गुणको रिणले यसर्थ थिचीरहन्छ (नियात्रा)

चंचले उमेर थियो त्यो बेला सायद । तर, मलाई सानै देखि साहित्य र राजनीतिको नसा लागेको हो लाग्छ । तरुणी तपसी, मुनामदन, नारी बन्धन, बसाई आदी उपन्यासहरु गोठाला जाँदा सिध्याउथे । कोङपी, कइरन, साल्पा आदी पत्रिकाहरु खुबै प्रिय लाग्थ्यो । त्यसवेला साधना पत्रिकाको नयाँ अंक प्राप्त गर्नु गौरवको कुरा हुन्थ्यो । गोर्खापत्रको अर्धबार्षिक ग्राहक बनेको थिए र हूलाक मार्फत आउने प्रत्येक अंकलाई शिरपुच्छर पढेर सिध्याउथे । गोपाल गुरुङले लेखेको नेपालको राजनीतिमा अदेख्खा सच्चाई र गोपाल खम्बूको नेपालको राजनीतिमा जातियमुक्त आन्दोलन पुस्तक पटकपटक दोह्रोरियाएर पढे । सबै राजनैतिक पार्टीहरुको विधान संकलन गर्ने मेरो सौख थियो । प्रायः सबै पार्टीको घोषणापत्र र पर्चाहरु मिहिन रुपले पढ्थे र आफै पनि पर्चा लेख्न सिक्थे ।

गजब के हुन्थ्यो भने उपन्यास पढेको दिन रुदै दिन बित्थ्यो र राजनैतिक पुस्तक पढेको दिन आफै मुर्मुरिन्थे । अलिपछि चाहि पढेर सिध्याए लगतै यो पुस्तकले दिन खोजेको कुरा यो हो । यो पुस्तकको यी पात्र संग मेरो असहमत सहमत आदी लेख्न थाले । पढेको पुस्तक वा लेख जुन मन परयो, हो त्यस्तै लेख्न सक्ने हुन सकु भन्ने लाग्थ्यो । अब उपन्यास यस्तोयस्तो विषय समावेश गरेर लेख्छु भनेर योजना बनाउथे, खुबै कल्पना गर्थे । उपन्यासको नाम जुराउथे तर कहिल्य पनि उक्त नाम गरेको उपन्यास लेख्ने साइतै जुरेन । एकदुई दिन लगाएर मनमनै बनाएको उपन्यासको कथावस्तु केही दिन पछि बिर्षन्थे । तर, खोइ किन हो त्यो बेला साहित्य पढ्न पाउदा पागलै जस्तो हुन्थे । विस्तारै कथा कविताहरु लेख्न शुरु गरे तब एकदिन एउटा कविता लेखे भने दिनभरी नै उमङ्ग आउथ्यो । त्यसको मज्जा दुईतिन दिन सम्म हुन्थ्यो । एकप्रकारको भावना भित्र डुबेर लेख्दा ढङ्ग पुग्दैन थियो होला तर कति हो कति सुन्दर लाग्थ्यो तर त्यहि सिर्जनालाई दुइचार महिना पछाडी पढ्दा अर्थ पनि बुझ्न गाह्रो हुन्थ्यो र लय पनि विर्षि सकेको हुन्थे तब सुन्दर लाग्दैनथ्यो । त्यो बेला यो नोटबुकमा ६८ पेज भएको प्रमाणित गर्दछु । यो बुकको धनी पत्ता लगाउन पेज नम्बर १० मा पल्टाउनुहोस । अनुमति विना यो बुक हेर्न मनाही छ आदी लेख्दा खुबै आनन्द लाग्थ्यो । म सधै जसो रातको अबेर सम्म पढ्ने र लेख्ने गर्दथे । त्यो बेला ५ घण्टाको बाटो हिडेर हिले बजारबाट २५ रुपैया लिटरमा किनेको मट्टितेल चलाउथ्यौ । बत्तिमा भरी मट्टितेल हालेर कोठा लैजान्थे दुईरात मै सिद्धिन्थ्यो । आमाले फारो गर्नुभनेर कराउनु हुन्थ्यो । त्यस बेला हुन्छहुन्छ भन्थे तर बुढाबुढिहरु साहै रुढीवादी हुन्छन भन्ने बुझाई हुन्थ्यो । तब मट्टितेल अर्को सानो माना जाने सिसामा चोरेर कोठामा राख्थे । आकाशमा जुन लागेको बेला घरको बार्दलीमा ओछ्यान लगाएर सुत्थे । किन हो कुन्नि चन्द्रमाले मेरो लागि औधि खुसि लिएर आउथ्यो । हिउदमा चाहि बेलुकी खाना खाएर खेत र बारीमा गाईगोरु र भैसी बाँधेको ठाँउमा बुर्चुने काले भतिज संग सुत्न जान्थे ।

