एनआरएन एशिया प्यासेफिक मनिला सम्मेलनका सन्देशहरु (विश्वास दीप तिगेला)

अहिले म मेरो हातको एकमुठ्ठि भिजिटिङ् कार्डहरुलाई एकएक गर्दै ठम्याउदै छु । यो कार्ड फलनाको, यो कार्ड उसको, यो कार्ड चाहि मैले नमागि दिएको, यो कार्ड दिदाचाहि उसले निक्कै फूर्ति लगाएको र यो कार्ड चाहि मैले नै अनुरोध गरेर लिएको सबैसबै सम्झना हल्केलामा तलमाथि खेलिरहेका छन् ।

‘संमृद्ध नेपालको लागि नेपाली एकता’ नाराका साथ गैर आवासिय नेपाली संघ, एशिया प्यासिफिक तेस्रो सम्मेलन फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको आज बल्ल २ दिन बित्दैछ । म जस्तै सहभागिहरु केही मनिलाको सन्देश बोकेर आआफ्नो ठाँउमा फर्किसकेका छन् भने केही अझै मनिला तिरै होलान् । गल्फ र युरोप तीरबाट सहभागि साथिहरु अझै जहाजमै उडिरहेका होलान् उनीहरु केही समयपछि आआफ्नो कर्मभूमिमा पुग्नेछन् ।

सम्मेलन समाप्ति संगै नयाँ उर्जा र नयाँ अनुभूतिहरु संगालेर फर्किए पनि म अझै त्यहि धङधङ्ीमा छु अब मेरो कामले छपक्क छोपेपछि मात्र त्यो मनिलाको धङ्धङ्गी हट्नेछ । एशिया प्यासिफिक सम्मेलन भन्ने वित्तिकै संयोजक यामबहादुर गुरुङ त्रयलोक को प्रमुख उपस्थितीमा एक मध्यम होटलको सभाकक्षमा हाम्रो कार्यक्रम सम्पन्न हुनेछ भन्ने विश्वासको साथ म त्यसतर्फ लागेको थिए । ब्रुनाईबाट मनिला उड्नु भन्दा केही समय अगाडि विश्वास जी तपाईले एक सेसन कार्यक्रमको मेडिएटर गरिदिनुहोला भन्ने अनुरोध संयोजक र स्थानीय आयोजकबाट आयो । सम्झे सहयोग चाहिएकैले त यसो भन्नुभयोहोला त्यसैले मैले हुन्छ भन्दिएको थिए । अब त्यो कुन विषयको होला, खस नेपाली वा अंग्रेजी कुन भाषामा संचालन गर्नेहोला भन्ने कौतुहलता छदैथियो ।

फ्लाइटको कारण शुक्रवारको बिहानै म मनिलाको कार्यक्रम स्थल मन्डारिन ओरिएन्टल होटल, माकतीमा पुगे मैले कल्पना गरे जस्तो सामान्य होटन नभई त्यो ५ तारे होटल रहेछ । त्यहाको चलन ब्यवहारले आफैपनि परिवर्तित हुनुपर्ने त्यसैले म पनि भलाद्मी र सम्पतीवाला भई टोपले । आयोजकले बुक गरिदिएको तर पैसा आफै तिर्नुपर्ने गरि कोठा लिए । एकरातको १४० अमेरिकी डलरको हिसाबले दुइतीन रातको पैसा तिर्नुपर्ने कुराले म असमाजस्यमा परे । घुमेरै पैसा सिध्याउछ, कतिधेरै ब्यवहारको काम गर्नसकिएको छैन, घरपरिवारको त्यो कचकच कानमा गुन्जन्छ । बर्षमा एकदुइ पटक मात्र यसरी हिड्नु पर्दा त ठिकै हुन्थ्यो तर मेरो विवशता प्रत्येक महिना जस्तो घुम्नुछ ।

सम्मेलनको उद्घाटन हुने समयमा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जीवा लामिछाने, मुख्य संरक्षक देवमान हिराचन, संस्थापक अध्यक्ष उपेन्द्र महतो, केन्द्रीय महासचिव तेन्जी शेर्पा, केन्द्रीय उपाध्यक्ष हितमान गुरुङ, केन्द्रीय कोषाध्यक्ष भुवन भट्ट, केन्द्रीय सचिव टि. वी. कार्की, यूरोप क्षेत्रका संयोजक कुमार पन्त लगायत दर्जनौ केन्द्रीय पदाधिकारीहरुको उपस्थिती देख्दा म अलमलमा परे । मेरो बुझाई र त्यो वास्तविक धरातल फरक पाँए, एनआरएनको नयाँ नेतृत्वको लागि अक्टुबरको चुनावी हावाले वातावरण तताउन शुरु गरिसकेको हो की भन्ने आभाष भयो । यद्यपी सबै संग भेटघाट हुने अवसर आफैमा महत्वपूर्ण थियो ।

