किन धर्म? -विश्वास दीप तिगेला

इतिहास अनुसार आजभन्दा लगभग ३८ सयदेखि ५ हजार वर्षअगाडि किरात काल थियो । ३२ पुस्ता किरात राजाले शासन गरेका थिए । किरात काल चरम सभ्यतामा पुगेको थियो अर्थात सभ्यताको शुरुवात त्यहीबाट शुरु भएको मानिन्छ । किरात सभ्यता भन्नु नै किरात संस्कार थियो, किरात संस्कृति थियो, किरात लिपि थियो र किरात धर्म थियो । किरात संस्कार संस्कृति, भाषा, लिपि र धर्म बेगर सभ्यता हुन सक्दैन । त्यसैले किरात धर्म प्राचीन धर्म हो । किरात धर्मको मुख्य धर्मशास्त्र मुन्धुम हो । किरात धर्म भित्र धेरै सम्प्रदाय छन् । बलि नचढाउने सत्यहाङ र बलि चढाउने प्रथा । बलि चढाउने सम्प्रदायलाई युमा साम्यो भन्न सकिन्छ । युमा साम्यो मुन्धुम, लोककथामा आधारित छ । यसको कुनै लिखित इतिहास छैन, त्यसैले यो एक सम्प्रदाय मान्न सकिन्छ ।

इतिहासको सिन्धु सभ्यता नै अहिलेको हिन्दू सभ्यता हो। त्यस्तै इतिहासको किरात सभ्यता नै हालसम्म रहेको किरात धर्म हो। हिन्दूभित्र वैष्णव, शैव, ओम शान्ति, साईबाबा र मुस्लिम भित्र सिया र सुन्नी । किश्चियन भित्र क्याथोलिक, प्रोष्टिटेन, अर्थोडक्स, मेथोडिक्स भने झैं किरात भित्र सत्यहाङ, युमा लगायत धेरै शाखाहरु रहेको मान्न सकिन्छ।

प्रकृतिपूजक प्यागन धर्मावलम्बीहरुको विशिष्ट प्रचलनलाई क्रिश्चियन धर्मले अगालेर लगे झै प्राचीन किरात धर्मका विशिष्ट प्रचलन होमादी, शंख फूक्ने प्रचलन हिन्दू धर्मले अवलम्बन गरेको भन्ने सत्यहाँड (किरात धर्मावलम्बी) विद्धानहरु दावी गर्नुहुन्छ। विशिष्ट प्रचलन थियो भन्ने कुरा किरात सभ्यता थियो भन्ने कुराले प्रमाणित नजिक पुर्याउँछ। र, किरातहरु पवित्र स्थल कैलाश अर्थात हिमालको फेदमा प्राचीन कालमा विशाल होमादी गरेको र त्यहाँ अहिले पनि पोखरी रहेको र त्यहाँ खरानी मात्र भएको कुराले थप प्रमाणित गर्दछ। र, लगभग ५ हजार वर्ष अगाडि सभ्यताको उत्कर्षमा रहेको किरात काल र जेठो शासकहरु अहिले ५ हजार वर्ष पछाडि त चन्द्रमामा पुगेको हुनुपर्ने हो किन पुग्न सकेका छैनन? र, उल्टो जनजाति अवस्थामा कसरी पुगे? किरातहरुको अधोगति बलिपूजा, मदमंस जस्ता विकृतिले भएको बुद्धिजीवीहरु मान्दछन् भने किरात पछिको शासक लिच्छिवी, मल्ल र शाह कालमा किरातका इतिहास र मुन्धुमहरु जलाईका र अध्ययन गर्न बन्देज गरिएका कारण धेरै कुरा बुझ्नबाट छुटे। वि.सं. १८८४ मा चैनपुरमा किरात इतिहासका पुस्तक जलाइएका इतिहास छदैछ। पुरानो मुन्धुम र इतिहास थिए भन्ने कुरा सयौं वर्ष अघिको किरात लिपि लण्डनको लाइब्रेरीमा रहेको हडसनको पाण्डुलिपिले छर्लङ पार्दछ।

