युके चुम्लुङलाई अझ मजबुत बनाउने मेरो सपना/लक्ष्यहरु

युके चुम्लुङलाई अझ मजबुत बनाउने मेरो सपना/लक्ष्यहरु संक्षेपमाः in pdf file >>

१. लिम्बु बालबालिकाको निमित्त लिम्बु भाषा र संस्कृति सिकाउन टिभी कार्टुन र खेल्ने गेम बनाउने ।

२. चुम्लुङदेनलाई सांस्कृतिक धरोहरको रुपमा विकास गर्ने र थप अर्को चुम्लुङहिम सबैको सेन्टर हुनेस्थानमा खरिद गर्ने ।

३. चुम्लुङदेन अहिले लिमिटेड कम्पनीमा दर्ता छ भने त्यसलाई यथावत राख्दै कला तथा साँस्कृतिक विभागलाई च्यारिटीमा दर्ता गर्ने तब च्यारिटीको लेटरहेडबाट स्पोन्सरको पत्र लेखि नेपालबाट कलाकारहरुलाई ल्याउन सक्ने क्षमताको चुम्लुङलाई बनाउने ।

४. लिम्बुहरु बीचमा इन्भेष्टमेन्टको समुह बनाई लगानीमा प्रोत्साहन गर्ने ।

५. जेहेन्दार र गरिब लिम्बु विद्यार्थी र उच्चशिक्षा माष्टर्ष एवं पिएचडी अध्ययनरत विद्यार्थीहरुको सहयोगको निमित्त करिब डेढ करोडको अक्षयकोष स्थापना गर्ने ।

६. कियाचु युकेको पत्रिका मिक्फूला लाजे वा अन्य कुनै पत्रिका प्रकाशनको निमित्त अक्षयकोष स्थापना गर्ने ।

७. युकेको अन्य संघसस्थाहरुसँगको भाइचारा सम्बन्धलाई बढवा दिने, समउदेश्य प्राप्तिको निमित्त समन्वय र सहकार्य गर्ने ।

८. विश्वभर छरिएर रहेका लिम्बु/याक्थुङहरुलाई जोड्न ग्लोबल नेटवर्क निर्माण गर्ने र यथासम्भव अन्तर्राष्ट्रिय याक्थुङ सेमिनार गर्न पहल गर्ने ।

९. चुम्लुङको सदस्यता रेकर्डमा यथासम्भव सरलता अपनाई सुधार गर्ने ।

१०. लिम्बुसँग प्रत्येक्ष जोडिएको मुक्कुमलुङ अतिक्रमण विरुद्धको आन्दोलन र लिम्बुवानको मुद्धासँग सम्बिन्धित प्रदेशको नाम कोशी अस्वीकार आन्दोलनमा हरप्रकारको साथ र सहयोग गर्ने ।

११. जो कोही युके चुम्लुङको सदस्य बन्नुको मुख्यकारण नेपाल चुम्लुङको प्रभाव हो चुम्लुङ ब्राण्डको प्रभाव हो । त्यसैले नेपाल चुम्लुङमा उल्लेख्य योगदान गरेकाहरुलाई युकेमा पनि सम्मान गर्ने ।

