महागुरु फाल्गुनन्दको दिब्यउपदेश: दशैं बहिष्कार एवं परित्यागको प्रस्थान विन्दु – विश्वास दीप तिगेला

एउटै काम निरन्तर गरिरहेमा त्यो बानी बन्दछ, त्यो बानी एकै प्रकारले जारी रहेमा ब्यहोरा बन्दछ, त्यो ब्यहोरा लामो समय रहेमा संस्कार बन्दछ, त्यो संस्कार निरन्तर रहेमा ब्यवहार बन्दछ, त्यो ब्यवहार निरन्तर रहेमा संस्कृति बन्दछ र तिनै संस्कृतिले धर्म निर्माण गर्दछ अर्थात धर्मले बानी, ब्यहोरा, संस्कार, ब्यवहार र संस्कृतिलाई नियन्त्रण र निर्देशन गर्दछ । तसर्थ संस्कृतिले सिंगो ब्यक्ति र समाजमा महत्वपूर्ण प्रभाव पार्दछ । यहा चर्चा गर्न खोजिएको विषय के हो भने सप्रदाय वा समाजमा संस्कृति र राजनीति मध्ये कुनले बढि भूमिका खेलिरहेको हुन्छ अर्थात प्रभाव राख्दछ भन्ने हो, हुन त संस्कृति र राजनीति आफै पनि एकअर्कामा परिपुरक नै हुन्छन ।

एक समाजशास्त्री हेराल्ड लासवेलका अनुसारः राजनीति भनेको कसले के पाउछ, कति पाउछ, कहिले र कसरी पाउछ भन्ने नै राजनीति हो । तर राजनीतिको धरातल अर्थात आधार चाहि धर्म, भाषा, क्षेत्र, समान अनुभूति हुने राष्ट्रियता आदि हुन । कुनै समाजलाई कसरी राखिएको छ भन्ने कुरा त्यहाको संस्कृति र राज्य राजनीतिमा निर्भर हुने गर्दछ । त्यसैले संस्कृतिको सवाल ज्यादै महत्वपूर्ण छ । दशैं एउटा हिन्दु धर्मालम्बिहरुको एक संस्कृति हो भने यो दशैं संस्कृतिलाई गैरहिन्दु अर्थात आदिवासी जनजातिहरुमा चाहि जर्बरजस्त लादिएको संस्कृति हो । जर्बरजस्त लाद्नेक्रममा दशैं मान्न अस्वीकार गर्ने धनकुटाका राम्लिहाँङ आठपहरिया, रिदामा आठपहरियालाई सन् १८६७ मा झुण्डाएर मारे भने दशैं मान्न इन्कार गर्ने ताप्लेजुङका बाजाहाँङ लिम्बुलाई सन् १८४२? मा झुण्डाएर मारेको इतिहास पाइन्छ । यि तिनैजना सांस्कृतिक शहिदहरु हुन । यसले प्रष्ट बनाउछ की दर्शै आदिवासी जनजातिहरुको होइन तर राज्यसत्ता खोसेर सत्ता र शक्तिमा बसेका शासकहरु आफै शक्तिशाली छदैथिए तब किन दशैं संस्कृति जर्बरजस्त लाद्न चाहेका थिए होलान? मनोविज्ञानको दृष्टिबाट आदिवासीहरुलाई औपनिवेशिक मानसिकताको बनाउन सबैभन्दा ठूलो हतियार संस्कृति मात्र हुनसक्छ भन्ने बुझेर होला की? आज पनि किन यी कान्छो शासक जोड्बल गरेर दर्शैको प्रभाव आदिवासीहरुमा थोपार्न चाहान्छ यसमा पनि उहि मनोविज्ञान हो की?

त्यसो भए औपनिवेशिक मानसिकताबाट मुक्त हुन, संस्कार संस्कृतिकै कारण विकास भएको दास मनोविज्ञानलाई तोड्न चाहि किन अध्ययन अनुसन्धान नगर्ने? के हाम्रा अग्रजहरुले यस विषयमा अध्ययन नै गरेनन? हो पक्कै पनि गरेका थिए र ति पहलहरु समेत केही पाइन्छन । राम्लिहाँङ, रिदामा र बाजाहाँङ लगायतले दशैं संस्कृति अस्वीकार गर्नु आफैमा गर्वगर्न लायक चेतना र योगदान हो भने महागुरु फाल्गुनन्दले वि.स. १९८८ बैशाक २५ गते दश लिम्बुवान सत्र थुमकालाई बोलाएर ७ बुंदे सत्यधर्म मुचुल्का गराएका थिए । उनको मुचुल्काको भाव र धर्मोउपदेशमाः दशैंको बखत दुःख बार्नु, नुन नखानु, घर बाहिर खोला, डाँडा काटेर टाढा नजानु भन्नु भएको थियो । यो एक हिसाबले दशैं संस्कृतिलाई इन्कार गर्नु, प्रतिकार गर्नु र यो संस्कृतिले हाम्रो भलो गर्दैन भन्ने संन्देश हो ।

