असम प्रति असिम माया र गुनासोः ७० बर्ष पछि वंश भेटिनुको अनौठो संयोग – विश्वास दीप तिगेला

लुक्नै गएकालाई भेट्न कहाँ सजिलो हुन्छर तर मनै नमान्ने, छोडेर जानेले घरपरिवार र गाँउघर विर्षन सक्छन होला किन की मान्छे सबै एकै प्रकारको हुदैनौ, गाँउ समाजका एकाधले पनि छोडी जानेलाई बिर्षन सक्लान तर धेरैले कुरा गरिरहन्छन्, सम्झना गरिरहन्छन् भेट्घाट, मेलापात एवं प्रसंगवस कुराकानीहरुमा । छोडी जानेको बारेमा घरपरिवार, गाँउघर र साथीसंगीहरुमा सयौ पटक चर्चा हुन्छ त्यो आफैमा पीडा हो सो कुराको ख्याल छोडेर जानेलाई सायदै हुन्छ । त्यसैले भनिएका होलान मानिस सामाजिक प्राणी र ब्यक्तिलाई समाज चाहिने र समाज बन्न धेरै ब्यक्ति चाहिने ।


बेलाबखत कुरा चलिरहन्थ्यो, मेरो बुबा, बडा, छिमेकी बाजेले भन्नुहुन्थ्यो तेरो धनाहाँङ बडा उहिल्य नै असम गएदेखि फर्कनुभएन । अघिल्लो पटक सन् २०१३ को मेरो असम नागाल्याण्डको खोज यात्रामा अन्य छिमेकी वंशहरु भेटिए तर तिगेला मेरो वंश असम नागाल्याण्डमा खासै भेटिएनन र एकाध नेपाली नागा जातिमा रुपान्तरण भएको सुनियो र मेरो बडाको परिवार पो कतै नागामा रुपान्तरण त भएन भन्ने पीर बढ्यो, नत्र त्यतिधेरै सोधीखेजी गरियो कतै भेटिनु पर्ने किन भेटिएनन त? जब नागा बन्छन तब उनीहरु आफ्नो नेपाली चिनारी दिन चाहान्दैनन रे, यी कुरा सुन्दा झनै पीर लाग्यो यद्यपी खोजीकार्यलाई कहिल्य रोकिन । करिब १३ बर्ष खोजीमा मेरो निक्कै समय बिते ।

उहिले ठूलो संख्यामा नेपालीहरु असम पस्ने चलन थियो । विशेषतः पूर्वी नेपालबाट कोहि जाँगिर गर्न, कोहि बिरक्तिएर र कोहि समस्या भएको कारण भाग्न, लुक्न असम जाने चलन चलेको पाइन्छ । नेपालको अन्य भागबाट पनि गएको पाइन्छ तथापी नजिक र रहनसहन संस्कृति मिल्ने भएकोले पूर्वी नेपालका बढि असममा गएको पाइन्छ ।

सन् २०१० सालमा मैले बुबा, आमालाई घुमाउन ब्रुनाई ६ महिनाको लागि लगेको थिए र त्यसबेला पटकपटक बुबाआमालाई बडाको बारेमा सोधे पारिवारिक फोटो तालिका बनाए र अंग्रेजीमा आफन्तको खोजीमा भनेर सूचना फेसबुक र मेरो ब्यक्तिगत बेभसाइटमा प्रकाशित गरे । प्रविधिको जमानामा कहिकतै मेरो वेभसाइट र फेसबुकको सूचना हेरि पो हाल्नान की, मैले जस्तै मेरो बडा बाउ वा वहाको सन्तानले कतै खोजि गरिरहेका पो छन की, यदि त्यसो हो भने मेरो यो सूचनाले काम गर्छ भन्ने अपेक्षा लिएर सूचना राखे ।

डिम्मापुरमा रहनुहुने समाजका अग्रज ब्यक्ति कुमार सम्बाहाम्फेलाई दुईचार पटक फोन गरे, बुझ्न लगाए वहाले कोसिस गर्नुभयो तर पत्तो लागेन र कोरोना भाईरस (कोभिड १९) को लगडाउनमा जुम प्रविधिको विकास भयो र ग्लोबल नेटवर्क नामकको भर्चुवल अन्तरक्रिया कार्यक्रम अन्तर्गत केही असमका अगुवा नेतृत्वहरु संग सम्पर्क बढाए र पटकपटक आफ्नो बडा खोजिरहेको बताए र खोज्न सहयोग गर्न आग्रह गरे । मुख्यतया रिवाज निङलेकु र लक्कि खापुङ ज्यूसँग संवाद शुरुभयो । सन् २०१९/२० मा भारतिय सेनाबाट सुवेदार दर्जामा पेन्सन आउनु भएको छिमेकी दाजु भिम तिगेला लिम्बु माक्लुङे कान्छा दाजुले एउटा अपुष्ट जानकारी दिनुभयोः असमको सिलापाथारमा सुरुवाले जेठा नाम गरेको खेवा लिम्बु हुनुहुन्छ भन्ने । मेरो गाँउमा सुरुवाले खेत हाम्रो छ, छिमेकी दाजुको छ, मेरो बडा जेठा नै हो, खेवा नै हो त्यसैले वहा नै पो होला भन्ने कुराले झनै हुटहुटायो र मैले गुगल म्यापमा सिलापाथार हेरे, सिलापाथारको प्रहरी चौकी र विद्यालयमा इमेल पत्ता लगाई ईमेल मार्फत नै म आफ्नो बडाको खोजीमा भएको र त्यहि सुरुवाले जेठा भन्ने रहेको जानकारी पाएको हुदा बुझेर सहयोग गर्न आग्रह गरे तर अंह उत्तर आएन । बरु निङलेकु ज्यूले सिलापाथारको मकर सुब्बाज्यू संग कुरा गराई दिनुभयो । वहालाई सिलापाथारको सिमेनचाप्रि गएर बुझिदिन आग्रह गरे, मकर ज्यू संग शिधै कुरा हुन्नथियो वहाकी छोरी विमला बहिनीसँग फेसबुक म्यासेन्जरमा बुझ्दा लकडाउनको कारण बुबा सिमेनचाप्रि तिर जान नसक्नु भएको कुरा करिब २/३ चोटी दोहरियो । पुनः निङलेकु लुंडा संग कुरा भयो र वहाले एउटा उपाय बताउनु भयोः यो बर्षको असम लिम्बु महासभाको संयुक्त कार्यक्रम आउदो डिसेम्बर १९ देखि २१, (२०२१) सम्म सिलापाथारमा हुदैछ, त्यहा आउनु भयो भने केही न केही पत्ता लाग्न सक्छ किन की सो कार्यक्रममा असम भरिका धेरै लिम्बुहरु भेला हुनेछन् । तब वहाले निमन्त्रणा पनि पठाउनु भयो र म र शिव कुमार तिगेला दाजु डिसेम्बर १६ मा धनकुटाबाट बाटो लाग्यौ र काँकडभिट्टा बासबस्यौ ।