१२. युके चुम्लुङको बैठक, बार्षिक साधारण सभा आदिलाई विधीपूर्वक संचालन गर्ने ।

मेरो सपना/लक्ष्यहरु विस्तारमाः

युकेमा रहेका लिम्बुहरुको साझा संस्था हो किरात याक्थुड चुम्लुङ युके (कियाचु) । लिम्बुहरु आफूलाई याक्थुङ भनेर गर्व गर्दछन । युकेमा लगभग २० हजार भन्दा बढि लिम्बुहरु रहेका छन । लिम्बुहरु युकेमा बसोबासको निमित्त आउन थालेको करिब २ दशक पुगेको छ । त्यसैले लगभग एक पुस्ता लिम्बुहरु युकेमै हूर्किसकेको अवस्था हो । लिम्बुहरुको हक, हित, संस्कार संस्कृतिको जगेर्णा, भाषा लिपी र साहित्यको विकास एवं विस्तारको निमित्त क्रियाशित संस्था हो कियाचु युके । लिम्बु इथनिक ग्रुपभित्र करिब ३५५ भन्दा धेरै थरहरु पाइन्छन् भने विभिन्न ५ प्रकारको लवज भएपनि भाषा एउटै हुन्छ, लिपी एउटै हुन्छ र धर्मको हकमा बहूधर्मालम्बि रहेका छन् ।

सामाजिक मनोविज्ञानको आधारमा लिम्बुहरु उन्नत देखिन्छन र राजनीतिक रुपमा सक्रिय र आत्मास्वाभिमानी पाइन्छन तथापी लिम्बु संस्कृतिमै पाईने अपुगींपन भने महशुस गर्न सकिन्छ । लिम्बुहरुले कसैले कसैलाई सहजै पत्याउदैन, टेर्दैनन यद्यपी युकेको सिभिलाईजेसनमा हूर्किरहेको कारण धेरै परिवर्तन र विकसित भएको चाहि मान्न सकिन्छ ।

वि.स. २०४६ भाद्र १७ गते त्रिभुवन विश्वविद्यालयको विद्यार्थीहरु माझ स्थापना भई संमग्र लिम्बुहरुको साझा संगठनको रुपमा मज्जाले स्थापित भएको कारण युकेमा लिम्बुहरुको आगमन हुनुसंगै युकेमा पनि किरात याक्थुङ चुम्लुङको स्थापना भयो । जो कोही लिम्बु देश विदेशमा पुगे लगतै कियाचुमा आबद्ध हुने गर्दछन त्यसको अर्थ हो मर्दापर्दा भैपरि आउने आपतविपदमा लिम्बु संस्कारबाट गरिने अनुष्ठान र विभिन्न सहयोगहरु आदि हो । कियाचु युके, युकेकै सरकारको कानुन अन्तर्गत दर्ता हुनुपर्ने बाँध्यता थियो र दर्ता भईसकेको कारण नेपाल सरकार अन्तर्गत दर्ता भएको नेपाल कियाचुको शाखा बन्न कानुनतः मिलेन । सम्ब्न्धित देशमा औपचारिक रुपमा दर्ता नभएको, दर्ता हुनु नपर्ने, लिम्बुहरु स्थायी रुपमा नबस्ने मुलुकहरुमा चाहि अस्थायी हिसाबले जुनजुन मुलुकमा कियाचु संचालनमा रहेका छन उनीहरु कियाचु नेपालको शाखाको रुपमा संचालित छन् जस्तैः इजरायल, कोरिया, मलेशिया आदि यद्यपी कियाचु नेपालको विधानमा आबद्धता (एफिलेसन) दिन सक्ने ब्यवस्था छ सोहि बमोजिम कियाचु युकेले पनि नेपालको चुम्लुङबाट सन् २०२० फेब्रुवरीमा एफिलेसन लिईसकेको छ ।

कियाचु युके स्थापना सन् २००३ मा भएको हो । स्थापना भएको दुई दशक भन्दा बढि भईसकेकोले अब यसको समिक्षा गर्नु आवश्यक छ । के के राम्रो काम गरयो र के के कुरा थप नयाँ गर्दै जाने हो बहस गर्न जरुरी छ ।

नयाँ प्रविधिले विश्वमै आमुल परिवर्तन गर्दै गईरहेको कारण हामी र हाम्रो साझा संगठन कियाचुले पनि समयानुकुल परिवर्तन र परिमार्जन हुन जरुरी छ । हाम्रा ससाना नानीहरु अहिले सबैभन्दा धेरै फोन, ट्याब्लेट, कम्पियुटर र टिभीमा झुण्डिरहेको पाउदछौ । उनीहरुले सबैभन्दा धेरै कार्टुन र गेम खेलबाटै सिकिरहेका हुन्छन तसर्थ हामीले आफ्नो भाषा संस्कृति सिकाउने कार्टुन र गेम बनाउन आवश्यक छ सो कार्य प्राथमिकताको साथ गर्नु आवश्यक छ ।

