भोको दिमाग र अथाह सम्भावना बोकेका भाग्यमानी दुत पुन – विश्वासदीप तिगेला

दुत पुन नाम सुन्दैमा एक भाग्यशाली व्यक्तिको नाम हो भन्ने स्वत मेरो दिमागमा आउँछ । मैले पुनसँग नजिक भएर काम त गरेको छैनँ सिर्फ संस्थागत धेरै कार्यक्रमहरुमा जम्काभेट भने भइरहेकै हुन्छ । तसर्थ मेरो टिप्पणी गहिरो नहुन सक्छ र वहाँको गुणगान नहुन सक्छ । उसो त मेरो लेखनको मर्म र धर्म भनेकै साहित्य लेख्ने र टिप्पणी गर्ने भएकाले चिप्लो र गुलियो पनि नहुन सक्छ । तथापि केही टिप्पणी उठाउने हिम्मत गर्दैछु । उमेरले धेरै कुरा सिकाउँछ, उमेरअनुसारको रुचि र स्वाद बदलिँदै जान्छ भन्ने मान्यता राख्ने गरिन्छ तर पुन उहाँका साथीसँगीहरुभन्दा पृथक पाइन्छ । उन्नति र प्रगतिका निम्ति भोको दिमाग सबैभन्दा उर्वर मानिन्छ र भविष्यमा धेरै उपलब्धिहरु हासिल गर्न सक्दछ भन्ने मान्यता राखिन्छ । हो ठिक त्यस्तै भोका दिमाग बोकेका एक व्यक्तित्व हुनुहुन्छ पुन । औसतमा वहाँका उमेरकाहरु अन्य कुराहरुमा हराइरहेका हुन्छन्, रमाइरहेका हुन्छन् तर पुन हरक्षण ज्ञानविज्ञानको खेतीमा लागिरहेको लोभलाग्दो कार्य भने सबैका लागि अनुकरणीय छ । भनिन्छ जसले जुन चिजको स्वाद पाएको हुन्छ त्यसैमा रमाउने गर्छ । पुन इपिश्टिमोलोजीको दुनियाँमा सैर गरिरहुनभएको हुन्छ जुन सबैभन्दा उत्कृष्ट र सर्वमान्य मानिन्छ । उसो त पुनले एकेडेमिक कलमलाई जति तिखारिरहनुभएको छ त्यति नै कला, साहित्य र समाजसेवालाई समेत अगाडि बढाइरहनुभएको पाइन्छ । पुनको उच्च शिक्षा अध्ययन, खोज र अनुसन्धानले धेरै फड्को मारिसकेको छ भने कला र सिर्जना पनि देश विदेशमा प्रशिद्ध छ ।

पुनको पहिलो कृति सुनदन्ते कवितासङ्ग्रह चर्चित र आलोचित बन्यो । सत्य कुरालाई सिधै साहित्यको रुपमा पस्केर इमान्दारिता दर्शाइएको कृति हो सुनदन्ते । त्यसपछि पनि पुनका धेरै कृति र योगदानहरु रहे तर मेजर पेन्सन खाउली साङ्गीतिक कोसेली, जुन गीत सम्भवतः नेपाली लोकगीतको दुनियाँमा सर्वाधिक रुचाइएको लोकगीत हो । अझ युकेको कथावस्तु अटाएको भएर हो कि युकेमा कुनै बेला एकछत्र यसको प्रभाव रह्यो । यो गीत नबजेको कुनै नेपाली भोजभतेर, समारोह हुन्नथ्यो । र, अहिले पनि उत्तिकै लोकप्रिय छ । उहाँको अर्को कथासङ्ग्रह अर्ली भाइ पनि छ । यो संग्रह पनि अति नै आलोचित, कसैकसैले विवादित पनि भने र धेरैले चाहिँ यथार्थवादी कथाहरुको सग्रह हो भनेर माया गरे । पुनका झण्डै एकदर्जन कृतिहरु छन् सबै कृति मैले प्राप्त नगरेको र यो लेखको उद्देश्य सबै कृतिको समीक्षा गर्नु नभएकाले यहाँ चर्चा गर्न आवश्यक भएन । थोरै कृतिबाट पनि धेरै चर्चा प्राप्त गर्न सफल पुनका सिर्जनाहरुलाई मैले चाहिँ इतिहासको ठूलो ग्यापलाई थोरै भएपनि पुर्ताल गरिदिएको हिसाबबाट बढी महत्वको रुपमा लिएको छु । अब कसले लेख्न सक्छ सुन्दन्तेको कथा अर्थात् हङकङमा गोर्खा सेनाहरुको जवानीको इतिहास ? कसैको हिम्मत छ, कसैसँग त्यो कला र सीप छ ? पक्कै पनि छैन । झण्डै ४ दशक लामो हङकङमा गोर्खालीको इतिहास, तितामिठा पानाहरु सन् १९९७ मा गोर्खालीले हङकङ छाडेपछि अब क्रमशः छोपिँदै गएको छ । हङकङलाई अनुभवको साक्षी बनाउने पुस्ता अब सिद्धिँदै गएका छन् तसर्थ अब अरु कथा आउने सम्भावना पनि रित्तिँदै गएको हो । यस्तो अवस्थामा साहित्यकार पुनले ठूलो आवश्यकतामा सानै भएपनि केही दिनुभएको कुरा मननयोग्य छ । कसैको शक्ति छ अर्ली भाइजस्तो यथार्थपरक विषयमा कथा लेख्ने ? साहित्य समयको दर्पण हो भनिन्छ अब पुनहरुले अनुभूत गरेका समयहरु ओझेलिँदै गएका छन् । स्रष्टा सधैँ राज्यको विरुद्धमा, विकृति र विसङ्गीतको विरुद्धमा हुनुपर्छ भन्ने मान्यता साहित्यकार पुनले प्रमाणित गर्नुभएको छ । उहाँ क्रमभङ्गता तोड्न सक्ने विद्रोही स्रष्टा पनि हुनुहुन्छ ।