भोलीपल्ट बस चढेरै जलपाईगुडिको रेल स्टेशनमा टिकट किन्न लाइन बस्यौ तर अचम्म चाहि त्यहा नेपाली भन्ने बित्तिकै लुटनुपर्छ भन्ने मानसिकता भएका मानिस पाँए । मोबाइलको सिमकार्ड किन्न म गएको एकब्यक्ति मलाई पछ्याउछ तब मैले झण्डै झापड लगाए पछि मात्र फर्कियो बल्ल तेस्रो दोकानमा भारतीय रुपैया २५० मा सिम डेटा सहितको दिने कुरा भयो र मोबाइलमा लगाए पछि मेरो आधार कार्ड माग्यो मैले नेपाली नागरिकता दिए तब उसले भारु ४५० लाग्छ भन्यो र एकछिन पछि भारु ५ सय भन्यो । म त हेरयाहेरयै भए रिस पनि उठ्यो । म अधवैसको मान्छे, हिन्दी, अंग्रेजी बोल्न सक्छु, बहस गर्न सक्छु, प्रतिकार गर्नसक्छु मलाई कुनै डरछैन तथापी मलाई ठग्यो भने अरु नेपालीको हालत कस्तोहोला? रेलको टिकट किन्न लाइन बसेको कहिल्य पालो आएन, म लाइनमा उभिई रहेको थिए पछाडीबाट बहादुर भनेर मलाई बोलाएको सुने तब फनक्क फर्केर तैले भर्खरै के भनिस भनेर सिधै निहू खोजेको तब त्यो चुप भयो र अलि वरपर गरि फेरी त्यहि भिडमा बसिरहयो । कति बेगारी, कति असभ्य होला कल्पनै गर्न नसकिने । हामी लाइनमा रेलको टिकट किन्न बस्यौ पछाडी दलालहरु टम्म बसेका, काउन्टरमा बल्लबल्ल पुग्यौ फेरी फारम भर भन्छ, फाराम भरेर पुग्यो टिकट सिध्दियो भन्छ । बरु भारु ५ सय पर्नेलाई ९ सय तिर्न पनि राजी भँए तब दलालले अलिपर लगेर आरामले बस्न भने लौ त गर्ला नी त भनेर पर्खियौ टिकट ल्याउन सकेन । त्यहा सबैभन्दा खराब टिकट अफिसका कर्मचारी र दोस्रो खराब जलपाईगुढिका समाज लाग्यो । यतिधेरै समय खेर गयो नी तब फर्कौ, असम नजाउ की जस्तो पनि लाग्यो हरेस खाएर बस्यौ । भारतको रेल स्टेशनहरुको एक कुनामा भारतिय सेनाको कोठा पनि हुने गर्दछ तब एक सेना सो कोठाबाट निस्कियो तब मैले सोधे भईया टिकट किन्न सकिएन के गर्ने? उनले अर्को पट्टि मलाई लग्यो र कानेखुसिमा भन्यो यहा टिकट नकाटनु डिपाचरमा गएर कण्डक्टरलाई भनेर चढन सकिन्छ मलाई पछ्याउ भन्यो तब हामी दुईपनि उ संगसंगै गयौ र ती लाहुरे दाईले कण्डक्टरको अफिसमा हामीलाई लगेर यी दुई रंगिया जान चाहान्छ लगिदिनुहोला भन्यो तब निक्कैबेरको पर्खाई पछि त्यो कण्डक्टरको रेल आयो र हामी एयरकण्डिसन भएको डिब्बामा सुत्ने ओछ्यान भएकोमा चढ्यौ ।

डिब्बा भित्र अनेक मान्छे आउने । हात र औला पड्काउदै तेस्रोलिंगीहरु आईरहन्थे, खानेकुरा बेच्न ल्याईरहन्थे । माछामासु चाहि मज्जाले पोलिथिन झोलामै खाईयो । विद्यार्थीहरुले रिजर्भ गरेको डब्बा रहेछ होहल्लाको बीचमा निदाउदै ब्यूझिन्दै रेल अगाडी बढिरहयो । अब कुनबेला सो कण्डक्टर पैसा उठाउन आउछ पीरैपीर थियो किन की त्यो कण्डक्टरलाई पनि नेपाली नागरिकता देखाए अरु ठग्नेछ, मध्येरातमा बल्लतल्ल आईपुग्यो मैले स्टेशनमा भनेकै पैसा र मेरो आईएफजे अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्य परिचयपत्र दिएपछि उसले मलाई राम्ररी हेरयो र चुपचाप भयो उसले बढि पैसा माग्ने हिम्मत गरेन । भारतमा पत्रकारहरुबाट केही न केही सतर्क हुन्छन भन्ने लाग्यो । हामी बिहानको करिव ४ बजे रंगिया उत्रियौ, सबै सुनसान थियो स्टेसन बाहिर ठेलामा चियापसल र सो चिया पसलले चीनी, पीठो मिसाई पापापिता रोटी बनाईरहेको रहेछ तब हामीले आआफ्नो रोजाईमा बनाउन लगाउदै खादै समय कटायौ । बिहान टिकट काउण्टर खुल्यो, अघिल्लो दिन जलपाईगुडिको समस्याले अतालिएका हामी पीरैपीरमा थियौ तै पनि टिकट किन्न लाइन बस्यौः एक सुरक्षाकर्मी आएर एकएक गरेर काउण्टरमा पठायो लामो लाइनमा पनि एकैछिनमा टिकट किन्न सके, सस्तो पनि । पिउने पानी, चर्पी र सरसफाई पनि राम्रो अवस्थामा रहेको पाउदा हामी दंग पर्यौ, संसारका सबैभन्दा असभ्य मान्छे बस्ने ठाँउ चाहि जलपाईगुढि र त्यहाँबाट पुगिने नजिकको राज्य असमको रंगियाको त्यो सभ्यता देखेर हामी दुई फूरुङ्ग भयौ र म चुप बस्नै सकिन तब एउटा कापीको पन्नामा स्टेशनको ब्यवस्थापनको प्रंससा गरी आभार पत्र लेखे र जलपाईगुढिको बेथिती पनि जनाई सुझाव पेटिकामा खसाई दिए । रंगियाको त्यो कामले यति प्रभावित भए की अहिले पनि बेलाबखत सम्झिरहन्छु हुन त असमका अन्य रेल स्टेसनहरुको ब्यवस्थापन पनि राम्रै थिए तर सिलगुढि नजिकको जलपाईगुडि चाहि ठोकुवा साथ भन्न सकिन्छ संसारमा त्यति असभ्य कुनै ठाँउ छैन, फोहोर त्यति नै, ब्यवहार त्यस्तै र मान्छेपनि फोहरी नै । उसो त मेरो आँखै सामुन्ने काँकडभिट्टा आउने तिनचारजना यात्रुहरुलाई कन्डक्टरले जर्बरजस्त बसमा बोकेर राख्यो र मैले कराए त्यो कण्डक्टरलाई तर कन्डक्टर उल्टै म माथि ठूलो स्वर गरयो तब म चुप बसे, हैट जलपाईगुढि । भारतका लगभग ११ वटा राज्य घुमेछु, विश्वका करिब ४३ मुलुक घुमे तर जलपाईगुढि जस्तो कतै देखेको छैन । हरे यो असभ्य र दरिद्र जलपाईगुडिले कहिले सभ्यता सिक्नेहोला अहिले पनि गम खान्छु ।

तेस्रो दिन अर्थात १८ डिसेम्बरका दिन बिहानै रंगियाबाट रेल चढ्यौ, असाध्य रमाईलो भयो, हिउँदको दिन आकाश मज्जाले नीलो खुलेको छ, फराकिलो समथर भूभागका गाँउबस्तिहरु विकासको ब्यग्र प्रतिक्षामा देखिन्थे, पहेलै तोरीबारी देख्दा मेरो भोकै हराउथ्यो । विकास हुन बाँकी गाँउबस्तिको पनि आफ्नै आकर्षण देखिन्थ्यो तर धरोधर्म असम टेकेपछि सरकारी प्रसासन, जनता सबैसबै नै राम्रा भेटिए । उसो त असममा हूर्केका नेपालीहरुमा इमान्दारिता र गोर्खा राष्ट्रियता पाइन्छ, मानिलिउः असममा जन्मेका श्यामबहादुर र नेपालमा जन्मेका श्यामबहादुरमा भिन्नता हुन्छ लाग्छ, नेपालको श्यामबहादुरमा क्षेत्रियता, बर्गियता, जातियता र सुप्रिमेसी बोकेको दिमाग हुन्छ भने असममा हूर्किएका श्यामबहादुरमा सिर्फ गोर्खा हूँ भन्ने हुन्छ र इमानदारिता हुन्छ लाग्छ, त्यसैले पनि असमेली नेपाली प्रति मेरो अटुट विश्वास र श्रद्धा रहन्छ । मलाई लाग्छ असमको लागि पनि पिलो जलपाईगुढि नै हो ।