प्रमुख संरक्षक हिराचनबाट पानसमा बत्ति बालेर सम्मेलनको उद्घाटन् भयो । फिलिपिन्समा अध्यायनरत विद्यार्थी र त्यहि हूर्किएका नानीहरुको गीत तथा नृत्य साथै फिलिपिना कलाकारहरुको बेजोड प्रस्तुती, स्टेज सजावट, लाइट्निङ्, साउण्ड सिस्टम, कार्यक्रमको तर्जुमा हेर्दा साच्चै अर्कै संसारमा छु जस्तो लाग्यो । ठूठूला सम्मेलन गर्दा चौरीमा, सामुदायिक भवनमा सामान्य खाजा, खाना बाँडेर सस्तोमा गर्नुपर्छ भन्ने मेरो मानसिकता पूरै धुमिल भयो । सहभागिको लागि बुझाएको दर्ता शुल्क अमेरिकी एकसय डलरले त्यो भब्य होटलको कार्यक्रम अवश्य सम्भव भएन सायद ।

उद्घाटनको महत्वपूर्ण शत्र समापन संगै पहिलो सेसनको मध्यस्थता गर्ने मेरो पालो आयो । वैदेशिक रोजगारका चुनौती र सम्भावना विषयमा बहस गराउने मेरो विषय थियो । अघिल्लो कार्यक्रम निक्कै लामो भइसकेकोले ट्वाइलेट जाने ५ मिनेटको ब्रेक दिए । प्रायः बाहिरिए । कार्यक्रम शुरुगरि हाल्नुहोस संयोजक ज्यूको दबाब आयो म ब्रेकको समय सिद्धिदानसिद्धिदै पुनः माइकबाट बोल्न शुरु गरे । बसिरहेकाहरु नबाहिरिउन, बाहिरकाहरु भित्रिउन भन्ने उद्देश्यले सेसनका अध्यक्षलाई आसन ग्रहण गराए तर वहा ट्वाइलेट जाने लाइनमै हुनुहुन्थ्यो । कार्यक्रम गर्ने स्थलमा धेरैले एकैपटक प्रयोग गर्न मिल्ने ट्वाइलेटको ब्यवस्था हुनुपर्नेरहेछ भन्ने महशुस भयो । सहभागीहरु भित्रिए र बल्ल चौथो पटक आसन ग्रहणको अनुरोध गर्दा चाहि वैदेशिक रोजगार कार्यलदका संयोजक स्टेजमा आउनु भयो ।

फिलिपिन्सका पूर्व लेबर मन्त्री मरियानिटो डि रोकेलाई अतिथिको आसन ग्रहण गराए लगतै फिलिपिन्सको अनुभव, अनुभूतिहरु सेयर गर्न ड्यासमा बोल्न अनुरोध गरे । वहाले प्रिजेन्टेसन गरिरहदा मलाई नेपाल सरकारको वैदेशिक विभाग हेर्ने कुनै आधिकारिक ब्यक्ति भईदिए हुन्थ्यो भन्ने लाग्यो । मन्त्री रोकेले तथ्याङ सहित ठूठूला समस्याहरुलाई कसरी समाधान गरियो, कसरी गर्ने ? आदी विषयमा जानकारी दिनुभयो । बैदेशिक रोजगार सम्बन्धि नेपालले फिलिपिन्सलाई पछ्याईरहेको छ । एशियामा वर्कफोर्स सप्लाई गर्ने मुलुक मध्ये फिलिपिन्स अग्रपंतिमा छ भने त्यसपछि नेपाल पनि रहेको छ । मन्त्री रोकेको प्रिजेन्टेसन लगतै केन्द्रीय कोषाध्यक्ष भुवन भट्टले केही महत्वपूर्ण प्रश्न राख्नु भएपछि मन्त्री रोके पनि प्रसन्न हुनुभयो । त्यसपछि एशिया प्यासिफिक सहसंयोजक, कोरिया, जापानका प्रतिनिधि र युरोप संयोजकलाई पालैपालो बोल्न समय दिए । सहभागीहरुबाट आएका प्रश्नहरुको उत्तर दिन लगाए र अन्तमा सेसनका अध्यक्षलाई मन्तब्य संगै बिर्षजन गर्न आग्रह गर्दै म विदा भए ।