नेपालमा लिम्बु भाषा र संस्कृति विकास विस्तार र प्रवद्र्धनको निमित्त लिम्बु फिल्महरु निर्माण गरिरहेका छन तर युकेमा रहेका लिम्बुहरुले आफैले बनाउनु त कहाँ हो कहाँ नेपालमा बनाउनेहरुलाई साथसहयोग समेत दिन सकेको छैन । उनीहरुले बनाएको डकुमेन्ट्री, फिल्म प्रर्दशन गर्ने र लिम्बु कलाकारहरुलाई युके झिकाई सहयोग गर्ने, प्रोत्साहन गर्ने काम समेत गर्न सकिरहेको छैन ।

केही बर्ष अघि चुम्लुङले लिम्बु कलाकार युकेमा ल्याउन स्पोन्सर लेटर लेख्यो तर बृट्रिस दुतावासले भिषा दिएन । त्यसको कारणहरु मध्ये एउटा कारण हो किरात याक्थुङ चुम्लुङ कम्पनी लिमिटेडमा दर्ता छ । चुम्लुङ कम्पनी लिमिटेडमा दर्ता नभई च्यारिटी कम्पनीमा दर्ता भएको र च्यारिटीको कार्यक्रम गर्न भनी च्यारिटी कम्पनीको तर्फबाट स्पोन्सर लेटर लेख्ने हो भने कलाकारहरुलाई सहज रुपबाट भिषा प्राप्त हुनेथियो ।

उसो त कियाचु युकेलाई च्यारिटीमा दर्ता गर्ने की लिमिटेड कम्पनीमा दर्ता गर्ने विषयमा बर्षौबर्ष बहस गरिएको थियो । नजानेर नबुझेर लिमिटेड कम्पनीमा दर्ता गरिएको होइन, त्यसको मुख्य कारण चुम्लुङको जग्गा वा घर किन्ने प्रक्रियामा थियो । त्यो बेला करिब साढे ३ लाख पाउण्ड (करिब नेरु ६ करोड) को सम्पति जोडिन्दै थियो । त्यो किनिने जग्गा पनि च्यारिटी कम्पनीमै राख्ने हो भने कुनैपनि बेला सरकारीकरण हुने खतरा औल्याईयो त्यसैले लिमिटेड कम्पनीमा दर्ता गर्ने निर्णय भएको हो । च्यारिटी कम्पनीमा कतिपय कामहरुमा सरकारले थपिपनि दिन्छ तर सबैभन्दा सजिलै सरकारीकरण पनि हुन्छ, जायेजेथा सरकारले लैजान्छ । संस्था कुनैपनि बेला निष्क्रिय रहेको खण्डमा त्यो लिम्बुहरुको साढे ३ लाख पाउण्ड समेत सरकारीकरण नहोस भन्ने उद्देश्यले लिमिटेड कम्पनीमा दर्ता गरिएको हो । युकेमा ८ प्रकारको कम्पनीहरु मध्ये सन् २०२३ को रेकर्ड अनुसार सबैभन्दा धेरै दर्ताः कम्पनी लिमिटेड वाई ग्यारेन्टेड हो । युके चुम्लुङ चाहि प्राईभेट कम्पनी लिमिटेड वाई ग्यारेष्टि वेष्थिआउट शेयर क्यापिटल अन्तर्गत दर्ता रहेको छ । सन् २०२३ कै तथ्याङ्क अनुसार च्यारिटी संस्था २,८२७ वटा बन्दभई सरकारीकरण भएको देखिन्छ ।