रेलमा निरन्तर जादैथियौ बीच बाटोबाट दुईतिन जना नेपाली युवाहरु पनि रेलचढे एकजना कार्की, अर्को उपाध्याय लगायत र उनीहरु हामी संग नजिकिए, हामीलाई देखेर औधि खुसिभए र असमको स्वागत गर्ने पानसुपारी किनेर दिए म संगै यात्रामा रहनु भएको शिव कुमार तिगेला दाजुले त झ्यामकीझ्याम चपाएर खानु भयो म आफैले चाहि पान खाने बानी नभएकोले लिइन् एकछिन पछि त दाईले झण्डै भमिट गर्नुभयो र जिब्रो चिराचिरा काँटियो रे । खासमा दाजुले दुईपटक खानुपर्ने रहेछ एकैपटक खाईदिनुले निक्कै रमाईलै माहोल बन्यो । अर्को अविश्मरणिय कुरा चाहि फ्याटफ्याट हात र औला बजाउदै, हुस्सेल्दै पैसा माग्ने आउने अनि अरुले पनि दिने गजब लाग्यो तर मैले दिइन र दाजुले पनि दिनु भएन वास्तै गरेनौ तर हामीलाई सत्कार गरेर पान दिने भाईहरुले ति पैसा माग्नेलाई अलिअलि पैसा दिए र उनीहरुको बारेमा चर्चा शुरुभयो । उनीहरु तेस्रोलिंगी र उनीहरुलाई पैसा माग्ने कानुनले पनि छुट दिएको छ । उनीहरु राम्रो ब्यवहारको हुन्छन तर उनीहरुलाई नराम्रो ब्यवहार गरेमा दुनियाँको अगाडी छामछामछुमछुम गरेर बेइज्वत गरिदिने गरेको र उनीहरुले श्राप दिएको खण्डमा लाग्ने भएकोले उनीहरुलाई खुसि बनाउन सबैले पैसा दिने गरेको बताए तब हामीले उनीहरुलाई बोलाउन लगाएर पैसा दियौं तर पाहुना भनेर लिन मानेन पुनः पाहुनाको सम्मानको लागि भएपनि लिनुपर्छ भनेपछि लिए र मज्जासँग गफ गरेर हामीलाई रेलमै छोडेर उनीहरु आफ्नै बाटोमा लागे, रेल निरन्तर अगाडी बढि रहयो ।

साँझ पर्न लागि सकेको थियो । आयोजक मध्येका एक मकर सुब्बा ज्यूले फोन गरेर सिलापाथारको रेल स्टेसनमै गाडी लिएर लिन आउने र पाहूना बस्ने ठाँउमा जानुपर्ने भन्नुभयो तर हामीले आग्रह गरेर नआउन भन्यौ, र शिलापथारकै होटल नोभा प्यालेसमा बस्यौ । भोली पल्ट टाटा अल्टो कार लिएर हामीलाई लिन आउनुभयो र करिब १५ मिनेट ड्राईभिङ पछि फूलबारी गाँउको किरात भवन कार्यक्रमस्थलमा पुग्यौ । उक्त दिन युमा माङहिम उद्घाटन तथा ३१८ औं तेअङ्सी सिरिजंगा जन्मजयन्तिको प्रमुख अतिथिको रुपमा मलाई र दाजु शिवलाई राख्नुभयो, पानसमा बत्ति बालेर उद्घाटन गरयौ र सिरिजंगाको बारेमा दुवैले बोल्यौपनि । हामीलाई लिन आउनु भएदेखि नै मकर सुब्बा सरले यतिधेरै हाम्रो लागि काम गरिदिनुभयो त्यो गुणको बर्णन गरि साध्य छैन, म आफै पनि यस्ता कार्यक्रम नियमित गर्दै आएको कारण कुन बेला कस्तोकस्तो समस्या हुन्छ कसैले नभने पनि थाह हुन्छ नै । हामीलाई प्रमुख अतिथी बनाउनुमा पनि छलफल चल्योहोला सायद, अरुअरु विषयमा पनि चर्चा भयोहोला तर हामी दुईभाई दुईवटा मात्र विषयमा केन्द्रीत थियौ । पहिलो हाम्रो वंश खोज्नु र दोस्रो असमका लिम्बु समुदायको सामाजिक अध्ययन गर्नु । कार्यक्रमस्थल टेकेकै केही घण्टा पछि अलिपर्तिर टोलमा खेवा तिगेला वंश बस्ने गरेको भन्ने जानकारी पाउने बित्तिकै हामी दुई टेम्पो आटो लिएर गयौ तर भेट्न सकेनौ, दोस्रो दिन अर्को गाँउमा हामी दुई सोधीखोजी गर्दै पुग्यौ अंह छैन भन्दिए तब हामीले बुझ्यौ आफै मात्र गएर भेटन असम्भव छ तसर्थ स्थानीयलाई नै आग्रह गरेर कहिले कसलाई कहिले कसलाई, बढि चाहि मकर सरलाई आग्रह गरेर धेरै ठाँउ वहाकै साथमा गयौ र पत्ता पनि लाग्यो । असममा गएकाहरु मध्ये केहीको मनोविज्ञान सकभर खोज्न नेपालबाट नआईदिउन भन्ने पनि हुदो रहेछ लाग्यो । असम गएकाहरुले आफ्नो नाम समेत फेरेर बसेका हुदा रहेछन, त्यसैले नेपालकै नाम भनेर खोज्दा भेट्न गाह्रो हुदो रहेछ । उक्त दोस्रो दिनमा भब्य कार्यक्रम भयो, सिक्किमबाट एकजना रुपलाल खाम्धाकलाई मुख्यअतिथी बनाईएको थियो, वहाले राम्रो बोल्नुभयो, प्रसंगवस जाँडलाई अमृत हो भनी पिउन प्रत्साहन गर्नुभयो मलाई रोचक नै लाग्यो । असमका लिम्बुहरु पनि किरात र युमा भन्नेमा विभाजित रहेछन, युमा भनेपनि मन्दिर/माङहिम भत्काउने होइन बनाउने युमा हुन की लाग्यो, मन्दिर र घर भित्र ८ ग्रहहरुको संकेतमा ८ तले मुजोत्लुङनै चलाईएको पाईयो तर युमा भन्नाले लिम्बुले बाहेक अरु आउने सम्भावना लगभग हुदैन तर किरात भन्दा सबै मंगोलियड अर्थात असमेली जातिहरुले पनि किरातलाई स्वीकार गर्न सक्ने देखियो सो कुरालाई पनि ख्याल गरिदिएको भए अझ सुनमा सुगन्ध हुनेथियो ।