समाजमा थोरै महापुरुषहरु जन्मन्छन् । त्यस्तै एक पुरुष पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको स्वास्थ्य उपचार गर्नका निम्ति नेपाली रुपैयाँ ३५ लाख मगर संघ युकेको योगदान कहिल्य बिर्सन सकिन्न । त्यो बखत मगर संघ युकेको नेतृत्व दुत पुन स्वयंले नै गरिराख्नुभएको थियो । उसो त मगर संघ युकेको भवन खरिद पनि उहाँकै पालामा भएको हो भने गोर्खा जिल्लाको बुङकोटस्थित भूकम्पले क्षतिग्रस्त लखन थापा प्राथमिक विद्यालयका लागि झण्डै ५ रोपनी जमिन खरिद गरिदिनुका साथै सोही विद्यालयका लागि ५ लाखको अक्षयकोष स्थापनामा पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुएभएको छ । अर्को उल्लेख गर्नैपर्ने कुरा करोडौँको मगर मास्टर डिग्री तथा विद्यावारिधि अक्षयकोष पनि पुनकै पालामा स्थापना भएको हो । त्यसैले मैले यस लेखको उठानमै लेखेको छुः दुत पुन एक भाग्यशाली नाम हो । जो कसैले यस्तो अवसर पाउँदैन । जोकसैले यस्तो सिर्जनशीलता सोच्न सक्दैन । सोचे र आँटे पनि पूरा गर्न सक्दैन तर यी सबै कुराका एकमुष्ठ उत्तर हुनुहन्छ दुत पुन, जसको संलग्नता र नेतृत्वमा पूरा भयो ।

