लिम्बुहरुले खम्बुवान-किरात भनि रहेका छन तर राई समुदायले किन लिम्बुवान भन्दैनन?

लिम्बुहरुले सधै खम्बुवान–लिम्बुवान भनि रहन्छ तर राईहरुले किन लिम्बुवान–खम्बुवान भन्दैनन्? लिम्बुहरुले लिम्बुवान किरात भनि रहेको छ तर राई समुदायले किन किरात–लिम्बुवान भन्दैनन? यसको सम्भावित कारणहरुः खम्बुवान शब्द गोर्खा संग पराजयको विरासत बोकेको शब्द भएको र हिजो इतिहासको खम्बुवान भूमि भोली प्रदेशको रुपमा स्थापित भयो भने भूगोलको कारण खम्बुवान आत्मा निर्भर बन्न सक्दैन त्यसको कारण खम्बुवानभूमि दक्षिण, पूर्व, पश्चिमबाट घेरिन्छ, आयस्रोत मुख्यतया सगरमाथा आरोहणको शुल्क र पर्यटनको मात्र रहनेछ । अहिलेको १४ जिल्ला रहेको प्रदेश नं. १ भित्र खम्बु/राईहरुको ठूलो जनसंख्या भएकोले खम्बु समुदाय लिम्बुवानको छुट्टै अस्तित्व अर्थात लिम्बुवान प्रदेश बन्न हुदैन भन्ने विचार राखेको आंकलन गर्न सकिन्छ ।

लिम्बुवान पराजयको विरासत होइन र सम्झौतामा नेपालमा संघीयकृत भएको र केही बर्ष अघि सम्म लिम्बुवान अस्तित्वमा रहेको कारण उनीहरुलाई लिम्बुवान नै प्यारो छ त्यसको कारण लिम्बुवान विरासत । अर्को कुरा अरुणपूर्व लिम्बुवान बनेको खण्डमा आयस्रोतको आधारमा नेपालकै सबैभन्दा धनी प्रदेश बन्न सक्दछ कारण, काँकडभिट्टा, जोगबनी नाका र उब्जाउशिल झापा मोरङ भूमि रहेका छन । उसो त सबै लिम्बु किरात प्रदेशको विपक्षमा छैनन, किरात प्रदेश स्वीकार्ने पनि येथेष्ठ छन ।

खम्बु समुदायले प्रदेश नं. १ को जनसंख्या राईको बढि हुनेभएकोले संख्यात्मक हिसाबले पनि लिम्बुहरुलाई सधै बसमा राख्न सकिन्छ भन्ने मानसिकताले अघि बढेका हुन की भन्ने डरको कारण पनि अधिकांश लिम्बुहरु अरु नाम स्वीकार्न तयार तर किरात मात्र स्वीकार्ने नगर्ने मानसिकतामा देखिन्छन् किन की किरात मात्र स्वीकार गर्दा हिजोको इतिहासको आधारमा छुट्टै लिम्बुवान प्राप्त हुन गाह्रो हुन्छ भन्ने हाँउगुजी हो भन्ने देखिन्छ । हिजो इतिहासमा पनि बेग्लाबेग्लै खम्बुवान, लिम्बुवान र भूगोल पनि प्रष्ट अरुण पूर्व र अरुण पश्चिम, हिजो राज्य संचालन पनि बेग्लाबेग्लै भएको इतिहासको कारण लिम्बुहरु खम्बुवान–लिम्बुवान भन्न रुचाउछन । उसो त राईले मुन्दुम भन्दछ र लिम्बुले मुन्धुम भन्दछ यी दुई जातिको मुन्दुम र मुन्धुममा राई र लिम्बु नजिक भएको कुरा बताएको भेटिन्दैन । कहिकतै खुवालुङको मिथसंग जोडिए पनि त्यो पर्याप्त छैन ।

राई र लिम्बु दुबै समुदायमा केही निश्चित उग्र अभियन्ताहरु पनि छन । कोही राई लिम्बुहरु किरात होइनन् भन्ने र केही लिम्बुहरु हामी किरात होइनौ भन्ने पनि छन र एकआपसमा घृणा र दृेष फैलाईरहेका छन । राई र लिम्बु बीचमा समस्या ल्याउनमा छिमेकी सिक्किममा रहेको किरात लिपी, किरात धर्मको अपनत्व लिने अस्वस्थ प्रतिस्पर्धा पनि अर्को कारण हो, सिक्किममा सरकारी सुविधा पाउन दुवैको साझा चिजलाई पनि आआफ्नो भनेर तछाडमछाड गरेर दाबी गर्नुपर्ने बाँध्यता थियो र अझै छ जुन कुरा नेपालमा पनि प्रवेश गरयो ।

