भरत तुङघङ मेरो स्मरणमा – विश्वास दीप तिगेला

जब हाँसो सुन्थे तब म हतारहतार भरत तुङघङ सोल्टीको नजिक पुगेर छलफल, बहस र हाँसिमज्जाकमा सहभागी हुन्थे । हाम्रो कुटुम्बेरी साइनो थियो, छ, मेरो आाँगन जोडिएको दाजुको श्रीमति, मेरो भाउजु भरत सोल्टीको चेली र छिमेकी हुन, त्यसैले हरेक बहसमा सम्मान र सन्तुलन कायम हुन्थ्यो सायद त्यसैले पनि भरत सोल्टी संग जोसाँजोसको वादविवाद भएन, सधै सम्बन्ध सुमधुर रहन गयो । उसो त वहा उमेरले धेरै सिनियर हुनुहुन्थ्यो यद्यपी राजनैतिक मामलामा गरमागरम विवाद गर्न सकिन्थ्यो, अल्लारे ठिटा, आफैले, आफ्नै पालामा समाज बदल्न हिम्मत गर्ने परिपक्क नभएको युवा थिए म, जोस यति थियो, राजनैतिक पार्टी प्रति लगाव भरोसा खुबै थियो, कुनैबेला अध्ययन छोडेर पूर्णकालिन राजनैतिक कार्यकर्ता हुने रहर थियो ममा तर जब भरत सोल्टीसँग कुरा शुरुहुन्थ्यो सबै शान्तिप्रिय हुन्थ्यो । अरु भन्दा पनि वहाले घटित घटनाहरुलाई साह्रै रोचक ढंगबाट भन्नुहुन्थ्यो तब हामी हाँस्थ्यौ मज्जाले ।

म एसएलसी दिनको निमित्त धनकुटा देब्रेवासको आले लजमा स्व. हरिराज खेवा दाजुको कोठामा बस्दथे । आले लज ठिक्क जिल्ला शिक्षा कार्यालय धनकुटाको अगाडी अर्थात पूर्वाञ्चल शिक्षा निर्देशनालयको अगाडी पर्दथ्यो र बीचमा धनकुटाबाट हिले जाने सडक छ । त्यहि पहाडी सडकको छेउमा शिक्षा कार्यालय पट्टि बस्ने चौतारी अर्थात बस पर्खने ठाँउ थियो । भरत सोल्टीलाई धेरै पटक त्यो चौतारीमा भेटेको छु, राँपिलो जिउज्यान, पुक्कपुक्क मोटाएको गाला र शानदार हाँसो र साच्चै रमाइलो लाग्थ्यो । वहा त्यो चौतारी आएर मज्जाले हाँसेको बेला म बस्ने कोठामा पनि सुनिन्थ्यो र म हत्तपत्त निस्कन्थे र भलाकुसारी गर्दैथे । वहा त्यो बेला धनकुटाकै सिधुवा माध्यामिक विद्यालयमा पढाउनु हुन्थ्यो र लगभग महिना, दुई महिनाको अन्तररालमा जिल्ला शिक्षा कार्यालय आईरहनु हुन्थ्यो ।

