यस्तो थियो लण्डन म्याराथन

यो धर्तिमा कतिधेरै सुन्दर बस्तुहरु छन् । तिमीले देखेका भेटेका भन्दा कयौ गुणा असल मान्छेहरु पनि यो शहर र संसारमा प्रसस्त छन् । जीबनमा खुसि र सुखी त आफै खोज्ने र आफै अनुभूत गर्ने हो । दौड्न्दादौडन्दै अकस्मात प्रफूल्ल मनमा फूरेका यी विचारले निरासावादी साथीहरुलाई सम्झाउने योजना बुन्दाबुन्दै ५ माइल दौड छिचोलेको छु । उल्लासमय दौडको यी आनन्दभूति संगै अब बाँकी २१ माइल जानु छ । लण्डनको शहर माथि मधुरो घाम छरिएका छन् ।

अप्रिल महिना हो रुखविरुवाहरु नांगै भएर फूल्न शुरु गरिसकेका छन् । मलाई अलिअलि हाँसो र रमाइलो के लाग्यो भने एक अर्धवैंसे ब्यक्ति सडक पट्टिको बार्दलीमा हाइफाई रेडियोका २ वटा साउण्ड सिस्टम सडकमा फर्काएर माइक समाएर एक्लै हल्लीहल्ली ठूलो स्वरमा भनी रहेका थिए । हाय गायज आईएम हेय टु सो यु लभ । अल यु लण्डन म्याराथन रनर्स आर ग्रेट एण्ड लभ्ली । हेर्दा ती ब्यक्ति पूर्वी यूरोपियन जस्ता देखिन्थे । निरन्तर दौडन्दै सुन्दैथिए ती ब्यक्ति छोडिए । ससाना वालबच्चाहरु स्वागतको लागि सडकको दाँयाबाँया उभिएर हात दिईरहेका थिए । हामी दौड्नेले उनीहरुको हातमा स्पर्श गरिदिन पथ्र्यो उनीहरु खुसि हुन्थे । लगभग बाटोमा पर्ने प्रत्येक घरकाले म्यूजिक बजाई दिएर हाम्रो दौडलाई मनोरन्जनपूर्ण बनाईदिइरहेका थिए । ताली बजाउदै स्यावास भनीरहेका थिए । बाटो कटदै जाँदा परिस्थितीहरु पनि परिवर्तन हुदै गएका थिए । एउटी बुढी आमैले हात दिईरहेकी थिइन । मैले उनको हात छुन खोज्दा एउटा चिल्लो ढुगां जस्तो देखे । उनको हात नजिक मेरो हात पुगि हाल्यो र उनको हातको त्यो चिल्लो ढुगां जस्तो बस्तु टिपी हाले र निरन्तर दौडिरहे । त्यो चीज मिठाई रहेछ । मुखमा लगाए । मलाई त्यसले निक्कै शक्ति दियो । सड्कमा आज कुनै गाडी गुडेका छैन्न सिर्फ ३९ हजार १४० जना विश्वभरका दौडवाजहरु सडक पुरै ढाँकेर लण्डनको शहरमा दौडिन शुरु गरेका छन् । सडकको दाहिने र देब्रे पट्टि पुरै ढाँकेर हौसला दिन र स्वागत गर्न अनगिन्ति मान्छेहरु उभिएका छन् । ठूठूला हूटिग गरिरहेका छन् ।

लण्डनको ग्रीनवीच पार्कबाट शुरु भएको विशाल दौडका सहभागी सबैलाई एकैपटक ब्यवस्थापन गर्न कति गाह्रो कुरा हो सोच्नै सकिन । उसो त यसपटकको म्याराथनको लागि २ लाख ४७ हजारले आवेदन दिएमध्ये हामी ३९ हजारले मात्र अवसर पाएका थियौ । शुरुवात विन्दु पार गर्न मात्र १६ मिनेट लाग्यो । जम्मा ४२.१६ किलो मिटर भनेको दिनभर निरन्तर दौड्नु हो त्यसको पीरले मान्छेहरु आआफै बतासिएका थिए । धेरै मान्छेहरुको नजिकै कुद्दाकुदै रोकिएर लाचार भई पिसाब फेरी रहेका थिए । झण्डै तीनभागको एक भाग तुर्नै लाग्दा पुलमुनिबाट केही धावक दौडन्दै फर्किएका देखे सम्झिए त्यहा चर्पि रहेछ । म पनि त्यता कुदिहाले एकैछिनमा फोहर उठाउने कन्टेनरको वरिपरि तीनचार जना भयौ । र, दौडन्दै एक युवती आइन र हामी संगै बसेर पिसाब गरिन र दौडी हालिन उनको रनिङ नम्बर चाहि वास्त भएन तर नाम चाहि ३ अक्षरको थियो । कन्टेनर भन्दा केही मिटर अगाडि चर्पिहरु ब्यवस्था गरिएका रहेछन । दौडनेहरु रोकिएर चर्पिको लागि लाइन बसि रहेका थिए तर हामीलाई ती चर्पिहरुको अब आवश्यकता परेन ।

