एनआरएन मित्र, टाई लगाउदैमा विद्धवान भइन्न

एनआरएन मित्र, दशौं बर्ष एउटै कोठामा वेटर गरेर बाहिर टाई लगाएर निस्कन्दा विद्धवान भईन्न । मित्र बषौ डण्डि र बन्दुक बोकेर हरियो पर्खाल बाहिर निस्कन्दा पनि विद्वान भइन्न । मित्र, अनेक काम गरेर आफैले मात्र बुझेको कुराले विद्वान भइन्न । बषौ अघि गाँउ बस्ति छोड्दाको अवस्था नै मानसपटलमा राखेर विद्वान बन्न पक्कै सकिन्न । देशको लागि सिन्को नभाँची देशको वेतिथि बारे आलोचना गरेर मात्र पनि विद्वान भइन्न ।

वास्तवमा गैर आवासिय नेपाली संघ (एनआरएन) एउटा व्राण्ड हो । एनआरएन एउटा ठूलो संजाल हो । यसमा सफल ब्यक्तिहरु सहभागी छन् यसमा विवाद छैन । एनआरएनको उद्देश्य लोक कल्याणकारी छ, त्यसमा पनि विवाद छैन । एनआरएनले धेरै उपलब्धीहरु हासिल गरयो त्यो पनि निसंन्देह छ । अझ धेरै गर्न सक्ने ठाँउहरु छन त्यो पनि निर्विवाद छ । तर बोल्नै पर्ने प्रसस्तै कुराहरु पनि बाँकी छन् ।

एनआरएन हूँ भन्ने कुर्सि ओगटन दौडने अनि परेको वेला काम गर्न नसक्ने, खर्च पनि गर्न नसक्ने । बैठक र बहसमा बाह्रसत्ताईको ठूलठूला र बुद्धिजीबिको कुरा गर्ने तर कार्यन्वयनको वेला पछाडी फर्केर तर्कने । उसैलाई पद चाहिने, सुविधा चाहिने, परिचय चाहिने, पहुच चाहिने, सधै हिरो हुनुपर्ने तर योगदान गर्ने बेला कि चुप वा कतै कुनै निहूमा पन्छने धेरै एनआरएनहरु छन् । यो सबैभन्दा ठूलो एनआरएनको रोग हो ।

जुटाई दिएको शक्तिले जो कसैले काम गर्न सक्दछ तर सवाल शक्ति जुटाउनु चाहि सक्नु परयो भन्ने हो । एनआरएन सबलहरुको क्लव हो भन्ने आरोप गलत होईन र सबल सम्पन्नता भनेको उच्च विचार र सहि ब्यवस्थापन हो । विचार भएर ब्यवस्थापन कमजोर छ भने पनि एनआरएन कमजोर हुन्छ । बलियो एनआरएन हुनको निम्ति विचार र व्यवस्थापन दुवै भएकाहरुको नेतृत्व चाहिन्छ ।

एनआरएनका साथिहरु विदेशमा बसेर मातृभूमि नेपाललाई पछाडि देख्नु, राजनैतिक वेथितीलाई लिएर गाँली गर्नु, अनावश्यक विज्ञता देखाउने बानी हामी एनआरएनको प्रमुख शत्रु हुन । यो बानीमा अब सुधार गर्न झण्डै ढिला भईसक्यो । समय बदलिएको छ । प्रविधि शक्तिशाली भएको छ । विद्वान एनआरएन मित्रको रेष्टुरेष्टमा के पाक्दैछ गोठाला गरिरहेका मित्रले जान्न सक्दछ । कुन एनआरएन नक्कली डाक्टर बनिरहेका छन्, कुन एनआरएन आज भन्दा बिस बर्ष अघिको नेपाल मात्र सोच्न सक्छ आदि कुरा अहिले जो कोहिले बुझन सक्दछ । उसो त प्रविधिको क्षेत्रमा नेपाल धेरै अगाडि छ । लोडसेडिङको अन्त संगै प्रगति र संमृद्धिले तिव्र गतिमा खुटकिला चढि रहेको छ । धेरै मुलुकलाई नेपालले जिति सकेको अवस्था पनि छ । र, यो निरन्तर हुनुपर्छ । स्वयं चाहि बाहिरी मुलुक बसेर नेपालको राजनीतिलाई गाली गर्नु नसुहाउने कुरा हो । गाली नगरी प्रसंसा मात्र गरौ भन्ने पनि होइन तर गाली गर्न त आफूले पनि योगदान गर्नुपर्छ तब गाली, गुनासो गर्न लायक भइन्छ ।

एनआरएन मित्रहरु बौद्धिक लगानी गर्ने भनी ठूठूलो कुरा गरिरहनु भएको छ । गजब चाहि के भने नेपालमा भएकाहरु चाहि सबै मूर्ख हुन? ख्याल गर्नुपर्ने कुराः कुनैपनि मुलुक र परिस्थिती जान्न र बुझ्न प्रविधिले मोबाईल नै पर्याप्त बनाई दिएको छ । त्यसैले ज्ञान र बौद्धिकताको कुरा गर्दा अबदेखि सन्तुलित बनौ । अरुलाई सिकाउनु भन्दा पहिला आफैले सिकौ । विश्व शक्ति र आर्थिक वल एशिया तर्फ गईसकेको पनि ख्याल गरौ । हिजोको यूरोप अमेरिकाको दबदबा अब विस्तारै बिर्षने दिन आउदैछ ।

