
सिधा रेखा कोरे झै गाडीका बाटाहरु छन तर गुड्ने गाडिहरु छैनन । शहर छ, वस सेवा छैन । रेलको लिग छ, यात्रु बोक्ने रेल छैन । कारहरु छन तर कारको अगाडि नम्बर छैन । मैदा घुलो जस्तै सुख्खा हिँउहरु छन तर पग्लिएर चिप्लिने खालका ठाँउहरु छैनन् । बाहिरको तापक्रम माईनस ३६ डिग्री छ घट्ने होइन अझ बढने संकेत छ । यर्थाथमा ज्यादै नयाँ र नौलो संसार छ क्यानडाको क्यालगरी, सेफिल्ड र मेडिसिना ह्याट ।
शहरका सडकहरु फराकिला, घरहरु फराकिला र टाढाटाढा छन् । शहर जस्तै लाग्दैन । भएका घरहरु नजिकनजिक बनाएका भए कम्तिमा सासथुन्ने बाक्लो शहर हुनेथियो तर त्यो पनि छैन । मान्छे होइन कारहरु मात्र सपिङ गर्न आउछन र जान्छन जस्तो लाग्ने । हिँउले पुरिएर धेरै कुरा छोपिएका छन् । सेताम्य धुलोको कुन्यू लागे झै थुप्राहरु छन् । उसो त क्यानडाको घरहरु पनि अन्य मुलुकको भन्दा भिन्न र फराकिलो अनि भूईमुनि पनि बस्ने, सुत्ने कोठाहरु भएका छन् । अमेरिकामा झै टाईफुन आउदा भूईमुनिको कोठामा बस्ने प्रकारले बनाईएको हुनु पर्दछ ।
अर्को गजब कुरा चाहि घरभित्र न्यानो बनाउन ग्याँसको हिटर बनाईएको हुन्छ र कसैले एकैछिन मात्र हिटर अफगरे हिटर भित्रै आइस जमेर पुरै बिग्रन्दो रहेछ । जाडो त यस्तो की एक घरबाट अर्को घर पुग्न पचास देखि सय मिटर पुग्न मात्र पनि ज्यादै गाह्रो हुने । कान छोप्ने कानेटोपी र न्यानो हुने पंजा नहुने हो भने हावा आईरहेको दिसा तर्फ एकदुई मिनेट पनि हिडन गाह्रो हुन्छ । कान नछोपी केही समय बस्दा चिसिएर कानै क्रक्रिने र भाँचिने अर्थात चिरिने हुदो रहेछ । यति सम्म चिसो की कोकाकोलाको क्यान सेकेण्डभरमै आईस भएको पनि अनुभूति गर्ने अवसर मिल्यो ।
क्यालगरि अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज रोकिने वित्तिकै साथीहरु त हात्तिहात्ति जत्रा भए । जहाजबाट ईमिग्रेसन पुरा गरेर बसमा चढ्दा बल्ल महशुस भयो साथिहरु किन हात्ति बनेका रहेछन् भनेर । यति चिसो की आइस जमेको पानीमा डुबे झै चिसो । अब बस बाटो लाग्यो । पहिलो पटक क्यानडा यात्रा भएकोले अब मेरो दृष्यावलोकन शुरु हुन्छ । ट्राफिक चिन्ह धेरै भिन्न छ । पुरै हिँउले ढाँकिएका छन् । एयरपोर्ट नजिकै क्यालगरि शहरको एकछेउ हुदै बस सेफिल्ड तिर लम्किएको छ । दाहिने पट्टि ड्राइभ गर्ने भएकोले देब्रे पट्टिको ड्राइभलोकन निक्कै रोचक हुदैछ । नोजहिल अर्थात नाके पहाडलाई छोडेर अगाडि बढि रहेका छौ । खुल्ला चौरी सेताम्ये हिँउले सायद बेग्लै देखिएको छ । चक्का भएका बार जस्ता बारिको बीचबीचमा देखिन्छन । सम्झन्छु त्यो साँधसिमाना छुट्टाउने सार्नमिल्ने बार रहेछ तर वास्तवमा त्यो बालिमा पानी लगाउने मेसिन रहेछ, पछिबाट थाह भयो । अरुले भन्थे क्यानडामा सबैतिर उस्तै हुन्छ के हेर्नुर । धेरै साथिहरु निदाई सकेका छन् । मेरो अर्को पट्टि सिटमा बसेकी युवती, म र एकाध मात्र निरन्तर दृष्यावलोकन गरिरहेका छौ । ति युवती पनि हामी संगै लण्डनको हिथ्रो हुदै क्यालगरि एयरपोर्ट उत्रिएकी हाम्रै ग्रुपकी हुन तर बोलचाल छैन । लाग्छ तिनी पनि म जस्तै पहिलो पटक र विद्यार्थी हुन क्यारे ।
