युकेमा विवाह विकृति (लेख)

युकेमा जति चन्दा आतङ्कले सताएको छ त्यति नै विवाहको निम्ताले पनि सताएको गुनासोहरु पाइन्छन् । युकेमा विवाहको दुई अभ्यासहरु छन् । विवाहमा निम्ता गर्ने र प्रवेशद्धारमै बहि लेख्न लगाउने र अर्को अभ्यास चाहि विवाहमा निम्ता गर्ने र बहि लेख्न नदिने नाम मात्र लेख्ने । त्यस्तै दुखः पराउमा पनि यस्तै चलन छ । कसैले सहयोग बहि लेखाउने र कसैले बहि नलेखाउने र आर्थिक सहयोग पनि नलिने ।
दुःखको काममा बहि उठाउने कामलाई कसैले आपत्ति जनाएको पाइन्न बरु दुख परेको घरको स्थितीलाई मध्यनजर राखेर स्वेच्छाले अझ बढि सहयोग उठाउने पनि चलन छ यद्यपी दुखः पराउमा पनि केही विकृति पाइन्छन् । नेपालमा निधन भएकाहरुको नाउमा सहयोग उठाउने, सम्बन्धित परिवारलाई जानकारी नै नदिई सहयोग उठाउने काम पनि बेलाबखत हुने गरेको थियो तर अहिले यस्ता घटना घटदै गएको छ । आफ्नो आमा, बुवा वा परिवारको सदस्य निधन हुने एक पटक हो । आफूलाई जन्मदिने, कर्मदिनेको अत्येष्ठि स्वाभिमानका साथ आफ्नै बलबुत्तोले गर्नुको गौरव अर्कै हुन्छ । त्यस्ता परिवारको निम्ति सहयोग उठाउनु उनीहरुको आत्मा सम्मानमा ठेस पुरयाउनु हो । सहयोग स्वरुप प्राप्त भएको रकमलाई धेरैले सहज लिदैनन यदि स्थिती नाजुक हुदा भने त्यो बैग्लै अवस्था हो । गाँउले, जिल्लावासी र जातिय संस्थाले उठाएको सहयोग रकम दुःख परेको परिवारले स्वीकार नगरेको धेरै घटनाहरु पनि छन् ।
शुभ विवाहको सवाल पनि उत्तिकै रोचक छ । विवाहमा निम्तालुलाई प्रवेशद्धारमै नाम र दाम चढाउन लगाइन्छ । कतिपय विवाहमा वेहुला पट्टिको एक टेबलमा र बेहुली पट्टिको अर्को टेबलमा नाम र दाम चढाउन लगाइन्छ । कुरो त्यति मात्र होइन, विवाहमा उठेको पैसाले बेहुलाबेहुलीले युकेमा घरै किनेको पनि केही घटनाहरु छन् । यो संस्कृति हो की विकृति? किन कोहि बोल्न सक्दैनन? के साच्चै नियोजित रुपबाट चिनेका नचिनेका सबैलाई निम्ता गर्ने र बहि रकम संकलन गर्ने उद्देश्य हो त ? पक्कै पनि नहुन सक्छ ।
कतिपयले त्यहि कुरालाई विकृति सम्झेर आफ्नो घरको कर्ममा बहि पनि लिदैनन् र नाम पनि लेख्न दिदैन्न तर समस्या कहाँ हो भने विवाह एउटा महत्वपूर्ण ठूलो कर्म हो । यसमा को को आए रेकर्ड राख्नु अति महत्वपूर्ण हुन्छ किन की कुनैदिन उनीहरुको घरमा पनि निम्ता मान्न जानुपर्ने हुनसक्छ । त्यसैले नाम टिपेर रेकर्ड राख्न अति जरुरी छ ।
निम्तालुको उपस्थितीलाई बहिमा नचढाउदा कतिपयलाई आफ्नो उपस्थिती मूल्यहिन भयो की भन्ने आभाष पनि हुने गर्दछ । कतिपयलाई बहि र नाम नलेखिन्दा विवाह घरको बढोपन भयो की भन्ने पनि लाग्न सक्दछ । त्यसैले यो समस्याको बारेमा अब सबैको चिन्ता हुन जरुरी छ ।