त्यसैले किरात दुबै जाति हुन भने किन प्रदेशको नाम चाहि किरात भन्नेमा सहमति छैन त भन्ने सवालमा इतिहासको विरासत, आआफ्नो इच्छाशक्ति र भोलीको सम्भावित अवस्थालाई बुझे पछि यो कुरा बुझ्न सहज हुने देखिन्छ । अहिले लिम्बुहरु जसरी नाममा लिम्बुवान झुण्डाउन चाहान्छ त्यसको कारण हो कालान्तरमा लिम्बुवान बेग्लै प्रदेश वा हिजो गोर्खा संगको सम्झौता गरेको तहमा लगभग पुग्न चाहान्छ । त्यो सपना देख्ने सुविधा लिम्बुहरुलाई छ तर खम्बुवान चाहि युद्धमा पराजय भएको र गोर्खा संग त्यस्तो सम्झौता नभएकोले छुट्टै खम्बुवानको सपनामा नरमाएको आँशका गर्न सकिन्छ । अहिले लिम्बुहरु प्रदेशको नामको अगाडी, पछाडी वा बीचमा या कतै लिम्बुवान थपिदिए चित्त बुझाउने देखिन्छ । जस्तैः लिम्बुवान–किरात, किरात–लिम्बुवान, खम्बुवान–लिम्बुवान वा कोशी–किरात–लिम्बुवान वा कोशी लिम्बुवान मात्र भएपनि स्वीकार्ने मानसिकतामा रहेको देखिन्छ किन की यो लिम्बुहरुको अस्थायी अर्थात लिम्बुवान प्राप्तिको प्रारम्भिक चरणको रुपमा लिएको देखिन्छ । बेलाबखत लिम्बुवान दावी गर्नेहरु काठमाडौं भन्दा किरात–खम्बुवानले भोली बढि दबाउने हो की भनेर सतर्क हुने गरेको देखिन्छ, कारण जनसंख्या र भूगोल प्रतिकुलताले भोली खम्बुवान भूमि दाबी नगर्ने सम्भावना भएकोले । लिम्बुहरुले लिम्बुवान दाबी गर्दा खम्बुहरुले खम्बुवान दाबी गरुन भन्ने चाहान्छन ।

केही लिम्बुहरु चाहि सत्यहाँङ विधिमा धर्मकर्म गर्नेहरुले किरात धर्म भनेको कारण सत्यहाँङको विरोध गर्दा किरातको विरोध गरिरहेका छन । लारुम्बा केन्द्रीत गुरु आत्मानन्द लिङदेनबाट निर्देशित किरात धर्मको कारण खम्बुहरुले प्रदेशको नाम किरात मागेका होइनन, परम्परागत तिनचुला पुज्ने, प्रकृति पुजनको चलनलाई किरात संस्कार मान्ने गरेको कारण जनगणनामा किरात धर्म लेखाए । तर, प्रदेशको नाम चाहि सो धर्मको आधारमा दाबी गरिएको नभएर प्राचीन किरात सभ्यता थियो र त्यसैको आधारमा किरात प्रदेश नामाकरण हुनुपर्दछ भनिएको हो ।

सामान्यतया किरात भित्र राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायू, धिमाल, थामी लगायत पर्दछन् । किरात शब्द कतै मंगोल शब्दको पर्यायीवाचीको रुपमा लिने चलन छ, मगर, गुरुङलाई पनि किरात भनिएको इतिहास पाइन्छ भने पाटन च्यासलका ब्यन्जनकारहरु पनि किरात भएको इतिहास पाइन्छ ।

अहिले राईहरु लिम्बुलाई किरात नामाकरण भित्र थम्याईराख्न चाहान्छ अर्थात लिम्बुहरुले लिम्बुवान नभनोस नखोजोस भन्ने चाहेको देखिन्छ भने लिम्बु चाहि अहिले नभएपनि कालन्तरमा लिम्बुवान आफ्नै अस्तित्वमा रहनुपर्दछ भनेर तत्कालको आन्दोलनमा मात्र सगै रहिरहेको देखिन्छ कारण खम्बुवान भूगोलको कठिनता, पराजित विरासत र लिम्बुवानको जिउदो इतिहास ।

अहिले जसरी लिम्बुहरुले लिम्बुवान–किरात भनि रहेको छ राईहरुले पनि किरात–लिम्बुवान अर्थात खम्बुवान किरात भनिदियोस भन्ने लिम्बुहरुको चाहाना छ, खम्बुहरुले तत्काललाई कतै न कतै लिम्वुवान मात्र भनीदिएको खण्डमा प्रदेश नं. १ को पूनः नामाकरणको आन्दोलन ठूलो उर्जाको साथ उठेर सफल हुने देखिन्छ तर खम्बु÷राईहरुले लिम्वुवानको विशिष्टतालाई स्वीकार नगर्ने हो भने आन्दोलन अरुणपूर्व मात्र सिमित हुन सक्दछ तर आन्दोलन चलिरहन्छ । लिम्वुवानीहरु खाली लिम्बुवान लिम्बुवान मात्र रटान गरिरहेकाले लिम्बुहरु पनि अलि माथि उठेर परपर हेर्नुपर्ने देखिन्छ नत्र सफल हुन सक्दैनन । अहिले उद्धारता पूर्व एकअर्काको अस्तित्व र विशिष्टतालाई स्वीकार गरेमा सधै सगसंगै लामो समय सम्म जान सक्दछौ अन्यथा भाई फूटे गवार लुटे हुनेछ ।

