टोकियोको क्याप्सुल लज र न्यानो चर्पी (नियात्रा)

हामी नेपालीहरुको पहिचान र प्रतिष्ठा स्थानअनुसार बेग्लाबेग्लै निर्माण भएको छ, निर्माण गरेका छौ । जापानमा रहेका नेपालीहरु कुशल सेफहरुको रुपमा स्थापित छन् । हङकङमा रहेका नेपालीहरु बिल्डिङ, टनल तथा निर्माणको काम गर्ने कुशल श्रमिक, मलेशियामा रहेका नेपालीहरु फ्याक्ट्रीमा काम गर्ने असल श्रमिक त्यस्तै ब्रुनाईमा पुगेका नेपालीहरु राजपरिवारका लागि विश्वासिलो सेक्यूरिटी, युकेको निम्ति पनि बिट्रीस साम्राज्य विस्तार गर्ने, रानी र दरबारको निम्ति अति विश्वासशिलो सेक्यूरिटी, सिंगापुरमा रहेका नेपालीहरु सिंगापुर सरकारको निम्ति भरोसाको कुशल सेक्यूरिटी । छिमेकी मुलुक भारतको हकमा चौकीदार, कामदार र चेलीवेटीहरु वेश्यालयमा काम गर्ने ज्यालादार । दुबईमा चाहि घरेलु कामदारको रुपमा किनबेच हुने जातिको रुपमा पहिचान र प्रतिष्ठा बनाएका छौ । यहा सबैजना यस्ता छन् भन्न खोजिएको होइन, समग्रमा अधिकांश यस्ता छौ भनेर प्रतिनिधिमुलुक स्थान र पेशाहरुको नाम मात्र उल्लेख भएको हो ।

सानो नै राम्रो भन्ने जापनिज भनाई सानै उमेर देखि सुन्दै आएको हो । जापनिज घडि, रेडियो, सोनी टेलिभिजन, टोयटा मोटर आदिआदि जापनिज भने पछि कमसल कुरा पनि उत्कृष्ट लाग्ने । जापनिज राजपरिवार, हिरोशिमा, नागशाकी र पछिल्लो समय केही नेपालीहरु एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचन, एकसय चालिस रेष्टुरेण्ट चलाउने भवन भट्ट आदि । जापानको विकास र आर्थिक प्रगति पनि अर्को आकर्षक रहने नै भयो ।

हामी ब्रुनाईको सेरियाबाट मलेशिया सारवाकको मिरी एयरपोर्ट हुदै क्वाललम्पुर उड्छौ र क्वाललम्पुरबाट हानिडा एयरपोर्ट टोकियो उड्यौ । जनवरी महिना भएकोले हिँउ पर्नु, पानी पर्नु सामान्य नै भयो । टोकियोबाट हामी मिनिवस चढेर हिँउचिप्ली (स्की) खेल्ने ठाँउ नागनो शहरको हाकुबा हानियौ । झण्डै अढाई घण्टाको लगातार यात्रा निक्कै रोचक लाग्यो । बस रोक्ने (सर्भिसिङ प्वाइन्ट) अगाडि भाण्डिङ मेसिनमा मुद्रा छिराए पछि तातो पेय पदार्थ पाउनु, अझ वियर पनि भाण्डिङ मेसिनमै किनी खान पाउनु । भित्रि ट्वाईलेटको वेसिन न्यानो हुनु र पानीको फोहोराले दिशा सफा गरिदिने त्यसलगतै तातो हावाले सुख्खा गरिदिने सुविधा उत्कृष्ट लाग्यो । ट्वाईलेटको बारेमा हामीले त्यहिबेला ग्रुपमै पनि चर्चा र प्रसंसा गरयौ । त्यो प्रकारको चर्पी अन्यत्र छैन र भए कमैहोलान त्यत्रि मात्र होइन, जापानको ट्वाइलेटको चिन्ह समेत भिन्न लाग्यो ।