ड्राइभरले कतै ब्रेक हानेको छैन । फाट्टफूट्ट सामान बोक्ने ठूलो लोरीगाडि बाहेक अन्य गाडिहरु रोडमा देखिन्दैनन् । सिधै डोरी टाँगे झै सिधा ३ लेनको बाटो छ । अर्को तर्फबाट आउने ३ लेनकै बाटो देब्रेपटि लगभग पचास मिटरको दुरिमा समानान्तर बगिरहेको छ । यो बाटो विश्वकै दोस्रो ठूलो देश क्यानडाको पूर्वबाट ठ्याक्क पश्चिम जोड्ने राष्ट्रिय सडक हो । बाटो कै नजिक विजुलीका खम्बा र तारहरु छन् । बेलाबखत धुलो उडेर बाटो छोपिए झै सुख्खा हिँउहरु उडेर बाटो छोपी रहेका छन् ।
शनिवार भएकोले क्यालगरी एयरपोर्टमा मोबाईलको सिमकार्ड किन्न नपाएर म खटपटमा छु । आजै मेरो एक लेख नेपाली भाषा र साहित्यको पूर्नपरिभाषा गरौ शिर्षकको अनलाइनखबरडटकममा प्रकाशित हुने कुरा छ । ज्यादै लामो खोजअनुसन्धान गरेर लेखिएको लेख निक्कै विवादस्पद हुने पक्का भएकोले वेभसाइट हेर्न आतुर छु तर मेरो फोनमा इन्टरनेट छैन । संगैका अंग्रेज साथिसंग युकेकै ओटु नेटवर्कको सिम र फ्रि इन्टरनेट छ तर पचास कटेका यी बुढा केटाकेटी झै मोबाइलमा गेम खेलिरहेको छन् । एकपटक मागेर च्वास्स वेभसाइट चेक गरौ की भन्ने हिम्मत पनि गरे फेरी आहोस भनी चित्त बुझाए । बस निरन्तर दौडि रहेको झण्डै चार घण्टा पछि सेफिल्ड उत्रियौ तब फेरी थाह भयो हात्तिजत्रा बनेका साथीहरुको कारण । यति चिसो, त्यहि माथि हावा चलेको । माइनस २३ डिग्री चिसो । हत्तरपतर लंगहर्न क्लवमा पस्यौ । संयोगवस रगतको नाता भतिज दिवस संग भेटभयो तब धेरैकुराको राहत महशुुस भयो । कोठाबाहिर निस्कनुभन्दा अगावै कानेटापी र हातमा पंजा लगाउन अनिवार्य हुन्थ्यो । पहिलो पटक यति चिसो महशुस गरे । त्यस साँझ ब्यवस्था गरिएको ओछ्यानमा पसे ।
बिहान उठि, खाजा खाई, अफिस लाग्दा यति चिसो भयो की गलाको मासु चिसोले चुडिएर झर्ला झै भयो । ठाँउहरु अघिल्ला दिनमा झै चारैतिर सेताम्य छ । अफिस नजिकै अर्को डियुटी फ्रि दोकान पुगेर फर्कन्दै गर्दा मृगको एक हुल सडक नजिक हिँउमा चरिरहेका थिए । गजब त ति मृगहरु हामी नजिक बरु आउन खोज्ने नभाग्ने, झण्डै भैसीको बच्चा जत्राजत्रा थिए ति मृगहरु र माउबच्चा सहित तेह्रवटा थिए ।
मृग भन्ने वित्तिकै मारेर खाने योजना आयो । तर, रोचक कुरा त्यहिको आदिवासी जनजाति क्रिहरुले मार्न पाउने तर गैर आदिवासी र हामी विदेशीले मार्नको निम्ति शिकार खेल्ने लाईसेन्स अनिवार्य हुनुपर्ने रहेछ । त्यहा क्रि, ईनन्यूट, सिकसिका, मिटी, ईयरक्वा र ईनिसयेवे लगायत पुरै क्यानडामा ६ सय ३४ जातिका आदिवासीहरु रहेछन र धेरैपहिला यहाका आदिवासीहरुलाई मास्नको निम्ति उनीहरुले खाने जंगली भैसी पुरै मारिदिएको, यद्यपी आदिवासी मास्न नसकेपछि उनीहरुलाई अग्राधिकार, संरक्षणको ग्यारेण्टि गरिएको रहेछ । क्यानडाको दश वटै प्रोभिन्समा बेग्लाबेग्लै जातिका आदिवासी रहने भएकोले प्रोभिन्स सरकारको आआफ्नै कानुनले आदिवासीहरुलाई सम्मान, अधिकार र रोजगार दिएर राखेको भेटियो ।