लिम्बुहरुको आफ्नै पैसाले जोडेको घरजग्गा (चुम्लुङदेन) कानुनी रुपबाट सुरक्षित गरिएको छ भने अर्कोतिर नेपालबाट एक जिम्मेवार संस्थाको हिसाबबाट स्पोन्सर गरि ल्याउनुपर्ने कलाकारहरु चाहि ल्याउने सामथ्र्य बनाउन सकिएको छैन । त्यसैले चुम्लुङ पदाधिकारी अध्यक्ष, उपाध्यक्ष एक, महासचिव र केही पदाधिकारी तथा सदस्यहरु रहेको च्यारिटी संस्था पनि दर्ता गर्न आवश्यक देखिन्छ । दर्ता भएका संस्थाले युके सरकारको कानुन अनुसार चल्नु पर्दछ तर जसरी चुम्लुङदेन कियाचु कै नाममा दर्ता गरिएको छ त्यसैगरि कियाचुको कला तथा साँस्कृतिक विभागलाई पनि च्यारिटीमा दर्ता गरी स्पोन्सर गर्ने हैसियत बनाउन सकिन्छ ।

युकेमा नेपालीहरुको स्थायी रुपमा बसोबास भईसकेको कारण यहा ३५० भन्दा बढि संघसंस्थाहरु अस्तित्वमा छन् । यसर्थ जातिय, क्षेत्रीय संगठनहरु बीच प्रतिष्ठाको कुरा पनि रहने नै भयो । युकेका सयौ संघसंस्थाहरु मध्ये कियाचु युके सबैभन्दा तल रहेको चर्चा हुन्छ । लिम्बु भित्रै चाहि चुम्लुङको राम्रो प्रभाव छ तर अन्य जातिय संस्था, विभिन्न विषयका संघसंस्थाहरु, ठूला संस्थाहरु जस्तै– नेपाल आदिवासी जनजाति महासंघ युके, गैरआवासीय नेपाली संघ युके लगायत नेपाली दुतावास लण्डनमा किरात याक्थुङ चुम्लुङलाई चिन्दैनन्, नचिने पछि मानसम्मान पनि दिदैनन् तर त्यसो मात्र होइन कियाचु संमग्र नेपालीहरुमा चिनिनै चाहेको छैन भन्न सकिन्छ । जातिय संस्थाकै नाम लिम्बु भाषामा मात्र भनिनुले जो कोहीले चिन्दैनन जस्तै युके मगर सघ भने झै लिम्बु संघ युके भनिएको भए सजिलै चिन्दथे किन की आम नेपालीले चिन्ने लिम्बु शब्द हो, एकातिर यो समस्या हो भने अर्को मुख्य कुरा नेपाली दुतावासलाई साँस्कृतिक नृत्य, जातिय झाँकीहरु बेलाबखत चाहिने गर्दछ, त्यस्तै नेपाली मेलाहरुमा पनि लिम्बु झाँकी निरन्तर सहभागिता गराउने, आफू बसेको स्थानीय नेपाली समाजमा पनि लिम्बु नृत्य, झाँकी र सो कार्यक्रमहरुमा चुम्लुङको तर्फबाट निरन्तर सहभागिता जनाउने हो भने चुम्लुङलाई बल्ल राम्रोसँग चिन्दछन । यी संस्थाहरुको कार्यक्रममा चुम्लुङको तर्फबाट सहभागिता जनाउन उपाध्यक्षहरु मध्ये एकजनालाई कला तथा साँस्कृतिक विभागको जिम्मेवारी दिई चुम्लुङको सहभागिता/उपस्थिती जनाउदै लिम्बुहरुको शिर उच्चो बनाउन सकिन्छ ।

यदि चुम्लुङलाई च्यारिटीमा पनि दर्ता गरयौ, नियमित च्यारिटीको कार्य गर्दै गयौ भने हामीले चाहेजस्तै नेपालबाट लिम्बु/याक्थुङ कलाकार तथा ब्यक्तित्वहरुलाई स्पोन्सर लेटर लेखेर ल्याउन सकिनेछ । युकेका केही जातिय संस्थाहरुले लिमिटेड कम्पनीमा पनि र च्यारिटी कम्पनीमा पनि दर्ता गरेका छन । उसो भए चुम्लुङले पनि कम्पनी र च्यारिटी दुबैमा दर्ता किन नगर्ने?