एकदिनको कुरा हो घरमा ठूली दिदी र केशर भिनाजु आउनु भएको थियो । स्वभाविक त्यसबेला पाहुना आउदा बेग्लै आनन्द हुन्थ्यो । उक्त दिन बेलुकी खाना खाएर गोठमा पुगी गाईलाई कुढो बनायौ । त्यो क्षण घर नजिकै टहारबारी खेतमा हिँउदे गोठ थियो त्यहाबाट रातको १० बजेतिर घर आयौ । हाम्रो दुइवटा घर संगै थियो (वि.स. २०४४) । एउटा पुरानो घर र अर्को नयाँ घर । नयाँ घर चाहि भिरालो जग्गामा ४ तले थियो र वरीपरी २ तलामा बार्दली थियो । घर छाउने बेलामा भिर त्यसमा पनि अग्लो भएकोले गाँउका मान्छेहरु टाढिन्थे । सधै नै २ जना नयाँघरे जेठादाई र साक्फारे कान्छा काकाले मात्र त्यो ४ तले घर छाउने गर्दथ्यो । उक्त दिन कोसेली खादै हामी गफमा मस्ति थियौ । एक्कासी डाङडाङ र डुङडुङ अप्रत्यासित त्यहि अग्लो घरको पछाडि भिरालो जगल तिरको भागमा आवाज आयो । लगभग मध्येरात भएको थियो । हामी सबै डरायौ र चुप बस्यौ । फेरी पनि उस्तैगरि डाङडाङ र डुङडुङ गर्दै तर्साउन थाल्यो । केशर भिनाजु बैशको हुनुहुन्थ्यो क्यारे र हिम्मत गर्नुभयो र हामी पनि ठूलो हल्ला र नाङ्लो ठटाउदै, आगोको अगुल्ठो बोकेर चारपाच जना बाहिर निस्कियौ र बेस्सरी करायौ । बत्ति पनि हावाले निभाई दियो । यद्यपी घरमा वीर मसान आयो भन्ने विश्वास भएकोले अगुल्ठो मिल्कायौ । तब त्यो तर्साउनेको आवाज हरायो । फर्केर घरभित्र पस्यौ । लौन यस्तो के ले तर्सायो भनेर कुरा गर्दै बसेका मात्र के थियो फेरी उस्तैगरि तर्साउन थाल्यो । हामी फेरी अघि जस्तै कराउदै निस्कियौ तब फेरी तर्साउन छोड्यो । फेरी घरभित्र मात्र के पसेका थियौ फेरी त्यस्तै गरि तर्साउन थाल्यो । ४ तले घरको जंगल तिरको पाटोमा तर्साएकोले फेरी कराउदै त्यहि पुग्यौ र अगुल्ठो फाल्यौं । पुनः तर्साउन छाड्यो । हामी फेरी घर भित्र पस्यौ तर तर्साएन । अब गोठमा सुत्न जाँनु छ भतिज संग । भतिज म भन्दा ठूलो थियो । धेरै बर्ष हाम्रो घरमा एकै परिवार जस्तो भएर बसेका हौं । आखिर हिम्मत गरेर गोठ पुगेर सुत्यौ ।