असममा बसोबास गर्ने नेपालीहरुको सामाजिक जिबन ज्यादै आनन्दित पाँए । नेपालमा जस्तो उमेर पुगे संगै विदेश जानुपर्ने सामाजिक दबाब, पारिवारिक दबाब खासै देखिएन । कोहि घर देखि टाढा काम गर्न भएका छन भने चेन्नई, मुम्बई, दिल्ली तिर गएको पाईयो, अन्य मुलुक पनि गएका होलान तर जानकारी प्राप्त भएन । बाहिरी मुलुकमा कमै जान्छन भन्ने प्रमाण चाहि सिलापाथारमा रेमिट्यान्स एजेन्सीहरु देखिएनन भेटिएनन । घटना कस्तो रहयो भने गोजीमा लिएर गएको पैसा सिद्धिन लाग्दा दुईचारवटा बैंकको एटिएम मेसिनहरुले मलाई पैसा दिएन तब अब युके घरबाटै रेमिट्यान्स पठाई माग्नुको विकल्प रहेन तब रेमिट्यान्स एजेन्सी वेष्टन यूनियन, आईएमई कुनै पनि नदेख्दा म आत्तिए पनि, पैसा पठाई माग्दा बैंकमा मात्र भुक्तान हुने स्थिती भयो । म निक्कै अतालिए पनि तर भाग्यवस अर्को दिन अर्कै बैंक कार्डबाट पैसा निकाल्न सफल भए र समस्या टर्यो । रेमिट्यान्स ऐजेन्सीहरु नेपालमा चाहि गाँउगाँउमा थरिथरिका पाइन्छन जुन सामाजिक परनिर्भरताको ऐना हो तर असममा त्यस्तो देखिएन । गजब चाहि सो लिम्बु महासभा आसमको कार्यक्रमलाई धेमाजी र लखिमपुर जिल्ला लगायतले आयोजना गरेको सो भेलाको दोस्रो दिनको राति करिब २ बजेतिर ३ वटा झगडा भयो । विषय अनेक थिए होलान तर यो प्रसंग किन ल्याए भने आजभन्दा करिब २८/२९ बर्ष अघि नेपालको मेरो गाँउ छथरजोरपाटी १ हात्तिखर्क धनकुटामा त्यो बेला उठ्ने टहारी मेलामा पनि त्यस्तै झगडाहरु हुने गर्दथ्यो, सो घटनाले मलाई उहि मेरो गाँउको टहारी मेलाको नोष्टाल्जियामा पुरयायो । दुःखद घटनाले सुखद अनुभूति दिईरहेको थियो ।

हामी दुई असाध्य संवेदनशिल पनि थियौ, आयोजकहरुलाई दुःख दिनु हुदैन तर विकल्प पनि थिएन र पटक पटक मकर सरलाई अनुरोध गरेर धेरै ठाँउहरुमा साथसाथमा लिएर गयौ र ७ वटा तिगेला वंशको घरमा पुग्न सफल भयौ । उसो त अनेक अनुभूतिहरु पनि भए । शिलापथार नजिकैको बृजबारी गाँउमै एक खेवा वंश लगभग ७२ बर्षको खजेन्द्र खेवाको घरमा पुग्यौ, पाको हुनुहुन्थ्यो अवस्था निक्कै नाजुक भेटियो त्यसैले संगै यात्रामा रहनु भएको शिव दाजु संग केही आर्थिक सपोर्ट गरेर मात्र असमबाट फर्कने सल्लाह पटकपटक भई सकेको थियो । केही दिन पछि जुनाईबाट सिलापाथार फर्कने सडकबाट ओर्लिएर पुगिने भारगणा चारआली, धेमाजीको डिमुगोलाई स्थित एक खेवा वंश राहुल तिगेलाको घर पुग्यौ । राहुलको बुबाको नेपालमा नाम श्रीकृष्ण र असममा चाहि डम्बर बहादुर रहेछ । राहुलका ५ भाईहरु कमल, रुज, विकास, समिर, राजिव रहेको जानकारी भयो ।

राहुलको घरमा पुगेपछि थाह भयो उनीहरु त त्यहि जितमान दाजुको कान्छा भाई अर्थात खजेन्द्र खेवाकै बृजबारी घरमा हुर्किएका रहेछन । हामीले त्यहिबाट खजेन्द्र दाजुलाई फोन गरेरः अस्ति हामीलाई राहुल र उनको आमा परिवारको बारेमा किन नभन्नु भएको? हामी यत्रो समय र खर्च गरेर वंश खोज्न आएको तर तपाईले सहयोग गर्नुपर्ने होइन र? प्रश्न गरे तर ति बुढा खजेन्द्रले कुरा घुमाए तै पनि अझै केहीबेर अरु कुराबाट बुझ्न खोजे बास्तवमा बुढाले जानीजानी हामीलाई नभनेका रहेछन, खजेन्द्र बुढा हामीले र मेरो पुस्ताले चिन्ने दाजुभाईमा पनि नजिकैको भएकोले वहाबाट अपेक्षा बढि हुनु स्वभाविक थियो तर जब बुढा झेली रहेछन भन्ने बुझ्यौ तब उनलाई केही न केही आर्थिक सहयोग गरेर मात्र जाने, शिलापथार छोडनु भन्दा अगाडी एकपटक भेटेर मात्र जाने सल्लाह अघोषित रद्ध भयो र सहानुभूति पनि हरायो ।

राहुलबाट उनको फूपु तेजपुर राँगापारा नजिक बंगला गाँउसँगै जोडिएको भेलुवाटरमा भएको पत्ता लाग्यो र तुरुन्त फोन सम्पर्क भयो । फूपु अलि तगडा हुनुहुदो रहेछ । हाम्रा गाँउका धेरैको बारेमा जानकारी दिनुभयो र हामी घुम्न आउदैछौ भन्यौ र वहाको छोरा दिल बहादुर मादेनलाई आउने बचन दियौ । यद्यपी मैले खोजेको बडा बाउको परिवारको अत्तोपत्तो आएन, खोज्दै गयो अरुअरुको वंश भेटिने, खोज्न आएकोमा आभार पनि नपाइने, आखिर नामै समेत परिवर्तन गरि लुकेर बसेका हुदा रहेछन कति खोज्नु बषौंबर्ष भई सक्यो, बरु खोज्न छोडौ अब लाग्न थालि सकेको छ ।

अर्को दिन सिलापाथारबाट अझै पूर्व उत्तरको जुनाई हुदै पासिङघाटमा पुगेर एक लिम्बुको सुध्याईको कार्जेमा सहभागी भयौ । त्यहा सहभागीहरुलाई पनि वंश खोज्दै हिडेको कुरा दर्शायौ, त्यहा धेरै लिम्बुहरु सहभागी थिए तर त्यहापनि खोजेको कुरा आएन त्यसको अर्को दिन मकर सर र वहाकी श्रीमतिसँग वहाकै घर नजिकै अरुणाचल प्रदेशमा रहेको मालिनी मन्दिरमा गएर पुजाआज गरेपछि भारत कै सबैभन्दा लामो मानिने माथिबाट गाडी कुद्ने र मुनिबाट रेल चल्ने भर्खरै मात्र बनेको ब्रम्हपुत्र नदी माथिको बोगिबिल पुल हिडेर पार गर्ने भनी बाटो लाग्यौ र हिडेरै लगभग अढाइ घण्टामा ४.९ किमी दुरीको पुललाई पार गरयौ ।

अर्को दिन हामी फूपु हुनु भएको तेजपुर राँगापारा दिशातिर रात्री रेलमा हुईकियौ र बिहान राँगापारा स्टेसनमा उत्रियौ र दिल बहादुर मादेन लुंगा र वहाको ज्वाई हामीलाई लिन रेल स्टेसनमै मोटर बाइक लिएर आउनुभयो र निक्कै घुम्तिहुदै बंगला गाँउसँगै जोडिएको भेलुवाटर स्थित घरपुग्यौ खाजा खायौ र लगतै रुपान्जली सुनितपुर बस्ने ६३ बर्षिय घनीराम मादेनकोमा पुग्यौ । वहाको घरमा पुग्दा खाना खाने समय पनि टरिसकेको थियो र विहानको खाजाले पनि छोडी सकेको कारण यति गाह्रो भयो की वर्णन गरिसाध्य भएन ।