युकेको नेपाली संघसंस्थाहरु बीच युके चुम्लुङ पछाडी मानिन्छ त्यो भन्दा अझ लज्जास्पद कुरा चाहि नेपालमा लिम्बुसँगै प्रत्येक्ष जोडिएको मुक्कुमलुङमा नो केबलकारको आन्दोलन चलिरहेको छ, दर्जनौलाई गिरफ्तार गरि झुठा मुद्धा लगाएका छन्, घाईते, अंगभङ्ग भएका छन, ज्यानको प्रवाह नगरि याक्थुङ योद्धाहरु लडिरहेका छन तर किन युके चुम्लुङ आँखामा पट्टि बाँधेर, कानमा तेल हालेर बसिरहेको छ?

प्रदेश न १ को नाम लिम्बुवान किरात हुनुपर्छ भन्ने मागलाई बेवास्त गरि एकल जाति आर्यको विरासत बोक्ने, भारतीय विरासत बोक्ने कोशी नामाकरण गरेको विरुद्ध जारी नो कोशी आन्दोलन, लिम्बुहरुको आफ्नै आन्दोलन हो खोई त युके चुम्लुङको भूमिका? किन सामान्य प्रेस विज्ञप्ति समेत जारी गर्न सक्दैन? के युकेको चुम्लुङ बिबिक्यू खानको निमित्त मात्र गठन भएको हो त? अवश्य होइन । चुम्लुङले राजनैतिक पार्टीको चुनाउ चिन्हमा भोट चाहि नमाग्ने हो तर युके चुम्लुङमा त जे कुरा गरयो राजनीति नल्याउ, नगर भन्ने हामी स्वयं कति बुद्धिमानी हौं? चुम्लुङ एउटा ब्राण्ड हो, नेपाल चुम्लुङको नेतृत्वले आन्दोलनको सन्दर्भमा उद्धाहरणिय काम गरि रहेको छ । सिंगो नो कोशीको आन्दोलन र मुक्कुमलुङ अतिक्रमण विरुद्ध आन्दोलनको नेतृत्व नै चुम्लुङले गरिरहेको छ । त्यसलाई हेरेर युके चुम्लुङले पनि लिम्बु र लिम्बुवानसँग सरोकार राख्ने विषयमा चर्चा गर्दा के बिग्रन्छ? राजनीतिक आस्थाको आधारमा विभेद पो गर्नु हुन्न, विभाजित पो हुनुहुन्न तर महत्वपूर्ण विषयमा स्वस्थ बहस हप्तौ महिनौ गर्न सकिन्न र?

चुम्लुङ एउटा लिम्बुहरुको साझा राष्ट्रियताको रुपमा विकास भएको छ । नेपाल चुम्लुङमै विशिष्ट योगदान गरेका अग्रज अभिभावकहरुलाई किन युके चुम्लुङले आभार ब्यक्त गर्दै सम्मान नगर्ने? किन चुम्लुङ स्थापना दिवस नमनाउने? किन लिम्बुहरुको विभूति सिरीजंगा, फाल्गुन्द र इमानसिंको जन्मजयन्ति नमनाउने? सिरिजंगा लिपीको प्रशिक्षण गोष्ठि गर्दे, लिपीलाई युनिकोडमा विकास गरि गुगलको रुपान्तरणमा राख्ने पहल किन नगर्ने?