म्याराथनमा यति रमाइलो वातावरण हुदो रहेछ की मानौ सहभागि तपाईले जे गरेपनि कसैले केही नभन्दा रहेछन् । स्काउट, क्लव, बृट्रिस लिजन, गाँउ टोल र ब्यक्तिब्यक्तिले विभिन्न म्यूजिक बजाएर स्वागत गरिरहेको देख्दा साच्चै नै मलाई निरासावादी साथिहरुलाई भन्न मन लागेको थियो हेर त संसार कति रमाइलो छ । ७ दिन अघि मात्र नेपालबाट लण्डन आएकोले मेरो दिमागमा एक घटनाको कारण एउटा कुरा खेलि रहेको थियो । धेरै मानिस आफ्नो संकोचित सोच कै कारण गरिबी र दुःखी भईरहेका हुदा रहेछन् ? कल्याण सोचका मान्छे गरिब हुन्छन तर दुःखी हुदैन्न रहेछन की ? अनेक सोचलाई मनमा खेलाउदै मलाई होष्ट गर्न आएका भोजकुमारी, मलियना र तङनामलाई आउने घुम्तिमा देख्ने रहर साँच्दै कतै नरोकिकन दौडी रहेको छु । उनीहरुले मलाई सजिलै देखुन र अन्य नेपालीहरुले पनि देखुन भनेर हातमा सानो नेपालको झण्डा बोकेर दौडिरहेको छु । घुम्तिनेर बाटोको दाँयाबाँया हेर्नेहरुको भिडमा हेर्न चाहेकाहरुलाई देखिन । अब बाटो दश माइल नाघ्दैछ । म अलि रफ्तारमा बढे । धेरैलाई उछिन्दै अघि बढे । झण्डै तेह्र माइल कटे तब खुट्टाका पासुला र तिघ्राका मसलहरु झमझमाउन थाले । कम्मरमा झुण्डाएर बोकेको इनर्जी जेल झिकेर निचोर्दै पिए । यो पहिलो पटक भएकोले जेलले कति काम गर्छ र केके असर गर्छ मलाई थाह थिएन । दुईघण्टा भन्दा बढि समय निरन्तर लण्डनको सडकमा ठूठूला होहल्ला माझ दौडि रहेको छु । अव बाँकी त्यतिनै दौडनु छ । त्यसैले अब अरुलाई उछिन्दै दौडी रहेको छैन । आफ्नै रफ्तारमा निरन्तर अघि बढि रहेको छु । बाटोको दाहिने देब्रे असिना परे झै बक्सटन कम्पनीका पिउने पानीको बोतलहरु छरिएका छन् । बोतलको बिर्को खोलेर सडकको दाँयाबाँया उभिएर हात तन्काईतन्काई स्वयंसेवकहरुले दिईरहेका थिए । मैले दौडन्दै बोतल समाए र पिए । अलि अगाडि फेरी लुकुजेट इनर्जी डिङ्कका बोटलहरु त्यसरी नै दिईरहेका थिए र असिना परे झै बाटोको दाहिने देव्रे छरिएका थिए । त्यो लुकुजेट पनि पिए तब अब भूँडि भरियो र झण्डै दौड्न अप्ठयारो भयो । त्यसपछि चाहि प्रत्येक एक माइलको अन्तरमा त्यसरी राखिएका पानी र लुकुजेट छयाप्प समाउने एकपटक थोरै चुस्ने अनि आधा नभई नै बोटल फ्याक्ने काम मैले पनि सिके । मैले दौडि रहदा बक्सटन पानीको कम्पनी र लुकुजेट कम्पनीलाई खुबै धेरै धन्यवाद दिए । विशेषतः लुकुजेटको बोतल अलि महंगो लाग्थ्यो अरुबेला अब देखि मन खोलेर किनेर खाने वाचा गरे । मान्छेको मन न हो । साह्रो गाह्रो परेको बेला सहयोग जस्ले गरयो मन त्यतै फर्कन्छ ।