लिम्बुहरु यति आफ्नो समुदाय केन्द्रीत भए की उनीहरु भन्छन हामीले कुरा गर्ने भनेको लिम्बुवानको हो खम्बुहरुले खम्वुवान अर्थात किरात आफ्नो कुरा आफै गरुन, आफै लडुन हामी छुदैनौ र हामीलाई पनि नछोवस यो विचार लिम्बुहरुको सबैभन्दा ठूलो गल्ति हो । छिमेकी सबल, सक्षम र समृद्ध हुने भौगोलिक ठाँउ लिम्बुवानले ओगटछ भने राईहरु लिम्बुवानको पक्षमा त के कुरा अरु सबै त्यागेर पनि आफू समस्यामा पर्न चाहान्दैन त्यसैले लिम्बुवान प्राप्तिको मुख्य आधार खम्वुवानको सिमानामा बैज्ञानिकीकरण हो । सप्तकोशी संगै बग्ने धरान सहितको भूभाग दक्षिण तर्फ रहेको भारत सिमानामा जोड्ने गरि खम्बुवान प्रदेशको खाका (माथि नक्सामा देखाईएको) तयार गर्ने र भविश्यमा दुवै प्रदेशले ईच्छाएको खण्डमा राजधानी धरानलाई मान्न सकिने भन्ने सहमति भयो भने खम्बुहरु लिम्बुवान प्रदेशको सवालमा खुल्ला हुनेछन तसर्थ ख्याल गर्नुपर्ने कुरा लिम्वुवान प्राप्तिको निमित्त जति गृहकार्य गरिरहेका छन त्यो भन्दा बढि छिमेकी खम्बुवानको बारेमा सोच्न सकेको खण्डमा मात्र लिम्बुवान प्राप्ति सम्भव छ । लिम्बुवानवादीले खम्बुवानको भौगोलिक कठिनाईलाई बुझ्नु पर्दछ र हामी लिम्बुवान मात्र सोच्दछौ, खम्बुवान खम्बुहरु आफैले सोचुन भनेर उम्कन खोज्नु, निकास होइन र उपलब्धि पनि प्राप्ति हुन सक्दैन, ज्यादै कठिन हुन्छ ।

अन्तमा, अहिले कोशी नामाङ्करणलाई खारेज गरि किरात, लिम्बुवान–किरात, लिम्बुवान–किरात–कोशी अर्थात खम्बुवान–लिम्बुवान नामाकरण गराउनको निमित्त उठेको आन्दोलन सफल बनाउनुछ भने खम्बु समुदायले पनि लिम्बुवान भन्न आवश्यक छ, लिम्बुवानहरुले त खम्बुवान अर्थात किरात भनेकै छन । लिम्बुवान–खम्बुवान दुबै सिद्धिने, कालान्तरमा अस्तित्वहीन र विलाउदै जाने हो भने कोशी प्रदेशमा चुपचाप बस्ने हो, होइन आफ्नो विरासत चाहिन्छ भन्ने हो भने राईहरुले किरात–लिम्बुवान सम्म भनेर आन्दोलनमा होमिनु अनिवार्य देखिन्छ र भोली किरात मात्र रहने भयो भने पनि लिम्बुहरुले तत्काललाई स्वीकार गर्ने हिसाबबाट अघि बढ्नु पर्दछ तब मात्र आन्दोलन सफल हुनेछ । लिम्बुले आफ्नो संस्था किरात याक्थुङ चुम्लुङ लेखेको छ, किरात भनेर संस्थाको नाममै स्वीकार गरेको छ त्यसैले किरात प्रदेश नामाकरणमा अर्थात किरात शब्दमा नै सहमत हुनुपर्छ भन्नु जायज होइन इतिहास, भूगोल, भविश्यको सम्भाब्यता आदि अनेक आयामहरु छन् ख्याल गर्न जरुरी हुन्छ । प्रदेश नं. १ लाई कोशी नामाकरण गर्ने कोशीवालाको उपस्थिती र अस्तित्वलाई पनि स्वीकार्न पर्ने हुन्छ त्यो बेला तत्काल सम्झौतामा किरात–कोशी अथवा कोशी–किरात पनि स्वीकार्नुपर्ने मानसिकता लिई अघि बढ्नु पर्दछ, हरेक समस्याको समाधान हुने गर्दछ त्यसैले समस्याको चाङ मात्र नबढाऔ सबै संचेत बनौ र जागौ ।

– ११ अप्रिल २०२३