मादेन बाजेको अनुसार नजिकैको गाँउमा एकजना तेह्रथुम ओख्रेको तिगेला बस्नुहुन्छ भन्नु भयो त्यहा जानको लागि मादेन बाजेको छोरीको स्कुटर पर्खनुपर्ने भयो जो भर्खरै मात्र बजार हिडेकी छिन । अर्को चाहि बाईकको ब्यवस्था हुने कुरा छ तर कतिखेर सम्म पर्खनुपर्ने हो टुंगो नभएको र भोक पनि यति लाग्यो की कम्तिमा त्यो ठाँउ भन्दा बाहिर कतै जाँदा केहीहोला, दोकान पाईएला भन्ने पनि लाग्यो । भोक लागेको कुरा दर्शाउनु पनि मुख लागेन र भनि हालेको खण्डमा पनि बन्न सक्ने अवस्था देखिएन, मादेन बाजे र ससाना नातिनातिना मात्र घरमा थिए त्यसैले बरु बाईसकलमै जाँउ भन्ने कुरा चल्यो र म मादेन बाजेले चलाउनु भएको वाईसकलको पछाडी बसे भने शिव सर अर्को ज्वाई साइनोको बाईसकलको पछाडी बसेर बाटो लाग्यौ । बाईसकलमा बस्नु धेरै गाह्रो पनि भयो अन्ततः एउटा चोकमा पुग्यौ र ठिक त्यहि चोकमा जसलाई भेटन गएको हो उनी धरान मोहन तिगेलाको भाई तिल बहादुर पनि बाइसकलमा हुर्किइएर आउदै गरेको बेला चोकैमा भेट भयो र नजिकैको चिया पसलमा केहीबेर बस्यौ, चिया बिस्कुट लियौ । अझै हात्तिखर्के एक खेवा नजिकै रहेको बुझियो र उनैको घरमा भेटन जाने कुरा पनि भयो तर तिल बहादुर तिगेलाले चाहि यहि बोलाउछु, घर जान पर्दैन भन्नु भयो तर मैले घरै जाउ भनेर जिद्धि गरे र फेरी बाईसकलमा उसैगरि चढेर बाटो लाग्यौ । निक्कैपर पुगेपछि दाँहिने घुम्नुपर्नेमा अचानक बाईसकलबाट म र बाईसकल हाँक्ने मादेन बाजे दुबैजना मज्जाले भाउडीमा जाकियौ । बाईसकल अब गुड्न नसक्ने भयो तब फेरी तिलबहादुरले लौ घर नजाँउ म यतै बोलाउछु, मैले यहि दोकानमा चाउचाउ बनाउन लगाईसके है भन्नु भयो ।

वहाको प्रष्ट कुरा थियो दुःख साथ बसेको छु घर हेर्न लायक छैन, यतै भेटौ, यतै छुटौ । प्रष्ट र आत्माविश्वासी देखेर मनमनै प्रसन्न पनि भए । भौतिक रुपमा उनी गरिब होलान तर मनका धनी र आत्मा विश्वासी रहेछन खुसि लाग्यो । बाईसकल लडेकै ठाँउ नजिकको चिया पसलको चौरीमा वरिपरि बसेर वहाले सम्मान गरेर दिनु भएको चाउचाउ एकएक डबका खायौ । असम त्यसै पनि खुल्ला ठाँउ त्यहि माथि सुन्दर र फराकिलो चौरीमा बस्दा साहै आनन्द आयो । हात्तिखर्के तिगेला संग पनि त्यहि भेटभयो र निक्कै लामो भलाकुसारी पछि धनीराम मादेन बाजेले अर्को हात्तिखर्के तिगेला अर्को गाँउमा रहेको बताउनु भयो र भद्र र सालिन ब्यक्तित्व भएका उनै बाजेलाई नै त्यो ठाँउमा पुर्याईदिन आग्रह गरयौ । वहा बाहेक अरुले पु¥याईदिन सक्ने अवस्था पनि रहेन, निक्कै टाढा लाग्यो । अन्ततः झिसमिस साँझमा राँगापारा नहारानी न २ स्थित मुख्य सडकबाट थोरै भित्र, एकदुईघरको बलेसी हुदै थोरै उठेको ठाँउमा बनेको एकतले अंग्रेजी अक्षरको एल आकारको सुन्दर हात्तिखर्के तिगेलाको घर पुग्यौ । घरका मान्छेहरु अप्रत्यासित आएका हामीलाई देखेर अचम्मै माने र उनीहरुलाई हे¥यौ उनीहरुका बायोलोजिकल अर्थात अनुहार, नाक आदिको बनावट ठ्याक्कै मिल्दछ । उसो त घरको वातावरण बनावट पनि उस्तै लाग्यो । दुहुनो गाई बाँधेको सागसब्जि उसैगरि रोपेको आदि मिल्दोजुल्दो त्यति मात्र होइन मेरो घर नेपालको धनकुटा हात्तिखर्कमा सङखत्र (होक्से) को रुख मरेको दुईतिन बर्ष भयो तर ठ्याक्कै त्यहि जातको खङ्खत्रको रुख दुईतिन बर्षको हूर्कन्दै गरेको, केही फलेको पनि देख्दा झनै मलाई गजब लाग्यो ।

साँझको पाहुना स्वागत नै गर्नुभयो । बिहानको जस्तो भोक लागेको महशुस भएन, उसो त तिगेला नै दाबी गरेको कारण थोरै आग्रह गर्न पनि सकिन्थ्यो सायद तर त्यस्तो भएन भाउजु एकदमै फर्साइली हुनुहुदो रहेछ । भाउजुले हामी धनकुटाको तिगेला भन्ने चाहि सुनेको भनी फरर भन्दिनु भयो । हातले काम पनि गरिरहनुहुने र मुखले बोली पनि रहनुहुने भाउजु संग गफ चाहि राम्रो भयो ।

भोलीपल्ट बिहान चाहि फटाफट काम गर्नुहुदै हामी सुदापबाट आएका हौ रे भाउजुले भन्दिनु भयो र हामीलाई अलमलमा पार्नुभयो यद्यपी धनकुटा हात्तिखर्कमा रहेका हामी तिगेलाहरु पनि सुदापओख्रेबाटै आएका हौ तब हामीले सामान्यकरण गरयौ । ६३ बर्षिय धनीराम मादेन बाजे र तेह्रथुम ओख्रेकै ५० बर्षिय तिल बहादुर तिगेलाले पनि हात्तिखर्ककै तिगेला भनेको कारण हाम्रो गाँउको असम गएर ३ पुस्ताको जायजन्म कसकसले बनाउन सक्यो होला त भनेर ब्यक्तिको उमेर र नेपाल छोडेको समयावधिलाई केलायौ । फूपुले हाम्रो गाँउ धोर्लेका देवारी हात्तिमाइला बडौको दुई दाजुभाई असम आएका उनीहरुको छोरानाति नातिना पनि भएका थिए तर सबैको निधन भएको अनौठो घटना पनि सुनाउनु भयो । त्यसले फलना, फलना यता थिएछन र सिद्धिए आदिको हिसाब गरयौ । लामो समय देखि असम बसेका ओख्र्रेकै ब्यक्ति तिलबहादुरले नै हात्तिखर्के तिगेला भनिसकेपछि ओख्रेमा खोज्न आवश्यक ठानेनौ यद्यपी हामीले केलायौ अंह त्यहाँ पनि भेटिएन र हाम्रै परिवारबाट हात्तिखर्क डाँडागाँउका माष्टर काकाको भाई चन्द्रदेव तिगेला लगभग (जन्म १९९९) २०१८ साल तिर असम पसेको अनुमान छ वहा पो कतै हो की भन्यौ अंह वहाको पनि तिनपुस्ता अलि पुग्दैन लाग्यो । अन्ततः उमेर र समय अन्तराललाई हिसाब गर्दा धनाहाँङ बडौ जसको जन्म वि.स. १९८० मा भई भारतीय सेनामा करिब ९ बर्ष जागिर गरेर नायक दर्जामा विना पेन्सन वि.स. २००९ मा घर आउनु भयो र वि.स. २००९/१० तिरै घर छोडेर असम पस्नु भएको भन्ने प्राप्त जानकारीलाई नै नियाल्दै गयौ र वहाकै सन्तान हुन भन्ने ठहर गरर्यौ तर डिएनए परिक्षण गर्न सके निक्र्यौल हुनेछ ।