समाज सुधारकको रुपमा चिरपरिचित महागुरु फाल्गुनन्दको जन्म प्रदेश न १, माङसेबुङ गाँउ पालिका २ इभाङ चुक्चिनाम्बामा वि.स. १९४२ कार्तिक २५ गते भएको थियो र निधन वि.स. २००५ चैत्र २२ गते भएको थियो । उनलाई दैवी शक्ति भएको गुरुको रुपमा मानिन्थ्यो, दशैं संस्कृतिबाट समाजलाई मुक्त गराउन, मदमंस मद्यपान तथा सामाजिक विकृति र बिसंगतिबाट मुक्त गराउन महत्वपूर्ण योगदान गरेकै कारण उनलाई समाज सुधारकको मान्यता दिई वि.स. २०५० मा नेरु १५ को टिकट प्रकाशन गरि नेपाल सरकारद्धारा सम्मान गरियो भने वि.स. २०६५ मंसिर १६ गते राष्ट्रिय विभूती घोषणा गरियो र फाल्गुनन्द जन्मजयन्तिको दिन किरात धर्मालम्बिलाई विदा दिने वि.स. २०७२ मा सरकारले निर्णय गरेको थियो । प्रत्यक बर्षको कार्तिक २५ गतेलाई महागुरु फाल्गुनन्द जन्मजयन्ति र बैशाख २४ गतेलाई समाज सुधार दिवसको रुपमा मनाईन्छ किन की वि. स. १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवी बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधार का लागि १० बुँदा जारी गरेका थिए । महागुरु फाल्गुनन्द भन्ने वित्तिकै उनको एक उपदेश मननयोग्य छः भाषा हराए लिपी हराउछ, लिपी हराए संस्कार संस्कृति हराउछ र संस्कार संस्कृति हराए धर्म हराउछ र धर्म हराए आफै हराउछौ । यो भनाई आफै प्रष्ट छ र यसले पनि संस्कृतिलाई प्राथमिकता दिएको देखिन्छ नकी राजनीति ।

नेपाली राजनीतिमा दुरदृष्टि राख्ने स्व. गोरे बहादुर खपाङी मगर, स्व. काजीमान कन्दङवा, स्व. डा. गोपाल गुरुङ, खगेन्द्रजंग गुरुङ, एमएस थापामगर, सुरेस आलेमगर, लोकेन्द्र तिगेला लगायतले बहूदलको शुरुवात संगै वि.स. २०४५/४६ ताका दशैं बहिष्कारको अभियान चलाए जसको प्रभावले धेरैको चेत खुल्यो आआफ्नो मौलिक चाडपर्वमा रमाउन थाले यद्यपी दशैंको विकल्प भने पर्याप्त हुन सकेन ।

गैर हिन्दु आदिवासी जनजाति जो दशैं मान्दछ उ पराधिन मानसिकताको बन्दछ, हिन्दु हितको कर्ममा सामेल बन्दछ र आफूलाई आज्ञापालक मात्र बनाउदछ भन्ने अहिलेको सामाजिक मान्यतालाई निरन्तरता दिने की पूर्नविचार गर्ने भन्ने बहस अहिले जारी छ । संस्कार, संस्कृति र परम्पराले दैनिक जीबन र मनोविज्ञान निर्माण गर्दछ तसर्थ हिन्दु दशैं संस्कृति नत्यागुञ्जेल आज्ञापालक, दासी मनोविज्ञानमा परिवर्तन हुदैन भन्ने ठम्याईको कारण अगुवा विद्धान नेताहरुले दशैं बहिष्कार र परित्याग अभियान शसक्त अगाडी लगेका थिए÷लगिरहेका छन र त्यसको सकारात्मक प्रभाव समाजमा हुदाहुदै पनि पछिल्लो समय दशैं बहिष्कार तथा परित्यागको क्रम घटेको आभाष हुन्छ वा परित्यागको स्वरुप बदलिएको छ । त्यति मात्र होइन दशैं बहिष्कार र परित्यागको संवाहक जातिय संस्था र राजनैतिक पार्टीका नेतृत्वहरुले आफ्नो मुद्धालाई विर्षिएको, अगाडी लैजानुपर्ने मुद्धा नै ठम्याउन नसकेको, संस्थाको नेतृत्वकर्ता बन्ने तर दायित्व नै थाह नपाउने नियतिको कारण आदिवासी जनजातिहरुको अवस्था दिनानुदिन खराब बन्दै गएको तथ्याङ्कले देखाउछ ।

