यति गजब छ की समृद्ध नेपालको लागि शान्ति अनिवार्य हो । शान्तिको लागि सबै नेपाली जनताको हक, अधिकार र सम्मान हुने संविधान लेखिनु अनिवार्य थियो । तर, संविधानमा एक समुदायको मात्र हालीमुहाली हुने जारी गरियो र तत्कालै भारत संग जोडिएका सिमानाका समस्या मिडियामा ल्याएर जनताको ध्यान मोड्ने प्रयास भयो । अनावश्यक, अनुचित समाचार नियमित दिदैगए ।
मधेसी, थारु र जनजातिहरुले बेइमान संविधानको विरोधमा ठूठूला विरोध जुलुसहरु गरे । लगभग १२ लाख जनता मेचि देखि महाकाली सम्म एकैसाथ हात समाएर त्रिभुवन राजमार्गमा उभिएर मानव साङ्लो बनाई विश्व कृतिमान राख्दै विरोध जारी राखे । संविधान स्वीकार छैन भनी आन्दोलनमा उत्रिएका ४९ जना मधेसवासीहरुलाई विभत्स गोलि हानि मारिरहेको छ । राज्य चरम दमनमा उत्रियो र मधेसी, थारुहरु अन्ततः विरोधको शैलिमा परिवर्तन गरि सडक बन्द गर्ने र नाकाजाम गर्ने कार्यक्रम गरिरहेका छन् । नाकाजाम गरेको लगभग ७० दिन भयो । नेपालको जनजीवन हाहाकार छ । सयौ भारतीय गाडिहरु नेपालबाट भारत जान सकेका छैन्न । हजारौ नेपालका गाडिहरु भारतबाट नेपाल छिर्न सकेका छैन्न ।
मधेशवासी जनताहरु एकमत भई झनै आन्दोलनलाई शसक्त बनाई रहेका छन् । प्रत्येक दिन भन्सार राजस्व, दुई हजार भन्दा बढि फ्याक्ट्रीहरु बन्द, ब्यापार ब्यवसाय ठप्पको कारण करोडौ करोड राज्यलाई घाटा भईरहेको छ । जनता समान अधिकारको लागि आन्दोलित छ तर सरकार आन्दोलनलाई जर्बरजस्त दमन गर्दै लाखौ जनताको आन्दोलनलाई ओझेल पार्न भारतले नाकाबन्दी गरयो भन्ने भ्रम फैलाई जनतालाई पंगु बनाई रहेको छ । तराईका आन्दोलनमा ४९ जना प्रहरीले मारयो नेपालका मुख्य मिडियाले कतै लेख्दैन, समेट्दैन । भारतले नाकाबन्दि गरेकै छैन तर नाकाबन्दि गरयो भनेर बेइमान संविधानको विरोध गर्दै गरेकालाई ब्यर्थमा भारतको पो विरोध गर्ने बनाई रहेका छन् । मधेसवासीले नाकाजाम गरेकै कारणले सयौ भारतीय गाडिहरु भारत फर्कन पाएका छैन्न । यदि भारतले नाकाबन्दि गरेको भए उसले आफ्नो गाडिहरु लैजान सक्दैनथ्यो र ? त्यसैले अहिले भारतले नाकाबन्दि गरयो भनेर विरोध गर्नु लज्जाजनक कुरा हो । मधेसी, थारु र जनजातिहरुले नचाहिन्दो कुनैपनि कुरा मागेका छैन्न ।
उनीहरुको मागलाई सम्बोधन गरे नाकाजाम क्षणभरमै खुल्न सक्छ तर शासकहरु मधेसी, थारु र जनजातिहरु संग वार्ता गर्न किन चाहान्दैनन ? नेपालका मिडियाहरुले किन तराईको आन्दोलन बारे लेख्न र प्रसारण गर्न पाउदैन्न ? भारतमा जन्मेका, हुर्केका र भारतमा संरक्षर पाई जीवन पाएका नेताहरु नै अहिले भारत विरोधि भावना फैलाएर जनतालाई संविधानको मुद्धा भन्दा बाहिर पुरयाएका छन् । तर, यतिलामो विरोध आन्दोलनमा एकपछि अर्को गर्दै संघसंस्थाले ऐक्यबद्धता जनाउदै शक्तिशालि बन्दै गईरहेको छ । शान्तिपूर्वक चल्दै आएको विरोध अब विद्रोहमा परिणत हुदै गएको छ । इन्जार कस्न नसक्ने लगडोले लडाइ गर्ने धम्कि दिएजस्तो नेपालको हालत देखिन्छ ।