धनाहाँङले जाँगिर छोडेर घर आउनु भन्दा अगाडी नै वहाको बुबा बंमप्रसाद अर्थात मेरो बाजेको निधन भईसकेको थियो रे । साझा जग्गा बिक्रिको कुरामा छिमेकी रामबहादुर संग कुरा नमिले पछि धनाहाँङले गाँउ छोडेर असम लागेको मेरो बुबा मिलबहादुर लिम्बु (जन्म वि.स. १९९५) ले सन् २०१० मा बु्रनाई भ्रमणको बखत यी कुराहरु बताउनु भएको थियो । बडाको उमेरको हिसाब गर्दा यदि जिउदै हुनुहुन्छ भने सन् २०११ मा वहा ९२/९३ बर्षको हुनुभयो बुबाले भन्नुहुदा झन भेटौभेटौ लागेर आयो ।

बेलाबखत एक सेनाको श्रीमति भेटिएकी र तिगेला वंशको भएकी, कहिले असमको कुन ठाँउमा छन आदिइत्यादी अपुष्ट जानकारीहरु आईरहन्थे । गाँउकै खगेन्द्र खेवा जो गाँउकै पहिला र धेरै पढेको ब्यक्ति, सुब्बा हिर्दमानको जेठा छोरा असम पसेको, कहिले बेपता भएको अनेक कुरा गाँउघरमा पटकपटक चलिरहन्थ्यो । तब छुट्टि मिलाएर सन् २०१३ मा पूर्व प्रधानपन्च तथा गाविस अध्यक्ष लोकेन्द्र तिगेला, डा. कमल तिगेला सहित पहिलो पटक सिक्किम दाजिलिंग र दोस्रोपटक असम र नागाल्याण्डको वंश खोज गर्न डेढदुई हप्ताको भ्रमणमा निस्केका थियौ । त्यो बेला नागाल्याण्डमा नेपालीहरु नागामा रुपान्तरण भएर गएको कथाहरु सुने, धेरै बर्ष भईसक्यो, धेरै ठाँउ खोजि सकियो अंह । बडालाई भेटिएन वा वहाको सन्तानलाई नभेट्दा पीडा भयो कहिकतै वहाहरु पनि नागामा त रुपान्तरण हुनुभएन भन्ने चिन्ता भयो, यदि रुपान्तरण भईहाल्नु भएको भए हामी कहिल्य भेट हुनेछैन र चिनजान हुनेछैन भनी बेग्लै पीर थपिएर आउथ्यो । घर परिवारबाट पनि बडा र उनका सन्तानलाई खोज्ने र आखिर छोडेर गई विर्षनै खोजेका हुन त्यसैले नखोजौ भन्ने पनि सुझावहरु आए तर म निरन्तर सोचिरहन्थे, खोजिरहन्थे । सन् २०१३ को असमको खोज भ्रमणमा मैले असममा रहेका केही नेपाली राम्रो ब्यवस्था सहित बसेको र केहीको एकदमै पुरानो शैलीमा जंगल छेउतिरै बसेको देखेको थिए र यदि साच्चै दुःख साथ जीबन यापन गरिरहनु भएको भेटिए नेपाल फर्काउने र विसम्भार घरजग्गाको जिम्मा दिने सम्मको चर्चा गरयौ । वास्तवमा निष्ठूरीले नै हो छोडेर जाने, अनि बुबाआमा घरपरिवार र गाँउसमाजलाई कति पीडा हुन्छ ख्याल नराख्नु झनै पीडादायी लाग्छ ।

यि अनेक चिन्ता र विमर्श बोकेर निरन्तर खोजमा लागेको करिब १३ बर्ष भई सकेको छ । पटकपटक उत्तरपूर्वी भारतका असम, नागाल्याण्ड, अरुणाञ्चल, शिलंग, पंश्चिम बंगाल, सिक्किम लगायतको भ्रमण गरे/गरयौ तर हाता लाग्यो शुन्यहुदा निरासा पनि लागि सकेको थियो । अन्य वंशको भेट्ने तर आफ्नै चाहि किन नभेटिएका होलान लाग्यो । त्यसैले संगै भ्रमणमा रहनु भएको शिव सरसँग सल्लाह भयो आज अन्तिम दिन । भोली देखि हामी टुरिष्ट हुने, भोली पछिको दिनमा वंश खोज्नको निमित्त कुनैसंग, कसैसँग भेटघाटको कार्यक्रम छैन । मैले पनि भित्रभित्रै अब धेरै खोजियो, आफ्नो धर्म पूरा भयो, अब सधैको लागि खोजि कार्य बन्द भने । हुन पनि बषौबर्ष बित्यो, दर्जनौलाई हारगुहार गरियो, धेरै समय बर्बाद भयो तर भेटिएन, नभेटिने खोजी अब बन्द गर्ने भनी जुन दिनलाई हामीले अन्तिम खोजी गर्ने दिन मानेका थियौ त्यहिदिन बिहान बंगला गाँउसँगै जोडिएको भेलुवाटर स्थित फूपुको घरबाट रुपान्जली सुनितपुर दिल लुंगा र वहाको साथीले दुई मोटरबाईकमा हामीलाई हुईकियाएको थियो र खानाखाने समय बाटोमै कट्यो जब खानाखाने समय टर्यो तब धनीराम मादेन बाजेले घरमा पुग्यौ, भोकको पीडा त्यहिदिन हो मैले जीबनमा सबैभन्दा बढि महशुस गरेको, संगसंगै यात्रामा रहनु भएको शिव सरलाई सोध्द्धा वहाले पनि भोक लाग्यो भन्नुहुन्थ्यो तर जति मलाई लाग्यो त्यति वहालाई लागेन सायद र वहा धनीराम मादेन बाजेले नै कुदाउनु भएको बुढो बाईसकलको पछाडी बसेर अर्को गाँउ जाँदा दुर्घटनामा पर्नु र सौभाग्यवस साँझपख उनै बुढा धनीराम बाजेले हात्तिखर्के तिगेलाको घरमा पु¥याउनु बडो अविश्मरणीय संयोग हो लाग्दछ । भोक लाग्नु, दुर्घटनामा पर्नु र खोजकार्य बन्द गर्ने भनिएको साँझ टुप्लुक्क हात्तिखर्के तिगेलाको घर पुग्नु अर्थात मेरो बडा धनाहाँङ असमी नाम मन बहादुर लिम्बुको घर अर्थात नाति टिकाराम तिगेलाको घरमा पुग्नु अनौठो संयोग लाग्दछ र मेरो लागि ठूलो उपलब्धि पनि हो ।

शिव सर र मेरो असमको खोज यात्रा लगभग दुईहप्ता पुग्नै लाग्दा हामीमा एउटा आदत बसिसकेको थियो त्यो भनेको एक ठाँउमा एकरात भन्दा बढि नबस्ने र पाहुनाको रुपमा पनि एकघरमा एकरात भन्दा बढि दुःख नदिने । खानपीनमा चाहि पाहुना लागेको बाहेकको प्रत्यक भान्सामा काँचो प्याज अनिवार्य खान्थ्यौ, यतिधेरै भात खाइन्थ्यो की कतिपय ठाँउका दोकानेहरु नै अचम्मै मान्थे, धेरै खाना खानुमा पेयपदार्थ आदि हामी केही खान्न थियौ र बिहान खाजा नै बाह्रबाह्र वटा पुरी खाएको पनि इतिहास छ, हैट । उसो त हामी दुवैजना पेन्सनर, जाँगिरमा पुगि हाल्नुपर्ने हतारो थिएन र हाम्रो यात्रा असिमित थियो । शिव सर खेवा वंशको घरमा पुग्ने वित्तिकै वंशावली टिपी हाल्नुहुन्थ्यो र वहाको अर्जुन दृष्टि समग्र खेवाको वंशावली टिप्नुमा हुन्थ्यो तर म भने दाजु टिप्ने हुनुभएकोले गफाडीको भूमिका बढि हुन्थे अनि फोटो खिच्ने जिम्मा चाहि मेरो थियो । उसो त शिव सर खेवा वंशावलीको थप तथा संशोधन गरि प्रकाशन गर्ने समितिको अध्यक्ष पनि हुनुहुन्छ त्यसैले अध्यक्ष नै हुनुभएको बखत म सल्लाहकारको काम वहालाई सहयोग गर्ने मात्र रहयो ।