कम्मरमा बाँधिएको रनिङपेटीमा राखेको इनर्जी जेल दुवै पिईसके । पहिलो जेलले काम गरयो नै लाग्यो र दोस्रो पनि पिइहाले अव मेरो पेटीको पछाडी पनि नेपालको एकफूटे झण्डा संगै कोचारेर राखेको एउटा मात्र जेल छ । अझै तीन भागको एक भाग दौड्नु छ । अलिधेरै जेल बोकेको भए हुनेथियो कस्तो बुद्धिपुगेन । चिन्ता गर्दै दौडी रहेको छु । अन्य दौड्नेको कम्मरमा तीनचारवटा देख्छु कतै मागौ की पनि लाग्छ । अब केही वेरमा बाँकी रहेको पछाडिको जेलपनि इनर्जीको लागि पिउनु छ । हिसाव गर्दै दौडी रहेको छु । बाटो बाटोमा पानीको फोहोरा पनि बनाईएको थियो । म दौड्न्दै ती फोहोरामा शितल लिन पुग्छु । हुन त आज लण्डनमा अति जाडो छ तर हामी दौड्नेहरुको भने शरिर पुरै तातिएको छ ।

दौडन्दै जादा झण्डै साढे तीन घण्टा भईसकेको छ । मलाई खुट्टाको पासुला र तिघ्राको मसल कस्सिएको बाहेक अरु समस्या छैन । बाटो अलि भिरालो आयो भने चाहि अलि गाह्रो हुने । उकालो आयो भने मलाई अलि सहज हुने । अब लण्डन शहरको कुनाकुना परिक्रमा उकालो ओरालो त्यति छैन । बाटोमा चकलेट दिनेहरु प्रसस्तै छन् । चकलेट वा केही खाना मन परयो भने सडकको छेउछाउ दौडने र केहीखान छैन भने सडकको बीचौबीचमा दौड्नक्रम जारी छ । ठूठूला हुटिङहरु निरन्तर जारी छन् । तिगेला वेलडन, वी क्यान डु इट । मेरो भेष्टमा लेखिएको नाम पढेर मलाई हौसला दिइरहेका छन् । म चाहि थाकेर धेरै कुरा वास्ता गर्न छोडी सकेको छु । झण्डै सोह्रसत्र बर्ष पहिले प्यारासुट गर्दा दिनभरी जस्तो दौडिएको, वेल्स थाउजण्ड म्याराथन दौडिएको सम्झन्दै आत्माबल बढाउदै निरन्तर अघि बढिरहेको छु । त्यो बेला पनि सबैले प्यारासुट तालिम गाह्रो छ, गाह्रो छ भनी रहेकै कारण लौ त्यो गाह्रो चाहि कस्तो हुदोरहेछ भनेर झोक चलेर गरेको थिए । त्यस्तै, यसपटक पनि विश्व कै सबैभन्दा ठूलो ४२.२ किमीको म्याराथन कस्तो चाहि हुदोरहेछ भनेर चुनौती मोलेको हु । हो मलाई नयाँ, अप्ठयारा र चुनौतीहरु नै मन पर्छ ।