दोस्रो सेसन शुरु भयो । एनआरएन संस्थाको नामबाट ब्यक्तिहरुले ब्यक्तिगत ब्यापार बढाएको भन्ने आरोप आए । अध्यक्ष लामिछानेले संस्था स्थापनाको प्रस्तावना मै सामुहिक लगानी गर्ने भन्ने उल्लेख भएबमोजिम नै सामुहिक रुपबाट एनआरएन इन्भेष्टमेन्ट शुरु भएको स्पष्ट पार्नुभयो । एनआरएन र इन्भेष्टमेन्ट अलगअलग भएको र संघको लगानी इन्भेष्टमेन्टमा नभएकोले भोलि संघलाई कुनैपनि समस्या नहुने स्पष्ट पार्नुभयो । दोहोरो नागरिकताको बारेमा उपाध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो । यस्तैगरि एनआरएनले खुल्ला विश्वविद्यालयको अवधारणा ल्याएको सन्दर्भमा डा. जोसेप पि. काम्पोसले शिक्षा सम्बन्धि महत्वपूर्ण जानकारी दिनुभयो ।

तेस्रो सेसनमा ब्रुनाई, मकाउ, हङकङ, सिङ्गापुर, थाइल्याण्ड, चाइना, जापान, कोरिया लगायतले आआफ्नो देशको प्रगति विवरण प्रस्तुत गर्नुभयो भने चौथो सेसनमा गैर आवासिय नेपाली संघ स्थापना भएको १० औ बर्ष सम्ममा पनि संघ दर्ता नभएको कारण केन्द्रीय पदाधिकारीहरुमा ठूलो दबाब आयो । आगामी छैठौ विश्व सम्मेलन अगावै दर्ता गर्न अल्टिमेटम सम्म भयो ।

संघ दर्ता नभएकै कारणले कतिपय मुलुकमा सार्वजनिक रुपबाट कामगर्न नमिलेको, खुल्ला विश्वविद्यालय दर्ताको लागि वैधानिकतामा समस्या आएको आदी कुराहरु उठे । तातिएका सहभागीहरुलाई संस्थापक अध्यक्ष महतोले स्पष्ट पार्ने कोशिस गर्नुभयो यद्यपी एनआरएनको सरकारी परिभाषा भित्रै भएपनि दर्ता गर्न दबाबहरु आए । नेपाल बाहिर ६ महिना भन्दा बढि बसेकालाई नै एनआरएन मानिन्छ भन्ने संघको परिभाषा विश्व सम्मेलनले मात्र परिवर्तन गर्न सक्दछ महतोले थप प्रष्ट पार्नुभयो । सहभागिहरुले सरकारको २ बर्षे परिभाषालाई परिवर्तन गर्न नसके एनआरएन सदस्यताको प्रकार अन्तगर्त विद्यार्थी र छोटो समयको लागि श्रम गर्न बाहिरिएकाहरुलाई समेट्न सकिने विकल्प दिए । त्यस्तैगरि एशिया प्यासेफिक अन्तर्गतका बर्मा, थाइल्याण्ड र मलेशियाका नेपालीहरुलाई एनआरएन प्रमाणपत्र उपलब्ध गराउनको लागि विशेष कार्यदलको पनि ब्यवस्था गर्नुपर्ने माग गरे । एनआरएन कार्ड सरकारबाट लिनको लागि बाउबाजेको नागरिकता वा राहदानी देखाउनु पर्ने कानुनमा भनिएकोमा दोस्रो विश्वयुद्ध ताका वर्मा, थाइल्याड र मलेशिया आएकाहरु संग उक्त कागजपत्र नभएको तर अझै नेपाली भनी गौरव गर्ने नेपालीहरु रहेको बारेमा गम्भिरतापूर्वक चर्चा चलेको थियो ।

आगामी छैठौं विश्व सम्मेलन १९ – २२ अक्टोबर २०१३, काठमाडौंमा हुने सम्बन्धमा सहभागीहरुले कम खर्चिलो हुनुपर्ने, चुस्त हुनुपर्ने साथै आर्थिक पारदर्शिता हुनुपर्ने माग गरेका थिए । त्यस्तैगरि समितिको कार्यकाल २ बर्षबाट बढाएर ३ बर्ष हुनुपर्ने सम्बन्धमा पनि ब्यापक बहस चलेको थियो । एनआरएनको विभिन्न क्षेत्रमा सम्पन्न सम्मेलनहरु मध्ये सबैभन्दा ब्यवस्थित र महत्वपूर्ण बहस मनिलामा भएको कुरा सहभागीहले बताए ।