एनआरएन मित्रहरु विदेशमा भाडा माझ्ने र ट्वाइलेट सफा गर्ने अनि नेपालको विषय उप्काएर सरकार चलाउने कुरा गर्ने ? याद गर्नुभएको छ स्वदेशमै बस्नेलाई कति चोट लाग्छ? याद गर्नुभएको छ राष्ट्रसेवा गरिरहेकाहरुलाई कति चित्त दुख्छ भनेर ? यहा सरकारको कुरै नगर्नुहोस भन्न खोजेको पनि होइन । सरकारको आलोचना गर्नुहोस तर सुहाउने सम्मको । तपाईले योगदान गर्नुभएको छ भने तपाईको आलोचना पनि पाच्य हुन्छ भन्न खोजेको मात्र हो ।

एनआरएन मित्र, हामी नेपालीहरुको महान चाड भनेकै चुनाउ हो । प्रत्येक दुईदुई बर्षमा हुने विश्व सम्मेलनको बेला हुने नेतृत्व चुनावमा सभ्यता देखार्औ । टाई लगाउने एनआरएनहरु गाँउको गोठाला जति पनि सभ्यता देखाउन नसक्दा सगरमाथाको जत्रो एनआरएनको इज्वत र प्रतिष्ठामा ह्रास नआवस । उसो त क्षेत्रिय सम्मेलन, र विश्व सम्मेलनमा निश्चित कार्यक्रम र एनआरएन हितको कार्यक्रम भन्दा बाहेक ब्यक्ति स्वार्थको कार्यक्रम राख्न दिएर चरम लापरवाही हुनुले सम्मेलन प्रति बितृष्णा बढ्न सक्ने अवस्था छ । एनआरएनको नाममा आफ्नो आर्थिक धरातल मजबुत बनाउने, सिण्डीकेट निर्माण गर्ने देखि जति सावधान हुन जरुरी छ त्यति नै पबित्र सोचले एनआरएनको सेवा गर्नेहरु आफ्नो योगदानमा सचेत हुन जरुरी छ । तपाईको पबित्र योगदान एनआरएनको लागि प्रत्यूउत्पादक नहोस ।

एनआरएन मित्रहरु, तपाईको रोजगार र ब्यापारबाट उब्रिएको समय मात्र एनआरएनलाई दिने हो । सबैथोक छोडेर पूर्ण कालिन एनआरएन बन्न छोडनुहोस । एनआरएन विधिले चल्ने हो ब्यक्तिले होइन त्यसैले ब्यक्तिबिशेष लबिङ पनि नगर्नुहोस । एनआरएन वरपिपलको छहारी भएको चौतारी हो । एनआरएनमा जो कोहि आएर बस्न सक्नुपर्छ त्यसैले पेवा जसरी रोकि राख्नु र छोपी राख्नु बान्छानिय हुदैन । एनआरएन कसैको इगो साध्ने ठाँउ त झनै बन्नै हुदैन । त्यसैले ब्यस्त ब्यक्तिहरु एनआरएनमा सहभागि बनौ, तब अनावश्यक सोच्ने र बोल्ने समय नहोस । ब्यस्त ब्यक्तिले नै सहि काम गर्नेगरेको नजीरलाई पुनः स्थापित गरौ ।

अन्तमा, जसोतसो एनआरएनलाई आज सम्म सबैले पत्याएका छन्, माया गरेका छन् । ठूठूला योजनाहरु सम्पन्न भएका छन् । आफ्नै केन्द्रीय कार्यालय काठमाडौंमा निर्माण गरेर संस्थागत बनेको छ । विस्तार, प्रचारप्रसार पर्याप्त भएको छ । अब दीर्घकालिन सोच र योजना नै अहिलेको माग हो । एनआरएन संस्था सबैको साझा हो र सधैभरिको लागि हो, एक पटकको लागि मात्र होइन । यस पटक नभए अर्को पटक पालो आउछ । त्यसैले नेतृत्वहरु सकभर सहमतिमा निर्माण गरौ । सहमति हुनु भनेको शतप्रतिशतको जित हो भने निर्वाचन हुनु भनेको निश्चित प्रतिशतको मात्र जित हो । पवित्र एनआरएन संगठन आज मात्र होइन सधै चाहिन्छ । त्यसैले परिस्थितीलाई ख्याल गर्दै अघि बढौ । आफ्नो कम्जोरीहरुलाई सुधार्दै एनआरएनलाई सफल र पारदर्शी बनाऔं ।

-विश्वास दीप तिगेला
२७ जुलाई २०१९
(लेखकः दुई कार्यकाल एनआरएन आई सी.सी. र टास्कफोर्स संयोजक हुन ।)