शुक्रबार आधा दिनमै कार्यालय बन्दगरि अल्बर्टा राज्यको मुख्य आकर्षक ठाँउ बान्थ बाटो लाग्यौ झण्डै ६ घण्टाको ड्राइभपछि । सुन्दर पर्यटकीय शहर पुगेर बान्थ इन्टरनेशनल होस्टलमा पुग्यौ । साँझ परेको हुनाले सेताम्य हिँउले ढाँकेको पहाडको फेदलाई रंगिन बत्तिहरुले अति मनमोहक र आकर्षित बनाईरहेको थियो । ओलिभर, बव, जेनी, माल र म होस्टलबाट निस्किएर खाना खाने ठाँउ तर्फ लाग्यौ । लगभग झण्डै २ सय मिटर टाढा हिँउलाई टेक्दै पुग्यौ । तब मलाई महशुस भयो मैले पेन्टभित्र तातो इनर लगाउन छुटाएछु । फर्किएर कोठा आउन पनि जाडोले हिम्मत छैन । निरन्तर अगाडि बढौ पनि भरे फर्कन्दा झनै जाडोहोला । दोधारमा परे तै पनि साथिहरुले पनि नपर्खने अवस्था भएकोले त्यतिकै साथीहरुलाई पछ्याए ।
हामी राम्रो फराकिलो एक होटलमा पस्यौ । केही समय पछाडि लाइभ ब्याण्ड पनि हुनेछ । त्यहा केही तातो खानेकुरा लिएपछि पुनः अर्को ठाँउतिर घुम्न निस्कियौ । अव त झन बाहिरको तापक्रम माइनस २९ डिग्री छ । तै पनि सानो टोलको एकफन्को लगाएर एक भिड भएको पवमा पस्यौ । त्यहा एक स्थानीय मान्छे संग भलाकुसारी भयो । फोटोग्राफर भएको परिचय दियो उसले र धेर
एकेडेमिक कुराहरु भयो । बस सेवाको बारेमा जानकारी लिए । बान्थ पर्यटकीय सहर जुन रकि माउन्टेनको फेदीमा छ । उक्त माउन्टेनलाई पनि हिँउले सेताम्य छोपेको कारण नेपालको सगरमाथा र मकालु हिमालहरु झै देखिएका छन् । यहि रकि माउन्टेन क्यानडा, अमेरिका हुदै चिली सम्म जोडिएको कुरा जान्न पाउदा गजब लाग्यो ।
बिहान हामी लेक लुईस बाटो लाग्यौ । आकाश छङ्ग खुलेको छ । हिँउले छोपिएको फराकिलो बाटोमा ओलिभरले कार हाँकिरहेको छ । बाटोको दाँयाबाँया भएका मझौला रुखहरुको हाँगा र पातमा सेतो पिठो अड्किएको झै सुख्खा हिँउहरुले साच्चै सुन्दर देखिएको छ । बाटो शिधै हिँउको पहाडमा ठोकिएला झै शिधै थुरिन्छ । हिँउले छोपिएको बेला यति सुन्दर ठाँउ समरमा कस्तो होला मनमनै गम्छु । झण्डै चालिस मिनेटको ड्राइभ पछि लेकलुइसको पार्किङमा पुग्छौ । घाम उस्तरी नै लागेको छ । तापक्रम झनै चिसो छ । अलि उचाईमा भएर पनि हुनुपर्छ सायद । दाहिने पट्टि विशाल होटलको भवन छ । केही ससाना होटल र दोकानहरु पनि देखिन्छन् । वरिपरिका धुपीको रुखहरुमा झनै रमाईलो गरि हिँउहरु फलेका छन् । लेक लुइसमा पाइला मात्र के टेकेको थिए । म उद्देलित भएर सेल्फि खिच्छु र फेसबुकमा भिडियो लाइभ गर्छु तब पत्तै नपाई मेरो मोबाईलको ब्याट्री सिद्धिन्छ । पहिलापहिला पनि धेरै यस्तै भएको घटनाको याद आयो, मुख्य कुरा खिच्नेबेला चाहि ब्याट्री सिद्धिने । अव म बव र ओलिभरलाई पछ्याउन बाँध्य छु किन की यति सुन्दर ठाँउमा