दशैं बहिष्कार तथा परित्याग गर्नेहरुमा पनि अन्यौलता र निरासा छ, कारण दशैं बहिष्कार तथा परित्याग भयो तर दशैंको विकल्प भएन अर्थात दशैं जस्तै संस्कृतिको विकास नगरेको कारण दशैं चाड जस्तै संस्कृतिको विकास गर्न सम्भव छ की छैन अर्थात विकल्प के हुन सक्दछ ? र, कसरी दशैं बहिष्कार तथा परित्याग अझ शसक्त बनाउन सकिन्छ भन्ने विषयमा अग्रणी जातिय संस्था तथा आदिवासी जनजाति महासंघ, अग्रज सामाजिक अभियन्ता तथा बुद्धिजीबीहरुले बहस तथा अन्तरक्रिया किन येथेष्ठ नगरेका होलान भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन ।

एउटा यक्ष प्रश्न के भनेः आदिवासी जनजाति प्रतिदिन मासिन्दै जानु र कमजोर बन्दै जानुमा लादिएको संस्कृति र राजनीति दुवै कारक हुन तर यी दुई मध्ये कुन चाहि मुख्य कारक हुन? (क) संस्कृतिः रात दिन जाँडरक्सी खाने र हिन्दुको दशै, तीज, किश्चियनका क्रिसमस लगायत चाडपर्व मनाउने अरुको राम्रो देख्ने, अरुलाई माथि देख्ने र दास मनोविज्ञान निर्माण गर्ने । (ख) राजनीतिः दशैं र तीज मनाउन सरकारले छुट्टि दिने/भोट किन्ने/संसदमा प्रतिनिधित्व नदिने, राज्यको अवसर, स्रोतसाधनमा अवसर नदिई सिमान्तकृत बनाएर राख्ने रणनीति ।

आदिवासी जनजाति समुदायको समाज, लादिएको संस्कृतिले बढि बिग्रिएको हो की राजनीतिले? यदि लादिएको संस्कृतिले हो भने हाम्रो समाज सुधार गर्न किन गैर हिन्दुहरु (आदिवासी जनजाति लगायत) ले बहिष्कार र परित्यागको अभियानलाई अझ शसक्त रुपमा नलैजाने?

दशैंको विकल्पमा आजै आफन्त, नातागोता, छोरीचेली, कुलकुटुम्बलाई मंसिरपूर्णिमा (चासोक तङनाम, साकेला, सान्केवा) मा आउनुहोस भनेर निम्तो दिने, लोसार, ल्होसार र लोछार अर्थात माघे संक्रान्तिमा भेटघाट गरौ भनी सल्लाह किन नगर्ने, माघे संक्रान्तिमा धेरैभन्दाधेरै आदिवासी र गैर आदिवासीको चाड पर्ने गर्दछ र माघे संक्रान्तिलाई नेपालकै राष्ट्रिय चाड घोषणा गर्ने हो भने सबैभन्दा उतम हुनसक्ने देखिन्छ । माघे संक्रान्तिमा थारु जातिको माघी, मगर जातिको मेख्या संक्राटी, लिम्बु जातिको कक्फेक्वा तङनाम, यलम्बर संवतको नयाँबर्ष, मगर जातिको नयाँ बर्ष, नेवार जातिको ध्युचाकु सल्हु, छन्त्याल जातिको मिल्हलाडे सोङती, हिन्दुको संक्रान्ति आदि पर्दछन् ।