पछिबाट म एसएलसी पश्चात धनकुटा बहूमुखि क्याम्पसमा भर्ना भए र डेरा क्षेत्र देब्रेवास तिरै रहयो । सोल्टीका चेलीहरु पनि केही म संगै क्याम्पसमा पढने हुनुहुन्थ्यो । क्यापसमा पनि किरात याक्थुङ चुम्लुङ, क्याम्पस इकाई गठन गर्यौ, म चाहि चुम्लुङको सचिव थिए र केही समय पछि नेपाल आदिवासी जनजाति महासंघ, क्याम्पस ईकाई समिति पनि निर्माण गर्यौ, त्यसको म संयोजक रहे र भरत सोल्टी संग उसैगरि भेटहुने रमाईलो गफगाफ हुने, हामीलाई ढाँढस दिनुहुन्थ्यो, उसैगरि मज्जा हाँस्थ्यौ । म जाँगिरको कारण वि.स. २०५२ मा धनकुटाबाट बाहिरिए तब भरत सोल्टीले कहिले देखि धरानमा जाँगिर शुरु गर्नुभयो मलाई थाह भएन तर वहा धरानमा रहेर लिम्बु मुन्धुम, इतिहास, साहित्य र कलामा अतुलनीय योगदान दिदै आउनु भएको थियो । पूर्वाञ्चलको प्रसिद्ध भेडेटार डाँडाको फेदी धरान जिरोप्वाइन्ट नजिकै रहेको वहाको निजि निवासमा भरत सोल्टिले मलाई लैजानु भएको थियो लगभग वि.स. २०६६/६७ तिर हो लाग्छ । वहाको घर त म्यूजियम जस्तो पो थियो । पुराना लिम्बुका किपट, लालमोहर, स्यामोर लगायत चिटिक्क फोटो फ्रेममा राखिएका थिए, ऐतिहासिक लिम्बुहरुको घरमा पाइने हातहतियार र लिम्बुजन्य मालसामान सजाएर राखिएका थिए । उसो त डा. कमल तिगेलाको घरमा पनि त्यसरी नै सजाएर राखिएको देखेको हूँ तर तुलनात्मक भरत सोल्टीको घरमा अलि बढि नै थियो । अहिले सम्झि रहेको छु सो म्यूजियम जस्तो सजावट र सरसामानको हालत कस्तो होला? कसलाई सोध्ने सम्पर्क म संग छैन र आफ्नै ब्यवहारले पनि थिचेकोथिच्यै भएको छ । धरान लिम्बु मुन्धुम, संस्कार संस्कृतिको प्राज्ञिक थलो लाग्थ्यो भरत तुङघङ, आइत खजुम, अर्जुनबाबु माबुहाँङ, डा. कलम तिगेला लगायतको नामले बेग्लै उर्जा दिन्थ्यो तर भरत सोल्टीको अभावमा धेरै निरस लाग्छ । मैले पटकपटक लिम्बु इतिहासको बारेमा भरत सोल्टीलाई सोधेको छु तर अब त्यसरी सोध्ने पाटो बन्द भएको छ । वहाको निधनको खबरले म अत्यन्तै स्तब्ध भए, अपूरणिय क्षति भयो । अरुबेला वास्त खासै हुन्न जब गुमाइन्छ नी तब मात्र मान्छेको अभाव र महत्व महशुस हुदो रहेछ । भरत सोल्टी अहिले सम्म रहनु भएको भए, लिम्बुको मुन्धुमी आयाम, इतिहास अबश्य धेरै माथि हुनेथियो ।