फोटो खिच्नु छ । ठूलो र गहिरो पोखरीको पानी पूरै आइस भई जमेको र त्यहि पोखरीको पानी माथि गाडि ढुक्कले दौडि रहेको छ । स्की स्कटिङ खेल्ने ठाँउ त्यहि ताल माथि जमेको हिँउमा गाडिले बनाउदै गरेको र सिसा झै छर्लङ देखिने अर्थात सिसाको जस्तो आकर्षक पर्खाल र मूर्तिहरु बनाएका छन् । पर्यटकहरु आउने जानेक्रम जारी थियो तर चिसोले हात बाहिर झिक्न गाह्रो हुन्थ्यो । घाम लागेको भएपनि न्यानोको कुनै आभास हुन्न थियो । तालमा पानी जमेकै कुराले साइवेरिया र बेरिङ बीचको समुन्द्रमा हिँउ जमेको बेलामा नै चाइनिज र मंगोलियनहरु आलास्का हुदै क्यानडा आईपुगेको कथाको याद आयो । समरमा त्यो समुन्द्र तर्न सक्ने सम्भावना हुन्न त्यसैले हिँउद (वीन्टर)मा समुन्द्र तरेको कथा जायज हो लाग्यो ।
तालमा जति घुम्यो त्यति नै रमाइलो तर जाडो अति नै भएकोले अलितल झरेर कफि पियौ । कफि लिदै मैले बान्थबाट क्यालगरि आउने जस्पर टुरिष्ट बसको टिकट अनलाइनमा ७३ डलरमा लिए । हामी दिँउसो लगभग १ बजे होष्टलमा फर्कियौ र २ बजे होष्टलमै मलाई लिन बस आयो र सरासर क्यालगरि एयरपोर्ट हुदै क्यालगरिको डाउनटाउनमा ४ बजे ओहाल्यो । सेताम्ये हिँउ छ । सिरसिर हावा चलेकोले चिसो थामी नसक्नु छ । वरिपरि हेरे विशाल डेल्टा म्यारिट होटल छ । त्यो भन्दा अग्लाअग्ला आकाश छुने भवनहरु छन् । अति चिसोमा म एक्लै बस स्टपमा उत्रिए, मलाई ल्याउने वस आफ्नो बाटो लागि हाल्यो । डाउनटाउन भनिएको छ, वरिपरि एकजना पनि हिडने देखिन्दैन्न । वरिपरि सबै हिँउले ढाँकिएको छ । आफू मात्र हुदा असहज पनि भयो । जाडो थाम्नै गाह्रो भएपछि, नजिकै देखिने भवनहरु सुपरमार्केट हो भने छिर्न परयो भनेर हेरे अंह होइन लाग्यो । कताजाउ कताजाँउ भए र अन्ततः ठूलो विल्डिङको छेउ पुगेर फर्किए र अर्को पट्टि चाइना टाउन लेखिएको देखे र संकोच मान्दै त्यहाँ छिरे । बल्ल ढुक्क भए र तब बाल नाल्बो दाईको फोन आयो र भेट भयो ।
त्यहि क्यालगरिको एक कोरियन रेष्टुरेष्टमा किरात याक्थुङ चुम्लुङ क्यानडाका लगभग सबै पदाधिकारीहरु भेला हुनु भई खदा र मायाको चिनोले मलाई स्वागत गर्नुभयो । रात्रीभोज भयो र त्यस साँझ पूर्व अध्यक्ष वाल नाल्बो ज्यूको घरमा पाहुना भए । सोच र चिन्तनको रेन्ज मिलेकोले गफ लामै भयो । मध्ये रातमा हाम्रो गफलाई थाँती राखेर भूईभित्रको कोठामा आराम गर्न पसे तर विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय नेतृत्व मैले भर्खरै मात्र हस्तान्तरण गरेकोले उक्त जानकारी महासङ्को वेभमा अपटुडेट गर्नैपर्ने थियो र त्यसले निदाउन झनै ढिला बनायो ।