दशै आयातित र हिन्दुहरुको मात्र भएकोले दशैमा हिन्दुहरुलाई मात्र छुट्टि दिने र माघमा सबै नेपालीलाई विदा दिनु सबैभन्दा उपयुक्त देखिन्छ । यो लेखको आसय हिन्दुहरुको चाड दशैं भब्यता पूर्वक हिन्दु समुदायले मनाउँनु पर्दछ र उनीहरुलाई शुभ कामना दिने हो तर गैर हिन्दुहरुले चाहि पूर्नविचार गर्न आवश्यक छ की भन्ने प्रश्न हो । आर्य मात्र हिन्दु हुन्छन भन्ने पनि छैन, गैर आर्य पनि हिन्दु हुन्छन उनीहरुले पनि भब्य मनाउँन ।

राजनीतिले भन्दा संस्कृतिले जनजाति आदिवासीहरुलाई पछाडी धकेली रहेको सन्दर्भमा मुक्ति पाउन पराधीन मानसिकताबाट मुक्त हुन र धेरै चाडपर्व मनाउदा आर्थिक रिणमा डुब्नु भन्दा सबैले आ–आफ्नै चाडपर्वमा रमाएर आत्मा गौरवको विकास गर्नु अहिलेको आवश्यकता हो । जनजातिहरु दर्शै रिण गरिगरि मनाउछन र त्यति नै जोडबल र खर्च गरि उधौली, उभौली, लोसार आदि मनाउछन समग्रमा आदिवासी जनजातिहरु धेरै चाड मनाउछन र धेरै चाडपर्व मनाएकै कारण आर्थिक रुपमा पनि नाजुक बनेको देखिन्छन् भने जो असली हिन्दु आर्यहरु दशैं र तिहार धुमधाम मनाउछन तर अन्य चाडहरु धुमधाम मनाउदैनन र गैरहिन्दुको चाड पनि मनाउदैनन तसर्थ उनीहरुमा आर्थिक भार हुदैन । हिन्दु आर्य समुदायले अरुको चाड नमनाउने तर गैरहिन्दु जनजातिले चाहि हिन्दुको चाड मनाई दिनुपर्ने के त्यस्तो बाँध्यता हो?

दशैंको मुख्य अर्थ र शन्देशः बर्ष दिनको अन्तरालमा आफन्त बीच भेटघाट गर्ने र बृद्धा आमाबुबा, बाजेबजै र जेठो नाताबाट आर्शिवाद थाप्ने । यी दुई कुरा दशैं बाहेकको दिनमा पनि गर्न सकिन्छ । मंसिर पूर्णेको दिन लगायतमा पनि भेटघाट गर्न र आर्शिवाद लिन सकिन्छ । टिका चामलको मात्र नभई अन्यको पनि हुनसक्दछ । आर्शिवाद उहि हो, टिका लगाउने चलन उहि हो । अब सरकारले दिने बिदाको सवाल, हामीले संस्कार संस्कृतिको विकास गरयौ भने सरकारले छुट्टि दिन कर लाग्दछ र अहिले स्थानीय सरकारले पनि छुट्टि दिन सक्दछ । तिथि मिति र शुभ साइतको कुरा गर्ने हो भने धेरै अघि दशै चाड चैतमा मनाइन्थ्यो जसलाई असोज, कार्तिक ताका सार्दा पनि शुभ साइतै भईरहेको छ । र, साइत ग्रहको गतिको आधारमा रहेको ७ दिन भित्रै पाउन सकिन्छ ।

त्यसैले दशैं जर्बरजस्त लादिएको संस्कृति हो, दर्शैको सट्टामा आआफ्नो मौलिक चाडपर्वले मात्र दशैंको विकल्प हुन सक्दैन तसर्थ टिका र आर्शिवादको संस्कृति भएको चाडपर्वको विकास गर्नु अनिवार्य छ अर्थात मौलिक संस्कृतिमा थप र सुधार गरि टिका र आर्शिवादको पाटो थप्न सके दशैंको तिर्सना र प्रभाव रुपान्तर अर्थात हटाउन सकिन्छ । भनिन्छ संस्कार संस्कृति प्रवद्र्धन गर्ने भन्दा संस्कार संस्कृतिको विकास गर्नुपर्दछ, हरसमय समयअनुकुल र स्थानअनुकुल विकास र सुधार भईरहेको हुने गर्दछ । यदि हामीले दशैंको विकल्पमा आफ्नो संस्कार संस्कृतिमा सुधार र विकास गर्न सकेनौ भने पराधीन मानसिकतामा बाँची रहन्छौ र आफ्नो भावीपुस्तालाई समेत दासी मानसिकताको निर्माण गर्नेछौ । त्यस कारण तपाई पुस्ता दशैंको धङधङ्गीबाट मुक्त हुन सक्नुभएन, तपाई आफै मुक्त हुन सक्नु भएन भने पनि आफ्ना बालबच्चालाई चाहि दशैंको प्रभाव दिनुहुदैन ।

