
नइ प्रकाशनले गरेका काम हेरेर निक्कै पटक मेरो मथिँङ्गल खल्बलिएको छ । नेपालको संविधान २०७२ को निर्माण हुँदै गरेको बखत सरकार अनिर्णित थियो । साथै नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका अन्य ठूलठूला सङ्घसंस्थाहरु प्रायः अनिर्णित र त्रसित देखिन्थे । त्यस्तो अवस्थाको बखत नेपाल प्रज्ञाप्रतिष्ठानभन्दा मलाई नइ प्रकाशन ठूलो, आधिकारीक र सम्मानित संस्था लाग्दथ्यो । नेपाली साहित्यको श्रीवृद्धिको निमित्त गरिने विभिन्न सभासम्मेलन, पुस्तक प्रकाशनदेखि सम्मान, पुरस्कार वितरणमा पनि अगाडि पाउँदा नइ सबैभन्दा ठूलो प्राज्ञिक संस्था हो भन्ने मेरो मनले प्रमाणित गरिदिएको थियो । सरकारी निकायबाट चलेर अस्थित्वमा सम्म रहेका संस्था या काम गरेर संसारभरि फैलिएको गैरसरकारी संस्था बीच कुन ठूलो हो भन्ने मापन त हुदैन होला । तर पनि अहिलेको सङ्कीर्ण दलीय अवस्थामा जनसतरबाट चलेका गैरसरकारी संस्थाको काम नै शुद्ध र पवित्र हुन्छ भन्ने नइले प्रस्ट्याइहेको छ । यस्तो कुरा न कसैले छोपेर छोपिने रहेछ न लुकाएर लुक्न सक्छ ।
नइले त्रिमूर्ति निकेतनको स्थापना गरेको जान्दा मलाई फेरि अर्को अचम्म लागेको छ । नइको लगनशिलता र योगदान देखेर म त नतमष्तक भएकै छु जान्ने सुन्नेहरूका मुखबाट पनि मैले यस्तै आवाज सुन्ने गरेको छु । नइको कार्य गराइ सरकारको आँखाबाट समेत छिपेको रहिन रहेछ भन्ने कुरा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमा नइले भानुभक्त द्विशतबार्षिकी समारोह मनाएको थियो । त्यस पर्वलाई देश विदेशमा नइले भव्यतापूर्वक सफल बनाएको कुरालाई मैले पटकपटक सिंहवलोकन र समीक्षा गरेको छु । भानु द्विशतबार्षिकी चानचुने परियोजना थिएन, जोजसले धान्न नसक्ने काम नइ जोडीबाट फत्ते भएको थियो । नइ प्रकाशनको सो कार्यबाट म अति प्रभावित बनेको थिएँ ।
नइको अर्को फेरि अचम्मै लाग्ने काम चाहि जिउँदो रहँदै सत्यमोहन जोशीलाई उहाँको उमेर ९५ बर्ष पुगेको बर्ष पाँच अङ्क ग्रेस थपेर १०० बर्ष पु¥याएको थियो । नइले वाङ्मय शताब्दी पुरुष घोषणा गरि लाईफ अचिभमेन्ट प्रदान गर्दा म अचम्मित भएको थिएँ । पहिलो त जिउँदो व्यक्तिलाई उहाँकै जीवनकालमा त्यत्रो सम्मान दिनु त्यसपछि चारैतिरबाट गतिलो पहल जुटाएर सरकारबाट हुलाक टिकट प्रकाशन गराइनु र नेपाल राष्ट्र बैंकबाट सिक्का प्रकाशनमा ल्याउने वातावरण तयार गरिनु मलाई गजबको कुरा लाग्यो । नेपालमा ज्यूँदो मान्छेको टिकट र पैसा प्रकाशनमा आएको मैले त सुनेको पनि थिएन । अहिले पनि जोशीको चीर आत्माले सम्भवत नइलाई सबैभन्दा उच्च कोटीमा राखेर सम्मान गर्दो हो । त्यस आत्माले सबैभन्दा धेरै आशीर्वाद नइलाई नै दिँदो हो सायद भन्ने मलाई लाग्छ । किनभने कुनै पनि संस्थाले त्यसरी निस्वार्थ जिउँदै र सही व्यक्तिलाई उच्च सम्मान दिएको त्यो घटना नौलो मात्र होइन आश्चर्य जनक नै थियो । माधव घिमिरेलाई राष्ट्रकविको सम्मान पनि नइले नै दिएको जान्न पाउदा त्यति बेला मलाई खुसी लागेको थियो । नइले जसलाई जे सम्मान दिन्छ अनि सिङ्गो राष्ट्रले त्यसको हुबहु अनुमोदन गर्नु सामान्य कुरा होइन ।