बिहान मलाई बल दाईले क्यालगरि टावरमा झारिदिनु भयो र म चाहि टावरको टिकट किनेर लिफ्टबाट टावर चढे । ढोका खुल्यो, म ठ्याक्क एक रेष्टुरेष्टमा उत्रिए । म अलमलमा परे, कुनै ठाँउ रिजर्भ गर्ने सर भनेर एक वेटरले सोधी, सम्झे कफी त लिउ की लाग्यो तै पनि भने म त टावरबाट शहर हेर्न आएको कताबाट जाने भनी सोधे । खुटकिलाबाट चढेपनि हुन्छ यहि माथिल्लो तला हो भनीन् । टावरमा म मात्र अनि टावरको बारेमा डकुमेन्ट्री देखाउने कोठाको गेटमा एक युवती थिइन् । उनी फिलिपिन्सबाट आएकी भन्ने थाह भएपछि मैले पनि मनिला यात्राको कुरा सुनाउन ढिला गरिन । दश मिनेटको डकुमेन्ट्री सिद्धियो । टावर बनेको सन् १९६८, उचाई ६ सय २६ फिट । सबैभन्दा आनन्द चाहि टावरबाट रकि माउन्टेन माथिको हिँउहरु ठ्याक्कै नेपालको हिमाल जस्तै लमतन्न देखिन्दा मलाई मेरो देश नै पुगेको महशुस भयो । पुरै शहर हिँउले छोपेको छ । सेतो हिँउ बाहेक हरियो, फूस्रो केही देखिन्दैन । टावरको मुख्य सडक तर्फ छर्लङ्ग भूई देखिने सिसा राखिएको रहेछ त्यहा हिड्न ज्यादै डर लाग्यो । झण्डै डेढघण्टा त्यहि टावरबाट हिमाल र हिँउ हेर्दै, फेसबुकमा लाइभ गर्दै बिताए ।
बाल दाई लिन आईपुग्नु भयो र टावर नजिकैको गिलेनब्रो आर्टग्यालरी तथा म्युजियमको टिकट काटेर छिरयौ । ४ तला सम्म रहेको म्युजियममा ज्यादै महत्वपूर्ण सामाग्रीहरु राखिएका छन् । बिशेषतः क्यानडा सरकारले एवर्जिन अर्थात इण्डिजिनियस तथा फस्ट नेशनलाई दिएको अग्राधिकार अनुकरणीय लाग्यो । ती एवर्जिनहरुको आ–आफ्नो गौरवको झण्डा देख्दा झनै रोचक लाग्यो । आदिवासी मिटी जाति मिक्स गरेर बनेको र शहर संग जोडिएको नोज हिल (नाखे पहाड) मा क्यालगरि शहर पालिकाले भौतिक संरचना बनाउन चाहेर पनि आदिवासीको पवित्रस्थल भएको कारण बनाउन नसकेको घटना सुन्दा गर्व लाग्यो ।
क्यानडाको प्रोभिन्सहरु मध्ये अल्बर्टा निक्कै धनी मानिन्दो रहेछ र त्यसमा पनि क्यालगरि शहरलाई ग्याँस र तेलको शहर मानिन्दो रहेछ ।
क्यालगरिमा याक्थुङहरु झण्डै ३ दर्जन घर रहेको र धेरै नेपालीहरु अनि भुटानी पूर्नवासितहरु पनि रहेको जानकारी भयो । शहरमा फिलीपिन्स, चाईनीज, भियतनामी लगायत नगन्यमात्रामा अफ्रिकन कालेहरु पनि भेटिए । क्यालगरिमा लण्डन र काठमाडौंको जस्तो निसासिन्दो भिड् देखिएन । फराकिलो रोड र जग्गाजमिन देख्दा साच्चै नै क्यानडा बस्ने नेपालीहरु शान्त र आनन्दको जीबन बिताईरहेको पाँए । थोरै नेपालीको जनसंख्या भएरपनि होला धेरैधेरै सहयोगीहरु पाँए ।
झण्डै दुईहप्ते यात्रामा हरियोपरियो, खुल्ला भाग केही देख्न पाईएन, गहू, तोरी ती खुल्ला जमिनमा फल्ने कुरा सुन्दा गजब लाग्यो । साइत कस्तो परेछ भने हामी उत्रनु संगसंगै हिँउ पर्दै माइनस ३६ डिग्री सम्म ठण्डा हुने र हाम्रो युके फिर्ति संगै तापक्रम बढेर न्यानोहुने मौषम रिपोर्टले यस पटक निक्कै रमाईलो थपेको छ । पूर्वी नेपाल हिले, पाख्रीवास र युकेमा चिसो महशुस हुदा यो भन्दा जाडो हुदैन झै लाग्थ्यो तर यस पटक माइनस ३६ सम्मको अनुभवले अबउप्रान्त नेपाल र युकेको चिसो संग गुनासो नगर्ने वाचा गर्दै क्यालगरि एयरपोर्टलाई विदाई गरे । (प्रस्थान २ फेब्रुवरी, फिर्ति १६ फेब्रुवरी २०१९)
– आसफोर्ड, २० फेब्रुवरी २०१९