जनकपुर र जवानीको काउकुति – विश्वास दीप तिगेला

जानकी मन्दिरको महत्व त्यो बेला खासै थाह थिएन तर जनकपुर चुरोट कारखाना भित्र पसेर मेसिनमा गुडि रहेका खिल्लिहरु चाहि चुपचाप टिपेर गोजीमा लगाईयो । संजोग कस्तो भने दिउसोको खाना खाने समयमा हामीले प्रवेश गर्न पायौ । कामदारहरु खाना खानु गएका थिए । हामीलाई जानकारी दिदै घुमाईदिने एकजना मात्र र हामी विद्यार्थी लगभग २८ जना कसो थियौ । त्यसैले घुमाउने ब्यक्तिले जानकारी दिने कुरा भन्दा मेसिनमा घुमेर आउने सिगरेटको खिल्लिहरुमा आकर्षण थियो । यो घटना २२/२३ बैखाक २०४९ को हुनुपर्छ । बैशाख २४ मा तत्कालिन नेकपा एमालेको नेपाल बन्द कार्यक्रमको कारण शैक्षिक भ्रमणको योजना भन्दा एकदिन अगावै फर्कियौ ।

जनकपुरमा गजब चाहि विवाह मण्डप र संसारकै सबैभन्दा ठूलो बाँदर ९५ किलोको हेरयौ ती कुराहरु अहिले पनि प्रिय लाग्छ । उसो त जाँनकी लाँज, राम मेडिकल हाँल लेखिएको साइनबोर्ड र भर्खरै निर्माण भएको भब्य सिनेमा हलमा हिन्दी फिल्म ‘सडक’ हेरेको पनि याद झनै प्रिय छ । विष्णु, श्याम, किसोर, शुभद्रा, अञ्चला, सलिना, विमलाहरु कता छन आजभोलीे अत्तोपत्तो छैन तर याद ताजै छ । जीबनमा कहिल्य नविर्षने चाहि जानकी मन्दिर नजिकै रहेको गौ धर्मशाला हो । त्यसको छतमा सुत्नुपर्नेभयो । वरिपरि ठूठूला दुई पोखरीहरु थिए । अझैपनि होलान । बाफ्रे साँझ पंख अनुहारमा आएका मच्छेट धपाउदा दुईचारवटा मच्छेटहरु हम्काउदा हप्केलामा ठोक्किएर झर्थे, मर्थे । त्यति धेरै मच्छेट अझसम्म मैले कहि देखेकै छैन ।

म पहाडको भएकोले हुनुपर्छ । त्यो धर्मशालाको वरपर रहेका दुई पोखरीमा छोरी मान्छेहरु लुगा संगै नुहाएको, छोरा मान्छेहरु पौडि खेलेको चाहि अझै मानसपटलमा छ । पोखरीको वीच भागमा निक्कै नै गहिरो छ लाग्यो । अस्ताउदो सूर्यलाई ढोक्दै नुहाउने दृष्य सुन्दर देखिन्थ्यो । साँझ पंख रंगिचङ्गी बत्तिको किरण बोकेर आउने पोखरी मुहार साच्चै रमाईलो र रोचक लाग्यो । हामीलाई मधेशीहरु देखेर निक्कै असहज पनि लाग्थ्यो । हामी ३ ग्रुपमा थियौ । ती मध्ये ८ जनालाई खानपीनको पैसा म संग थियो । म टिम लिडर थिए । त्यो बेलाको १६ बर्षिय उमेरमा धेरै कुराको कौतुहलता, भय र त्रासहरु थिए । कहिले खाना समयमै खाइन्थो कहिले पैसा बाँडि दिन्थे तर एक साँझ भाँगिरथ नामको छाप्रि होटलमा खाएको खाना खुबै स्वादिलो थियो । नअघाए जस्तो लागेपनि ज्यानै हलुंगो हुने र प्रिय लाग्यो त्यो खाना ।