हुन त धर्मलाई जबरजस्त परिवर्तन गराइएको इतिहास पनि छ। धनकुटाका आठपहरियाद्वय राम्लीहाङ र रिदामा धार्मिक शहीद हुन्। जसलाई गोर्खाका राजाको दशैं मनाउ भन्ने आदेश नमान्दा मृत्युदण्ड दिइएको थियो। त्यस्तै आस्थाहरु पनि अपहरण गरिएको अवस्था छ। ताप्लेजुङको मुक्कुमलुङ देवस्थल अब पाथिभरा बनाइएको छ। खोटाङको साल्पा पोखरी देवस्थल अव शिवालय भएको छ। मुन्धुममा आउने मेन्छ्यायाम धाप अब शिव पार्वती खेलेको ठाउँ भनिएको छ। यी घटनाले प्राचीन किरात संस्कृति पनि हरण गरियो भन्ने कुरालाई मद्दत पुग्दछ।

हामीमा एकदुई पुस्ता अघिको प्रभाव हामीमा बढी पर्ने गर्दछ। किन की हामीले भेटने र बुझ्ने दुईतीन पुस्ता मात्र हो । हिन्दुकरण अघि हाम्रो संस्कार संस्कृति कस्तो थियो भन्ने कुरा महत्वपूर्ण कुरा हो । पृथ्वीनारायण शाहले एकात्मककरण (हिन्दुकरण) गरेपछि विशेषगरि लिम्बुहरुमा सुब्बाले सुङगुर, राँगा काटेर जाँड रक्सी पिएर दशैं मान्नैपर्ने जस्ता संस्कृतिहरु लादिए। जुन संस्कृतिसँग बलिपूजा, मदमंस पनि जोडिन्थे, जसको प्रभाव धेरै भएकाहरु अहिले पनि बलिपूजा, मदमंसको लोभमा छन्। जसलाई बलि नचढाई पूजा भएको विश्वास लाग्दैन।

किरात धर्मको संरक्षण धर्मगुरु आत्मानन्द लिङ्देनबाट भइरहेको छ। यद्यपी किरात धर्म भित्रका कतिपय संस्कार सच्चाउन, सुधार गर्न र समय अनुकुल विकास गर्न आवश्यक छ। समय सापेक्ष सबै धर्म सुधार हुँदै आएका हुन्छन्। सुधार र विकास नभएको गुनासो झैं गत २९ र ३० अप्रिल २०१९ मा धरान स्थित मुन्धुम सम्बन्धी विचार गोष्ठी भयो। उक्त गोष्ठीले धेरै कुरा पर्गेल्ने काम गरयो, तर मिडियाले यसलाई पहिचानको विरुद्ध अर्थात प्रदेश नम्बर १ किरात लिम्बुवान प्रदेश नामाकरण हुनुपर्ने आवाज उठिरहेको बेला त्यसलाई निस्तेज पार्ने हिसाबले मिडियाहरुले प्रस्तुत गर्नु चाहिँ दुःखद पक्ष हो।

गोष्ठीमा प्रज्ञा पूर्व कुलपति तिलबिक्रम नेम्बाङले किरात धर्मप्रतिको गुनासो राखे, तर वहाजस्तो ब्यक्तिले सारा किरात र किरातदेखि बाहिरकालाई समेत समेट्नु पर्ने विचार दिनुपर्नेमा ज्यादै साघुरो विचार राख्नुभयो। किरातभित्र लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी, हायु आदि पर्दछन तर नेम्बाङले अरुले आफै खोजुन लिम्बुले चाहिँ युमा साम्यो मान्नुपर्ने धारणा राख्नु भयो । यसको महत्व आफ्नै ठाउँमा रहला।

अर्को रोचक पक्ष किरात राईले किरात लिपिलाई लामो समय प्रयोग गरेनन् र अझैपनि २८ भाषी राईमध्ये केही राई भाषीले लिपि प्रयोग गर्दैनन। त्यसको कारण ब्यक्ति विशेष विवाद हो पनि भन्ने गरिन्छ। अर्को प्रसंग किरातहरुले चलाउने किरात सम्वत ५०८० तथ्यपरक बनाउन गणनाको विन्दु खोज्ने अभियानले अन्ततः ३७९६ प्रमाणित भयो तर तिनै विशेष ब्यक्तिहरु असमन्जस्यमा छन्। अरु कुनै विद्वानको तर्कलाई स्वीकार गर्न किन यति गाह्रो? यो संगीन पहिचानको घडिमा केही ब्यक्तिहरुको भूमिका अत्यन्तै विवादित रहयो। बाधक होइन साधक बनिदिए सबैलाई उर्जा मिल्थ्यो। गेष्ठिमा किरात धर्ममा कान फूक्ने (शब्दी) को आलोचना गरे। सामान्य संगठनमा आबद्ध हुँदा त सपथ लिनुपर्छ भने धर्म भनेको अनुशासन हो त्यसमा प्रतिबद्ध रहन वा रहन्छु भनी शब्दी लिंदा के नौलो भयो? संसारका अन्य धर्म क्रिश्चियन, मुस्लिम, हिन्दू, शिख, बौद्ध, जुडिज्म र शिन्तो लगायत लगभग ४ हजार २ सय धर्महरु छन् ती धर्ममध्ये सपथ नगराउने कुनै धर्म छ होला?

