गैर आवासिय महङ्गो भाषण र मानव वस्ति (नियात्रा)


यस पटक गैर आवासिय नेपाली संघको पाचौ विश्व सम्मेलनमा सहभागि हुन जाँउ कि नजाउ, जाँउ कि नजाउ एकदमै दोधारे सोच बन्यो । फ्लाइट खर्च हिसाव गरे एकदमै महङ्गो छ फेरी जन्मदेश नेपालबाट कर्मभूमि ब्रुनाई फर्किएको पनि एक महिना बितेकै थिएन । घरायसी केही काम छ कि भनी खोजि गरे त्यो पनि केही भेटिन त्यसैले के गरौगरौं भए ।

अफिसबाट सुटुक्क समय मिलाएर पानब्राइट ट्राभल्स एजेन्सीमा गए र फ्लाइटको बारेमा बुझे । खोजेकै मितिमा अलि महङ्गो पर्नेभयो र जाँदा थाइल्याण्ड हुदै काठमाण्डो पुग्ने र फर्किन्दा मलेशिया हुदै ब्रुनाई आइपुग्ने नजिककै मितिमा सस्तो दरमा फ्लाइट बुक गरे । मोटामोटि मिति मात्र भन्दा एजेन्सीले खोज्न अल्छि गर्ने भएकोले हो म पक्कै जाने भने र उसले बुक गरयो तर जाने टुङ्गो थिएन ।

मेरो इमेलमा गैर आवासिय नेपाली संघका केन्द्रीय अध्यक्ष देवमान हिराचन, उपाध्यक्ष जिवा लामिछाने, एनआरएन अमेरिका, हङकङ, कतारका अध्यक्ष ज्यूहरुको इमेल थियो । फेसबुकमा वेलायतबाट आङ्कलजंग शेर्पादाई संग बारम्बर कुरा हुन्थ्यो । जसरी भएपनि भाई त्यो गैर आवासिय नेपाली संघको पाचौ विश्व सम्मेलनमा भेट हुनुपर्छ वहाको आग्रह र आदेश दुवै थियो ।

फ्लाइटको १३ सय सिंगापुर डलर, कार्यक्रममा सहभागि हुनको लागि शुल्क अमेरिकी १ सय डलर, एकजना प्रतिनिधिको लागि दशजना सदस्य हुनुपर्ने र प्रतिब्यक्ति ३ अमेरिकी डलरको दरले शुल्क बझाउनु पर्ने, ब्रुनाईको सेरियाबाट एयरपोर्ट पुग्न टाढा भएकोले कार लगेर एयरपोर्टमै ९ दिन पार्क शुल्क मात्र ६० डलर, अन्य खर्च हिसाब गरेपछि कार्यक्रममा नजाने निर्णय गर्छु फेरी मन खेल्छ । अझै अनिर्णित थिए । फोनको घण्टि बज्यो – मिस्टर लिम्बु तपाईको टिकट तयार छ आजैभित्र बुझिलिनु आवाज आयो । तब
टिकट हातमा थमाई दियो र जानैपर्ने बाँध्यता थपियो ।

काठमाडौं पुगेको भोलिपल्ट हायात होटलमा एनआरएन कोषाध्यक्ष भवन भट्ट जीको जापनीज युवती संग विवाहको कार्यक्रम रहेछ त्यसको निम्ता थियो, त्यहा पुगे । धेरै एनआरएन साथिहरु संग भेट भयो । बेहुला बेहुलीलाई आर्शिवाद दिए । अमेरिकालाई कर्मभूमि बनाउनु भएका जसलाई म सधै उच्च सम्मान गर्छु विष्णुमाया परियार (गोरखा) लाई भेट्न पाँउदा धेरै खुसि लाग्यो । वहाले दलित महिलाहरुको बारेमा पुरयाउनु भएको योगदानको बारेमा मलाई जानकारी थियो र वहालाई धन्यवाद ब्यक्त गरे । वहाको पीडा र सघर्षको कथाबाट मलाई सधै उर्जा प्राप्त हुन्छ ।