हात्तिखर्के तिगेलाको घरमा सबै तथ्याङ्क लियौं, वहाहरुलाई पनि करिब ७० बर्ष अघि घर छोडनु भएको बडाको समयलाई अध्ययन गरेर हामी ९० प्रतिशत एकै परिवारका हौ भनेर आश्वस्त दिलाई, हाम्रो नेपालको ठेगाना दिई, फोटो खिचि मन फूरुंग बनायौ । घरमा टिकाराम दाइकी भाउजु चम्पा सेने, वहाको छोराद्धय विशाल र सुनिल, सानो राई नातिलाई छोडेर बाटो लाग्यौ । दाईकी छोरीद्धय सुनिता र बबिता दुबै घर थिएनन । वहाहरु दुध ठेक्का लैजानुहुदो रहेछ, दुईवटा मोटरबाइक रहेछन, विशाल भारतीय सेनामा भर्तिहुन प्रयासरत युवा भने कान्छा सुनिल पुजापाठमा रमाउने रहेछन । टिकाराम दाई स्वयं चाहि शिंलगतिर काममा थिए । पानीको धारा आँगनमै ल्याईएको र केही बाख्राहरु बाँधिएका थिए, सुगुर कुखुराहरु थिए । घर सुन्दर र सफासुघर थियो । करेसामा कल्कलाउदो रायो साग लगायतको सब्जिहरु हूर्किरहेका थिए । पुष महिना भएकोले घरको अगाडी र पछाडी राम्रो खेतहरु खालीखाली देखिन्थे । नजिकैको घर भाउजु चम्पाकी दिदी र गुरुङ भेनाको थियो भने बाँकी वरिपरि रहरलाग्दो चियाका बोटहरुले ढाँकिएका थिए ।

बिहानको खाना गाईको दुध संग खाएर सुन्दर चियाबगान छिचोल्दै नजिकैको बजार पुग्यौ जहाँ सोही घरकी भतिजी सुनिता लिम्बु आफै स्कुटर हाँकेर हामीलाई भेटन राँगापारा बजारको जिएनबी रोड स्थित वस स्टेसनमा आउनु भयो । भतिजी सुन्दरी र टाँठी, आमा जस्तै हुनुहुदो रहेछ, उनले पनि खुसि ब्यक्त गरिन तब हाम्रो खोजको सम्पूर्ण काम अन्त गर्दै तेजपुरका वरिष्ठ साहित्यकार ज्ञान बहादुर क्षेत्री दाईलाई भेटन बस चढ्यौ । तेजपुरमा ज्ञान दाई चन्द्रमणि उपाध्याय स्वागत गर्न आउनु भयो र उपाध्यय सरले वहाकै कारमा राखेर ब्रम्हपुत्र नदि, वरिपरिको मन्दिर र तेजपुर शहरको परिक्रमा गराउनुभई ज्ञान दाईको घरमा हामीदुईलाई असमेली खदा र टोपी ओढाई भब्य स्वागत गर्नुभयो, भाउजुले मिठो खानेकुराहरु दिनुभयो । असाध्य आनन्द आयो, ज्ञान बहादुर दाई त्यतिकै अध्ययन र लेखनमा लाग्नुभएको होइन रहेछ, घर असाध्य राम्रो ठाँउमा, फराकिलो घर र पारिवारिक वातावरण पनि उस्तै रमाईलो म अहिले पनि सम्झि रहन्छु । र, अर्को रोचक चाहि ज्ञान दाई र उपाध्यय सर यति हितैषीकी वहाहरुको बोलीबाट प्रष्टहुन्थ्यो । ज्ञान दाईले १८ वटा साहित्यिक प्रश्नहरुले लेखेर दिनुभयो, मैले युके फर्किए पछि लेखेर पठाउने वाँचा गरे र पछि उत्तर लेखेर पनि पठाए ।

हामीमा सामान्य घुमघाम र लिनपर्ने जानकारी लिईसकेपछि लामो समय नबस्ने आदत नै बसि सकेको कारण दिउसो देखि साँझ सम्म ज्ञान बहादुर दाई, भाउजु र उपाध्यक्ष सरको साथमा रहयौ त्यसपछि हामी मेघालयको राजधानी शिलङ जाने भयौ, उता ज्ञानबहादुर दाई भाउजुले चाहि घरमै बस्नुपर्ने जिकिर, लिम्बु महासभा असमका अध्यक्ष लक्कि खापुङ र असम संसदका माननीय साँसद पूर्ण लिम्बूज्यूले पनि वहाकै निवासमा भेटन आउन फोनमा निमन्त्रणा गर्नुभएको थियो तर हामी चाहि शिलंग लाग्ने भयौ । ज्ञानदाई र उपाध्यय सरले बस स्टेसनमा छोड्न वहाकै कारमा लैजानु भयो र पतै नपाई शिलङ जाने वसको टिकट गोजीमा लगाई दिनुभयो हामी झन चित खायौं र हिर्दयबाटै आभारी बन्यौ । त्यति धेरै न्यानो स्वागत, दिनभर धुमाई दिनुभयो, घरैमा खदा, टापीले स्वागत गर्दै मिठोमसिनो खुवाउनु भयो, असमी नेपाली साहित्यको बारेमा जानकारी दिनुभयो, भारत इतरका नेपालीले नेपाली भाषालाई गोर्खा भाषा भन्न शुरु गरेको छनक दिनुभयो, धेरै ज्ञानगुनको कुरा दिनुभयो र विदाईमा बसको टिकट दिनुभयो । म/हामी आभारी बन्यौ । मेरो जीबनमै पहिलो पटक कसैले टिकट काटेर दिनुभएको, त्यो सुखदपल सधै सम्झि रहने छौ । ज्ञान दाई र चन्द्रमणि सरको गुण कसरी तिर्ने अहिले पनि सोची रहन्छु ।

शिलग जाने बस आधाबाटो पुग्दा असम पार्लियामेन्टका विधायक साँसद माननीय गणेश लिम्बु ज्यूको फोन आयो र मैले भने माननीय ज्यू हामी सिंलग लाग्यो तब वहाले ल है एकछिन पछि फोन गर्छु भन्नुभयो मैले हुन्छ भने । शिलग गुहाटी नजिक हुदै जाने रहेछ हामी गुहाटी नजिक पुग्दा फेरी माननीय ज्यूको फोन आयो र वहाले भन्नुभयोः लौ राती भयो, रातसाँझ शिलग जानु राम्रो हुदैन आज तपाईहरु गुहाटी जाने वस स्टेसनमा एकजना भेटन आउछ भन्नुभयो, अरु प्रश्नै नगरी हुन्छ भन्दिए, गुहाटी स्टेसनमा वस रोकियो । एकजना नजिक आएर नामसोध्यो हो भन्यौ र उसले आउनुहोस कारमा चढनुहोस भन्यो चुपचाप चढ्यौ र केहीबेरमा एक भब्य होटलमा रोक्यो । हाम्रो झोला पनि होटल भित्र लगिदियो र होटल कोठाको चाँबी दियो, झोला कोठा सम्म लगिदिनुभयो हामी चुपचाप जे भन्दैछन सोहि मान्दै कोठा भित्र पस्यौ र ति ड्राइभरले सर म लागे भन्यो । हुन्छ हस धन्यवाद भनेर विदाई गरयौ । गजब त कस्तो भने माननीय ज्यूले एकजना ब्यक्ति लिन आउछ भन्नुभयो किन, को आदि प्रश्नै गरिन, मान्छे आएर थपक्क कारमा राख्यो कहाँ लैजाने भन्ने सम्म सोधिन, एउटा आहान छ नी जहाँ जाँला जोगी भातै खाला । दुई जना भएकोले हामीलाई सुरक्षाको पनि डर थिएन तसर्थ यति विन्दास भ्रमण जीबनमा सायदै हुन्छ । कोठामा सामान्य आराम पछि भोक लाग्यो र होटलको रिसेप्सनमा सोधे के हाम्रो लागि खाना पनि बुक छ? रातको साढे दश बजेको छ, बुक छ आउनुहोस भन्यो । सामान्यतया दश बजेपछि खाना पाइन्न तर त्यहा पाइयो त्यो भन्दा अर्को रोचक त सो रात क्रिसमस डे अर्थात डिसेम्बर २५ रहेछ त्यहि होटलमा सजाएको क्रिसमसको सज्जावटबाट मात्र थाह भयो । असमको भ्रमण तथा समाज अध्यनले क्रिसमस डे पनि बिर्षिएछौ ।