सडकै ढाँकेर म संगै दौडिरहेका सबै धावकहरु थाँकी सकेका छन् । म उनीहरुलाई उछिनेर अगाडि जान सक्छु तर पासुला र तिघ्रामा सामान्य जाम र अर्को चाहि इनर्जी जेल पिएको छु । इनर्जी जेलले बा कतै मुटुलाई पो असर गर्ला की ? भन्ने चिन्ता भयो र म आफ्नै रफ्तारमा दौडिरहे । थाँकी सकेको हुनाले सडकको छेउछाउ बसेर हुटिङ गरेको पनि अब मलाई दिक्क लाग्न थालिसकेको छ । गत बर्ष आजकै दिन नेपालमा ७.८ रेक्टरको भूकम्पले लगभग ९ हजार गरिब जनता मारयो । भूकम्पको मारमा परेकाहरु प्रति नेपाल सरकारले केही काम गर्न सकेन । मर्नेहरुको एकएक नामावली रेकर्ड राखियोस भन्ने मेरो चाहना थियो त्यो कतै छैन । विदेशी सहयोग के कति आयो र के के मा खर्च भयो छर्लङ्ग राखियोस भन्ने चाहना त्यो पनि कतै छैन । हो साच्चै नै नेपाल सरकारको नालायकीपन सम्झीरहेको हुन्छु । उसो त मैले भूकम्प लगतै उद्धारको लागि चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेसबुकको इन्बक्समा सहयोगको याचना गरेको थिए । प्रधानमन्त्री मोदीले भूकम्पको पर्सि पल्टै उत्तर लेखेको थियो तर चीनको राष्ट्रपतिबाट आएन सायद भाषा समस्या हुन सक्छ । किन की आजकल जो होहि नेताले आफ्नो नजिकको मान्छेबाट सोसियल मिडिया प्रयोग गर्ने गर्दछन् । त्यहि हप्ता मैले नेपाल सरकार प्रति विश्वास नरहेको कारण पूर्ननिर्माणको काम अन्तर्राष्ट्रिय निकायको सामुहिक संलग्नता र नेपाल सरकारको समन्वयमा हुनुपर्छ भनेर एक लेख लेखेको थिए तर कतै प्रकाशिन गरिन तर एकबर्ष पछि सम्झन्छु त्यो सोच सायद सहि थियो । भूकम्प पीडितहरुको नामलाई च्याखे थापेर असफल संविधान ल्याएका छन् । यीनै भारी असहमति बोकेर म भूकम्प गएको ठिक एकबर्षपछि १२ बैशाक २०७३ का दिन लण्डन शहरको कुनाकुना निरन्तर दौडिरहेको छु ।

इमान्दारिता र परिश्रमको प्रेरणा मेरो पुज्य स्व. पिता मिलबहादुरको २९ दिन अघि भएको निधनले मलाई त्यो भन्दा बढि दुःखी बनाएको छ । वहाकै अन्त्यष्ठि, शुध्याई सिध्द्धाएर ७ दिन अघिमात्र युके टेकेको हूँ, राम्ररी निन्दा मिलेको छैन । पर्याप्त ट्रेनिङ भएन, त्यसैले पनि सकेसम्मको जोडबल लगाएर दौड्न अप्ठयारो भयो । यावत कुराहरु मनमा खेलाई रहदा निक्कै बाटो काटिसकेको छु । बुबाको चीर आत्माले शान्ति पावस मैले गरेका कामहरुको जानकारी बुबाको आत्मालाई हुन सकोस भन्ने कामना गर्दै दौडि रहेको छु ।

लण्डनको मुटु मानिने ठाँउको वाक्लेस बैंक, एचएसबिसी बैकको केन्द्रीय कार्यालयको ढोका हुदै अगाडि बढिरहदा साच्चै एकप्रकारको आनन्द महशुस भयो । बाटोहरुमा चकलेट दिनेहरु असाध्य धेरै थिए लाग्छ ५ ठाँउभन्दा बढि जुनाई काटेर दिएको टुक्राहरु पनि टिपेर खाए । थकानले निक्कै लठ्ठ बनाईसकेको थियो । कहा पुग्यो वास्त हुनछोडिसकेको थियो । एकठाँउमा नुन भएको चीजवल दिईरहेको देखे तीन डल्लो टिपेर खाएपछि म धेरै फ्रेस भए । अन्य धेरै ठाँउमा कतै चिजवल दिदैछन की भनेर हेरे तर खाली चकलेट मात्रै थिए । दौडन्दा पसिना जानुसंगै शरिरमा नुनको मात्र घटिरहेको हुन्छ । तर कतैपनि नुनपानीको ब्यवस्था थिएन त्यसको अभाव महशुस भईरहेको छ ।