विश्व सम्मेलनको पहिलो दिन अर्थात १२ अक्टोबर २०११ का दिन नेपाली सेनाको क्लवमा विहान ७ बजे सम्मेलन संयोजक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा, प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट दीप प्रज्वलन गरि उद्घाट्न भयो । जम्मा ४५ मुलुकबाट ९८१ जना गैर आवासिय नेपालीहरुको सहभागिता रहेको सम्मेलनको रौनकता बेग्लै थियो ।

विभिन्न चरणका कार्यक्रमहरु अन्तर्गत गैर आवासिय नेपालीहरुको नेपालमा लगानी बिषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्रि बर्षमान पुनमगरको उपस्थिती थियो । कार्यक्रमको अवधिभर मन्त्रि पुनले कलेजमा शिक्षकले पढाएको बेला नोट टिपेझै लेखि रहेका थिए । कार्यक्रम अवधिमा निदाउने, छटपटाउने, हाइकाढ्ने मन्त्रीहरु देखेको मेरो आँखालाई त्यो दृष्य रोचक र उत्साहबद्र्धक लाग्यो । हुन त उद्घाटन शत्रको एकाङ्गी प्रहशनमा मलाई आँसु लुकाउन हेम्मे परेको थियो । अधिकांश सहभागीहरु रोएका थिए ।
अर्को चरणको कार्यक्रममा पूर्व अर्थमन्त्रीद्धय डा. रामशरण महत, सुरेन्द्र पाण्डे, अर्थविद रामेश्वर खनालको विचारहरु सुन्ने मौका मिल्यो । उक्त आर्मी क्लव प्रयोग गरेबापत आठ घण्टाको ८० हजार र अर्को नजिकको हल ४५ हजार तिर्नुपर्ने स्थान भने एकदमै राम्रो थियो । सम्मेलनको लागि उक्त दुवैस्थान लगभग १७ घण्टा प्रयोग भयो । महङ्गो र सुन्दर ठाँउको उपयोगिता पनि राम्रै भयो ।

उदघाटनको खुल्ला शत्र पछिको कार्यक्रम सोल्टि होटलमा थियो । साहित्यकर्मीको आधारमा सामान्य चिनजान क्यानडाबाट प्रतिनिधि बनेर आउनु भएकी सपना गौतम जीले सोल्टि जाने होइन भनेर भन्नुभयो, मैले जानेजाने सोल्टिनी उत्तर दिए तब दुबै जना बेस्सरी हाँस्यो त्यसदिन देखि साइनो सोल्टिसोल्टिनीको रहयो ।

वेलुकीको खाना सोल्टि होटलमा थियो र वेलुकी ९ बजे एनआरएनका संस्थापक अध्यक्ष तथा रसियामा रहेर अरबपति बनेका उपेन्द्र महतोले अनौपचारिक चुट्किला सुन्न, गफभेला बोलाउनु भयो । हामी कुर्सि मिलाएर वरिपरि बस्यौ । अनौपचारिक तर सामुहिक भेलाले अध्यक्षका प्रत्यासी देवमान हिराचन र जिवा लामिछानेलाई सहमतिको लागि आग्रह, दवाव दिएपनि सहमति हुन सकेन । रातको १ बजे हामी छुट्टियौ र चुनावी रन्को झनै बढयो । जस्तोसुकै तह, पदको चुनावहोस, त्यो चुनाव हामी नेपालीहरुलाई बिशेष चाड, उत्सव नै लाग्ने गर्दछ । यो नै नेपालीहरुको पछिल्लो र महत्वपूर्ण उपलब्धि हो । चुनावी चहलपहलले काठमाडौं पूरै ततायो ।