हामी निरन्तर मिनीवसमा अघि बढि रहेका छौ । दुईअढाई घण्टाको बाटोमा अनेक टनलहरु छन्, गनी साध्य छैन । मनमनै सोचे विकास भनेको यस्तो हुदो रहेछ । पहाडलाई त प्वालैप्वाल बनाउन सकिन्दो रहेछ । रोडमा हिँउ र पानी परिरहेको छ यद्यपी ट्राफिक पुलिसहरु उभिएर पालोपालो गाडिलाई पठाईरहेका छन् । पर्खिएर जब आफ्नो पालोमा गयो । बाफरे । ती ट्राफिक पुलिस आधा शरिर नै निहुरयाएर धन्यवाद भन्छन् । हिँउ परिरहेको, पानी परिरहेको र सयौ गाडिहरुले क्रसगरिरहेको बेला त्यतिसाह्रो शिष्टता चाहिन्दैन लाग्यो तर एकठाँउ मात्र होइन ठाँउठाँउमा त्यस्तो देख्दा लाग्यो जापान त्यतिकै विकास भएको होइन । विकास हुनको निमित्त अनुशासन र शिष्टता अनिवार्य चाहिन्दो रहेछ । झपक्क साँझ पर्दा हामी नागनो प्रिफिक्चर अन्तर्गतको हाकुवा नगरको धपक्क हिँउले ढाँकेको इचो होटलमा पुग्यौ । समुहमा थियौ र हामीले आआफ्नो कोठा लियौ । साँझको खानाको लागि निस्कियौ । तब हाम्रो दुःखहरु शुरु भए । नजिकैको होटलमा गएर खाना अर्डर गरयौ तर वेटर अंग्रेजी बोल्दैनन हामी जापनिज जान्दैनौ । मेनुहरु पनि जापनिजमा छन् । फोटोको आधारमा अर्डर गर्यौ । एउटा आईटम माग्यो निक्कै समयपछि आउछ । अर्को माग्यो निक्कै समयपछि आउछ । उठेर जाउ की बसौ । रेष्टुरेण्ट त्यस्तै ब्यस्त छ । वास्तवमा टम्म खाना नखाई हामी फर्कियौ त्यो साँझ ।

भोली विहानै स्कीको सामानहरु स्टोरबाट लिएर केही परको भिरालो जग्गाको हिँउमाथि सिक्न शुरु हुन्छ । करिब ६ बर्ष अघि कोसोभोमा पनि स्की बुट लागाए लगतै चिप्लिएर लडेपछि उठनै नसकेको अनुभव छ । अब त्यो दुर्दशा शुरु भएको छ । चिप्लिएर भूईमा लडेपछि कसरी उठ्ने । कसरी चिप्लिने र रोकिने आदि सिकाई भईरहेको छ । माइनस ५ डिग्री जाडो छ तर सिक्नेक्रममा तरिका नआउदा पसिनाले भित्रि भेष्ट र भित्रि लुगा पुरै निथ्रुक्क भएको छ । सास फेर्दा वाफ उडिरहेको छ । त्यो भिरालोमा दिनभर कति पटक लडे, चिप्लिएर पल्टिए गनि साध्य छैन । एकपटक त, हैन नसकिने रहेछ की क्या हो भनी आत्मा हारयो पनि तर साथीहरु पनि उस्तरी नै पछारिन्दैछन म आफ्नो आत्मालाई दह्रो बनाउछु । स्कीबुट लगाएर लौरी सहित नपछारी दशपन्ध्र फूट हिँउमा चिप्ल्यो भने पनि कत्रो खुसि लाग्ने । यसरी पहिलो दिन माइनस तापक्रममा पसिनैपसिना भएर बित्यो । दोस्रो दिन स्की बुट, हेलमेट, लौरी संगै चिप्लिएर लडेपछि उठ्ने आत्माविश्वास बढ्यो र अब अझ लामो दुरी नलडि चिप्लिएर झर्न सक्ने भएपछि, पसिना कम र रमाईलो लाग्न शुरु भएको छ । हामीलाई गाइड गर्नेले अब हामीलाई छोडेको छ । तै पनि कतिपटक त झनै गतिलो संग पछारिएका छौ । तेस्रो दिन हामी अर्को ठाँउमा स्की गर्न जानुपर्ने भयो । भिरबाट मान्छे चिप्लिन्दै झरेको देख्दा लाग्यो हैन लडि हाले पनि मान्छे नमरिने रहेछ की क्या हो ? साँझपंख पप गयौं त्यहा पनि हिँउमा चिप्लिएको भिडियो टिभीमा आउछ । सधै हिँउमा खेल्नेहरु घरको धुरीबाट पनि फाल हान्छन, भिरबाट पनि उफ्रि झर्छन । दिनभरी पनि त्यस्तै देखिने र साँझमा पनि उस्तै भिडियो मात्र हेर्दा त लाग्यो, हन उड्न पनि पो सकिन्छ की क्या हो? घत् होइन म सम्हालिन्छु ।