अब म साहित्यकार पुनलाई पत्रकार तथा लेखकको लेन्सबाट नियाल्न चाहन्छु । युकेमा सबैभन्दा शक्तिशाली संस्थाहरु छन् भने जातीय उत्थान संस्थाहरु छन् तीमध्येको एक हो मगर संघ युके । यस संघको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक र उपलब्धिमुलक तरिकाले सम्हालिसकेपछि पत्रकारितामा लाग्नुभएको हो वा फर्किनुभएको हो । उहाँले पहिला पत्रकारिता गर्नुहुन्थ्यो रे, त्यो मलाई थाहा भएन तर पछिल्लो समय पुनको पत्रकारितामा रहेको सक्रियता भने प्रशंसनीय छ । उहाँकै पालामा युकेको १ नम्बर पत्रिका एभरेष्ट टाइम्स प्रकाशन तथा वितरण भयो, संस्थागत भयो, नाफामा गयोे । हुन त पत्रिकामा धेरैजना हुनुहुन्छ सबैको योगदान उत्तिकै छ तथापि पुनको मुख्य सक्रियता रहेको बखत धेरै राम्रो भयो भन्ने एक पाठकको हैसियतबाट भन्न सक्छु । भनिन्छ समयले नै नेता नेतृत्व जन्माउँछ, त्यसैले पत्रकार पुनलाई समयले पनि अवसर जुराएकै हो भन्ने लाग्छ । अहिले पनि उत्तिकै जुझारु व्यक्तिहरु पत्रिकाको कर्ममा हुनुहन्छ, पुन स्वयं पनि तर कोरोना भाइरस (कोभिड १९) का कारण प्रिन्ट भर्सन बन्द छ । पत्रकार पुन समाचार सङ्कलनका लागि कार्यक्रमको कुनाकुना पुगिरहेको अवस्था कम रोचक छैन । फोनबाटै भएपनि समाचार टिप्ने र लेख्ने काम झनै कति ऊर्जाशील छ । पछिल्लो समय समसामयिक विषयमा लेखहरु पनि लेख्न सुरु गर्नुभएको छ । लेखहरु राम्रा छन् यद्यपि एकेडेमिक लेखहरुको सबै गुण सम्पन्न सामग्री बनाउनका निम्ति प्राज्ञिक वातावरण चाहिन्छ नै त्यो वातावरण पुनलाई भइदिएको भए झन् कस्तो हुन्थ्यो होला ! बेलाबखत पुनकोे सक्रियता र लगनशीलता देखेर लोभ लाग्थ्यो र यसपटक पुनकै बारेमा लेख्न पाउँदा म आफैँलाई भाग्यमानी ठानेको छु । उहाँको कापी र कलम अर्थात् किबोर्ड र माउसप्रतिको मोह देखेर घरीघरी लोभ लाग्छ ।

पुन दाइले जति सिर्जना गर्नुभएको छ ती सबै मगर भाषा र अख्खा लिपीमा भइदिएको भए कस्तो हुन्थ्यो होला ? खडेरीमा पानी परेजस्तो विशाल मगर र मगरात विरासत निर्माण हुने थियो सायद तर, खसजुम्ली भाषा साहित्यमा हुँदा सागरमा एक अञ्जुली पानी मिसाएझैँ अहिले महशुस हुन्छ । जति गर्नुभएको छ हामीले सोचेभन्दा धेरै गर्नुभएको छ । जस्तो गर्नुभएको छ, हामीले सोचेभन्दा धेरै उन्नत गर्नुभएको छ । पुनको समाज सेवाको पाटोका बारेमा थोरै त माथि नै चर्चा गरिसके यद्यपि पुनः युकेको शक्तिशाली जातीय संस्थाहरुको पनि साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेमा पनि संलग्नता जनाउँदै विश्व नेपाली साहित्य महासंघको समेत आजीवन सदस्य रही नेपाली साहित्यमा जारी राख्नुभएको सक्रियता प्रशंसनीय छ । अर्को बिर्सनै नहुने पाटो सिर्जना र समाजसेवाको निमित्त घरको वातावरणको मुख्य भूमिका रहेको हुन्छ यसर्थ दुत दाइको मात्र चर्चा र प्रशंसा गर्नु भनेको जमुना भाउजूलाई अन्याय गर्नु ठहर्ला । त्यसैले भाउजूको योगदानलाई पनि ऐजन ऐजन बुझ्न आवश्यक छ । अन्त्यमा भोको दिमाग भविष्यको अथाह सम्भावना हो । पुन दाइको सिक्ने सिकाउने, खोज, अनुसन्धानका लागि त्यो दिमाग सधैँसधैँ क्रियाशील रहिरहोस् । अरु धेरै साहित्यिक, सांस्कृतिक तथा नैतिक सम्पत्तिहरु समाजलाई प्राप्त हुनसकोस् । कृतिहरु थपिँदै जान सकून् । पत्रकारिताको कलम अझ तिखो बन्दै जाओस् । भोको दिमागलाई उचित बौद्धिक वातावरण प्राप्त होस् । चिम्खोला म्याग्दीले वि. सं. २०१८ मा जसरी एक असल नागरिकको जन्म दियो, पुनले पनि माता, मातृभूमि अनि आफू जन्मेको हुर्केको, गाउँठाँउ, हावापानी र समाजलाई पक्कै बिर्सनुहुनै छैन । समाज र राष्ट्रलाई केही दिन सकूँ भन्ने यस्ता तन र मनलाई भगवानले पनि साथ देऊन् शुभकामना ।