सम्मेलनको औपचारिक बिषर्जन लगतै मण्डारिन ओरियन्टलको लविमै सम्पन्न भब्य डिनर पार्टीले अत्यधिक मनोरंजन दियो । सम्मेलनको अघिल्लो दिन सम्पन्न भब्य स्वागत डिनरले पनि सबैलाई न्यानोपन दिएको थियो । विश्वका विभिन्न मुलुकहरुबाट १२५ जनाको सहभागीता रहेको सम्मेलनमा लगभग २८ हजार अमेरिकन डलर खर्च भएको कुरा फिलीपिन्सका एनआरएन अध्यक्ष सुदर्शन खड्काकाले बताउनु भएको छ । उक्त मनिला सम्मेलनको लागि सानोतिनो धेरै चन्दादाताहरुबाट नै त्यो रकम जम्मा भएको हो ।
केन्द्र एनआरएनको नयाँ नेतृत्वको लागि चुनावको मिति नजिकिन्दै जादा एकअर्काको चाहना बुझ्ने बहाना बनेको सम्मेलनमा केहीले अनौपचारिक उम्मेदवारी समेत घोषणा गरे । नेपालका पहिलो एनआरएन लाहूरेहरु हुन भन्नेमा विवाद छैन र यसपटकको सम्मेलनमा पनि ८ जना पूर्व व्रिट्रिस गोर्खाहरुको सहभागिता निक्कै महत्वपूर्ण रह्यो । त्यस्तै अघोषित नेपालीहरु मध्येका सबैभन्दा धनी ब्यक्ति, बिबि एयरका मालिक लगायतका संलग्नताहरु हेर्दा यो सम्मेलन धनीमानीहरुको होलिडे क्लव जस्तो लागेपनि मनिला सम्मेलन एनआरएनको लागि कोशेढुङगा सावित भयो ।

biswasdip@ymail.com
२० मे २०१३
ब्रुनाई

गैरआवासीय नेपाली संघको तेस्रो एशिया प्रशान्त क्षेत्रीय बैठकद्वारा जारी मनिला घोषणापत्र २०१३

गैरआवासीय नेपाली संघ एशिया प्रसान्त क्षेत्रको तेस्रो वैठक १८ मे २०१३ मा फिलिपिन्सको राजधानी मनिलामा ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो । सम्बृद्ध नेपालका लागि एकीकृत नेपाली भन्ने नाराका साथ सम्पन्न यो वैठकमा १८ देशका १ सय २५ प्रतिनिधिहरुको सहभागिता रह्यो ।
घोषणापत्रका बुँदाहरु:
१. बैदेशिक रोजगार तथा शिक्षाको क्षेत्रमा फिलिपिन्स सरकारले गरेको अनुभवलाई नेपालको परिप्रेक्षमा लागू गर्न आबश्यक अध्ययन तथा पहल गर्ने ।
२. अक्टुवर २०१३ मा हुन लागेको संघकोे छैटौं बिश्व सम्मेलन अघि नै संघ दर्ताका लागि नेपाल सरकारसँग बिशेष समन्वय गर्ने ।
३. नेपालमा हुन लागेको आगामी निर्वाचनमा बिदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई मतदाता परिचयपत्र उपलब्ध गराई सहज रुपमा मताधिकार सुनिश्चीत गराउन हार्दिक अनुरोध गर्ने ।
४. बिदेशमा बसोबास गरिआएका नेपाली मूलका बिदेशी नागरिकहरुलाई गैरआवासीय नेपालीसम्बन्धी नियमावलीअनुसारको आबश्यक कागजातहरु जुटाउन असमर्थ भएको अबस्थामा पनि सहजरुपमा एनआरएन आइडी उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गर्ने ।
५. पाँचौं बिश्व सम्मेलनबाट अनुमोदित सामूहिक लगानीको अबधारणालाई मूर्त रुप दिन नेपालमा लगानी बढाउन गैरआवासीय नेपाली संघको संजाललाई परिचालित गर्ने ।
६. एनआरएन एशिया प्रशान्त क्षेत्रीय वैठक सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक समिति तथा राष्ट्रिय समन्वय परिषद् फिलिपिन्सलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

December 18, 2013