दोस्रो दिनपनि विभिन्न चरणका कार्यक्रम सम्पन्न भयो । थोरै समय छुट्टाएर नेपाली समाचार नामक पत्रिका साप्ताहिकको रुपमा प्रकाशन गर्नेगरि दर्ता गर्ने काम भयो । तेस्रो दिन गैर आवासिय नेपाली संघ, ब्रुनाईको अध्यक्षको हैसियतले सहभागि सबैलाई सम्बोधन गर्दै प्रगति प्रतिवेदन प्रस्तुत गरे । विभिन्न देशका प्रतिनिधिहरु बोल्नेक्रम चलिरहेको थियो । एक्कासी अध्यक्षका प्रत्यासीहरु दुवै स्टेजमा आएर सहमति भएको घोषणा गरे र सबैको मुहारमा चमक देखियो । बाँकी पदहरुमा भने भोट खस्न शुरु भयो । झण्डै ४ घण्टामा मतदान सम्पन्न भयो ।

साँझपख काठमाडौं घोषणापत्र प्रवक्ता डा. कुमार बस्नेतले पढेर सुनाउनुभयो र केहीवेरमा कार्यक्रमको तालिका बमोजिम परराष्ट्र मन्त्री सम्मेलन समापनको भाषण गर्न आईपुग्नु भयो । निर्वाचन आयोगले जीवा लामिछानेलाई अध्यक्ष चयन हुनुभएको औपचारिक घोषणा नभएको कारण कसैले उपाध्यक्ष, कसैले अध्यक्ष भनीरहे र फ्ल्वरबाट आपत्ति जनाइएका थिए । संख्यात्मक धेरैको उपस्थिती र अनुभवीहरुको संयोजन अभावका कारण धेरै काम र प्रकृयागत त्रुटिलाई – गैर आवासीयहरुको आपसमा भेटघाटै २ बर्षमा मात्र हुन्छन त्यसैले प्रकृया नमिलेका होलान भनेर सहभागीहरु आफै सच्चाउदै बुझ्थे, बस्थे ।

रातको झण्डै १२ बजे निर्वाचन परिणाम घोषणा भयो । संस्थापक महतोले विजयीको नाम मात्र भन्न आग्रह गर्नुभयो तर सहभागीहरुले प्राप्त मत संख्या भन्नुपर्ने आवाज उठेपछि मात्र प्राप्त मत संख्या घोषणा गरिएको थियो ।

संस्थापक महतोले औपचारिक, अनौपचारिक बोल्नु भयो । वहाको आग्रह थियो – साथिहरु तपाईहरु फूल टाइमर भएर एनआरएनमा नलाग्नुहोस । आफ्नो ब्यवसायमा बढि लाग्नुहोस । जो जति ब्यस्त रहन्छ उसैले नै राम्रो काम गरिन्छ । हामी संग भएको ३ वटा कुरा बुद्धि, बल र पैसालाई जति परिचालन र प्रयोग ग¥यो त्यति नै बढ्दछ । वहा चुनावको सम्बन्धमा विल्कुलै विपक्षमा उभिनु भयो । चुनावमा ५१ प्रतिशत ल्याउनेलाई विजयी घोषणा गर्नुपर्छ तर सहमति भयो भने १०० प्रतिशत नै प्राप्त हुन्छ । एनआरएनको एउटै लक्ष्य भएकोले चुनावको आवश्यक छैन । राजनैतिक दलहरु संग विभिन्न लक्ष्यहरु हुने भएकोले उनीहरु चुनावमा जान्छन् वहाले भन्नुभयो ।

सम्मेलनमा उद्घाटन शत्रबाहेक सबै कार्यक्रमलाई चुनावी रन्कोले असर गरेको थियो । एकथरी जो एनआरएनलाई मनभित्रबाटै माया गर्छन उनीहरु खुबै चिन्तित देखिन्थे, अर्को थरि चुनावको मज्जा लिइरहेका थिए । भोट माग्ने, कसलाई दिने भनेर मन चोर्ने, क्षेत्रक्षेत्रको साँठगाँठ खुबै चलेको थियो ।

