढाएर पठाउनु भयो ।

सन् १९६३ डिसेम्बर १ का दिन नागाल्याड स्थापना भएको र नागाल्याण्डमा ९० प्रतिशत क्रिश्चियन भएकाले राज्यको महत्वपूर्ण चाडको रुपमा हर्नवील (राज धनेश चरा) चाड १ देखि ७ डिसेम्बर सम्म मनाइदो रहेछ यस्तो विविधतायुक्त नागाल्याण्ड घुम्दा धेरैकुराको जानकारी प्राप्त भयो । यो यात्रा बर्णनलाई टुङ्ग्याउनु अघि एउटा रोचक र महत्वपूर्ण खोजको बाँकी पाटो पनि राख्न सान्दार्भिक लाग्यो । छथर, प्रदेश न. १ (तत्कालिन तेह्रथुम जिल्लाको पन्चकन्या गाविस ३) लुक्वा गढि सल्लेरी (माने डाँडा) मा रहेका ठूठूला प्राचीन चिहानहरु नागा जातीको भएको अनुमान गरिएको छ । नागा जातिले लासलाई ठाडो उभ्याएर गाड्ने भएकोले मानेडाँडाका ती चिहानहरु सानो र चारपाटे आकारका छन् । त्यस्तै गरि पञ्चकन्या देखि पारी तम्मोर नदी पूर्व भदौरे मौवा, पान्थरमा अझ धेरै नागा जातिको चिहान रहेका छन् । तर दुःख लाग्दो कुरा अधिकांश ती चिहानहरु खोतलिएका छन् । चिहान भित्र मट्टिमाला भेटिने र ति माला बिक्री हुने भएकोले ती चिहानहरु खोतलिएका हुन् ।

ईतिहासकार प्रेम बहादुर माबोहाँगको अनुसार हिडम्बाका छोरा जितेदस्तीका २ भाई छोराहरु मध्ये जेठा सेन्छेहाँगले कौरव र पाण्डवहरुको लडाईमा पाण्डवलाई मद्दत गरि विजय प्राप्त गरे । पाण्डवहरु पून्य कमाउन कुरुक्षेत्र छाडी अन्यत्र लाग्नु पर्ने भएकोले पाण्डवका नाती परिक्षित १२ बर्षको कलिलो उमेर भएको कारण अर्जुनको सल्लाह बमोजिम जितेदस्तीका जेठा छोरा हस्तिनापुरका राजा भए र कान्छा नागाखाँग थिए र अन्ततः नागा जाति भए । यो अपुष्ट कथा संग नजिक हुने तथ्य नागाल्याडको राजधानी डिम्मापुर निवासी कुमार सुब्बा सम्बाहाम्फेको पनि तर्क रहेको छ । उनले तत्कालिन लिम्बुवानका १७ थुम मध्ये एक थुम नागा समुदाय हुन सक्ने बताउनु भयो ।

लिम्बुहरु संग रङरुप, आकार, आचारण, बस्नेघर, भाषा समेत केहीकेही मिल्ने भएकोले यो अर्को खोजको विषय उठान भएको छ । रङरुप, बनावट, सुन्दरता, संस्कृति मिल्ने भएकैले पहिलेपहिले आसाम, शिलाङ र नागाल्याड तिर पसेकाहरु नेपाल नफर्केेेेका हुन लाग्यो ।

अन्तमा, राम चेम्जोङ दाईकै सल्लाह बमोजिम तेजपुरको विश्वनाथ चारालीबाट साँझ ५ बजे गुडेको रात्रीबस भोलीपल्ट ६ अप्रिल २०१३ का विहान ११ बजे सिलगुढी आएर रोकियो तब हामी हत्तपत सिलगुढीबाट काँकडीभिट्टाको भ्यान पक्रिएर बाटो लाग्यौ । लोकेन्द्र दाजुको माङसेबुङमा धर्मगुरु आत्मानन्द ज्यूबाट आर्शिवचन लिनुपर्ने कार्यक्रम भएकोले शिलाङ जाने योजनालाई समेत बीचैमा रद्ध गरेर हतारहतार फर्किएका छौ । उक्त भ्यानमा आसामबाट आँखा उपचार गराउन विर्तामोड सम्म हिडेका एक परिवारलाई पनि भेट्यौ तब तिनसुकियामा तेम्बे दाईले आँखा उपचारको लागि नेपालको राम्रो डाक्टरको नाम सोध्नुभएको क्षणलाई सम्झिए र वहाको चासो साँचो रहेछ लाग्यो । हामी मेची नदि तरेर इतिहासको लिम्बुवान छिरयौ तर मन र मुटु डिम्बापुरका नेपाली मुलका भारतीय दाजुभाई दिदीबहिनी, राई गाँउकी लज्जाउने बहिनी र सरुपत्थारकी मानेपिडालु खोज्ने नागा बहिनीहरु संगै रहयो । आसाम गएपछि फर्कन मन लाग्दैन रे भन्ने कुरा सहि लाग्यो । धेरै नेपाली आसम भाँसिए, आसाम धेरै मनपरयो भन्ने विश्वास पनि कसो म थिए र मात्र फर्कियो कमल दाजुले जिस्काउनु  हुन्छ र म पनि के कम, भाइ संगै नभएको भए दाजु पो उतै भाँसिनु हुन्थ्यो की धन्न कसो म थिए र फर्काएर ल्याए दुवैको जिद्दी चलिरहेकै छ । धरानबाट काँकडभिट्टा जादा कार बढि गतिमा हाँकेको निहूको कारण, यश पटक दाजुले चाबी दिनु भएन, हण्याडल दाजुकै हातमा छ, हामी निरन्तर अघि बढि रहेका छौ, अन्तत: धरानमा स्वागत छ भन्ने साईनबोर्ड ठिंग अगाडी उभियो र हामी पनि त्यहि रोकियौ ।  खुल्ला आसाम र खुल्ला पीडा वेदना सधै प्रिय लाग्यो र लाग्यो रवाफको भन्दा अभावको जिन्दगी धेरै गुणा असल ।

१० जुन २०१३, ब्रुनाई