जनकपुर चरोट कारखाना त्यो बेलाको चर्चित फ्याक्टरी थियो । उक्त फ्याक्ट्री प्रवेश गर्नको निम्ति हामीले निक्कै लामो समय त्यसको गेटमा पर्खेर बस्नु परेको थियो । गेट नजिकै मन्दिर थियो । हामी चकचक गर्दै थियौ, जिस्काउने, जिस्कने, लखेटने र भाग्ने । साथिहरुले काउकुति लगाउने भएकोले भाग्नेक्रममा मन्दिर अगाडि आँगनमा झुण्डाईएको ठूलो घण्टीमा मज्जाले मेरो निधार ठोकियो, म झण्डै बेहोस भए र निक्कैबेर पश्चात मात्र चुरोट कारखाना भित्र प्रवेश पायौ । निधारमा ठूलो टुटुल्को बोकेर त्यसदिनको यात्रा भयो । र, अर्को पक्ष जनकपुरको बस स्टेसन नजिकै बस्ने बेन्चमाथि ज्यान चढाएर घोप्टिई खुट्टा हल्लाई रहेको साहै सानो मान्छे देख्दा म अचम्मित भएको थिए । त्यो उमेरमा मैले त्यति सानो मान्छे देखेको थिइन् । जनकपुर गर्मी थियो यद्यपी मेरा लागि अनौठो थियो । नरिवलको बोट सामान्य लाग्यो तर सुपारीको बोट देख्दा गजब लाग्यो । विवाह मण्डप अगाडि हाँगा भूईतर्फ झरेको निहुरिएको असोका रुखहरु देख्दा आकर्षक लाग्यो ती दृष्यहरु अझै पनि मेरो मानसपटलमा प्रिय छ । अझ, ठूलो ढङ्गढङ्ग टुँ टुँ आवाज गर्दै रेल चलेको देख्दा अचम्मै लाग्यो । रेल भन्थे तर स्टेसन मै गएर चाहि हेर्ने अवसर जुरेन । भारत नजिकै छ भन्थे त्यहा पनि पुग्ने साइत जुरेन र बोर्डरको कुरा गर्दा अलिलि डर पनि लाग्थ्यो, लुटछन, चोर्छन भन्ने कुरा पनि सुनिन्थ्यो उ बेला ।

हामी बैशाख २३ गतेको साँझ बसको हुटमा चढेर धरान तर्फ फर्कियौ । केटाकेटी नै थियौ, बस ढल्केवर तर्फ जादै गर्दा धोती लगाएका एकजना मोटरबाइकमा विपरित दिशाबाट आउदै थिए । हामी सबैले धोतीधोती भनेर कराउन थाल्यौ । ति मान्छेले हामीलाई बाइकबाट पछ्याएर बस रोकेर हप्काए, बेस्सरी डर लाग्यो, हामी बसको हुटमा थियो, बसमै आएर पिटछ की भनेर चुप बस्यौ । लहान बजार हुनुपर्छ बस रोकियो । केही साथीहरु फेनकोडिन खोज्न निक्कै टाढा पुगे र झण्डै बसले उनीहरुलाई छोड्यो । सम्झन्छु हुटमा हामी कति खतरनाक यात्रा गरेछौ । गुडन शुरु भएको बसको हुटमा उभिएर यताउता सर्ने हामी आफैलाई बहादुर सम्झन्थ्यौ । बस अझै पूर्व हाँकियो । त्यति लामो यात्रामा पिसाबले उस्तै च्यापेको थियो । सप्तकोशीको ब्यारेज हाम्रो लागि रोचक ठाँउ भयो । सबैभन्दा ठूलो, धेरै पानी त्यहि हो देखेको । समुन्द्रमा हेर्दा क्षितिजमा आकाश जोडिन्छ भन्ने सुनेको त्यो नेपाल तर्फ जमेको सप्तकोशी देखेर समुन्द्र नै हो भन्ने मैले ठहर गरे । बस पुनः इटहरीमा रोकियो तर त्यहा मध्ये रात भएकोले धेरै साथिहरु निदाई रहेकै थिए । हामी जनकपुरबाट धरान आउने रात्रीबसमा चढेका थियौ । बिहान झिसमिसमै हामी धरान उत्रियौ र छाताचोक नजिक रुखको फेदमा रहेको एक होटलमा सामान राख्यौ । त्यो होटलको बाहिरी भागमा मधेशी खानपीन पाक्थ्यो र संगै जोडिएका फलफूल पसलहरु पनि थिए ।