अर्को दिन पनि हामी सटल वसमा छौ । अमेरिकाको आलास्काबाट स्की खेल्न आएका मित्र संग सिटमा छु । आलस्कामा पनि विश्वकै उत्कृष्ट स्की खेल्ने ठाँउ भएको जानकारी गरायो । हामी आज हाकुबा ४७ मा छौ जहाँ सन् २०१० मा विश्व स्की ओलम्पिक भएको थियो । पहाडको फेदबाट टुप्पामा जाने केबलकारमा चढेर हामी उक्लियौ । टुप्पाबाट स्की बुट र लौरीको सहरामा चिप्लिन्दै चिप्लिन्दै विस्तारै फेदमा आईपुगे । झण्डै दश किमी थियो सायद । अब अर्को पट्टि स्की गर्ने कुरा भयो । भर्खर कन्फिडेण्ट भएकोले सहासका साथ चढ्ने र झर्ने काम शुरु भयो । म भन्दा जान्नेहरु छिटो झरिहाले र म भन्दा नजान्नेहरु शुरुवातको एकदुई मोडमै रोकिए । म चाहि झर्दै थिए, झदै थिए तब यस्तो भिर आयो की, त्यो भिर भन्दा तलतिर के छ देख्नै नसकिने । र, कोहि पनि छैनन । अघिजाने गईसके आउनेहरु माथि नै रोकिए । म सबैभन्दा फसादमा परे । विस्तारै झरौ, कत्रो भिर छ केही देखिन्दैन, कथंकदाचित लडिहाले भने के हाल होला । त्यहि रोकिएर बसौ कसैले उद्धार गर्छ जस्तो पनि लागेन, झर्दै नझरौ साथीहरुले डरछेरुवा भन्लान । म भिरको बीचौबीचमा छु । लौरी टेकेर थाँमिएको छु । अहिले पनि त्यो घटना सम्झिन्दा निन्द्रा लाग्दैन । डर र त्रासको बीचमा रोकिएको म पुनः स्की बुट रोकिएको ठाँउबाट आफै चिप्लिन शुरु गरयो र हतारपतार कन्ट्रोल गर्दै झर्नुको विकल्प छैन । मलाई भीर देखि तल हेर्ने मौका छैन । क्रस स्की गर्दै, झर्दै झर्दै बल्ल त्यो महाभिर छिचोले तब मात्र सास आयो र पहाडको फेदमा पुगे । म आफूले आफैलाई भाग्यमानी र कुशल सम्झे । त्यसपछि अब नियमित स्की जानेक्रम जारी छ ।

दिनभरीको स्की पछि खाना खान रेष्टुरेण्ट जानु छ । गजब चाहि यस पटक हामीलाई फ्लाईट, होटल र खानाको लागि पनि हामीलाई जागिर दिने बटालियनले अग्रिम पैसा दिएको छ । खाना किनेर खाने अनि कति पैसा खर्च भयो बिल बुझाउनु पर्ने । भाषा समस्याको कारण विल माग्न पनि अति गाह्रो । दुईतिन दिनपछि विस्तारै, राम्ररी सम्झाए तब विलको बुङ्ग नै ल्यायो र आफै बनाउदै बुझाउन थाल्यौं । पछि बुझेको त त्यो विल त प्रिन्टिङ प्रेसको रेहेछ । किताब छापेपछि पैसा लिए वापत दिने । हामीलाई त्यसले मज्जाले काम गरयो । कारण विल जापनिज भाषा र लिपीमा थियो । ठ्याक्कै विल नै थियो । दुइहप्ता रेष्टुरेण्टमा खाएको विलको काम प्रिन्टिङ प्रेसको त्यो विलले नै काम गरयो ।

अन्तिम दिन हामी हाईल्याण्ड सटल वस चढेर क्याराना स्की रिसोर्टमा गयौ । प्रवेश शुल्क नै २ हजार यान तिरयौ । केवलकार चढेर झण्डै ५ किमी माथि लैजाने र स्कीमा चिप्लिन्दै झर्नुपर्ने । चिप्लेर झर्दै आईपुग्ने अन्तिम ठाँउ चाहि रिसोर्ट थियो । दुईचार पटक चढ्ने झर्ने गरेपछि दिउसोको खान लिन स्की बुटमै रिसोर्टको तलामाथिको वारमा छिरे । प्रवेश टिकटको कुपनमै बाह्रसय यान थियो र त्यसमा अरु थपे । अविश्मरणीयहोस भनेर नयाँ खाना खाने भनी एउटा आइटम मागिहाले । भरे थाह भयो त्यो त काँचो माछा र भात भएको सुसि नामको खाना रहेछ । खाँउ काँचो छ, नखाउ, पैसा तिरेको । होहल्ला गर्न पनि लाज हुने दोधारमा परे । भै गो भनेर आँखा चिम्लिएर खाए । त्यो भन्दा अगाडि त्यस्तो काँचो केही पनि खाएको थिइन । तब रिसोर्ट भित्र कै तातो पानीमा निक्कैबेर न्यानो साउना लिएपछि स्की यात्रा पुरा भयो । म हाकुवा पुगेदेखि नै बेलाबखत हामी टोकियो सिंजोको क्याप्सुल लजमा बस्दैछौ भन्ने फेसबुकमा स्टाटस पनि हाल्दै थिए । मेरो अनुमानमा उक्त होटल कम्तिमा थ्रि स्टार वा माथिको होला लागेको थियो ।