अहिले भारतको विरोध गर्नेहरु नै वास्तवमा भारतका बफादार छोराहरु हुन । संविधानका विरोध गर्ने यो बेलामा जनतालाई आकुलब्याकुल बनाई संविधान लागु गराउने प्रयास गरिरहेका छन् । धेरै जनजातिहरु कागले कान लग्यो भनेको सुनेपछि कागको पछि दगुरेका छन् आफनै कान छामेका छैन्न । भारतले नाकाबन्दि गरयो भनेर विरोधमा उत्रिएका छन् । लौ भन्नुहोस हिजो किन सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले भारत विरुद्धको ज्ञापनपत्र बुझन मानेन्न ? किन अहिलेका परराष्ट्र मन्त्री कमल थापाले भारत विरुद्ध संकलित हस्ताक्षर बुझ्न मान्दैनन ? यदि साच्चै नाकाबन्दि हो भने जनताको विरोध जनताकै सरकारले बुझ्नु पर्दैनथ्यो ? अहिलेको स्थिती कस्तो गजब भने जनतालाई गलत कुरा सुनाएर जनतालाई भारत संग सिंगौरी खेल्ने बनाई रहेका छन् । भारतकै एक पत्रिकालाई नियोजित प्रयोग गर्दै भारत र मधेसको ७ बुंदे माग भनी विल्कुल गलत सुचना पनि छर्ने काम भयो । पत्रकारितामा एउटा भनाई छ ¬‘जसले मिडिया कन्ट्रोल गर्छ उसैले मानिसका दिमागलाई पनि नियन्त्रण गर्ने गर्दछ ।’ वास्तवमा अहिलेको परिवेश संग यो भनाई ठ्याक्क मिलेको छ ।
तराईमा महिनौ आन्दोलन जारी रहदा झनझनै प्रतिदिन आन्दोलनमा जनताको सहभागिता बढ्दै गईरहेको छ । कसैले पनि विरोध, नाकाजामको प्रतिकार गरेका छैन्न । वार्ताको नाटक गरि मधेसी मोर्चालाई फूटाउने प्रयास असफल हुनु र दिनानुदिन आन्दोलन चर्किनुले सरकारको आत्मा गलिसकेको छ । संविधानको पूर्नलेखन वा शसोधन अनिवार्य हुन्छ नै तर आन्दोलन बढ्दै जाँदा शसोधन गर्नुपर्ने कुराहरु पनि झन बढ्दै गएका छन् । मधेसी, थारु, लिम्बुवान, मगरात, तमुवान, तामसालिङ लगायत तथा जनजातिका जारी आन्दोलन अब पनि तुरुन्त समाधान नगर्नेहो भने अहिलेको सरकारले केहीदिन पछि देशलाई नियन्त्रण गर्न नसक्ने प्रष्ट देखिएको छ । विरामको दबाई विद्यालयमा गएर खोजे जस्तै चुरो समस्या नेपालको संविधानमा छ तर समाधानको लागि नयाँदिल्ली पुग्दै बेइज्वत हुदै नेपाल सरकारका प्रतिनिधि मन्त्रीहरु हाँसोका पात्र बन्दै आएका छन् । विराम लागेमा अस्पताल जानु पर्ने होइन र ? अहिलेको जारी समस्या समाधानको लागि मधेसी, थारु, लिम्बुवान लगायत, जनजातिहरुलाई वार्ताको टेबल राखेर समाधान खोज्नुपर्ने होइन र ? कस्तो गजब भने कैलाली घट्ना घटेलगतै दक्षिणबाट आएकाले घटनाघटाए भनेर थारुको आन्दोलनलाई वेवास्ता गर्ने दुष्प्रयास भयो ।
नाकाजामको ६९ औं दिन वीरगंज नाकाको मितेरी पुलस्थित नोमेन्स जोन अर्थात सिमानामा दुवै देशको पर्ने ठाँउमा रहेका ब्यक्तिलाई गोलि हानी हत्या गरयो । अफसोच ती मृतक भारतीय नागरिक थिए । त्यसमा पनि सिंगो आन्दोलन भारतबाट छ भन्ने कोणबाट गलत प्रचार गरियो । नोमेन्स जोनमा स्वभाविक रुपबाट दुबै देशका मान्छे हुन्छन नै । नेपालका जनताले आन्दोलन नै गरेका छैनन भन्ने बनाउन खोजिएकै कारण स्थिती झनै नियन्त्रण बाहिर गईरहेको अवस्था छ । चरम समस्याका कारण जनताहरु विवेकले होइन अब आवेगले काम गर्ने भईसकेका छन् । मुख्यतया राजधानीमा सबैभन्दा दर्दनाक स्थिती मधेशी मानिसहरुको छ । नाकाजाम कै कारण