भोलिपल्ट विहान रातभरी तर्साएको बारे चर्चा भयो । रात परयो पुनः त्यसैगरि तर्साउन थाल्यो । उक्त दोस्रो रात त्यति धेरै डर लागेन र हामी झन धेरै भेला भएर बाहिरै बसेर हेर्यौ । त्यो आवाज जंगलतिरको घरको पाटोमा नभएर त्यहि दिसाको निक्कै टाँढोबाट आवाज आएको पत्ता लाग्यो । ठम्याउदै जाँदा त मेरो घरदेखि निक्कै टाढा र माथि ठामडाँडामा नेपाली सेनाले रात्रीकालिन तालिम गरेको रहेछ तब हामी लाजले भुतुक्कै भयौ । पुनः काले भतिज र म गोठ तर्फ लाग्यौ । भतिज संगसगै हिड्दा मलाई धेरै कुराहरु सिकायो, मलाई धेरै माया गथ्र्यो तर अहिले उनी कता छ कुनै पत्तो छैन र मैले बिर्षन पनि सकेको छैन ।

वि.स. २०४९ को कुरा हो तेह्रथुमको म्याङलुङको सिंहवाहिनी स्कुलमा पार्टीकोे प्रशिक्षणको कार्यक्रम थियो । रितु तुम्बाहाम्फे पाको मान्छेले अध्यक्षता गर्नुभएको थियो । म पूर्वान्चल कमिटीबाट विद्यार्थीको प्रतिनिधित्व गर्दै त्यहा पुगे र बोले । हामी धेरैजना थियौ । राती सुत्नको निम्ति नजिकैको पुरानो घरमा पराल र गुन्द्रि अनि राडी दिएको थियो । एमएस थापामगर, कमल छाराहाँङ लगायतले प्रशिक्षण दिनुभयो । भोलिपल्ट विहान म एक्लै बाटो लागे र जिरिखिम्ति नजिकै सुके भन्नेमा खाना खाए । पैसा तिरे, खाना पश्चात सुपारी र सोप खाए त्यसपछि बाटो लागे । म त्यो बेला १९ बर्षको थिए तर म भन्दा कलिलो भाई खाली ढाँकर संग म्याङलुङबाट बसन्तपुर फर्कन्दै रहेछ उ संग चिनजान गरेर गफ गर्दै संगसगै आयौ । मैले उनलाई लुङ्गा भनेर बोलाउथे । मेरो हैसियत पनि उहि गाँउपरिवेशकै थियो । त्यसैले हामी दुई निक्कै हित्तैषी भयौ । लसुने कटे लगतै खोचको खोलानेर मज्जाले बसेर आराम गरयौ । मैले बोकेको धनकुटे बिस्कुट दुबैले बाँडेर खायौ । कलकल बगेको पानी पियौ । तब पुनः बाटो लाग्यो । म धनकुटा क्याम्पस आईपुग्नु थियो । एकहप्ते रासन घरबाट बोकेको चामल, तेल, गुन्द्रुक त्रिसुलेमा राखेको थिए । बसन्तपुरबाट बस चढ्नु पर्ने भएकोले कसोकसो मैले मेरो पैसा राख्ने वालेट हेरे भेटिन तब म आत्तिए । मलाई पक्का के भयो भने त्यो भात खाएको होटलमै सुपारी, सोप लिदा वालेट त्यहि टिप्न बिर्षिएछु । म दोधारमा परे फर्किएर वालेट लिन जाँउ ३ घण्टा लाग्ने, फेरी भेट्ने हो या होइन । नजाउ अब एकपैसा छैन के ले बस चढ्ने ? बढो फसादमा परे । मलाई ती लुङाले सान्तवाना दिनुभयो । अर्को हप्ता पुनः म बसन्तपुरबाट भारी म्याङलुङ लान्छु त्यो वेला म सोधिदिन्छु । तर मलाई अप्ठ्यारो परि सकेको थियो र हाम्रो छुट्ने बेला भईसकेको थियो । सायद मेरो अनुहार हतास थियो । त्यो लुङले दुईदिन भारी बोकेर कमाएको पैसा २५ रुपैया मलाई दियो । म के गर्नेगर्ने भए । पैसा लिउ विचरा त्यत्रो दुःखले साटेको अनि कहा भेटेर फर्काउने, नलिउ गाडी चढ्ने पैसा छैन । आखिर लिन करै लाग्यो र हामी छुटियौ पनि । त्यत्रो दुईदिन भारी बोकेर कमाएको उसको पैसा आखिर मैले लिए । मलाई एकदमै नराम्रो लाग्यो यद्यपी त्यो पैसाले भाडा तिर्न पुग्दैन थियो । त्यो अर्को पीडा छदैथियो । त्यो बेला छोरी मान्छेले बसको कन्ट्याक्टर गर्ने रानी सेवा थियो । बसमा चढे पैसा माग्दै कन्ट्याकटर आइन् । बसन्तपुरबाट धनकुटा लोकसेवाको लागि मैले त्यहि २५ रुपैया दिए । भाडा पुगेन अरु थप्नुहोस भनिन् । आज मेरो वालेट हरायो यो पैसा पनि एउटा भाईले दिएको यति हो म संग भएको पैसा भने । तब उनीले थप्नैपर्छ भनिन्न । ती छोरी कन्ट्याक्टरका ठाँउमा छोरा मान्छे हुनु हो त मलाई कति धम्क्याउथे होला ? पैसा छैन भने यहि ओर्लि भन्थेहोला । धन्य कसो छोरी मान्छे परिन् ।