हाकुवा स्की यात्राको अन्तिम दिन बिहान म विश्व कै सबैभन्दा ठूलो कार कम्पनी टोयटाको शुरुवात अर्थात राजधानी नागानो घुम्न निस्किए । टोयटाको राजधानीमा पनि अमेरिकन र यूरोपियन गाडिहरुको बर्चश्व देख्दा गजब लाग्यो । जापानिज बुद्धिष्ट मन्दिर जेनकाजी टेम्पल रोचक लाग्यो । जापानका बुद्धमूर्तिहरु प्राय मंगोलियन मुहारका भेटिए । निक्कै आकर्षक लाग्यो । र, साँझ हामी टोकियो पुग्यौ । गाडि रोकियो र झोलाहरु भित्र राख्न भने । होनिच्या भनी अभिवादन गरयो, हाई हाई भन्दै प्रत्येक वाक्यमा सहि थाप्यो । बोल्ने शैली पनि अनौठो लाग्यो । होटल देखेर म अलमलमा परे । मैले कल्पना गरेको तारे होटल त छैन । भित्र छिरेको साईटमा झोला थुपारेर तौलिया, चप्पल मात्र लिएर माथि जानु भन्छ । म झनै चंकित भए । साथीहरुलाई पछ्याउदै तला उक्लिए । वाफरे त्यहा त मादलको चाँग लगाएको जस्तो बाक्सा बाक्सा । कोठाको दुवैतिर भित्तामा छुनेगरि झण्डै ६ फिट लम्बाई, अढाई फिट चौडा र अढाई फिट नै उचाई भएको प्वाल भित्र पसेर सुत्नुपर्ने रहेछ । त्यसैलाई चाहि क्याप्सुल लज भनिएको रहेछ र क्याप्सुल जस्तै लाम्चो । म सबैभन्दा भूईको क्याप्सुलमा परे । म माथिको क्याप्सुलमा बस्ने मान्छेले निस्कने बेलामा मलाई किल्चन सक्छ म होसियार हुनु त छदैथियो । त्यो लजको एकजनालाई एक रातको छत्तिस सय यान लगभग तिर्नुपर्ने बुझे र त्यो हाम्रो ग्रुपको बुकिङ हो । छत्तिस सय यान भनेको ठ्याक्कै छत्तिस सय नेपाली रुपैया नै बराबर हुनेरहेछ ।

आज राती यहा निदाउन सकिन्न त्यसैले नजिकको कुनै लज खोज्नु पर्ला साथी संग मेरो सल्लाह हुन्छ । सबै जना आआफ्नै तरिकाले घुम्न निस्कियौ । अब राती कसरी निदाउने भन्ने चिन्ता हुदाहुदै मलाई लिन नजिकको ट्रेन स्टेशनमा देबी ईङनाम जी आईसक्नु भएको छ । म हतारहतार बाहिरिए । वहाले सिन्जुकी सिटीको एक रेष्टुरेण्टमा लैजानु भयो र चुम्लुङ जापानका अध्यक्ष रितु तुम्बाहाम्फे लगायतले स्वागत गर्नुभयो, भेटघाट र भलाकुसारी भयो । अर्की स्रष्टा छक्कु उदासीले वहाको रेष्टुरेण्टमा ढिढो, गुन्द्रुकको निम्ति गर्नु भएको निम्तो पुरा गर्न सकिन तर भेटभयो त्यहि नै ठूलो कुरा लाग्यो । साँझ अबेर भयो र लगभग साढे ११ बजे क्याप्सुल होटल फर्किए । अर्को ठाँउ लज खोज्न जाने सल्लाह गरेको साथी फर्किएका थिएन्न र अन्ततः थकान र निन्द्राको कारण क्याप्सुल भित्र ढल्किएर टेष्ट गरे निसासिन्दो छ तै पनि क्याप्सुल भित्रै टिभी, पंखा पनि रहेछ, थकानको कारण भुसुक्कै निदाए ।