Devotee women taking a holy dip into a pond to offer prayers during the Vivaha Panchami festival at Janaki Temple in Janakpur, on Thursday, November 23, 2017. Photo: Skanda Gautam

विद्यालयको योजना भन्दा एकदिन अगावै हामी धरान फर्किएका थियौ । हामी प्रत्येक विद्यार्थीले १ सय ३० रुपैया उठाएका थियौ र विद्यालयले पनि शैक्षिक भ्रमणको निम्ति ९ हजार रुपैया दिएकोले हामी संग पैसा निक्कै उब्रियो । तब हामी धरानमा २ दिन बस्ने टन्न मासुभात खाने, घुम्ने सरहरुबाट निर्देशन आयो । बिहान भएको छ । धरानलाई राम्रो जानेको कोहिपनि थिएनौ । कसैले बुढासुब्बा (भर्तवीर) मन्दिर घुम्न जाँउ भने, कसैले फिल्म हेर्न जाँउ भने र कसैले घोपा क्याम्प हेर्न जाँउ भने । सबै ग्रुप आफूखुसि लागे र मेरो ग्रुपलाई चाहि मैले बुढा सुब्बा मन्दिर लगे र त्यसपछि शिव टाँकिजमा फिल्म हेराउन लैजान्दै गर्दा जिरोप्वाइन्ट तलतिर एकजनाले मेरो साथिलाई गाँजा माग्यो । भाषा अर्कै थियो । गजब त मलाई चाहि त्यो के चीज हो थाह थिएन । अनौठो लाग्यो र डर पनि लाग्यो । लाग्छ ती मेरा साथीले पनि गाँजा पिउथेछन । हामी फिल्म हेर्न हल पुग्यौ तर टिकट त ब्ल्याकमा किन्न परयो । फिल्म चाहि ‘अरुणिमा’ नामक नेपाली फिल्म रहेछ । फिल्म हेर्ने विरलै मौका पाइने भएकोले त्यो फिल्म मन नपर्ने कुरै भएन । आई लभ यु अरुणिमा भन्ने शब्दहरु थिए फिल्ममा ।

फिल्म सिद्धिए पछि अब अझै हाम्रो हातमा पैसा थियो । साथीहरुले छाप्रि पसल पस्न दबाद दिए र छाता चोक नजिकै पसियो र बसियो । भट्टिवाली दिदीले एक बोतलको २ पटक पैसा काटे झै पनि लाग्यो तर हातमा भएको १२० रुपैया पनि त्यतैकता छोडियो जस्तो लाग्यो तर ग्यारेण्टि भएन । त्यो वेला छाप्रिमा ग्रुपको लिडर श्याम थिङ जी भईसक्नु भएको थियो । होटलको ढोका बन्द गर्नेबेला हाम्रो ग्रुप कोठामा पस्यौ । किशोर गुरुङ जी गोजीबाट २० रुपैया हराएको कारण छुरीले पेन्टको गोजी काटदै हुनुहुन्थ्यो । दिउसो गाँजा माग्नेलाई खेदाउन जाने कुरा गर्दै हुनुहुन्थ्यो । म लगायत चाहि दिउसोको प्रभाव अरुणिमा आई लभ यु भन्दै कोठामा बसिरहेका थियौ । दिपा, अन्चला, चन्द्रकलाहरु अर्को कोठामा थिए । नन्द जी चाहि साथीहरुले भमिटिङ गरेको मैलालाई सफा गर्दै हुनुहुन्थ्यो । पानी नभएर आफू मर्ने कुरा साथीहरु गरिरहनु भएको थियो । सरहरुले थाह पाउलान की भन्ने डर पनि त्यतिकै थियो । अन्य साथीहरु आएर चियाउदै थिए । सरहरु पनि चुपचाप आएर हेर्नुभए संगै सबैजना श्वास बन्द गरेर बत्ति निभ्यो र केहीबेरमा सबैजना निदायौ ।

