१३ औ तिथी- पूर्व मन्त्री खेवाको २ रुपैया (विश्वास दीप तिगेला)

हरिराज खेवा दाजु अर्धभूमिगत रहेको वेला अनामनगर नजिक चेपबाट छिर्दै्छिर्दै पुगिने भित्ताको घरमा वहाको डेरा थियो । एक दिन विहानै देखि हामी संगै हिडडुल गरयौ र अनामनगर भित्रि चोकमा धनकुटा हात्तिखर्क मगरगाँउका एकजना युवा मित्र संग जम्का भेट भयो । अध्यक्ष (खेवा) ज्यू मेरो त सोचेको कामै भएन खर्चपनि छैन केही सहयोग गर्नुपरयो भनी ति मित्रले आग्रह गर्नुभो । त्यसवेला हरी दाजु गाविस अध्यक्ष हुनुहुन्थ्यो । वहाको गोजिमा केही दिनदेखि १२० रुपैया थियो र त्यो सबै पैसा माग्ने गाँउको भाईलाई दिनुभयो । म आफैलाई चाहि माग्ने ब्यक्ति पनि गजब लाग्यो र दिनेले पनि अलिकति राखेर दिएको भए हुनेथियो वा नदिएको भएपनि हुनेथियो लाग्यो । माग्ने मित्रलाई मैले राम्ररी चिनेको थिइन र हिमचिम पनि थिएन । सम्भवतः ती माग्ने युवाको भन्दा हालत खराब हरी दाजुको थियो । वहा मेरो वढाको छोरा त्यसैले दाजुभाई त्यसदिन विहान देखि बेलुकी सम्म संगै हिड्यौ । त्यो पैसा दिएको रोचक लाग्यो र मैले पनि भोक नलागुन्जेल साँझ सम्म केही पनि किनिन । दाजु अति भोकाएको पनि मैले थाह पाँए तर भोकभोकै हिड्यौ । वास्तवमा राजनीति गर्नुहुनेहरुले के गर्नुहुन्छ होला भनेर जान्न पनि मन लागेको थियो र म चाहि एकैपटक टन्न खाने र दिनभर नचाहिने बानी थियो । हरि दाजु परेको बेला अरुलाई पैसा दिनुहुन्थ्यो र खुवाउनु हुन्थ्यो बरु आफैचाहि भोकभोकै हिडनु हुन्थ्यो ।


हात्तिखर्क ६ को एक प्राथमिक विद्यालयमा हेडमाष्टर गदैगर्दा बेलाबखत काठको लकडी पनि धरान झार्नु हुन्थ्यो । त्यो वेला ५ लाख, ८ लाखको काठ वेच्यो रे आदि सुनिन्थ्यो । वहाले हिलेमा खेवा फर्निचर उद्योग पनि खोल्नु भयो । निरन्तर शिक्षक काम गर्दागर्दै नेकपा एमालेको तर्फबाट गाविस अध्यक्षमा चुनाव लड्नुभयो । आफ्नै काकाको छोरा लोकेन्द्र तिगेला दाजु संग चुनावमा लड्दा दोब्बर मत ल्याई जित्नु भयो र एमाले फूटेपछि वहा मालेमा जानुभयो त्यसको केही समयपछि माओवादी संग नजिकिनु भयो । हरीदाजु एक्लै एकदुइजना साथी लिएर माओवादीको नेपाल बन्द कार्यक्रममा हिले बजार बन्द गराउदै हिड्नु हुन्थ्यो । त्यो बेला माओवादीको त्रसादि थियो । स्व. दाजुकै अनुसार धनकुटा प्रहरी कार्यालयको प्राङ्गणमा एक इन्सपेक्टर संग राजनैतिक विवाद भयो । हरि दाजुले राजनीति गर्ने भए बर्दि फ्याँकेर हामी जस्तै बाहिर आउनुहोस भनेर हप्काए पछि ती इन्सपेक्टरले द्धन्द्धकालमा दाजुलाई मार्न खुबै पछ्याए ।