अर्को रोचक सवाल छ जुन चाहिः “मानव उत्पति र खेवा वंश” नामक एक वंशावली पुस्तक वि.स. २०५५ सालमा प्रकाशित भयो र वि.स. २०६२/६३ ताका नेपालमा आदिवासी आन्दोलनको उभार आयो । स्वायत्त लिम्बुवानको राजनैतिक मुद्धा उठ्यो र लिम्बुवानी नेता कुमार लिङदेन लगायत, धेरै नेताहरु संगको भेटमा प्रसंगवस भन्नुभयोः लिम्बुवानको लागि गोर्खा सेना विरुद्ध १७ पटक सम्म युद्ध लड्ने लिम्बुवानी सेनानी काङ्सोर तपाईहरुको वंशावली पुस्तकमा देखियो, वंशावलीमा उल्लेख भएको पुस्ता र समयकाल गणना गर्दा पनि ठिक्क मिल्दछ । वहाहरुले धेरै सभाहरुमा पनि काङसोरेको बारेमा चर्चा गर्नुभएको छ । गजब चाहि उक्त वंशावली संकलन गर्ने हामीलाई चाहि काङसोरेको नाम वंशावलीमा परेको पनि याद थिएन, सो इतिहास पनि थाह थिएन । खासै चासो पनि भएन वंशावली प्रकाशनको त्यो बेला तर अलि पछाडी लिम्बुवानी आन्दोलन बखतको त्यो चर्चा र अन्य वंशले पनि काङसोरेको दाबी गर्नुभएको भन्ने जानकारी आएपछि हामीलाई पनि सोधखोज गर्न बाँध्य बनायो । तब म स्वयं, स्व. लोकेन्द्र तिगेला दाजु, डा. कमल तिगेला दाजु पटकपटक छलफल गर्यौ । यो काङ्सोर कसले वंशावली ल्यायो, लेखायो अह पत्तै आएन । हामी तिनचार बर्ष त काङ्सोरे हाम्रो वंशको हो वा होइन भन्दा पनि वंशावली पुस्तकमा चाहि कसले समावेश गरयो भनेरै खोज्यौ, हामी पूर्वका गाँउगाँउ, दार्जिलिङ, सिक्किम पुग्यो, अर्को बर्ष नागाल्याण्ड र आसाम पनि पुग्यौ र प्रत्येक ठाँउमा काङसोरेको बारेमा केही थाह छ की भनी सोध्यौ । काँकडभिट्टा बस्नुहुने लेखक गोपीलाल लिम्बु ज्यूलाई पनि आसाम, नागाल्याण्ड जाँदा बाटोमा भेट्यौ तर अह काङ्सोरेको बारेमा ईतिहासविद् इमानसिंह चेम्जोङद्धारा लिखित “किरात कालिन विजयपुरको इतिहास” नामक पुस्तकमा जे लेखिएको छ त्यति नै मात्र उत्तर पायौ, एक प्रकार हामी निरास भयौ । चेम्जोङको इतिहास पुस्तकमा लेखिए बमोजिम धनकुटा र शंखुवासभा जिल्लाको सिमाना नजिक पर्ने सभा खोला अरुण नदिमा मिसिने सभा–दोभान गयौ, त्यहाको पुराना स्थानीयलाई सोधीखोजी गर्दा सो पुस्तकमा उल्लेख गरेअनुसार गोर्खा सेनापति रघु राना र लिम्बुवान सेनानी काङ्सोरेको चिहान यथावत छदैछ, अहिले भित्तामा सडक बनेको कारण कारण खडक खन्दा खसेको माटोले केही छोपिए पनि सुरक्षित छ । दुई कुराले हामीलाई खुबै सतायो पहिलो कसले वंशावलीमा समावेश गरयो र दोस्रो चाहि काङ्सोरे खेवा वंशको हो की होइन भन्ने बिषयले ।

गज्जब चाहि केही बर्ष अघि वि.स. २०६७ तिर हुनुपर्छ तेह्रथुमको ताक्लुङ यकमा साँस्कृतिक महोत्सव भएको थियो र सो महोत्सवको भिडियोमा भरत तुङघङ सोल्टीले बोलेको छोटो भिडियो रहेछ । सो भिडियोमा वहाले भन्नु भएको छः “म वि.स. २०५१ को मध्यावधी चुनावमा हात्तिखर्कको सुब्बा हिर्दयमान सुब्बा (तिगेला) को घरमा पुगेको थिए । त्यो बेला उनले काङ्सोरे हाम्रो वंशको हो र उनले यसरीयसरी युद्ध लडेका थिए भनेर सुनाएका थिए र उनले भनेको त्यो कुरा मेरो डायरीमा मैले टिपेको थिए र सो डायरी अहिले पनि सुरक्षित छ । कसैले हेर्न चाहानुहुन्छ भने म संग छदैछ ।” यति भनेको भिडियो देखेपछि म तिन छक्क परे । त्यत्रो बर्ष खोजियो बल्ल भरत सोल्टीबाट थाह भयो ।

