त्रिशुलेको अजिंगर र सुनको भूत संग (नियात्रा)

बर्षमा एक पटक हल्ला चल्थ्यो त्रिशुलेको बाटोमा ठूलो अजिंगर निस्किएको छ रे । हामी तेह्रचौध बर्षेहरु बल्लबल्ल दुईचार महिना पछि हिले (वजार) हटिया जान पाउदा खुसिको सिमा हुदैनथ्यो तर त्यो अजिंगरको डरले सताउथ्यो र तल्लो खोपकै लामो बाटो चारपाँच घण्टा लगाएर जान्थ्यौ र फर्किन्थ्यौ । केही दिन पछि त्यो अजिंगरको चर्चा हराउथ्यो । धेरै पछिबाट थाह भयो जब जसोदा काकीको स्याउघारीका स्याउहरु खानेबेलाको हुन्थ्यो तब अजिंगर निस्कन्थ्यो र जब स्याउ पाकेर टिपिसकिन्थ्यो तब त्यो अजिंगर जान्थ्यो वा हराउथ्यो ।

त्यस्तैगरि युकेको चर्चित प्रधानमन्त्री चर्चिल जन्मिएको वेलिनहम दरबारमा सौभाग्यवस एक कार्यक्रममा केही दिनको लागि गएको थिए । भब्य विशाल दरबार तर प्रयोगमा नभएको जस्तो लाग्ने धेरै हल र कोठाहरु बन्द थिए । राती भूतले दुःख दिन्छ तर्साउछ भन्ने सुनेको कारण राती टवाइलेट जान पनि साथीलाई गुहारेर मात्र जान सके । बन्द कोठा तिर हेर्न मात्र पनि डर लाग्थ्यो । युकेको अहिलेको वकिंहम दरवार भन्दा पनि सुन्दर ठाँउ र दरवारमा अमेरिकाबाट ठूठूला साइन्टिस एकदुई महिनाको लागि बुक गरेर बस्न आउछन भन्ने सुन्दा मनमा धेरै जिज्ञासा जाग्थ्यो । यस्तो तर्साउने भग्नावशेष दरबारमा किन र कसरी एक्लै बसेका होलान? साइन्टिस भएकोले सायद भूत हुन्छ भन्ने विश्वास गर्दैन्न होला । विश्वास नगरेपछि तर्साउदैन होला आदिइत्यादी तर गत १२ सेप्टेम्बर २०१९ का दिन एउटा संसारकै निम्ति रोचक समाचार आयो । त्यहि वेलिनहम दरवारमा भएको शुद्ध सुनको टोवाईलेट वेशिन सिंगै चोरी भयो र टोवाईलेटको पानी वाहिर आयो । गजब त ४.८ मिलियन पाउण्ड बराबरको १८ क्यारेट सुनको वेसिन थियो । तब अहिले रहस्य खुल्यो त्यो दरबारमा किन राती भूत जाग्छ भन्ने कुरा । त्यो भूतलाई नै कसैले चोरेर लगिदिए पछि अब चाहि पक्कै राती जाग्दैन सायद । भूतले पनि त्यहि सुनको वेशिन रुङेर बसेको थियो वा सुनको वेसिनले भूत पालेको थियो ? भूतको कुराले कोहि नआउन र सधै सुरक्षित रहोस भन्ने चाहेको थियो सायद ।

संसार अनौठो र रोचक छ । सबैभन्दा लोकप्रिय र मंहगो गरगहना बनाएर शिरमा लगाइने सुनको वेसिनमा बसेर दिसापिशाव गर्नुपर्ने चाहि किन? सुनको वेसिन हरायो भन्ने समाचारको फोटोमा भिन्नभिन्न कोठामा रहेको जनाउने दुई फोटोहरु बाहिरिएका छन् । त्यसको अर्थ अर्को पनि सुनको वेशिन प्रयोगमा छ । उसो त चर्चिलकै पालामा बनेका त्यस्तै भग्नावशेष दरवारहरु पनि युकेमा धेरै छन् । त्यस्तै सुनको टुवाइलेट वेशिन कति होलान अनुमान गर्न सकिन्छ ।

– विश्वास दीप तिगेला