छात्तिमा कोठीहुनेले गोली खाएर मनुपर्ने हुन्छ विश्वास भनेर कुरा गर्नुहुन्थ्यो । लडदै जाँदा मरिन्छ भने मरौला भन्दै जनयुद्धमा होमिनु भयो । वहाले भक्तपुरका खेत तिर भएको गोठतिर धेरै बसेर राजनीति गरेको बताउनु भयो । वहाले चाहेर पनि जनसेना हुने संगत पाउनु भएन तर राजनैतिक रुपबाट खटनु भयो । द्धन्द्धकालमा जितपुर ढोडेका एक मगर परिवार जो काठमाडौं जावलाखेलको टेलिकम कार्यालय नजिक बस्नु भएको घरमा आश्रय दिएको कुरा दाजुभाई जुनवेला त्यो इलाका पुग्यो सधै हिर्दयबाट उक्त गुणको गुणगान गाउनु हुन्थ्यो । ति दाई र भाउजुको नाम मैले सम्झन सक्नु भएन ।

वि.स. २०५० ताकाको कुरा हुनुपर्छ । हामी धनकुटा देव्रेवासको आले लजको एकै कोठामा बस्थ्यौ । इटहरीबाट डा. बाबुराम भट्टराईको फोन आले लजको टि भी कोठामा आयो । देब्रेवासबाट बेलाबखत हात्तिखर्क वहाकै घरनजिकको स्कुलमा पढाउन बस चढेर जानुहुन्थ्यो । त्यस विहान वहा के गर्ने नगर्ने दोधारमा पर्नुभयो र मैले पढाउन स्कुल जान दबाब गरे र वहा पढाउनै जानुभयो । डा. भट्टराई धनकुटा आएर संजय श्रेष्ठ सरलाई भेटेर फर्कनु भएको कुरा सुन्नमा आयो । त्यो वेला भूमिगत शब्द सुन्दै डर लाग्थ्यो । धनकुटाका त्यसवेलाका माओवादी नेता मानिन्थ्यो ठाकुर बराल भेष बदलीबदली हरी दाजुको कोठामा आईरहेका हुन्थे ।

लिम्बुवान मुक्ति मोर्चाका संस्थापक मध्येका एक भक्तराज कन्दङ्वा हात्तिखर्क हरि दाजुकै घरमा झण्डै एक हप्ता बसेका थिए र मोर्चाको अवधारणा र विधान वहाले नै बनाईदिएका थिए । त्यसैले पनि हरिदाजु र कन्दङवाको सम्बन्ध सधै गाडा रहयो । भक्तराज स्मृति प्रतिष्ठानका अध्यक्ष वहा नै हुनुहुन्थ्यो । नाटक लेख्ने र खेल्ने खेवाको अभिनय अरुले गर्न सक्दैन थिए । २०५५ को अधिराज्यब्यापी रेडियो नाटकमा त नेपाल प्रथम नै हुनुभयो । पचास रुपैयाको तमसुक नामक नाटकको अभ्यास र शो मा मैले पनि सहयोग गरेको थिए । कोठा आएर झण्डै एकपेज डाइलक कण्ठ बनाउनु पर्ने । वहाले कण्ठ बनाउदा सुनेकै भरमा केही डाइलक मलाई पनि कण्ठै हुन्थ्यो । एक विहानको कुरा हो म घर फर्कनु पर्नेभयो । देब्रेवासबाट त्रिशुले पुग्न ८ रुपैया लाग्थ्यो तर म संग एक पैसा पनि थिएन । मेरो केही सिप लागेन । कोठामा हरि दाजुको निलो जिन्सको पाइन्ट झुण्डिएको थियो । पाइन्टको पछाडिपटिटको गोजीमा २ रुपैया भेट्टाए । त्यो पैसा लिएर देब्रेवासबाट बसको हुटमा चढेर घर फर्किए । त्यो याद खुबै यादगर रहयो र म जाँगिर गर्न बाहिर मुलुकबाट फर्किए पछि । धनकुटाको कोरली चोक नजिकको दाजुको डेरा घनिन्द्र श्रेष्ठको घरमा पुगे र त्यहि एकरात सुते अनि वहाको नाटकहरु भेला गरेर अपदस्त जिन्दगी नामक एकाङ्गी नाटकको प्रकाशक बने त्यो मैले २ रुपैया लिएको प्राश्यचित स्वरुप पनि थियो ।