खास भएको के थियो भने सुब्बा हिर्दयमान सुब्बाको निधन सो वंशावली पुस्तक प्रकाशनको लागि धरानको एक प्रेसमा दिईसकेको तर प्रिन्ट नभई सकेको बखत निधन भयो । पुस्तकको लागि जेठोपाको, पहिलापहिला पूर्वमा सुब्बा हिर्दयमान भनेपछि सबैले चिन्ने भएकोले वहाको शुभ कामना लियौ, शुभ कामना तयार भयो तर प्रकाशन गर्नुभन्दा केही समय अगाडी मात्र निधन भएकोले वहाको शुभ कामना त राख्यौ तर स्व. हिर्दयमान भनी जनायौ, नत्र निधन भईसकेको ब्यक्तिको त पुस्तकमा शुभ कामना हुदैन । अहिले पनि सो “मानव उत्पति र खेवा वंश” को अगाडी पृष्ठमा स्व. सुब्बाको शुभ कामना छदैछ । वहा सुब्बा हिर्दयमान सुब्बाकै निर्देशन र गाईडलाइनमा लोकेन्द्र तिगेला, रिटायर्ड क्याम्टेन गजरधन तिगेला, डा. कमल तिगेला, शिक्षक शिव कुमार तिगेला, हुकुम प्रसाद मादेन, रनवीर माङयाक लगायत खेवाहरुः तुम्बा, तिगेला, मादेन, माङयाक, आङखेवा र चोङबाङ परिवारको सहयोग तथा संकलनमा सो वंशावली तयार भयो । वि.स. वि.स. २०५० ताका मलाई लोकेन्द्र दाजुले हात्तिखर्कको खम्बारेका रनवीर माङयाक बाजेको घरमा बेलुकी लेख्नको लागि दुई साँझ लिएर जानुभयो र राती अबेर सम्म लेखेको छु । अध्यारोमा युवाले लेख्न आँखा देख्छस लु हिड भनेर मलाई लैजानुभएको थियो । त्यहा खेवा माङयाकहरुको वंशावली टिपेका थियौ ।

यदि भरत सोल्टीले ताक्लुङ यकमा साँस्कृतिक महोत्सव भिडियोमा सुब्बा हिर्दयमानले बताएको उक्त नोट नबताई बित्नु भएको भए अहिले पनि हामी काङ्सोरेको बारे हराईरहेकै हुनेथियौ । यो अर्थमा भरत सोल्टीले ठूलो गुण लगाउनु भएको छ । काङ्सोरे तेह्रथुम छथरको भएको र उनको नामको खेत नै रहेको पनि सुन्नमा आएको छ । देशविदेशको प्रायः एउटा इतिहासलाई एक भन्दा बढिले दाबी गर्नेगरेको पाइन्छ त्यसैले काङ्सोरेको विभिन्न दाबीलाई पनि अन्यथा लिनुहुदैन ।

भरत सोल्टीले हामीलाई सधैको लागि छोडेर जानु भएको पनि केही बर्ष वितिसक्यो । वहाको अभाव असाध्य धेरै खट्किएको छ । वहा जन्मसिद्ध नै मुन्धुमहस्त हुनुहुन्थ्यो, चियागफमै मुन्धुम कण्ठष्त भन्नुहुन्थ्यो, मलाई लाग्छ त्यसरी मुन्धुम जो कसैले भन्न सक्दैनन तर वहामा त्यो अदभूत क्षमता थियो । वहाको सम्झना र सम्मानमा जसरी स्मृतिग्रन्थ तयार भयो त्यसैगरि भरत तुङघङ मुन्धुम पुरस्कार/सम्मानको समेत ब्यवस्था गर्नसके अझ वहाप्रति सच्चा सम्मान हुनेथियो । सोल्टी प्रति हार्दिक श्रद्धाञ्जली ।

१ सेप्टेम्बर २०२२, आसफोर्ड युके