कतिपय संस्कृति नै बिकृति बन्नुमा ज्ञान र उपाय कै अभावले भएको पाइन्छ । के हो त यसको समाधान? समाधान खोज्न एउटा ईतिहास पढे पुग्छ । धनकुटा हात्तिखर्कका खेवा तिगेला वंशको शुभ विवाह र मृत्यूको कर्ममा आउने कुटुम्ब तथा पाहुनाहरुको उपस्थिती दर्ता गर्ने तर बहि नलिने वा तोकिएको भन्दा बढि नलिने चलन छ । प्रत्येक पाहुनाले बढिमा नेरु १०० रुपैया चढाउने (पहिला नेरु १० थियो) चलन छ । घटिमा त्यो भन्दा कम वा नदिए पनि हुन्छ तर दिनेले चाहि नेरु १०० भन्दा बढि दिन पाउन्दैनन । यो प्रचलनले के गरेको छ भने कुलकुटुम्ब र शुभचिन्तकहरुको बहिमा नाम पनि लेखिने भयो र भविश्यमा पालो फर्काउदा धेरै दिनुपर्ने बाँध्यता पनि रहेन । यसको मुख्य कारण के हो भने विवाह र दुःखको काममा नजिक साईनोका कुटुम्बहरुले अनिवार्य उपस्थिती सघाउनी दिने चलनलाई सहज र सरल बनाउनु हो । सबै कुटुम्बहरु उस्तै पहुचमा हुदैन्न । त्यसैले त्यहा पनि एकरुपता ल्याउदछ । निम्ता मान्न आएकाहरुलाई पनि थोरैभए पनि बहिमा चढाउन पाउदा अं मैले उपस्थिती जनाए र थोरैभएपनि भेटी स्वरुप सहयोग चढांए भनेर सन्तोष मान्दछन् । तर यो खेवा विधिमा गजब चाहि आफ्नै परिवार र रगतको दाजुभाईले चाहेजति बहिमा लेखेर सघाउनी दिन सक्छन, किन की आफ्नै घरको त्यो सघाउनी कुनैबेला फर्काउनु पर्छ नै तर त्यहाँ पनि बाँध्यकारीता भने छैन ।
युकेको विवाहको शुभकार्यमा कुटुम्ब र चिनजानका पाहुनाले अनिवार्य बहिमा नाम लेखाउने र चाहेको खण्डमा अधिकतम १५ पाउण्ड भन्दा बढि चढाउन नपाउने । यदि एक भन्दा बढि निम्ता मान्न गएको अवस्था हो भने सोहि अनुपातमा २५ पाउण्ड भन्दा बढि दिन नपाउने ब्यवस्था गर्नु वान्छानिय हुन्छ । यो रकम सामान्यतयाः पार्टीहरुमा खर्चहुने रकम हो । विवाह घरको आफ्नै रगतका दाजुभाईलाई भने यसरी सघाउनीको सिमाबन्धन नतोक्नु राम्रो । अधिकतम १५ तोकिनुको कारण चाहि कुटुम्बेरीलाई अप्ठ्यारा नहोस, पैसा उठाउन कै लागि ठूलो विवाह गरयो भन्ने कसैले कुरा काटने ठाँउ नपाओस । दुलही र दुलाह दुवै पक्षको एकै ठाँउ विवाह गरिएको हो भने पनि दुवै पक्षले आआफ्नो निम्लातुको रेकर्ड राख्नु पर्दछ तर सघाउनीमा त्यहि १५ पाउण्डकै सिमा राख्नु वान्छानिय देखिन्छ ।
कतियपले सघाउनी फर्काउने अवसरको रुपमा पनि लिएको हुनसक्छ तर दुईचार जनाबाट फर्काउनी लिने सोचले धेरैलाई बोझ पो पर्दैछ की? आफ्नै बलबुत्ताको कमाई अर्थात जोडजामले मात्र आत्मा स्वाभिमान तै त्यो पो छुट्दै छ की?
अन्तमा, समयानुकुल अब विवाहको नाममा विकृति नहोस भन्ने ख्याल सबैले राख्ने की ?
२७ जुलाई २०१९