ती लुङ्गा जसले बसन्तपुरबाट ढाँकरमा दोकानको सामान विस्कुट, साबुन, चामल आदी बोकेर तेह्रथुमको सदरमुकाम म्याङलुङ लैजान्थे वहाको उमेर साह्रै कलिलो थियो । त्यस्तो उमेरमै ब्यवहार बुझेको र म आगन्तुक मान्छेको आपदविपदको समस्या बुझेको कुरा सम्झिन्दा मलाई घाँसी र भानु झै लाग्छ अहिले । कुनै सम्पन्न ब्यक्तिले त्यति खर्च दिएको भए मलाई यतिधेरै मन पोल्ने थिएन सायद तर विहानबेलुकी हातमुख जोड्नको लागि मजबुरी गर्नेले दिएको पैसा भन्दा पीडा र शिक्षा विर्षि नसक्नु छ । लगभग त्यो घट्नाको १९ बर्ष पछाडी यो सम्झना लेखिरहेको छु । मैले धेरै खोजी गरिरहेको छु ती लुङ्गालाई । त्यसवेला उनले दिएको नाम र ठेगाना बुद्ध मुसाङ, तामाफोक ६, तेह्रथुम हो । सम्झेर नोट गरी अझै डायरीमा उनको नाम र ठेगाना राखेको छु । मैले त्यहि गाँउका धेरैलाई बुद्ध मुसाङलाई भेटिदिन, खोजिदिन आग्रह गरे तर अझ सम्म पत्ता लागेको छैन त्यो गुण कसरी फर्काउ भन्ने चिन्ताले मलाई बेलाबेला बेस्सरी पोल्ने गर्दछ । म निरन्तर ती लुङलाई भेट्न चाहिरहेको छु ।