अर्को ख्याल गर्नुपर्ने कुराः दशैं नजिकिन्दै जाँदा शुभ कामना साटासाट गर्नेक्रममा गलत शुभ कामना दिने गरेको अझै भेटिन्छ । दशैं हिन्दु संस्कृति अबलम्बन गर्ने हिन्दुहरुको महान चाड हो तर तमाम नेपालीहरुको महान चाड होइन, किन की धेरै नेपालीहरु छन जो दशैं मनाउदैनन तसर्थ नेपालीहरुको महान चाड भन्न मिल्दैन र नेपालीहरुको महान चाड भनेर गल्ति नगरौ । नेपाली हिन्दुहरुको महान चाड दर्शै भन्न सकिन्छ, दशैंको शुभ कामना मात्र भने सालिन र सभ्य हुन्छ, अफसोच आदिवासी जनजातिहरुले नै नेपालीहरुको महान चाड भनी लेखेर गल्ति गरिरहेका हुन्छन । बर्ष दिनमा एक पटक आउने चाड, नातागोता आफन्त संगको भेटघाट भनेर दोधारमा नबसौ । सबै चाडपर्व बर्षमा एकचोटी आउछ, दर्शैमा भेटिने आफन्तलाई चासोक तङनाम, साकेला, लोसार, माघे संक्रान्ति वा कुनै पनि चाडमा भेटन सकिन्छ, आर्शिवाद लिन सकिन्छ ।

दर्शै परित्यागलाई अझ प्रभावकारी गराउनको निमित्त निम्न कार्यहरु गर्न सकिन्छः १. स्वयं आफूले परित्याग गर्न अप्ठयाराहरु भए पनि आफ्ना बालबालिकालाई चाहि दशैंको प्रभाव पर्न नदिने, बालबच्चालाई दशैं विशेष चाड भनी महशुस नगराउने, टिका नलगाई दिने, कम्तिमा एकदुई पुस्तालाई मात्र यसरी प्रभाव पर्न नदिदा दास मनोविज्ञान समाप्त भएर जानेछ । २. यदि टिका लगाई दिनैपर्ने बाँध्यता भएमा बर्षमा २/३ पटक भन्दा बढि दशैंको टिका झै टिका लगाई दिने जसले दशैंको टिका मात्र विशेष लाग्ने भ्रमबाट मुक्तहुनेछ । ३. दशैं मनाउन नमानेको कारण गोर्खालीद्धारा मारिएका सांस्कृतिक शहिद राम्लिहाँङ आठपहरिया, रिदामा आठपहरिया (सन् १८६८) र बाजहाँङ लिम्बुको स्मृति सभा दशैं टिकाकै दिन सामुहिक रुपबाट देशविदेशमा ब्यापक रुपबाट गर्ने । ४. साकेला, चासोक तङनाम, ल्होसार तथा मौलिक चाडहरुमा दशैंको टिका जस्तै बालबच्चालाई टिका लगाई दिएर आर्शिवाद दिने, पैसा दिने, मिठोमसिनो खानु दिने । ५. आदिवासी जनजातिय संघसंगठनहरुको भूमिका अस्पष्ट र पहल अपर्याप्त भएकोले दशैं संस्कृतिको नकरात्मक प्रभावको बारेमा सचेत गराई विभिन्न क्रियाकलापको निमित्त आग्रह गर्ने । ६. ब्यवस्थित र साँगठानिक पहल गर्ने । दशैं परित्याग तथा मौलिक चाड सचेतना मञ्च गठन गर्ने । ७. गैर हिन्दुको सवालमा दशैं सस्कृति मात्र होइन राजनीति पनि हो र राजनीतिले जति शोषण र शासित बनाएको छ त्यो भन्दा बढि दर्शै संस्कृतिले गरेको कारण अझ शसक्त संचेतना छर्न टुडिखेल वा सार्वजानिक स्थलहरुमा मौन जुलुस निकाल्ने । धनकुटामा निर्मित राम्लिहाँङ र रिदामा आठपहरियाको शालिकमा प्रत्यक बर्ष दशैं टिकाको दिन माल्याअर्पण गर्ने यो कार्यको शुरुवात नेपालीसमाचारडटकमको संयोजनमा सन् २०१९ देखि निरन्तर जारी छ । ८. हिन्दु, किश्चियन वा कुनै पनि धर्मको विरोध नभई गैरहिन्दुहरुलाई संस्कृतिको संचेतना दिनको निमित्त यी कार्यहरु गर्ने । धार्मिक सहिष्णुताको निमित्त हिन्दु वा अन्य धर्म सम्प्रदायका संग शुभ कामना साटासाट गर्ने ।