त्यहि बर्ष किरात याक्थुङ चुम्लुङको चौथो राष्ट्रिय सम्मेलन इलाममा थियो । हरि दाजु चुम्लुङ जिल्ला सचिव र म चाहि पर्यवेक्षक भएर इलाम पुग्यौ र इलामको वस स्टेशन नजिक खड्काको होटलमा बस्ने ब्यवस्था रहेछ । महाधिवेशनमा प्रगति प्रतिवेदन प्रस्तुत गर्ने पालो आयो । प्रतिवेदन लिएर डयासमा चढ्नु भयो र प्रत्येक पेज पढ्दै पल्टाउदै पढेर सिध्याउनु भयो र कार्यक्रम संचालन गरिरहनु भएका महासचिवले त्यो प्रतिवेदन यता दिनुहोस भनेर माग्नु भयो । हरि दाजुले हैन एकछिनमा दिन्छु भनेर उम्कनु भयो । वास्तवमा त्यो फुलिसकेपमा केही लेखिएकै थिएन, खालि थियो तर कसैले थाह पाएनन् । म स्वयं सहभागी थिए देख्दा हरि दाजुले ब्यवस्थित प्रतिवेदन दिनुभयो । सबैले उस्तै देखे सायद । वहाले प्रतिवेदन प्रस्तुत गरे लगतै हामी दुवैजना होटल गयौ । वहा रफ गर्ने म सफ सार्ने ४५ मिनेटमा ९ पेजको प्रतिवेदन बनाएर बुझायौ ।

इलामबाट इटहरी आईपुगे पछि हामी दुई रात्री बस चढ्यौ । एक कन्टक्टरले गाँउबाट आएका निमुखा यात्रुलाई अभद्र ब्यवहार गर्दै थियो । हामीले देख्दै थियौ । हरि दाजुले त्यो दुब्र्यवहार गर्ने कन्टक्टरलाई झापट हान्नु भयो । उ तेरो ग्राहक हो, यात्रु हो किन यस्तो ब्यवहार गर्छस भनी हप्काउनु पनि भयो । अरु यात्रुहरुले पनि साथ दिए । विशेषतः गरिब दुःखीहरु माथिको अन्याय सहन नसक्ने दाजुलाई कन्टक्टरले माफै माग्नु परयो । कन्टक्टरको ब्यवहार सहिय थिएन ।

हरि दाजु हेडमाष्टर हुदैको कुरा हो । हाम्रा गाँउकाले गाई, गोरु बेच्न दमक (दोभान) लैजान्थे । गोरु ब्यापारीहरुले साँझपख लोकेन्द्र तिगेला पूर्व प्रधानपन्च तथा गाविस अध्यक्षलाई हिले बजारमा भेटे । वहा संगै हरिदाजु, म र लोक बहादुर मादेन लुङा थियौ । गोरु ब्यापारी खेवाङ्े कार्की र अर्का एकजना थिए उनीहरुले खाजा खाउ भनी अनुरोध गरे । हिलेमै रातको लगभग ११ बज्यो र हिडदै हिडदै त्रिशुलेबाट हात्तिखर्क तर्फबाटो लाग्यौ । अलिलि जुनेली रात थियो । त्रिशुलेबाट हात्तिखर्क लाग्दै गर्दा चिप्लिएर लोक लुङा कट्टुसको बोटतिर चिप्लिएर झर्नुभयो । अध्यारोमा अप्ठयारो बाटो हुदै घर नजिक पुगेपछि हरि दाजु र म चाहि घर मास्तिरको बारीमा राखेको हिउँदे गोठमा सुत्यौ । थाँकेको र निन्द्रा धेरै लागेको हुनाले एकछिन त दुवैजना निदायौ तर केहीछिन पछि त यति जाडो भयो की वरिपरिको पराल र घाँस तानेर ओड्यौ तातो भएन । गुन्द्रीको टुक्रा समेत ओड्यौ तर माघ महिनाको जाडो थाम्न सकेनौ । त्यो क्षण सधै हामीमा रमाइलो गर्ने घटना थियो ।

हरि दाजुको जवानीको कथा पनि सम्झन लायक नै थियो । सिधै भन्न नसक्ने तर वहाको वडि ल्याङ्वेजले बोल्ने । साह्रै भद्र ब्यक्तित्व । केटी मगनीको मेसो चल्दै गर्दा, एकजना सोल्टिनी तर्किनुभयो र गाँउमा केहीकेही कुरा पनि काटिए तर भएको चाहि के भने जसलाई मगनी गर्ने कुरा हुदै थियो । उनले उनकै साथीसंग गफ गरेको देखेकी थिइन रे । यो कथा हरिदाजु र मलाई बाहेक सम्भवतः कसैलाई थाह छैन ।