विहान चाडै शिलग जानुपर्ने भएकोले कोठा चेकआउट गर्दा रिसेप्सनिष्टले यहा हस्ताक्षर गर्नुभन्नुभयो म अतालिए पनि कतै पैसा पो तिराउने हो की तर त्यसो होइन रहेछ सिर्फ विलमा हस्ताक्षर मात्र गर्नुरहेछ र विदा लिएर निस्किए पछि वस पर्खनेक्रममा गुगल गरेर हेरेको त हामी बसेको गुहाटी जिएस रोडको नोभोटेल होटल एण्ड रिसर्ट त ५ तारे होटल रहेछ । मनमनै माननीय ज्यूलाई धन्यवाद दिए र शिलग जादै गर्दा फोन गरेर आभार ब्यक्त गरे । माननीय ज्यूलाई अहिले सम्म भेटेको छैन र कहिल्य बिर्षने पनि छैन ।

हामी शिलंगमा पुग्यौ, आज सम्म मैले पहाडी इलाकामा शिलग जत्रो ठूलो शहर देखेकै छैन । निक्कैबेर घुमफिर पछि हामीलाई अर्को नयाँ ठाँउ पुग्नुपर्ने रोग लागि हाल्यो तसर्थ हामी संसारकै सवैभन्दा बढि पानीपर्ने चेरापुञ्जी जाने निर्णय गरयौ र कार नै रिजर्भ गरेर बाटो लाग्यौ । दुई अढाई घण्टाको बाटो रहेछ, असाध्य सुन्दर ठाँउ, बंगलादेशको नजिक, सुन्दर दृष्य देखेर प्रसंसा नगर्ने कमै होलान । हुन त चेरापुञ्जीलाई स्थानीय भाषामा सोह भन्दा रहेछन । विशेष गरेर चेरापुञ्जी बजार पुग्नु अगावैको घाँटी ढुवानसिंह सिम भ्यू प्वाइन्ट असाध्य सुन्दर लाग्यो ।

भोलीपल्ट विहानै शिलग– गुहाटी हुदै झालुकबारी स्टेशनबाट गलपारा जिल्लाको धुपधारा स्थित खगेन्द्र तिगेला तर वहाको असमको नाम चाहि वीर बहादुर खेवा दाजुको घरमा पुग्यौ वहा खानापारा लिन आउनु भएको थियो । खगेन्द्र दाजुको घरमा पुगेपछि चाहि घरै पुगेको महशुस भयो । भब्य गफ गरयौ र त्यो रात त्यहि बस्यौ, मैले जीवनमै पहिलो पटक मरिच र पानको पातको बोट देखे । त्यसको भोलीपल्ट अर्थात पुष ६ गते हामी विहानको बसमा सिलगुढी बाटो लाग्यौ । पहेलै फूलेका तोरीखेतीले मनै लोभ्याईरहेको थियो, जहाँ पुगेपनि मलाई दुनियाँथरी फूलहरु भन्दा तोरीको फूल मलाई बढि मन पर्दछ । अझ पर बाटोमा त धानको रोपाई पो भईरहेको गाँठे पुषमा म त तिनचित परे र तुरुन्त खगेन्द्र तिगेला दाजुलाई फोन गरेर के हो यो अचम्म भने तब वहाले भन्नुभयो ए तिमीहरु ब्रम्हपुत्र नदि काटदै रहेछौ, त्यो नदिको वरिपरि वर्खामा नदिको पानीले भरिन्छ र अहिले हिउँदमा पानी सुकेको बेला हिल्याएर धान रोप्छन अनि बैशाक जेठमा धान पाक्छ तब फेरी त्यो जग्गाहरुमा पानी भरिन्छ । पुषमा धान रोपिन्छ भन्ने कुरा मेरो परिकल्पना भन्दा बाहिरको कुरा थियो ।

वंश खोजको निमित्त धेरै ठाँउमा पुग्यौ । बडाबाउ धनाहाँङ हुनसक्छ भन्ने हिसाबले सुवेदार स्व. माक्लुङे कान्छा दाजुले भन्नु भएको सिमेनचाप्रिको सुरुवाले जेठाको घरैमै पुगेर, स्वयं उनैलाई भेटेर पनि संवाद भयो वहा तुम्बा खेवा हुनुहुदो रहेछ र उमेर ९३ नै पुग्नुभएको रहेछ । वहाको घरमा पुगेपछि हामीलाई चिया खाजा दिनुभयो र केहीबेरमा आँगन जोडिएको घरमा पनि खाजापानीको लागि सानो बहिनीले आग्रह गर्नुभयो र त्यो घरमा पनि हामीलाई चिया तरकारी दिए । त्यो पल मलाई एकदमै रमाईलो लाग्यो किन की धेरै पहिला मेरो घर टोलमा पनि त्यस्तै गर्दथ्यौ, छिमेकीको घरमा आएको पाहुनालाई हामीले पनि बोलाएर सम्मान स्वरुप चियापानी दिने चलन थियो । सो घर सुरुवाले बाजेको अर्को छोराको घर रहेछ, छोरा बुहारी घरमा नभए पनि किशोरी बहिनीले हामीलाई सत्कार गरिन । लाग्छ, वास्ताविक सामाजिक परिवेश नेपालमा भन्दा सुन्दर असमका गोर्खा नेपाली समुदायमा अद्यावधि छदैछ र सधै रहिरहोस त्यसैमा सुन्दरता र न्यानोपन छ ।

हामी अब पश्चिम बंगालको सिलगुढि छोड्नै लागेका छौ तर शिव सर र म बीच पटकपटक दोहरिएको संवाद पुनः पनि दोहरिन्छ । सिलापाथार फूलबारी घग्रा निवासी मकर सुब्बा सर र वहाको परिवारको गुण कसरी तिर्नेहोला, हामी वहाहरुको घरपरिवारको वातावरण देखेर अति प्रभावित भयौ, कुनै कुटुम्बेरी साइनो जोडन पाएपनि हुनेथियो, संवाद गुञ्जि रहन्छ । त्यस्तैगरि जसले मलाई लिम्बु महासभाको कार्यक्रममा जोडनुभयो रिवाज निङलेकु, विमला बहिनी, साहित्यकार ज्ञान बहादुर क्षेत्री दाई, चन्द्रमणि उपाध्यय सर, माननीय पूर्ण लिम्बु ज्यू र जसलाई मैले बषौबर्ष देखि खोज्दै आएको मेरो बडाबाउको सन्तान संग भेट गराईदिनुहुने श्रेद्धय धनीराम मादेन बाजे प्रति आभार ब्यक्त गर्दै, ७० बर्षपछि वंश जोडिन पाउने म र मेरो बडाका सन्तान दाजु, भाउजु, भतिजा र भतिजीहरुमा खुसिको लहर बाड्दै असम प्रति असिम सद्भाव ब्यक्त गर्दै, मेची नदि तरिरहेको छु, प्रिय असम फेरी कुनैदिन पुनः आउनेछु ।

२५ डिसेम्बर २०२२