वास्तवमा विश्वभरको ५७ देशमा फैलिएको यो विशाल एनआरएन आफैमा दर्ता छैन तर यसपटको सम्मेलनले के बुझिन्छ भने यो संस्था आफैमा नेपाल सरकार हो । यस पाचौ विश्व सम्मेलनको मुख्य आयोजक परराष्ट्र मन्त्री, मन्त्रालय, उद्योग बाणिज्य महासंघ र गैर आवासिय नेपाली संघ हुनुले पनि उक्त कुरा स्पष्ट हुन्छ ।

ब्रुनाई फर्कने दिन संयोग भनौ मैले एकजनालाई रगत दिनुपर्ने भयो । म मेरो रगतको एकथोपा पनि कसैलाई दिने छैन भन्ने ब्यक्तिलाई गत बर्ष एउटा रेडक्रसको गोजि पात्रो प्राप्त भएको थियो । १८ बर्षको उमेर पुगेपछि रक्तदान गर्न सकिन्छ र त्यसपछि नियमित प्रत्यक तीनतीन महिनामा गाईले दुध दिए जस्तै रक्तदान गर्न सकिन्छ भन्ने जानकारी भयो । त्यसपछि मलाई पनि रगत दान गर्ने रहर थियो । म बागबजारको ब्लडब्याङ्क रेडक्रस कार्यालयमा पुगे । त्यहा रगत लिन आएकाहरुको भिड, उनीहरुको पीडायुक्त अनुहार र आग्रह देखे ।

मलाई झण्डै भ्रम नै आभाष भयो । म त रगत दान गर्नु ठूलो कुरा सम्झि रहेको थिए तर घरमा अल्छि लाग्दा हिड्दै त्यहा आएर रक्तदान गरेको देखे । ब्लडब्याङ्कले शित्तैमा रगत दिएको देखे, निशुल्क प्राप्त गरेको देखे त्यसपछि यो त केही होइन रहेछ कि क्या हो जस्तो पनि लाग्यो । वास्तवमा यति दयावान मानवहरु र त्यति सुन्दर ब्यवथापन देखेर भुतुक्कै भए ।

मलाई मान्छे स्वार्थी मात्र हुन्छन जस्तो लाग्थ्यो तर त्यहा आपत पर्दा ब्लडग्रुप मिल्नेहरुलाई फोनमा बोलाए पछि तुरुन्त आई नचिनेका ब्यक्ति जो मृत्यूसंग लडिरहेकोलाई आफ्नो रगत दिई सहयोग गरेको देख्दा यो संसारमा राम्रा मान्छेहरु पनि रहेछन भन्ने लाग्यो । म आफैलाई समय भन्दा साह्रै पछाडि भएको महशुस गरे ।

मानिस धर्मको लागि, आत्मा सन्तुष्टिको लागि विभिन्न सेवा गर्छन तर जब म त्यो ब्लडब्याङ्क पुगे तब मात्र मलाई थाह भयो । सबैभन्दा ठूलो धर्म कमाउने ठाँउ त त्यो ब्लडबैंक र त्यस्तै ब्लडब्याङ्कहरु रहेछन् किन कि हाम्रो थोरै रगतको सहयोगले मृत्यूको मुखबाट धेरैलाई फर्काउन सकिन्छ । त्यो भन्दा ठूलो धर्म के हुन सक्छ र ?

अन्तमा, यसपटकको यात्रामा खर्चको हिसाबले साह्रै महङ्गो गैर आवासिय नेपाली भाषणहरु सुनेर आए भने त्यो भन्दा ठूलो कुरा मानव बस्ति जो हरपल अरुलाई धेरै बाँच्न सहयोग गर्छन त्यसको बारे जानकारी पाँए । काठमाडौंमा स्वार्थी मात्र हुन्छन भन्ने भ्रमलाई विर्षिएर दयावान मानव पनि बस्दा रहेछन भनेर बुझ्न पाँए । यसपटकको एनआरएन पाचौ विश्व सम्मेलन २०११ उपयोगी अनूभूत गरे । धन्य समय, धन्य अवसर ।

– सेरिया, ब्रुनाई
२६ अक्टोबर २०११, लक्ष्मीपुजा

फोटो: ७औं विश्वसम्मेलनको फाइल फोटो