भोली पल्ट देवी इङनाम जी संग विश्वकै सबैभन्दा ब्यस्त चोक शिबुया क्रसिङ गयौ । टोकियो स्काई ट्रि गयौ । राजदरबारको वरिपरि गयौ । टोकियो अण्डरग्राउडमा पाइने पातमा बेरिएको भात पनि खान भ्यायौं । सिटी टुर बसमा चढेर टोकियोको यात्रालाई जारी राख्यौं । देवी जीले धेरै कुराको जानकारी दिनुभयो । जापानभर नेपालीहरु २१ हजार र त्यसमध्ये ७५ प्रतिशत सेफ रहेको । टोकियोमा मंगोल वर्णकाहरु जापनिज जस्तै देखिने भएकोले उनीहरुलाई पुलिसले चेक नगर्ने तर गैर मंगोलहरुलाई पुलिसले गांैडागौंडामा चेक गर्नेगरेको पनि सोचनीय लाग्यो । उसो त जापानमा पनि बस र ट्रेनको यात्रा युकेमा झै मंहगो लाग्यो । टोकियो शहरमा युनिभर्सिटीका विद्यार्थीहरु होलिडे कामको लागि अमेरिका र युरोपबाट पनि ठूलो संख्यामा आउने गरेको देखियो । हिँउ क्षेत्रमा प्रयोग हुने नेपालमा बनेका टोपी लगायतका कपडाहरु पनि जापानमा किन्न पाउदा गौरव लाग्यो । र, जापानमा ब्राजिलको राम्रो प्रभाव देखियो । त्यस्तै टोकियोको ट्रेन स्टेशनमा प्रवेश शुल्क तिर्ने र जहा निस्कियो त्यहा पुनः पैसा तिर्दा हुनेब्यवस्था राम्रो लाग्यो । लण्डन लगायत अन्यत्रमा पहिला नै निक्र्यौल गरेर किन्नु पर्दछ । जापानमा धेरै आउने भूकम्पले पनि गगनचुम्बी घरहरु केही नभएको देख्दा खुसि लाग्यो । उसो त भौतिक विकासको सवालमा टोकियोको सडक बाटो एउटै आकासेपुलमा तलातला र सामान्य घरहरु भन्दा उच्च तर धेरै बाटोमा सिमेन्ट र तारका बारहरु देखिए ।

जापान आर्थिक रुपमा विश्व कै (तत्कालिन) दोस्रो धनी र प्रविधिमा पनि अगाडि तर दुःख लाग्दो कुरा चाहि जापानमा फोनको सिमकार्ड किन्न नपाउनु र वैदेशिक पैसा सटही गर्ने दोकानको अभाव हुनु । क्यास मेसिन पर्याप्त नहुनु साथै डेबिड तथा क्रेडिट भिषा र माष्टर कार्डहरु धेरै ठाँउमा नचल्नुले पर्यटकहरुको निम्ति अप्ठयाराहरु हुन । भाषाको समस्या त छदैछ । स्थानीय जापानिज भाषाको अक्षर चाइनीज संग मिल्दोजुल्दो हुने र भाषा दुइ प्रकारको रहेछन् । कान्जीः चाइनीज भाषा र लेखन । हिरागना चाहि चाइनीज भाषालाई सरलीकरण गरि बनाईएको जापनिज भाषा ।

जापानमा रहदा एउटा उल्लेख गर्नै पर्ने कुरा चाहि हामी नेपालीहरुको निम्ति जापनिज खानाहरु सबैसबै नै मिठा हुदा रहेछन् । खुर्सानी कम चलाए पनि मलेशिया, सिंगापुर र ब्रुनाईमा जस्तो गुलियो स्वादको खाना हुदैन । त्यसैले मिठो खाना जापान यात्राको अर्को आकर्षक पक्ष हो । त्यसैले पनि हुन सक्छ जापानमा नेपालीहरु सफल सेफ बन्न सफल भएका । तिनै स्वादिलो परिकार सहितको १९ देखि २८ जनवरी २०१३ को यात्रा पूरा गरि अझै घुम्ने रहर अपुग र अपुरा राख्दै विदाईको हात हल्लाउन करै लाग्यो । सायोनारा ।

– विश्वास दीप तिगेला
आसफोर्ड, १४ अगष्ट २०१९