कता न कता मलाई सानैमा राजनैतिक भूत चढेको । पाख्रीवासका मोहनसिंह लिम्बु दाईलाई लिएर पार्टी विस्तारको लागि मुगा रामप्रसाद राईको घरमा पुग्यौ । सामान्य भेटघाट र खाजापान पछि साँझ नपर्दै फलाटे हानियौ । भदौको महिना थियो क्यारे । बाटोमा जादै गर्दा मौसम अध्यारो भयो । ठूलो पानी पर्न थाल्यो । उकालो बाटो थियो । बाटै नदेखिने गरि अध्यारो भयो । बाटोमा ठूलो घाँसको भारी बोकेकी दिदीलाई भेट्यौ । दिदी बाटोमा नजिकै घर छैन ? मैले सोधे अलिमाथि छ बाबु भन्नुभयो । हामी त्यहि घर भेट्ने कोसिस गर्यौ तर अब त झन खुट्टा टेक्ने बाटो नै नदेखिने अध्यारो भयो र निरन्तर पानी परयो । दिदीको घर अलि नजिक रहेछ र हामीले बास माग्यौ दिदीले घरमा सुत्ने ठाँउ छैन अलि मास्तिर जानुहोस अरु घर भेट्नु हुन्छ भन्नुभयो । वहाले भने जस्तै अझ अगाडि जाने जमर्को गरयौ तर निष्पट अध्यारोको कारण सम्भव भएन । अन्ततः जस्तो ठाँउ छ दिदी हजुरको घरमै सुत्नुपर्ने भो अरुकेही चाहिन्दैन बाहिर नै सुत्छौ भन्यौ । दिदीले मान्नु भएको थिएन यद्यपी केही भन्न सक्नु पनि भएन । हाम्रो अवस्था बुझिसक्नु भएको थियो । हामी वहाको घरमा पुग्यौ । थाकिसकेको कारण हामी दुई बाहिरी खाटमै ढल्कियौ । घरभित्रबाट डुङडुङ ओखली कुटे झै आवाज आउथ्यो तर बल्लतल्ल बास पाईएकोले भित्रि हेर्ने सम्म हिम्मत गरेनौ । दिनभरीको हिडाईबाट थकित थियौ र त्यहि निदायौ । रातको १ बजे तिर दिदीले हामी दुईलाई उठाउनु भयो र हात धुनु भन्नुभयो । हामीले पर्दैन भन्यो तर वहाले खाना तयारी भईसकेकोले खानै पर्ने ढिप गर्नुभयो । तब हामीले तातोतातो खाना लियौ । शुरुमा वास दिनै नमान्नुको कारण बल्ल मात्र थाह पायौ । दुइघण्टा लगाएर चामलको लागि धान ओखलीमा कुट्नु नपर्ने भएको भए दिदीले हामीलाई वास दिन अप्ठयारो मान्नु हुने थिएन । दिदीले हामीलाई खानै नदिएको भए पनि हुन्थ्यो तर साँझ आउने पाहुना अतिथि देव भवः भने झै रातभरी तुल्याएर दिनु भयो । त्यसैले मलाई रिणी बनाउनु भएको छ । त्यति दुःख गरि तुल्याएर खुवाउनु हुने दिज्यूलाई कोटिकोटि धन्यवाद । मलाई जानकारी भएअनुसार वहा थापा दिदी हो र वहाको घर उकालो बाटोको दाहिने पट्टि थियो । सम्भवतः थापा दिदीले विर्षि सक्नुभयो होला तर आज १८ बर्ष पछाडि पनि वहालाई पटकपटक सम्झि रहेको छु । वहाको रिणलाई फर्काउने भाग्य मलाई छ या छैन प्रतिक्षामा छु ।

लाग्छ, अनेक दुःख सुखका अनुभूती र उपभोग जीबनमा भए होलान तथापी मलाई विगतका ति क्षणहरुको सम्झनाले नै बढि सुखानुभूति गराउछ । धेरै दुःख पाँए हुँला, अझै धेरै चुनौती ब्यहोर्नु बाँकी होलान यद्यपी दुख, चुनौतीमै म जीबन र जगत भेट्छु यसैमा म रमाउछु ।

धन्यवाद ।

– विश्वास दीप तिगेला
३० सेप्टेम्बर २०१३
सरजोन मोर वि, सर्नकिल्फ