पहिला गाविस अध्यक्ष हुदा पनि कानुन मुताबिक कडिकडाउ गर्नाले निक्कै चर्चित र लोकप्रिय हुनुभयो । र, अर्थराज्य मन्त्री हुदा पनि प्रकृया नपुगेको भनी दुइचार वटा महत्वपूर्ण फाइलहरु अस्वीकृत गरिदिनु भएपछि वहा अर्थमन्त्रालयमा पनि चर्चित हुनुभयो ।

वहा राजनीतिमा ज्यादै इमान्दार । मुलघाटबाट टनल बनाएर धरानमा मोटर बाटो झिक्ने र तमोरै तमोर गाडि बाटो बनाउदा ताप्लेजुङको माथिल्लो भागमा बसोबास गर्नेलाई पनि धरान नजिक हुन्छ त्यसैले यो काम ढिलोचाडो गर्नुपर्छ वहाको सपना थियो । त्यस्तै गरि धरानलाई लिम्बुवानको राजधानी र खम्बुवानले पनि दावी नछाडे धरान नै राजधानी बनाउनुपर्छ भन्ने वहाको स्केच थियो ।
विश्वास मैले मलाई साह्रै मनपर्ने गीत लेखेको छु । रेकर्ड गर्नुछ, धनकुटा डाँडागाँउका नविन थापा जीले त्यो शब्द लैजानु भएको छ । त्यसलाई राम्रो स्टुडियोमा रेकर्ड गर्नुछु । दाजुभाईको सल्लाह भई रहेको थियो । उसो त म दोस्रो छुट्टि जादा काठमाडौमा एउटा ट्रान्जिट घर चाहिन्छ भनेर सल्लाह र दबाब दिने पनि हरि दाजु नै र जग्गाको फाइनल पनि वहाले वढि नै तिरेपनि केही फरक नपर्ने सुझाउनु भयो र भयो त्यस्तैपनि ।

पहिलो संविधान सभाको प्रत्येक्ष निर्वाचानमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरि विजयी बन्नुभयो र संविधान सभाको संवैधानिक समितिमा उमेरका आधारमा सबैभन्दा कान्छो सदस्य बन्नुभयो । अर्को चुनाउ राज्य र निर्वाचन क्षेत्रको पूर्नसंरचना भएर मात्र हुने भएकोले कुन क्षेत्रमा खट्ने द्धिविधा रहयो । धनकुटाको छथर र तेह्रथुमको छथरलाई मिलाएर एक छथर जिल्ला बनाउनु पर्ने वहाको सपना थियो । त्यसपछि वहा पार्टी प्रति झनै कटिबद्ध भएर नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य, पार्टीको जिल्ला अध्यक्ष, लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय महासचिव, भक्तराज कन्दङ्वा स्मृति प्रतिष्ठानका अध्यक्ष बन्नुभयो । वहा अत्यन्तै लोकप्रिय बन्नुभयो ।

दोस्रो संविधान सभा २०७० को चुनावमा वहा एनेकपा (माओवादी) बाटै सभासदको उम्मेदवार हुनुभएको थियो । वहा संगै जितपुर आन्द्रुङ पुगेका थियौ । वहाको गुणको असाध्य प्रसंसा गर्नुभयो त्यहाका जनताले र संगै पाख्रीवास कसेनी राती अबेर सम्म पुगेर फर्कियौ । तर यसपटक धनकुटा क्षेत्र न २ को माहोल अर्कै थियो जुनकुरा अगावै वोध भईसकेको थियो । वहाको वरिपरि सधै जनताहरु वाक्लो भईरहने प्रायजसो हसाएरै कार्यकर्ता र साथीहरुलाई खुसि बनाईरहेका हुन्थे हरिदाईले । वहाको सपनाहरु साह्रै धेरै थिए । देश बनाउने, राज्य (प्रदेश) बनाउने र राजधानी बनाउनेमा वहाको तर्क साच्चै गजब लाग्थ्यो । वहाले देशबिदेशमा हुनुभएको याक्थुङहरुलाई जोड्ने प्रयास पनि गर्नुभएको थियो । वहाका फूटकर कथा, लघुकथा, कविता र एक एकाङ्गी नाटक संग्रह अपदस्त जिन्दगी पुस्तक पनि प्रकाशित छ । वहाको रचनाहरु पनि अन्यको तुलनामा निक्कै उत्कृष्ट मानिन्थ्यो । वहा नाटक क्षेत्रकालाई विशेष श्रद्धा गर्नुहुन्थ्यो । धनकुटाकै अशेष मल्ल दाईलाई वहाले आदर्श पात्र मान्नुहुन्थ्यो । वहाले नाटक लेख्नुभन्दा पहिला सुनाउनु हुन्थ्यो । कस्तो लाग्यो भनी सोध्नुहुन्थ्यो तब मात्र त्यो कथालाई नाटक लेख्नुहुन्थ्यो ।