अघिल्लो रातको तमासाले अब बिहान साथीहरुलाई अनुहार देखाउनै गाह्रो भईरहेको थियो । तर, विद्यालयबाट खर्च गर्न दिएको पैसा सिद्धिएको थिएन । टन्न खाना खाएर दिउँसो धनकुटा तर्फ बसको हुटमा चढेर बाटो लाग्यौ । संयोग कस्तो भने धनकुटा बाख्रेखोला नजिक स्काईभेटरले रोडको अर्को साइट कोटयाउदै थियो । त्यो मैले पहिलो पटक देखेकोले एकछिन हेर्नपाए हुनेथियो मात्र भन्दैथिए त्यहि बेला हामी चढेको बसको चक्कानेर हुने फाँली भाँचियो । कस्तो गजब संयोग लाग्छ अहिले पनि । त्यहि ठाँउमा ओर्लिएर डेढ घण्टा जति स्काईभेटरको काम हेर्ने मौका जुरयो तब हामी पाख्रीवास तर्फ लाग्यौ । त्यसवेला गाडि हिले सम्म मात्र जान्थ्यो, कच्चि बाटो बसन्तपुर सम्म पुग्थ्यो सायद तर पाख्रीवास जादैन्थ्यो । हामी चढेको बस हिले बस स्टेसनमा रोकियो । आआफ्नो बाटो लाग्ने शुरसार हुदैथियो तर कविन दाहाल जी ज्याकेटबाट जनकपुरको चुरोटका खिल्लीहरु झिकेर अरुलाई बाड्दै थिए ।

श्री जलपादेवी माध्यामिक विद्यालयको भवन सम्भवतः वि.स. २०४२ सालतिर बनेको नेपालकै उत्कृष्ट भवन भएको विद्यालय हो । सर हरेस कादुरीको सहयोगमा ठ्याक्क अग्रेजी क्यापिटल अक्षर इ आकारमा बनेको तला रहित लामो सुन्दर भवन हो । यस विद्यालयको डेस्कको मुनिबाट पुस्तक राख्ने सुविधा भएको डेस्क थियो, बेन्च पनि राम्रो थियो । यस विद्यालयको जस्तो राम्रो फूटबल मैदान अन्यत्र कतै थिएन । विद्यालयको विज्ञान प्रयोगशाला पनि राम्रो र सम्पन्न मानिन्थ्योे । धनी विद्यालय मध्येमा पर्दथ्यो । झण्डै २४ बर्ष अघिको कुरा हो महेन्द्र भट्टराई सर, धुपेन्द्र चौधरी सर र एकजना मिस हामी संग शैक्षिक भ्रमण २०४९ मा जानुभएको थियो । सबैलाई सम्झन अब धुमिल बन्दै गएको छ तर यात्रा अविश्मरणीय रहयो । लाग्छ प्रिय जिन्दगी त त्यो जिन्दगी जहा अभाव छ, रवाफ छैन । चाह छ हिम्मत छैन । अवसर छ निडरता छैन । वाह, जिन्दगी ।

biswasdip@ymail.com
(११ मे २०१८ भारतीय प्रम मोदीको जनकपुर भ्रमणको दिन २४ बर्ष अघिको यात्रालाई सम्झना गर्दै ।)