चुम्लुङ समाजिक संस्था हो तर यसको उद्देश्य प्राप्ति गर्न राजनैतिक सवालमा जोडिनै पर्ने हुन्छ । साथै, शिक्षा र स्वलम्बन पनि जोडिन आउछ तसर्थ युके चुम्लुङले किन लिम्बुहरु बीच बिजनेस फोरम/ब्यापारिक मञ्च निर्माण नगर्ने? जसले लिम्बुहरुको संयुक्त लगानीमा टेवा पुरयाओस । संमग्र लिम्बु राष्ट्रियता बलियो बनाउनको लागि शिक्षा नै मेरुदण्ड हो भने नेपालमा र युके मै पनि राम्रो अध्ययन भएका तर आर्थिक अभावमा रहेकालाई प्रोत्साहन र हौसला स्वरुप चुम्लुङ युकेले करोडौ रुपैयाको अक्षय कोष किन नराख्ने? युके चुम्लुङको दस्तावेजीकरण मिक्फूला लाजेले गर्दै आएको छ भने नेपाल चुम्लुङले तान्छोप्पाको अक्षयकोष तयार गरे झै मिक्फूला लाजेको अक्षयकोष किन निर्माण नगर्ने?

युके चुम्लुङको चर्चा गर्दा यस चुम्लुङले प्राप्त गरेका उपलब्धीहरु पनि धेरै छन्, यी उपलब्धिहरु हासिल गर्नमा योगदान गर्ने नेतृत्वहरु प्रसंसायोग्य नै हुनुहुन्छ । युकेमा चुम्लुङको स्थापना भएको करिब ७ बर्षपछि अर्थात सन् २०१० देखि शाखाहरु स्थापनाको अवधारणामा गयो । त्यहिबेला देखि चुम्लुङले आफ्नै घर किन्न आवाज समेत उठायो र पहलहरु पनि भए । समकक्षी जातिय उत्थान संस्थाहरु मध्ये– गुरुङ जातिको तमु धीले सन् २००८ मै फान्ब्रो स्थित मिचेटमा ४ लाख पाउण्डमा घर किन्यो, किरात राई यायोख्खा युकेले लण्डन नजिक ग्याम्बलल्याण्डमा ७ एक्कर जग्गा ३ लाख ६५ हजारमा सन् २०१४ मा किन्यो । युके मगर संघले फान्ब्रोको सानो बजारमा सन् २०१४ मा ३ लाख ५० हजारमा घर किन्यो र भूई तला मात्र भाडामा लगाई बार्षिक लगभग २५ हजार पाउण्ड आर्जन गर्दछ भने तला माथि संघको कार्यालय संचालनमा छ । तामाङ सोसाईटी अफ युकेले पनि यहि बर्ष अल्डरसटमा घर किनेर बार्षिक करिब २० हजार पाउण्ड भाडाबाट आर्जन गरेको छ । ब्यक्तिको नाममा किनिएको थकाली समाज युकेमा भने निक्कै ठूलो समस्या रहेको थियो र अदालतमा मुद्धा लामो समय चलेको थियो । अतः किरात याक्थुङ चुम्लुङ युकेले भने सन् २०१८ मा लण्डनपूर्व मेडस्टोन नजिक याल्डिङमा २६.३ एक्कर (१५ विघा) जमिन साढे ३ लाख पाउण्डमा खरिद गरी सबै लिम्बुहरुको माङ्गेना उठायो । चुम्लुङको पहिलो खरिद थियो– जस्तो भयो, जहाँ भयो संमग्र लिम्बुको यक भयो, यसलाई साँस्कृतिक धरोहरको रुपमा विकास गर्दै अब अर्को आयआर्जन हुने हिसाबले चुम्लुङघर जोड्न के हामी सक्दैनौ र? मगर संघ र तामाङ सोसाईटीले झै मासिक भाडा आउने प्रोपर्टि जोड्यौ भने चुम्लुङ वेलफेरको निमित्त आयस्रोत बन्न सक्दछ । सामान्यतया चुम्लुङले आफ्नो सदस्यको निधन भएको खण्डमा तुरुन्त १ हजार पाउण्ड दिने गर्दछ । उक्त रकम दिनको निमित्त पैसा चुम्लुङ च्यारिटी गरि दुःखको साथमा संकलन गर्ने गरिन्छ ।