धर्म र मौलिक इतिहासको सवालमा धेरै रोचक अन्य सन्दर्भहरु पनि जोडिन्छन। अरुले चैतको दशैं असोजमा सार्छन् सबैलाई स्वीकार्य हुन्छ। शुध्याई ४५ दिनबाट १३ दिन र १३ दिनबाट ५ दिन र अहिले २ दिनमै गर्छन् सबैलाई स्वीकारै छ। उनीहरुलाई विश्वास छ धर्म हिजो जे छ त्यही रहिरहन सक्दैन। मौलिकतालाई पछ्याउने हो भने त मान्छेले सृष्टिमा लुगा लगाउँदैन थिए। लौ लुगा नलगाई नांगै हिड्न हामी को को राजी? त्यसैले सबै कुरा परिवर्तनशील छ। धर्म मृत्युपछि स्वर्ग पुग्न कसैले भन्लान, तर सत्य त्यो देखिन्न धर्म त ब्यक्ति र समुदायको शक्ति र पहुँच संचयीकरण हो। जुन आफू अनुशासनमा रहेर, आत्मा विश्वास तयार गरेर अन्य समाजमा प्रभाव दिनु हो। त्यसैले त्यागी गुरुहरुले अध्ययन गरेर जे जति राम्रो संस्कार संस्कृति दिइरहनु भएको छ स्वीकार्न योग्य छन्।

तपाई सँग समय छ तपाईले पनि समाजलाई अध्ययन गर्नुहोस् र समाज सुधारको काममा लाग्नुहोस। तर, बिरोधै मात्र गर्ने, निकास नभेटी अलमलिने र अलमलाउने, अवरोध गर्ने काम त्यागौं। हिजो तीज मनाउँदैनन थिए अहिले दशैं भन्दा भब्यजस्तो मनाउँछन् खोई स्वीकार गरेकै छन् त। समाजका केहीलाई चाहिँ किन किरात धर्मकै बिरोधको खेती गर्नु परेको? बिरोध गर्ने लत बसेको हो भने अन्य सवाल पनि होलान् । किरात धर्म ब्यक्ति होइन संस्था र आस्था हो। सबै धर्मका सकारात्मक र नकरात्मक पक्ष हुन्छन् र प्रत्येक संस्कारको कारण र महत्व हुन्छन् त्यसलाई बुझौं र अवलम्बन गरौं। धर्म स्वर्गको लागि कसैले लेलान तर वास्तवमा यो घर सुधार, आत्मा सुधार र सिंगो समुदायको सुधार गर्ने संगठन हो। जसले यस्ता संगठनलाई मजबुत बनाएका छन् उनीहरु समाजको हरेक तहमा शासक बनेका छन्। जो यस्ता संगठन बुझ्दैनन रुचाउँदैनन बिरोधी जाति, जातै विरोधी मात्र बनेको छर्लङछ। बिरोध र ईष्याले हाम्रो सोचाईलाई साँघुरो बनाउँदै लैजान्छ। बिरोध र ईष्या बोक्ने समुदाय हर क्षेत्रमा पछाडि परेको पाइन्छ।

संसारमा सबैभन्दा धेरैले मान्ने धर्म क्रिश्चियन हो। जसको संख्या २ दशमलव २२ विलियन छ र विश्वमा तिनै धर्म मान्नेहरु सर्वशक्तिमान कुन कारणले बनेका होलान? यो महत्वपूर्ण कुरालाई पनि चिन्तन गरौ । अब हामी समयानुल सुधार र परिवर्तनलाई आत्मासात गरौं। धर्म के हो बुझौ। धर्म नै हाम्रो पहिचान र सामाजिक शक्ति हो। विधि संस्कार भिन्नाभिन्नै भलै होस, तर धर्ममा आस्था राखौं र धर्मबाट उर्जा लेऔं र झलमल्ल बनौ र बनाऔं।

२ मे २०१८, वेलायत
kiratnews.com