उसो त वहाले ब्लु मुन ओभर्सिज कम्पनी पनि केही महिना चलाउनु भयो । ब्लु मुन के हो ? लामो अन्तरालमा मात्र उदाउने नीलो जुन भाग्यमानिसले मात्र देख्न सक्छ आदि वहाको वर्णन आजै जस्तो लाग्छ तर चाडै यो काम मैले गर्ने काम होइन भनेर छोड्नुभयो ।

हरिदाजु मन्त्री हुने हल्ला थियो । मन्त्री बन्नु भन्दा दुईरात अघि मैले वहालाई अनुरोध गरेर ठमेल लगे तर ज्यादै सतर्क हुदै केहीबेर अलमल गरेर फर्कियौ । त्यसैको पर्सिपल्ट वहा अर्थराज्य मन्त्री बन्नुभयो । वहा मन्त्री हुनुभएको केही महिनापछि हङकङमा एमाओवादी पार्टी अन्तरर्गतको लिम्बुवान मोर्चाको अन्तरक्रिया कार्यक्रम थियो । त्यहि कार्यक्रमको निम्ति म ब्रुनाईबाट हङकङ पुगेको थिए । राजनैतिक कार्यक्रम पछि हामी हङकङको प्रसिद्ध ओसन पार्कमा पानीबोटमा चढदा भाग्यमानीलाई मात्र पानीको फोहोराले भिजाउछ भन्दै बग्दैथियौ फोहोराले हरिदाजुलाई नै एकपटक मात्र होइन दुईपटक भिजायो । खुबै रमाइलो भएको थियो ।

गत १३ साउन २०७३ का दिन पार्टी कार्यकर्ताको आफन्तको शुध्याईको कामको लागि मारेककटहरे पुगेर फर्कनेक्रममा चित्रेबाट बस चढ्नु भएको र लगभग १५ मिनेटमै सिधुवा नजिक ब्रेक फेल भयो । त्यसबखत पनि ड्राइभरलाई देब्रेपट्टि भित्तामा वस ठोक्काउ भनी निर्देशन दिईरहनु भएको थियो रे । वहाको सल्लाहलाई ड्राइभरले मानी दिएको भए यात्रुहरु सामान्य घाइते हुन्थे होलान तर त्यत्रो खति पक्कै हुन्न थियो । ड्राइभरले चाहि अलितल तेर्सो बाटो आउछ र त्यहा वस रोकिन्छ भनी ल्याईरहेका थिएरे तर अफसोच घुम्तिमा स्टेरिङ नघुमेको कारण शिधै भिरमा खस्यो र यो वेहाल बन्न गयो । नेता खेवा अप्ठयारो अवस्थामा पनि नेतृत्व गर्दागर्दै बित्नु भयो । जेहोस हुनेहार दैव नटार यस्तै भयो । भगवानलाई पनि राम्रा र असल मान्छे नै चाहिने । त्यसैले हामी माझबाट पूर्वका नक्षत्र अस्ताउनु भयो सधैको लागि ।

अन्तमा, वहाको भौतिक सशरिर हामी माझ नभए पनि वहाका सपनाहरु हामी संग छ । वहाका मुटुको दुई टुक्रा सन्तान गुराँस, लारक अनि भाउजु लगायत हामीलाई छोडेर सधैको लागि जानु भयो । वहाको आत्माले सधै शान्ति पाउन सकोस कामना गर्दछौ । यो शोकलाई उर्जामा बदल्ने प्रण गरौ ।

६ अगष्ट २०१६, युके