यति लामो दौडमा म सामान्य समस्या बाहेक ठिक थिए अझ बल गरेर दगुरौ सम्झे फेरी बाटो बाटोमा दौडन्दा लडेकाहरुलाई स्टेचरमा टिपी रहेका प्रसस्त देखे । घाइते भएकाहरुलाई समाईरहेको धेरै भेटिए त्यसैले सम्झे बरु ढिलै भएपनि यो कोर्ष पुरा गरेभने म्याडल प्राप्त गर्नेछु । छिटो जाने हुदा बीचैमा घाइते भइयो भने बर्बाद हुन्छ । त्यहि हाउगुजिले काम गरिरहयो । लण्डन व्रिज आयो सबैजना होहल्ला गरिरहेका थिए तर म चाहि निरन्तर आफ्नै रफ्तारमा दौडि रहे ।

लण्डनको पार्लियामेन्ट नाघेपछि नेपालको झण्डा झिकेर हातमा लिई दौडिए । मलाई हौस्याउन आएकाहरुलाई बाटोमा हेर्दै झण्डा हल्लाउदै आए कतै देखिन सम्झे उनीहरु लण्डन शहरमा बाटो भूलेर कतै हराए की अर्को पीर थपियो । तै पनि महारानी एजिवावेथ द्धितियको दरबार बंकिङहम प्यालेस अगाडि जोडजोडले दौडिए र नजिकैको फिनिसिङ पोइन्टलाई ५ घण्टा ५ मिनेटमा क्रस गरे । तब म्याडल लगाईदिन ठाँउमा पुगे । खुसिको सिमा रहेन त्यसैले मैले भने मलाई २ वटा म्याडल दिनुहोस । ती महामहिम एकछिन अलमल्ल परिन र मैले रमाइलो मात्र गरेको भन्दिए ।

यस पटक फिनिसिङ पोइन्टमा परिवार संग भेटगर्न गाह्रो परेन । अघिल्लो बर्ष ठूली छोरी कल्पनाले पनि लण्डन म्याराथन २०१५ उहि चाइल्ड रेस्क्यू नेपाल च्यारिटी ट्रष्ट कै लागि दौडिएकी थिइन र दौड समाप्त पछि बगुन्द्र मान्छे बीच उनलाई भेट्न डेढघण्टा लागेको थियो ।

यस पटकको म्याराथनले के ज्ञान भयो भने म्याराथनको लागि दौडिने भन्दा अन्य कुराहरु धेरै जानकारी हुन जरुरी रहेछ । लण्डन म्याराथन वास्तवमै नेपालका शहरहरुमा महोत्सव गरे झै लण्डन शहरको प्रतिष्ठाको कुरा रहेछ ।

यस बर्ष मलाई गाइड गर्नुहुनेद्धय युकेमा रहेका नेपालीहरु मध्ये सबैभन्दा धेरै म्याराथन दौडनुहुने तिलविक्रम सम्बाहाम्फे बाजे र छोरी कल्पनालाई धन्यवाद भन्न चाहान्छु । नेपालबाट भारतमा वेचिएका बालबालिकाहरुको उद्धार गर्दै आएको चाइल्ड रेस्क्यू नेपाल ट्रष्टलाई पनि धन्यवाद दिन चाहान्छु जसले यो अवसर प्रदान गरेको हो । त्यस्तै १०३ जनाबाट २,१०८.३५ पाउण्ड अर्थात नेरु ३ लाख २७ हजार रकम उठ्न सक्यो सहयोगदाताहरु सबैलाई एकमुष्ट धन्यवाद दिन चाहान्छु । साथै लण्डन म्याराथन २०१६ मा प्रथम भई १० लाख युएस डलर जित्न तथा विश्व किर्तिमान राख्न सफल केन्याली धावक इलियुड किपचोजलाई बधाई ।

अन्तमा, म संगसगै म्याराथनमा दौड्न्दै गरेको कमाण्डो रेजिमेन्ट रोयल आर्टिलरीका क्याप्टेन डेभिड सेठ २३ माइलको दुरी पार गर्दानगर्दै ढलेर मृत्यूवरण गर्न पुगेकोमा म उनीप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछु । स्व. सेठको लण्डन म्याराथन पुरा गर्ने धोको यस जूनीमा पुराहुनसकेन तर अर्को जूनीमा पुराहुन सकोस कामना सहित ।धन्यवाद

२७ अप्रिल २०१६, आसफोर्ड