अन्तमा, नेपाली समाज आपसमा मिलेर बसेको छ भनिन्छ तर वास्तवमा जर्बरजस्त मिलेर बस्न बाँध्य बनाईएको छ । एकतर्फि आफ्नो संस्कृति र शासन लाद्ने काम भएको छ । दशैं संस्कृति अर्थात हिन्दु संस्कृतिलाई आधार बनाएर समाजमा वचश्र्वको वातावरण बनाई राजनीतमा हालीमुहाली भएको छ । राजनीतिले भन्दा संस्कृतिले गैरहिन्दुहरु माथि औपनिवेशिकता लाद्ने काम भएको छ । यो संस्कृति लाद्नेक्रममा राम्लिहाँङ आठपहरिया, रिदामा आठपहरिया र बाजाहाँङ लिम्बु सांस्कृतिक शहिद बने । दर्शै किरात अर्थात तमाम गैर हिन्दुहरुको चाड होइन, दशैको बेला दुःख बार्नु, नुन बार्नु, घर बाहिर डाँडाखोला तरेर यात्रा नगर्नु, दशैमा टिका नलगाउनु भनेर महागुरु फाल्गुनन्दले दिब्य उपदेश मननयोग्य छन भने बहूदल लगतै दुरदर्शि नेता गोरे बहादुर खपाङ्ी लगायतले दशैं बहिष्कार तथा परित्यागको अभियान चाले र त्यसको प्रभाव सकारात्मक रहयो, जुन बेला दशैं बहिष्कारको चर्को लहर चल्यो त्यो बेला आदिवासी जनजातिहरुको आन्दोलन पनि प्रभावकारी रहयो, माथि उठ्यो । जब दशैं बहिष्कारको अभियान सुस्तायो तब आन्दोलन पनि सुस्ताएको छ । दशैं बहिष्कारको अभियान निष्प्रभावकारी हुनुको मुख्य कारण चरणगत अभियानको योजना नहुनु र दशैंको विकल्पमा आआफ्नो मौलिक चाडमा विकास र सुधार नगर्नु हो । वि.स. २०४६ सालमै अगुवा अभियन्ताहरुले आआफ्ना नानीहरुलाई चाहि टिका नलगाई दिने भन्ने अभियान मात्र चलाएको भए त्यो बेलाका नानीहरु अहिले करिब ३३ बर्षका हुनेथिए जुनचाहि दशैंको प्रभाव नपरेको पुस्ता हुनेथियो । मुख्य कुरा राजनीतिले भन्दा अझ बढि संस्कृतिले हाम्रो जाति, सम्प्रदायलाई प्रभावमा राख्दछ भन्ने कुराको हेक्का राखिएन । जातिय उत्थानको निमित्त खोलिएका संघसस्थाहरुले पनि यथेष्ठ मार्गनिर्देश गर्न सकेन र दशैं परित्यागको प्रभाव निस्तेज हुदै गयो, सिंगो मुद्धा र आन्दोलन कमजोर हुदै गएको कारण अब संगठित रुपबाट “दशैं परित्याग तथा मौलिक चाड संचेतना मञ्च” नामक संस्था निर्माण भएको छ । दशैं परित्याग संगै गैर हिन्दुमा औपनिवेशिक मानसिकता हटनेछ, महागुरु फाल्गुनन्दले भन्नुभए जस्तै दशैंको परित्याग आदिवासी जनजाति समुदायमा बाञ्छानीय हुनेछ । धेरैले दशैं बहिष्कार तथा परित्याग गर्दै आएका छन, जसले दशैं बहिष्कार र परित्याग शुरुवात गर्नुभएको छैन आजै संस्कृति शोषणबाट मुक्ति हुने कसम खादै शुरुवात गर्ने क्रान्तिकारी शुभसाईत हो ।

biswasdip@ymail.com
१ अक्टोबर २०२२