चुम्लुङ युकेले गर्नुपर्ने अनेक कामहरु मध्ये– युके चुम्लुङले सदस्यताको रेकर्ड राख्ने शैली र प्रविधीमा सुधार गर्न आवश्यक छ । त्यस्तैगरि कानुन सम्मत बैठक संचालन गर्न आवश्यक छ । ११ जना पदाधिकारी, १६ जना केन्द्रीय सदस्य र १६ जना शाखा अध्यक्ष केन्द्रीय सदस्य हुन भने केन्द्रीय समितिको बैठकमा उनीहरुको उपस्थितीमा निर्णयहरु हुनेछ र बार्षिक साधारण सभा, विधान सभा, समिक्षा बैठकमा सल्लाहकार, संरक्षक सदस्य, आजीवन सदस्यहरुको सहभागिता रहनु बान्छानीय हुन्छ ।

अन्तमा, किरात याक्थुङ चुम्लुङ युके अहिले ११ औं महाधिवेशनको संघारमा छ । प्रजातान्त्रिक ढंगबाट आफ्नो मतको सदुपयोग गर्दै नयाँ नेतृत्व चुन्नु आफैमा राम्रो कुरा हो, निष्पक्ष निर्वाचनहोस, निर्वाचन समितिको सानो गल्ति, हेलचेक्राईले संस्था गहिरो समस्यामा जानसक्छ । युकेको जातिय संस्थाहरु मध्ये सबैभन्दा धेरै १६ शाखा भएको, सदस्यता शुल्क नियमित तिरेर सदस्यता कायम राख्ने करिब २३ सय सदस्यहरु माझ संचालनमा रहेको यस कियाचुको ३ शाखाहरुमा महिलाले नेतृत्व गरिरहेको छ, केन्द्रीय नेतृत्वको उम्मेदवारमा पनि दुईजना महिला नेतृले दाबी गरेका छन् । यसर्थ जिबन्त संस्थाको अधिवेशन भब्य रुपमा सफल हुन सकोस शुभ कामना ।

संक्षिप्त ब्यक्तिगत वायोडेटा:

विश्वास दीप तिगेला
छथर जोरपाटी १ धनकुटा

पूर्व सचिवः कियाचु चुम्लुङ युके सन् २०१७–२१
सहसचिवः कियाचु धनकुटा जिल्ला समिति वि.स. २०५०
सचिवः कियाचु हात्तिखर्क गाविस समिति वि.स. २०४८
आजीवन सदस्यः कियाचु नेपालको वि.स. २०५५
आजीवन सदस्यः कियाचु युके सन् २०१७

शिक्षाः
१९ बर्ष सैनिक सेवा गरि अवकास पछि नियमित विद्यार्थी भई
डिग्री राजनीति शास्त्र २०१७ देखि २०२०
माष्टर्ष डिग्री – अन्तर्राष्ट्रिय सम्बन्ध तथा स्पेश (Sky Space) सेक्यूरिटी स्पेसलिष्ट २०२१

प्रकाशकः
१. प्रथम लिम्बु भाषाको खण्डकाब्य लेखक सेसेमी सेरेङ,
२. प्रथम लिम्बु भाषाको महाकाब्य लेखक अमर तुम्याहाँङ,
३. याक्थुङ मुन्धुम नाम्सामी केसामी, लेखक, संकलक बैरागी काईला

निर्माताः
लिम्बु फिल्म डकुमेन्ट्री मृदुल पदम वि.स. २०६३ (सिक्किम)

स्वयं लेखकः
विभिन्न नियात्रा, कविता र राजनैतिक विषयका ६ वटा पुस्तकहरु

– विश्वास दीप तिगेला
biswasdip@ymail.com

१२ सेप्टेम्बर २०२४