मलाई धेरै समयसम्म नइ शब्दको अर्थ थाह थिएन पनि । नइ जोडीको तारतम्य र गठबन्धन सुनेर रमाइलो लागेको थियो । तर नरेन्द्रराज प्रसाईको नाम र काम चाहिँ मलाई थाह थियो । उहाँ राजावादी रे भन्ने पनि मैले सुनेको थिएँ । तर मलाई साहित्यकर्ममा जो कसैको राजनैतिक आस्थाले फरक पार्दैन र पार्दैन थियो पनि । उहाँले श्री ५ वडामहारानी ऐश्वर्यराज्यलक्ष्मीदेवी शाहलाई साहित्यकार चाँदनी शाह भनेर चिनाएको घटना अर्को अचम्म लाग्दो भयो । जनताको छोराले राजारानीलाई चिनाइरहनु पर्ने मावली कुरा त होइन नि ! पछिपछि मलाई यो पनि थाह भयो— रानी ऐश्वर्यका धेरै ओरका व्यक्ति भएर नरेन्द्रराज प्रसाईले निक्कै काम गर्नुभएको रहेछ । सो कुरा जान्न पाउँदा उहाँप्रति झनै श्रद्धा र सम्मान बढेर गएको थियो । पछि नइ दम्पती बेलायत आएको बखत तीन घन्टाको बाटो मोटर ड्राइभ गरेर लिन गएँ र मेरै निवासमा केही दिन उहाँहरू बस्नु भयो । उहाँहरूलाई केही ठाउँ डुलाएँ र उहाँहरू बसेको ठाउँमा पुरयाएँ । उहाँहरूसँग विताएको त्यो समय मेरा लागि गर्व गर्न लायकको भएको छ ।
नइ भनेका रथका दुई पाङ्ग्रा भनिरहनु पर्दैन कि यो कुरो विश्वका धेरै नेपालीलाई थाहै छ । नइको त्यही प्रेमिल मिलन रहेछ र नै नइ उभिएको नेपाली साहित्यले संसार ढाक्ने काम ग¥यो । निरन्तर रूपमा दशकौं साहित्यकर्मको रथलाई निश्वार्थ अगाडि बढाउनु चानचुने कुरा होइन । एक नेपाली नागरिक भएर यो नेपाली (खस–जुम्ली) भाषा साहित्यको उन्नयनका लागि धेरैले योगदान गरेका छन तर नइले जति अरु कुनै पनि नेपाली नागरिकले साहित्यका सम्बन्धमा काम गरेको छ जस्तो मलाई त लाग्दैन । हामी विदेशमा बसेर पनि कसले के काम गरेको छ भनेर जान्न चनाखो छौँ । अहिले नइ सर्वमान्य किसिमको साहित्यिक संस्था हो भन्ने हामीले थाहा पाइसकेका छौँ ।
नइ प्रकाशन जनस्तरको संस्था भएर पनि त्यसलाई सामुदायिक हिसावले परिचालन गर्नु लरतरो सोच र जाँगरले हुने कुरो होइन । त्यतिका दर्जनौँ पुरस्कार तथा सम्मान प्रदान गर्नु आफैँमा अनुकरणीय विषय हो । उसो त नइ नामै मात्र पनि सबैले विश्वास गर्ने, दाताहरुले पत्याउने खालको भएको हो । समाजिक या साँस्कृतिक काम गर्न कसैलाई दुईचार महिना, दुईचार बर्ष रहर जाग्नु सामान्य कुरा हो तर वर्षौंवर्षसम्म निरन्तर र निस्वार्थ भावनाले अरूको मन बुझेर अरूकै लागि काममा लाग्ने नइलाई म त नेपाली साहित्यको शङ्कराचार्य भनिदिन्छु । बेथितिमा डुब्न लागेको नेपाली साहित्यलाई नइ जोडीले जोगाउनु जोगाएको छ । अनिकालमा बीउ जोगाउनु र हुलमुलमा जिउ जोगाउनु भने झैँ प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालय या साझा प्रकाशन दलदलको भासमा भस्सिएर अल्मलिरहेको बखत प्रतिष्ठान भने पनि विश्वविद्यालय भने या जे भने पनि नइ नै एउटा आसा र भरोसा लाग्दो ठाउँ भएको छ ।
म स्वयं आफैले पनि २०६२ सालदेखि निरन्तर अनलाइन ‘नेपाली साहित्य मञ्च’ मार्फत ‘नेपाली लिटरेचर डटकम’ संचालन तथा साहित्यिक कार्यक्रम गर्दै आउनुको अनुभवले पनि भन्न सक्छु— ‘नइको योगदान अरु कुनै संस्थासँग तुलना हुन सक्दैसक्दैन । नेपाली साहित्यको उनन्यनका लागि जन्मेको नइलाई भगवानले सधै रक्षा गरुन् । साथै नइ जोडी पनि नेपाली साहित्यको कर्ममा कहिल्यै नथाकुन् भन्ने मेरो प्रार्थना रहिआएको छ ।
biswaswdip@ymail.com
११ माघ २०७९, आसफोर्ड, युके