तनाव रहेको काठमाडौंका पहाडेहरुले मधेसीहरुलाई जागिरबाट निष्काशन साथै दुब्यवहार गरिरहेका छन् । यो पाटो थोरैले मात्र अनुभूति गरिरहेको हुनुपर्छ सायद । उता चीनबाट थपक्क टिपेर तेल, ग्याँस ल्याउने सपना बाँडेका छन् । मनको लड्डु घिउ संग भने झै चीन स्वशासित तिब्बतको सिमानाबाट उर्जा ल्याउने योजना सजिलो छैन किन की नेपाल संग जोडिएका चीन पट्टीको इलाकाहरु अति विकट छन । तेल, ग्याँस वोर्डरमा ल्याएर तयारी अवस्थामा थपक्क राखेका छैन्न । र तत्कालै समाधान सम्भव छैन । र, आन्दोलनकारीहरु स्वयं पीडित छन र अझ पीडा सहन तयार छन तर आफ्नो जायज माग पुरा नभई नाका संचालन गर्नदिन तयार छैन्न ।
आन्दोलनकारीहरुलाई थाह छ यो संविधानमा बेइमान कुरा यसैपटक नहटाए, आवश्यक माग यसैपटक नसमेटे सधैको लागि असम्भव हुनेछ । तराईका नाकाहरु जाम गर्नेहरुलाई नेपाल सरकारले त विभत्स हत्या गरिरहेका छन् नै उता भारतीय सिमासुरक्षाले पनि त्यति नै दुब्र्यवहार गरिरहेका छन् । त्यसैले जीवनमरणको आन्दोलनमा उनीहरु अनवरत होम्मिई रहेका छन् । अनेक गलत आरोप बेहोरिरहेका मधेस केन्द्रीत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा सरकारसमक्ष १५ कार्तिक २०७२ का दिन आफ्ना ११ बुँदे मागहरु छर्लङ्ग राखेपछि नेपाली मिडियाहरुको सुतिखेति नाङ्गियो यद्यपी अहिले मधेशी नेताहरुको नैतिक बद्नामको खेलमा लागेका छन् । उक्त ११ बुंदे मागलाई नेपाल आदिवासि जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्यरत्न तुलाधारले समर्थन गरेका छन् । आन्दोलनको समर्थनमा काठमाडौंमा जुलुस लगायत देशविदेशबाट ऐक्यबद्धता प्राप्त भईरहेका छन् । अहिले भारतले नाकाबन्दि गरयो भनी विभिन्न दुतावासमा विरोधपत्र बुझाउन तल्लिन बौद्धिकहरुले किन आन्दोलनकारीहरुको जायज मागलाई सम्बोधन गर भन्न सक्तैन्न ? आफ्नो अधिकार पनि अन्यको सरहहोस भनी माग गर्ने आन्दोलनकारीलाई छात्ति र टाउकोमा निर्मम गोलिहानी ४९ जनाको हत्या हुदा किन मानवअधिकारकर्मीहरु बोल्न सक्दैनन ?
आन्दोलनको कारण बन्दहड्तालले सबैभन्दा पीडित गरिब जनताहरु बनेका छन । उनीहरुको राहतको लागि आन्दोलनलाई सम्बोधन गर भन्न किन सक्दैन्न ? मुलुकका शासकले युद्ध होइन शान्ति रोजिदिए सायद सबैको कल्याण हुनेथियो की ? अन्तमा, समस्या नाकाजामको होइन, समस्या बेइमान संविधान निर्माण गरेकोमा हो । छिमेकी राष्ट्रको हैसियतले भारतको आफ्नै नीति होलान, सद्भाव होलान तर नाका जामको सवालमा भारतको विरोध गर्नु उल्काउदाउल्कने केटाकेटीपन हो । किन की यो नाकाजाममा भारतको मुख्य भूमिका नै छैन । भारतले धेरै कल्याणका काम गरेका होलान त्यसप्रति आभार ब्यक्त गर्ने हामी नेपालीमा संस्कार छैन । जसरी हुन्छ भारतको विरोध गर्नु नै महान राष्ट्रवादी हुनु हो भन्ने स्कुलिङ कै निरन्तरता हो भारतले नाकबन्दि गरयो भनी अहिले विरोधको खेति गर्नु । त्यसैले शासकका चातुर्य षड्यन्त्रलाई बुझौ र आफ्नो कर्तब्य निर्वाह गर्न कतै नचुकौ ।
biswasdip@ymail.com
५ नोभेम्बर २०१५, आसफोर्ड, केन्ट